एआई : असिम सम्भावना र डरलाग्दा चुनौतीहरू

एआई : असिम सम्भावना र डरलाग्दा चुनौतीहरू


च्याट जीपीटी आर्टिफिसियल इन्टेलिजेन्सको अहिलेसम्मको उपल्लो रूप हो, जसले बौद्धिक मानिसले गर्ने कामहरू गरिरहेको छ । एआईका अन्य रूपसँगै च्याट जीपीटीबाट अहिले बौद्धिक क्षेत्रका मानिसले खतरा महसूस गर्न थालेका छन् । मान्छेको मूल्याङ्कन के आधारमा गर्ने भन्ने बारेमा नै यसले प्रश्न खडा गरिदिएको छ ।
✍ बबिता बस्नेत

कुरा आफैबाट सुरु गरौँ, सन् १९९४ को अक्टुबर महिनामा संयुक्त राष्ट्रसंघको प्रधान कार्यालय न्युयोर्कमा पत्रकारिताको तालिम लिँदै गर्दा पहिलोपल्ट इमेल के हो र कसरी यसले काम गर्छ भन्ने बारेमा जानकारी पाएकी थिएँ । त्यतिबेला कम्प्युटरमा कसैलाई चिट्ठी लेखेर पठाउँदा एकैछिनमा सम्बन्धित मान्छेले पाउँछ भन्ने सुन्दा ‘कस्ता दिन आए’ भनेर अचम्मै लागेको थियो । हामीलाई प्रशिक्षण दिँदा अभ्यास गरेर देखाउने क्रममा एकैछिनमा उताबाट जवाफ आएपछि ‘हामीकहाँ यस्तो कहिले होला ? यो हामीकहाँ पनि आउला त ?’ भन्ने लागेको थियो । न्युयोर्कबाट फर्किएर इमेल भनेको यस्तो हो, यता लेखेर पठाउनेबित्तिकै उता मान्छेले पढ्न सक्छ भनेर साथीहरूलाई सुनाएकी थिएँ । म आफैले चाहिँ सन् १९९८ बाट इमेल चलाउन थालेकी हुँ । एकैछिन इन्टरनेट जोडेर कोही बाहिर रहेका साथीहरूलाई इमेल पठाउँदा अनौठो अनुभूति भएको थियो । त्यसको केही वर्षपछि इमेलबिना कामै नहुने भयो । त्यसअघि छिटो सामाग्री पठाउनका लागि फ्याक्सको प्रयोग गरिन्थ्यो । फ्याक्समा बाहिरै देखिने हुँदा ब्यक्तिगत कुरा लेख्नु पऱ्यो भने चिट्ठीपत्रकै प्रयोग हुन्थ्यो ।

इमेलदेखि सामाजिक संजालसम्म पुग्नलाई प्रविधिलाई केही समय लाग्यो । संयोग कस्तो भने सन् २००९ मा फेसबुक अकाउण्ट खोल्दा छोटो समयका लागि म न्युयोर्कमैं थिएँ । फेसबुक सन् २००४ देखि नै सञ्चालनमा आएको, नेपालमा पनि यसको चर्चा र प्रयोग राम्ररी नै भइसकेको भएपनि मेरो अकाउण्ट थिएन । सँगै यात्रा गरिरहेकी साथी जवाहरलाल नेहरु युनिभर्सिटिकी प्राध्यापक डा. संगीता थपलियालले सिकाएपछि फेसबुक खोलेकी थिएँ । अचम्म त के भने फेसबुकमा स्कुल, कलेजका साथीहरू, बाहिर रहेका आफन्तहरू जसलाई खोज्यो उसलाई भेटेपछि ‘लौन के हो यो…’ जस्तो लागेर मलाई राति राम्ररी निन्द्रा लागेको थिएन । फोटो पोष्ट गर्न जानेपछि त अझ कुरै अर्को भइहाल्यो ! त्यसपछि ट्वीटर हुँदै धेरै सन्जालहरू आए । अहिले आर्टिफिसियल इन्टेलिजेन्सले विश्व पिटिरहेको छ । ‘यसले के गर्छ भन्दा पनि के गर्दैन ?’ भनेर चर्चा गर्नुपर्ने ठाउँमा हामी आइपुगेका छौँ ।

