कसलाई बुद्धिजीवी र ज्ञानी मान्ने ?

कसलाई बुद्धिजीवी र ज्ञानी मान्ने ?


सत्यको पक्षधर भएर समाजमा बौद्धिक गतिविधि गर्ने तथा लेखेर, बोलेर या अन्य माध्यमबाट समाज वा राज्यलाई सघाउने र समाजका सकसहरूलाई निकास दिन योगदान गर्नेहरूलाई मात्र बुद्धिजीवी वा विद्वान् भन्न सकिएला । कामचोर, दलाल, करुणाविहीन, घमण्डी र प्रज्ञाविहीन पाखण्डी सबैलाई बुद्धिजीवी भन्दै हिँडियो भने युगले सम्मान गरेका करुणामय बुद्धहरूको अपमानमात्रै हुनेछ ।
✍ डिल्ली अम्माई (अनाथ अंकल)

‘उपकारी गुणी व्यक्ति निहुरिन्छ निरन्तर !
फलेको वृक्षको हाँगो नझुकेको कहाँ छ र !!

कवि शिरोमणि लेखनाथ पौड्यालले दिएको माथिल्लो गुण अर्थात विनयी भाव ज्ञानीहरूको एक स्थाई गुण हो । सन्त परम्परामा बुद्धिजीवी भन्नाले समाजका अन्तरविरोध बुझेको, तार्किक तथा समस्याको तुरुन्त हल खोज्न सक्ने नेतृत्व भनेर बुझिन्थ्यो । ज्ञानी भन्नाले विवेक र बुद्धिले निपुर्ण दार्शनिक स्वभावको सन्त र परम् ज्ञानी भनेका करुणामयी, समभावी दिब्य चेतना भएको लोककल्याणमा समर्पित महर्षि भनेर बुझिन्थ्यो ।

मानिसको विद्वतालाई उसको नुहाइधुवाइ, कपालकोराइ र लवाइखवाइबाट चिन्न सकिँदैन । उसको नैतिक आचारण, कार्यदिशा र चिन्तन प्रवृत्तिले नै मानिसको विद्वतालाई चिन्न सकिन्छ । वास्तवमा विश्व, देश, सृष्टि र समुदायको चिन्ता र चिन्तन गर्ने मान्छे ज्ञानी हो । प्रकृति र विश्वका सम्पूर्ण चराचरको चिन्तनमा आफ्नो समयको अधिकतम हिस्सा लगानी गर्ने मान्छे परम् ज्ञानी हो । समग्रतामा भन्नु पर्दा ज्ञानीहरूको चेतनामा कसैप्रति विभेद नभएपनि अवस्थाअनुकुलको दृष्टिकोण भने हुन्छ नै । अशक्त, निर्धा र असहाय वर्गमा अगाध करुणा हुन्छ । निम्छारिलो वर्गप्रति अथाह माया हुन्छ र लुटेरा दानव प्रवृत्तिप्रति ब्यापक घृणा ।

पौराणिक कालदेखि नै ज्ञानी र विद्वानलाई फरक-फरक कोणबाट हेरिन्छ । तार्किक ज्ञान अथाह भएर पनि ब्यवहार दुष्ट हुने मानिसलाई बुद्धिजीवी भन्न सकिएला तर ज्ञानी भन्न सकिन्न ।

पुरातन मान्यतामा मानिसलाई मुख्यतः तीन तहमा विभाजन गरेर हेरिन्थ्यो । राजा वा शासक वर्ग, ऋषिमुनिहरूको विद्वान् मण्डली तथा गुरु वा पुरोहित वर्ग र अल्पज्ञानी वा अज्ञानी जनसमुदाय ।

