तनहुँ र चितवनलाई जोड्ने ठिमुरामा पक्की पुल

तनहुँ र चितवनलाई जोड्ने ठिमुरामा पक्की पुल


तनहुँको देवघाट गाउँपालिका र चितवनको भरतपुर महानगरपालिका जोड्ने त्रिशूली नदीमा रु २१ करोड ६८ लाख ४८ हजारको लागतमा पक्की पुल निर्माण भएको छ ।

तनहुँको देवघाट गाउँपालिका-५ घिनाटार र भरतपुर महानगरपालिका-१ ठिमुरा जोड्ने उक्त पुल सञ्चालन पनि भइसकेको छ । देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले पुलको औपचारिक उद्घाटनको योजना रहेको बताएका छन् ।

पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष टङ्कनाथ पौडेलले यही चैत १७ गते शनिबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष उक्त पुल उद्घाटनका निम्ति अनुरोध गर्ने निर्णय भएको जानकारी दिए । उद्घाटनका निम्ति राष्ट्रपतिलाई आमन्त्रण गरिएको सन्दर्भमा आज (१४ चैत) तनहुँ र चितवनका प्रमुख जिल्ला अधिकारीसहितको सुरक्षा प्रमुखहरुको बैठक हुने उहाँले बताउनुभयो ।

विसंं २०७१ कात्तिक २० गते पुल निर्माण थालिएको थियो ।