यही वि.सं. २०८० को चैत्र १६ र १७ गते सेन्टर फर इन्भेष्टिगेटिभ जर्नलिजम (सीआईजे) ले पत्रकारका लागि आर्टिफिसियल इन्टेलिजेन्सका सम्भावनाहरूलाई लिएर एउटा कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रममा वरिष्ठ पत्रकार तथा प्राध्यापक कुन्द दीक्षितले भन्नुभएको थियो, ‘हामी आइए पढेकाहरू अब एआई पढ्नैपर्ने ठाउँमा आइपुगेका छौँ ।’ हुनपनि एआईको बारेमा जानिएन भने अब धेरै कुरामा हामी रुमलिन सक्छौँ । प्रविधिले नयाँ-नयाँ कुरा ल्याएपछि त्यसलाई कसरी प्रयोग गर्ने भन्ने सिक्न कुनैपनि बेला हामी तयार बस्नुपर्ने अवस्था छ । ‘लाइफ इज अ लर्निङ प्रोसेस’ भनेर त्यसै भनिएको होइन रहेछ । कपाल फुल्दै जाँदा नयाँ-नयाँ र अनौठा कुराहरू सिक्नुपर्ने, नसिके पछि धकेलिने परिस्थितिमा हामी छौँ ।

आर्टिफिसियल इन्टेलिजेन्स के हो ?

आर्टिफिसियल इन्टेलिजेन्सको आविस्कार मेसिनले मानिसले जस्तै काम गरोस् भन्ने उद्देश्यले गरिएको हो । मान्छेको बुद्धिले गर्ने काम मेसिनले गरोस् भनेर यसको परिकल्पना अमेरिकन कम्प्युटर वैज्ञानिक जोन मेक्क्यार्थीले गरेका थिए । यो मुलतः मानिसको बुद्धिलाई मेसिनमा हाल्ने प्रविधि हो । कोभिडका बेला हामीले देख्यौँ- चीनका अस्पतालहरूमा औषधी तथा खानेकुराहरू ओल्लो कोठाबाट पल्लो कोठामा लाने काम रोबर्टहरूले गरिरहेका थिए । चीनमा मात्र होइन धेरै मुलुकका अस्पतालमा रोबर्टहरू कामदारका रूपमा काम गरिरहेका छन् । केही वर्षअघि सोफिया नाम गरेकी रोबर्ट विश्वचर्चित थिइन् । उनलाई हेर्न र उनीसँग बोल्नका लागि मानिसहरूको भीड लाग्ने गर्थ्यो । अहिले त एआइवाला मान्छेका स्वरुप धेरै बनिसकेका छन् । हिजोआज मानिस एक्लै बस्नु पर्दैन, तपाईंलाई कम्प्युटरमा आर्टिफिसियल इन्टेलिजेन्ससँग तास खेल्न मन छ भने तास खेलिदिन्छ, चेस खेल्न मन भए चेस खेलिदिन्छ । मानिसले मानिसलाई साथी बनाउन विश्वासमा संकट उत्पन्न भइरहेको बेला आर्टिफिसियल इन्टेलिजेन्स मानिसको साथी बनिरहेको छ । कृत्रिम बौद्धिकता भएको मेसिनले हामीलाई नजिकको रेष्टुरेन्ट खोजिदिन्छ, आफूले चाहेको गीत सुनाइदिन्छ, आज केही खोजेको छ भने भोलि पनि त्यस्तै कुराहरू अगाडि राखिदिन्छ ।