तत्कालीन मान्यतानुसार ज्ञान विज्ञानको सारभूत गहनताभन्दा भिन्न जितको मात्रै संस्कारबाट हुर्केका राजा वा शासकहरूलाई शिष्टताको कुनै ज्ञान हुँदैन भनी राजगुरु र विद्वानलाई परामर्शदाताको रूपमा नियुक्त गरिन्थ्यो । मुर्ख मानिस वा शासकहरूको बुझाइमा घुँडा टेक्नु, विनयी बन्नु, समुदायको हितमा आफ्नो हितको तस्बिर देख्नु र मानवताको क्षेत्रमा न्यायिक समाजको सपना देख्ने सामर्थ्य राख्नु भनेको युद्ध हार्नु जस्तै हो । मुर्ख मनुष्य विनयी हुन सक्दैन । त्यसैले राजाहरूले आफ्नो परामर्शको लागि ऋषि वा ज्ञानी महात्माहरूलाई राजगुरु नियुक्त गर्दथे । जस्तै राजा जनक, प्रलाद, बली, रामलगायत केहि राजाहरू विनयी तथा ज्ञानी भएपनि अधिकासं राजा धन, बल र शासकीय तामसी भावले उन्मत्त रहन्थे भनिन्छ ।

भारतीय उपमहाद्विपको पौराणिक परम्परानुसार, पौराणिककालमा सन्त तथा ऋषिहरूको मण्डलीले मात्रै विद्वानको दर्जा पाएको थियो । पौराणिक कालका विद्वानहरूमा चार्वाक, बुद्ध, महावीर, गुरुनानक, वेदव्यास, सप्तऋषि, सनत, वाल्मिकी, जड भरत, अष्टबक्र, कपिल लगायत धेरै सन्तहरूको नाम आउँछ । माध्यामिक कालका विद्वानहरू बल्लभाचार्य, सन्त भिखादास, चैतन्य महाप्रभु, गुरु गोविन्द सिंह, हरिदास, हित हरिवंश आदिलाई मानिएको छ ।

त्यस्तै, तिब्बती इतिहासअनुसार त्यहाँका पौराणिक सिद्ध विद्वानहरूमा लुहिपा, लोल्लप, विरूपा, डोम्भीपा, शबरीपा, सरहपा, कंकालीपा, मीनपा, गोरक्षपा, चोरंगीपा, वीणापा, शांतिपा, तंतिपा, चमरिपा, खंड्पा, नागार्जुन, कराहपा, कर्णरिया, थगनपा, नारोपा, शलिपा, तिलोपा, छत्रपा, भद्रपा, दोखंधिपा, अजोगिपा, कालपा थिए । त्यस्तै घोम्भिपा, कंकणपा, कमरिपा, डेंगिपा, भदेपा, तंघेपा, कुकरिपा, कुसूलिपा, धर्मपा, महीपा, अचिंतिपा, भलहपा, नलिनपा, भुसुकपा, इंद्रभूति, मेकोपा, कुड़ालिया, कमरिपा, जालंधरपा, राहुलपा, धर्मरिया, धोकरिया लगायतको नाम देखिन्छ ।

पौराणिक शास्त्रमा सनातनी दर्शनका विद्वान् सप्तऋषिलाई जस्तै नवनाथलाई पनि ज्ञानी महात्माको दर्जा दिइएको छ । जसमा मच्छिन्द्रनाथ, गोरक्षनाथ, जालिंदरनाथ, कानिफनाथ, चौरंगीनाथ, अडवनगीनाथ, रेवणनाथ, चर्पटनाथ, गहिनीनाथ छन् । पौराणिक दर्शनमा जसरी विद्वानहरूको सामाजिक योगदानबारे चर्चा गरिएको छ, ठीक त्यसैगरी विश्वआरा, अपाला, घोषा, गार्गी, लोपामुद्रा, मैत्रेयी, सिकता, रत्नावलीलगायत विदुषीहरूको महिमाबारे पनि इतिहासमा उल्लेख छ ।

यी सबै विद्वान्-विदुषीहरू पौराणिक समाजकै चेतनाको बीचबाट माथि उठेका थिए । उनीहरूले तत्कालीन समाजको लागि ज्ञान, आविस्कार र रुपान्तरणको क्षेत्रमा उल्लेख्य भूमिका खेलेको कारणले नै अहिलेसम्म उनीहरूको नाम स्मरण गरिन्छ । ज्ञानी हुनलाई योग, अध्ययन, अनुभवबाट आर्जित ज्ञान मात्र प्रयाप्त छैन । त्यसको लागि विवेकसम्मत अभ्यासको पनि उत्तिकै आवश्यक पर्छ । ज्ञानमा इतिहास र सभ्यताका गुणहरू पनि विद्यमान हुन्छन् । क्रियात्मक अनुभवको शृङ्खला पनि ज्ञानको श्रोत हो ।

