‘घुरको धुवाँ’माथि विशद विमर्श

‘घुरको धुवाँ’माथि विशद विमर्श


लेखक तथा पत्रकार राजेश खनालको संस्मरणसंग्रह ‘घुरको धुवाँ’माथि विशद विमर्श गरिएको छ ।

साहित्यिक संस्था एपेक नेपालले आयोजना गरेको विशद विमर्शमा समालोकचक तथा साहित्यकारहरूले ‘घुरको धुवाँ’ले मैथिली संस्कृतिसँगै मधेसलाई सकारात्मक बहसमा तानेको बताइएको छ ।

विमर्श कार्यक्रमका मूल वक्ता आख्यानकार नयनराज पाण्डेले आफूलाई मधेस लेखनमा एउटा घटनाले पुऱ्याएको सन्दर्भ स्मरण गर्दै सामान्य भाषाका कारण ठूलो समस्या आउने गरेको बताए ।

आख्यानकार पाण्डेले मधेस विषयका लेखनमा सहानुभूति पर्याप्त आए पनि त्यहाँका सबल पक्ष नआएको उल्लेख गरे । उनले खनालको ‘घुरको धुँवा’ले मधेस लेखनको दृश्य बद्लिदिएको बताए ।

पाण्डेले लेखनमा आख्यानका बलिया अन्रवस्तु देखिएको भन्दै लेखक खनाललाई आख्यानतर्फ आउन आग्रह गरे ।

साहित्यकार धीरेन्द्र प्रेमर्षिले खनालले लेखेको संस्मरणात्मक निबन्धकृति ‘घुरको धुवाँ’ले मैथिल समुदायले नै बिर्सिसकेको संस्कृति पुनर्ताजगी गरेको बताए । उनले पुस्तकमा प्रयुक्त शब्दावली मैथिली समुदायमा समेत नरहेको चर्चा गर्दै भाषा संरक्षणका दृटिले यो महत्वपूर्ण रहेको बताए ।

समालोचक प्रा.डा. लक्ष्मणप्रसाद गौतमले ‘घुरको धुवाँ’मा मैथिली संस्कृति जीवन्त बनेको बताए । उनले ‘पुस्तकमा कुनै पनि संस्कृतिको झल्को आउनु वा त्यसको चरित्र चित्रण हुनु र संस्कृति नै बाच्नु फरक कुरा हो’ भन्दै खनालको कृति ‘घुरको धुवाँ’मा मैथिल संस्कृति निर्धक्क बाँचेको बताए ।

साहित्यकार अनिता अनिता कोइरालाले पुस्तकले मधेसमा हुर्किएकाहरूलाई आफैं संलग्न भएको भान गराउने भन्दै मधेस बुझ्न चाहनेहरूका लागि पनि ‘एउटा चलचित्र जस्तै भएको बताइन् ।

कार्यक्रममा एपेक नेपालका अध्यक्ष विश्वविमोहन श्रेष्ठले ‘घुरको धुवाँ’ मिथिलाको स्वाद बोकेर नेपाली साहित्य भण्डारमा आएको बताए । कार्यक्रममा प्रकाशन संस्था कर्मयोगी बद्रीविक्रम थापा स्मृति सेवा गुठीका किरण थापा, कवि राजेन्द्र शलभ र लेखक खनालले बोलेका थिए ।