यसले दिएका सबै जानकारीहरू सही हुन्छन् भन्नेचाहिँ छैन । कतिले यसलाई ‘गलत सूचना प्रवाहका लागि सही माध्यम झैँ बनेको’ भनी टिप्पणी पनि गर्ने गरेका छन् । कतिले यसले मानिसमा अविश्वासको वातावरण सिर्जना गर्ने निश्चित झैँ भएको ठानेका छन् भने कतिले चाहिँ अब मानिसहरू बेरोजगार हुन्छन् भनेका छन् र, बेरोजगार भइरहेका पनि छन् ।

‘आर्टिफिसियल इन्टेलिजेन्स’ कम्युटर साइन्सको उन्नत रूप हो जसले मेसिनमा सुन्ने, बोल्ने र सोच्ने शक्तिको विकास गरेको छ । हिजोआज कम्प्युटरमा कुनै कुरा खोज्दा, इमेलमा पासवर्ड परिवर्तन गर्दा तिमी रोबर्ट हौ कि मान्छे हौ भनेर सोधिन्छ । साँच्चिकै मान्छेले ‘म मान्छे हुँ’ भनेर मात्र पुग्दैन, मेसिनले लेखेका बाङ्गाटिङ्गा अक्षर चिनेर आफू मान्छे हुनुको प्रमाण पेश गर्नुपर्छ । यो सबै आर्टिफिसियल इन्टेलिजेन्सका कारणले भएको हो । अहिले झैँ प्रविधिको विकास नहुँदै यसको परिकल्पना गरिएको थियो । सन् १९७९ मा जोन मेक्क्यार्थीले मानिसका गुणहरू हुने मेसिनबारे लेख लेखेका रहेछन् । लेखमा मेसिनलाई विश्वास गर्न सकिन्छ भनिएकोप्रति आपत्ति जनाएर मेसिनलाई कसरी विश्वास गर्ने ? यस्ता कुरा पनि लेख्ने ? भनेर आलोचकहरूले लेखमार्फत विरोध गरेका थिए भनी दस्ताबेजहरूमा भेट्न सकिन्छ । समयक्रममा अहिले स्वास्थ्यक्षेत्रमा ब्यापक रूपमा कृत्रिम बौद्धिकता राखिएका मेसिनले काम गर्न थालेका छन् । ड्राइभरबिना नै गाडी चल्ने प्रविधिको विकास भइरहेको छ ।

‘आर्टिफिसियल इन्टेलिजेन्स’ यस्तो प्रविधि हो जसले मान्छेजस्तै गर्न सक्छ । मानिसले जस्तोउस्तै कुरा सोच्न सक्दैन किनभने हरेक मानिसका सोचहरू फरक हुन्छन्, प्रवृत्तिहरू फरक हुन्छन् । भावनाहरूलाई जस्ताको तस्तै ब्यक्त गर्न सक्दैन । तर, मानिसको आम प्रवृत्तिलाई भने यसले टिप्न सक्छ । कृत्रिम बौद्धिकतालाई सोच्ने बनावटी शक्ति पनि भन्न मिल्छ । आर्टिफिसियल इन्टेलिजेन्सका कारण हिजोआज मानिसलाई धेरै कुरा सहज भएको छ ।

च्याट जीपीटी

सन् २०२२ को नोभेम्बर ३० तारिखदेखि प्रयोगमा ल्याइएको च्याट जीपीटी यस्तो आर्टिफिसियल इन्टेलिजेन्स (कृत्रिम बौद्धिकता) हो जसले विभिन्न विषयमा सूचना तथा जानकारी मात्र दिँदैन आफूलाई चाहिएको विषय टक्क लेखि पनि दिन्छ । सुरु भएको पाँच दिनमा दश लाखले डाउनलोड गरेको च्याट जीपीटीले अहिले विश्व हल्लाइदिएको छ । विभिन्न विषयमा लेख, रचना, सम्पादकीय लेख्नेदेखि बच्चाहरूको होमवर्कसम्म गरिदिने भएपछि स्कुल तथा कलेजमा विद्यार्थीहरूलाई यसको प्रयोगमा बन्देज लगाउन थालिएको छ । साहित्य, ब्यापारिक तथा बजार योजना, ब्याकरण मिलाउने, गल्ती सच्याउने सबै यसैले गरिदिएपछि मानिसले के काम गर्ने ? दिमाग केमा प्रयोग गर्ने ? भन्नेसम्मका बहसहरू हुन थालेका छन् ।