मानव सभ्यता सदैव व्यवहारिक ज्ञानबाट सिर्जित र चलायमान छ । यसमा हजारौँ दार्शनिक, युगपुरुष, लेखक, कवि, नेतृत्वकर्ता र हारजितका अनुभवहरू छन् । त्यसैले सांस्कृतिक सभ्यताको जगमा छुट्टै मानव क्रियाकलापको एउटा शृङ्खला जोडिएको हुन्छ भने दर्शनको क्षेत्रमा अर्को त्यस्तै तहगत मानव श्रेणीको योगदान छ । राजनीति, समाज सेवा, दर्शन, श्रम वा भाषा साहित्य सबैमा सम्बन्धित क्षेत्रका विज्ञहरूको योगदान हुन्छ । जसरी माथिबाट पानी बगिरहेको ढुंगामा एकैदिन लेउ लाग्न सक्दैन, ठीक त्यसैगरी मानव विकासको विभिन्न चरणमा ज्ञान, विज्ञानको समृद्धि पनि विस्तारै चलायमान प्रक्रियाबाट मात्र सम्भव हुन्छ ।

त्यसैले, कसलाई ठ्याक्कै विद्वान् वा विदुषी घोषणा गर्ने भन्ने विषय विवादरहित छैन । तर, विद्वानको शाब्दिक अर्थ मानव, प्रकृति, सीप, कला, क्षमता र अनुसन्धानको तहमा विशिष्ट ज्ञान भएको मानिस हुन सक्छ । सामान्य मानवको तुलनामा विद्वान् बढी आकर्षक, भिन्न वैचारिक चित्त भएको र क्षमतायुक्त हुन्छ । उसका वैचारिक तथा व्यवहारिक लक्षण सामान्य मानिसको तुलनामा कविशिरोमणि लेखनाथ पौड्यालले भनेझैँ अनुभव र ज्ञानको सार खिचेर विनम्रतापूर्वक समुदायको सेवा गर्ने खालका हुन्छन् । उनका अनुशार ज्ञान युग र आविष्कार सापेक्ष हुन्छ । जब आर्जित ज्ञान प्रयोगमा असत्य सावित हुन्छ, त्यो त्यति बेलादेखि भ्रम र रुढीवादमा परिणत हुन्छ । त्यसैले आर्जित ज्ञान प्रमाणद्वारा सिद्ध गरिरहनु पर्दछ ।

ज्ञानी र विद्वानलाई एउटै मान्ने परम्परा गलत छ । ज्ञान र विद्वतामा कर्म, विवेक र चेतनाको जस्तै अन्तर छ । विद्वता व्यवहारिक रूपमा खारिएर ज्ञान बन्छ र समुदाय, राष्ट्र तथा विश्वकै लागि मार्गदर्शक बन्न सक्छ । किताब पढेर, यताउताबाट जानकारी लिएर, अडियो भिडियो हेरेर जो-कोही पनि विद्वान् बनेको स्वाङ त गर्न सक्छ, तर प्रज्ञा नजानी बनेको विद्वता समुदायलाई काम लाग्दैन ।

समाज विकासको सन्दर्भमा हेर्दा, आधुनिक मानिसले आफ्नो क्षमताकै कारण विज्ञान प्रविधिको क्षेत्रमा धेरै आविष्कार गरिसकेको छ । यो क्रम निरन्तर अगाडि बढिरहेको छ । त्यस्तै, समुदायको साँस्कृतिक, दार्शनिक र राजनैतिक नेतृत्व गर्ने दिशामा सुकरात, अरिस्टोटल, मार्क्स, लेनिन, गान्धी, मण्डेलालगायतले समाजको नेतृत्व मात्र गरेनन्, वैकल्पिक राजनैतिक प्रणालीको मार्गदर्शक सिद्धान्त पनि दिए । विज्ञानको क्षेत्रमा न्युटन, आइन्सटाइन, हकिङ्ग्स, म्याडम क्युरीलगायत धेरै भौतिकशास्त्रीहरूले मानव समुदायको लागि अनुपम योगदान दिए । जीव विकासको सिद्धान्त पत्ता लगाउने चार्ल्स डार्विनले पनि पुरानो रुढीग्रस्त जड मानसिकतालाई उल्ट्याइदिएर मानव उत्पत्तिको नयाँ धारणा विकास गरे । यी सबै मानिस आफ्नो क्षेत्रका विद्वान् थिए । त्यसैले भन्नैपर्ने हुन्छ, अन्त्यहीन सङ्घर्ष, कठिन खोज र समुदायको हितार्थ संसारलाई आफ्नै लयमा तान्न सक्ने मानिस नै विद्वान् वा बुद्धिजीवी मात्र नभएर ज्ञानी हो ।

