निर्माणको क्रममा ढलेको बाइटार-चिपटार पुलको ‘टावर’ ठड्याइयो

निर्माणको क्रममा ढलेको बाइटार-चिपटार पुलको ‘टावर’ ठड्याइयो


निर्माणको क्रममा ढलेको खोटाङको हलेसी तुवाचुङ नगरपालिका-२ डिकुवाको बाईटार र उदयपुरको कटारी नगरपालिकाका-१० सोरुङछबिसेको चिपटार जोड्ने झोलुङ्गे पुलको टावर ठड्याइएको छ । पुलको उदयपुरतर्फको निर्माणाधीन टावर २०७९ चैत १० गते ढलेको थियो ।

निर्माण कम्पनी नेपाल फूलवारी-स्वर्णीम-अन्सुमन जेभीले पुलको टावर हालै ठड्याएको हो । स्थानीयको निरन्तरको दबाबपछि उक्त कम्पनीले गत फागुन २९ गतेदेखि काम सुरु गरेको थियो । टावर ढले यता काम पुलको काम रोकिएको थियो । निर्माण कम्पनीलाई प्रदेश सांसद भूपेन्द्र राईलगायत स्थानीयले पूर्वाधार विकास कार्यालय गाईघाट र निर्माण व्यवसायीलाई अविलम्ब काम थाल्न अनुरोध गरेका थिए ।

प्रदेश सरकारले पूर्वाधार विकास कार्यालय गाईघाटमार्फत उपलव्ध गराएको रु तीन करोड ५० लाखमा पुल निर्माणको काम सुरु भएको थियो ।

झोलुङ्गे तथा पक्की पुल अभावमा साविकको डिकुवा-३ बाइटार र बलुई तथा साविकको डिकुवा-२ टारगाउँका एक सय १० परिवार डुङ्गा चढेर नदी वारपार गर्न बाध्य छन् । उदयपुरको कटारीबजार डिकुवा र बाहुनीडाँडाका स्थानीयको दैनिक उपभोग्य सामग्री किनमेल गर्ने प्रमुख व्यापारिक केन्द्र हो ।

तस्बिर : रासस