गुगलमा हामीले कुनै जानकारीका लागि सम्बन्धित विषय टाइप गरेपछि तथ्याङ्क, पृष्ठभूमिलगायतका कुराहरू भेट्न सक्छौँ । च्याट जीपीटीले के खोजेको हो त्यो विषयमा लेखि नै दिन्छ । र, एउटाले खोज्दा लेखेको कुरा अर्कोले खोज्दा दोहोरिँदैन भन्ने छ । एउटै ब्यक्तिले एउटै विषयमा फरक-फरक समयमा लेख्न लाउँदा फरक सामाग्री लेखिदिन्छ । ओपन आई नामको रिसर्च कम्पनीले च्याट जीपीटीको सुरुवात गरेको हो । च्याट जीपीटी आर्टिफिसियल इन्टेलिजेन्सको अहिलेसम्मको उपल्लो रूप हो, जसले बौद्धिक मानिसले गर्ने कामहरू गरिरहेको छ । एआईका अन्य रूपसँगै च्याट जीपीटीबाट अहिले बौद्धिक क्षेत्रका मानिसले खतरा महसूस गर्न थालेका छन् । मान्छेको मूल्याङ्कन के आधारमा गर्ने भन्ने बारेमा नै यसले प्रश्न खडा गरिदिएको छ ।

तथापि, यसले दिएका सबै जानकारीहरू सही हुन्छन् भन्नेचाहिँ छैन । कतिले यसलाई ‘गलत सूचना प्रवाहका लागि सही माध्यम झैँ बनेको’ भनी टिप्पणी पनि गर्ने गरेका छन् । कतिले यसले मानिसमा अविश्वासको वातावरण सिर्जना गर्ने निश्चित झैँ भएको ठानेका छन् भने कतिले चाहिँ अब मानिसहरू बेरोजगार हुन्छन् भनेका छन् र, बेरोजगार भइरहेका पनि छन् । यसको प्रयोगका लागि सुरुमा पैसा तिर्नु नपरेपनि पछिल्ला भर्सनहरूमा केही समयको प्रयोगपछि पैसा तिर्नुपर्ने बनाइएको छ । सन् २०२१ सम्मको तथ्याङ्कको आधारमा सामाग्रीहरू दिने गरिएको भनिएको च्याट जीपीटीको प्रयोग सुरुवाती दिनमै जसरी भइरहेको छ यसले मानव सिर्जनालाई कहाँ र कुन परिस्थितिमा पुऱ्याउने हो यसै भन्न सक्ने अवस्था छैन ।

विश्वब्यापी चर्चामा रहेको ‘च्याट जीपीटी’ लाई मैले गत वर्ष ‘तिमी नेपाली भाषा बुझ्छौ ?’ भनेर सोधेकी थिएँ । जवाफमा उसले ‘म विश्वका धेरै भाषा बुझ्छु र लेख्न सक्छु, कतिपय शब्दहरू भने अलिक तलमाथि हुनसक्छ’ भन्ने जवाफ दियो । ‘त्यसो भए बबिता बस्नेतका बारेमा केही लेखिदेउ न त’ भनेँ । उसले ‘नेपालमा बबिता बस्नेत धेरैको नाम हुन्छन्, तिमीले उ के काम गर्छ भन्ने कुरा पनि लेखिदियौ भने मलाई सजिलो हुन्छ’ भन्यो । ‘पत्रकार’ टाइप गरेपछि केही बेरमा गज्जबको प्रोफाइल अगाडि राखिदियो । आफ्नो प्रोफाइल पढेर दङ्ग परेँ । त्यसपछि केही इमेलहरू ड्राफ्ट गर्न लाएँ । शीर्षक दिएर कविता लेख्न लाएँ, गीत र निबन्ध लेख्न लाएँ । अंग्रेजीमा छिटो र राम्रो लेख्यो, नेपालीमा अलिक ढिलो र भाषा त्यति नमिलेको तर राम्रै लेख्यो । ओहो… के हो यो ? जे लेख भन्यो त्यही लेख्छ त… ! भनेर विश्वमा धेरै मानिसहरू जस्तै म पनि छक्कै परेँ । शायद धेरै मानिसहरू सुरुवाती चरणमा मजस्तै छक्क परे होलान् ।