हामी पनि कुनै क्षेत्रको बुद्धिजीवी र ज्ञानी बन्न सक्छौँ, तर विद्वान् बन्नको लागि हामीले आफ्नो संकल्पलाई गहनातामा लैजानुपर्छ । अध्ययनमार्फत खोजलाई पक्रन सक्नुपर्छ । त्यसैले समाजलाई विद्वताले आफ्नो गोरेटोमा हिँडाउनु त्यति सहज छैन ।

अहिलेसम्मका ज्ञानी र विद्वानलाई एउटै मान्ने परम्परा गलत छ । ज्ञान र विद्वतामा कर्म, विवेक र चेतनाको जस्तै अन्तर छ । विद्वता व्यवहारिक रूपमा खारिएर ज्ञान बन्छ र समुदाय, राष्ट्र तथा विश्वकै लागि मार्गदर्शक बन्न सक्छ । किताब पढेर, यताउताबाट जानकारी लिएर, अडियो भिडियो हेरेर जो-कोही पनि विद्वान् बनेको स्वाङ त गर्न सक्छ, तर प्रज्ञा नजानी बनेको विद्वता समुदायलाई काम लाग्दैन । अनुभवबाट वा पढेको कुरालाई आत्मसात गरेर आफैले आफूलाई रुपान्तरण गरेपछि मात्र साँचो ज्ञानको जन्म हुन्छ ।

बुद्धिमान त्यो हो, जसले बस्तुस्थितिको विश्लेषण गरेर सही बेलामा सही निर्णय दिन्छ । अध्ययन र अनुभवको संस्लेषणले जब सुषुप्त भावना जागृत हुन्छ, त्यसपछि मानिसको विवेक कञ्चन बन्दै जान्छ । अनि, अन्तःस्करण परिपक्व हुन्छ । अन्तमा मानिसभित्र भएका सबै प्रकारका विभेद सकिन्छन् र गहन ज्ञानको प्रकाश बुद्ध बनेर चम्किन थाल्दछ । त्यसपछि नै मानिस ज्ञानी बन्ने हो ।

त्यसैले पूर्वीय दर्शनमा भनिएको छ कि, जब अध्ययन र व्यवहारिक अनुभवले बुद्धि परिपक्व हुँदै जान्छ, त्यसपछि मात्रै ऋतुम्भर ज्ञानको उत्पन्न हुने हो । ऋतुम्भर ज्ञान भन्नाले अन्तर्निहित प्रमाणिक ज्ञानको रुपान्तरित शुद्ध अवस्थालाई बुझिन्छ । मानिसको विद्वताको पराकाष्टा विभेदरहित मानव हित, सामुदायिक समानता र प्रकृतिको श्रेष्ठतामा अन्तरनिहित हुन्छ ।

अचेल विद्वान् र विदुषी अथवा बुद्धिजीवी शब्दको जताततै प्रयोग गरिन्छ । कुनै एक विषयमा आधारभूत ज्ञान नभएको व्यक्तिलाई पनि विद्वान् भन्न थालिएको छ । जसले समाजमा नचाहिँदो विवाद गर्छ र सामाजिक समस्यालाई समाधान गर्नुको सट्टा समस्या बढाउने काम मात्र गरिरहन्छ, त्यस्ता सङ्कीर्ण सोच लिएर टाउको हल्लाउनेहरूलाई पनि अहिले विद्वान् भनिदिनु पर्छ ।

शैक्षिक प्रमाणपत्रको चाङ कम भए पनि आफ्नो पेसामा आबद्ध अनुभवले निखारिएर समुदायमा समर्पित समूह पनि विद्वत् वर्ग हो । शैक्षिक प्रमाणपत्र मात्र बुद्धिजीवीको परिचय बन्न सक्दैन । बुद्धिको क्षेत्रफल कसैले दिएको अङ्कले नभइ चेतनाको प्रकाशले मात्र मापन गर्न सकिन्छ ।

विद्वत् वर्गको विचारले समाजलाई डोऱ्याउँछ वा उसले जलाएको दियोको प्रकाशमा मानव सभ्यता अगाडि बढ्छ । विद्वानले दिएका विचारहरू समाजमै निर्मित भए पनि अग्रगामी हुन्छन् । राज्यसँग हस्तक्षेपकारी भूमिका निर्वाह गरी सत्यको पैरवी गर्ने चरित्रकै कारण बुद्धिजीवीलाई अन्य व्यक्तित्वभन्दा विशिष्ट ठानिने मान्यता समाजमा स्थापित छ ।

अमेरिकी विद्वान् नोम चोम्स्कीले बुद्धिजीवीहरूको उत्तरदायित्वलाई लिएर भनेका छन्, ‘सत्य बताउनु र झूटको पर्दाफास गर्नु नै साँचो अर्थमा बौद्धिक वर्गको उत्तरदायित्व हो ।’ चोम्स्कीका शब्दमा, बौद्धिक वर्ग सधैं सत्ताको विपक्षमा र बहुसंख्यामा रहेका समुदायको पक्षमा उभिएको हुन्छ । स्रोतसाधन र शक्तिसम्पन्न सत्ताको चरित्र सधैं सर्वसाधारणलाई कुनै न कुनै आशा र भरोसा बाँडेर आफ्नो स्वार्थ सिद्ध गर्नतर्फ केन्द्रित हुन्छ । सर्वसाधारणले सत्ताको यो कूटनीतिलाई बुझ्न सक्दैनन् र सत्ताको झूटो जालमा फस्छन् । तसर्थ, सत्यतथ्यलाई सर्वसाधारणसामु पुऱ्याउने, बुझाउने र ब्युझाउने तथा आवश्यक परे सामाजिक न्यायको लागि विद्रोहमा उतार्ने दायित्वसमेत बौद्धिकहरूले नै निर्वाह गर्न सक्नुपर्छ । अर्का अमेरिकी लेखक क्रिस्टोफर हिचेन्स्कोले भनेका छन्, ‘बौद्धिकहरूलाई सबैले चिनेकै हुनुपर्छ भन्ने छैन, तर शक्तिसामु निर्भिकतापूर्वक सत्य बोल्ने क्षमता भने उसमा हुनैपर्छ ।’

अन्त्यमा, बुद्धिजीवी, विद्वत् वर्ग र ज्ञानीहरूमा सत्यलाई चिन्ने उच्च सजगताको साथै, सत्यलाई हतियारका रूपमा प्रयोग गर्ने सीप पनि हुनैपर्छ । प्रमाणिक सत्य कसको सामु पुऱ्याउने र कसरी फैलाउने भन्नेमा पनि विद्वान्/विदूषी सचेत हुन उत्तिकै आवश्यक हुन्छ  । उनीहरू करुणामयी र विनयी हुनुको साथै आधुनिक चेतनाले समाजलाई सकारात्मक परिवर्तनतर्फ लैजान सक्ने सामर्थ्यको हुनुपर्छ । यसर्थ मार्क्स, गान्धी, मन्डेला, नोम्चोम्सकी जस्ता आधुनिक विश्वलाई प्रभाव पार्न सक्ने ब्याक्तिहरूलाई पनि ज्ञानी मान्न सकिन्छ । अबको युगमा ज्ञान आदर्शमात्र नभएर व्यवहारिक र प्राविधिक प्रयोगबाट संश्लेषित विचार तथा परिणाम दुवै हो ।

यसरी हेर्दा, सत्यको पक्षधर भएर समाजमा बौद्धिक गतिविधि गर्ने तथा लेखेर, बोलेर या अन्य माध्यमबाट समाज वा राज्यलाई सघाउने र समाजका सकसहरूलाई निकास दिन योगदान गर्नेहरूलाई मात्र बुद्धिजीवी वा विद्वान् भन्न सकिएला । कामचोर, श्रम चोर, दलाल, करुणाविहीन, घमण्डी र प्रज्ञाविहीन पाखण्डी सबैलाई बुद्धिजीवी भन्दै हिँडियो भने युगले सम्मान गरेका करुणामय बुद्धहरूको अपमानमात्रै हुनेछ ।