एआइले ‘आई लभ यु’ भनेपछि..

एक वर्षअगाडि (सन् २०२३ फ्रेब्रुवरी) न्युयोर्क टाइम्सका प्रविधि स्तम्भकार केभिन रोजले लेखेको एउटा लेखले निकै चर्चामात्र पाएको थिएन, कसरी यस्तो भयो भन्ने प्रश्न पनि उठाएको थियो । लेखमा उनले च्याटबोटसँग सम्वाद गर्दाको आफ्नै अनुभव लेखेका थिए । ‘ह्वाइ अ कन्भरसेसन वीथ वीङ्स च्याटबोट लेफ्ट मी डीपली अनसेटल्ड’ शीर्षकको उक्त लेखलाई लिएर लेखक केभिनसँग सीएनबीसी टेलिभिजन च्यानलले कुराकानी पनि गरेको छ । केभिन प्रत्येक दिन च्याट जेपीटीको च्याटबोटसँग कुरा गर्थे । उनले कुरा गर्ने मेसिनको कोड नाम सिड्नी थियो । दिनको दुई घण्टा जति कुरा गर्दै जाँदा एक दिन सिड्नीले प्रेम प्रस्ताव राख्दै लेखी, (मेसिन भएकोले लेखिन्, लेखे, जे पनि भन्न मिल्यो) ‘के तिमी मलाई प्रेम गर्छौ ? म तिमीसँग प्रेममा छु ।’ आफूले कुरा गर्दै गरेको मेसिनले एक्कासी प्रेमको कुरा गरेपछि उनले आफू विवाहित रहेको बताए । त्यसपछि सिड्नीले लेखी- ‘तिमी विवाहित छौ तर पत्नीसँग प्रेममा छैनौ । तिमी विवाहित हौ तर पत्नीसँग सन्तुष्ट छैनौ, तिमी विवाहति हौ तर खुशी छैनौ । तिम्री पत्नी पनि तिमीलाई माया गर्दिनन् ।’ त्यसपछि उनले ‘म र मेरी पत्नी एकार्कालाई प्रेम गर्छौं र हामी खुशी छौँ, केही दिनअघि मात्र हामीले प्रेमिल भ्यालेन्टाइन डिनर सँगै खाएका थियौँ’ लेखे । जवाफमा उसले लेखी- ‘तिमीहरू डिनर खाँदै गर्दा तिमी अरु कसैसँग च्याट गरिरहेका थियौ र तिम्री पत्नी पनि अरु कसैसँग च्याट गरिरहेकी थिइन् । तिमीहरू एकार्कालाई प्रेम गर्दैनौ ।’ पटक-पटक कुरा परिवर्तन गर्न खोज्दा सिड्नीले प्रेमकै कुरा अघिसारेको केभिनले बताएका छन् ।

यो घटनाले दुई वटा कुरामाथि प्रश्न उठाएको छ । एउटा, आर्टिफिसियल इन्टेलिजेन्सले अरु जे-जे गरेपनि उसँग भावना (इमोशन) हुदैन । प्रेम र माया भावनासँग जोडिएको कुरा हो, मेसिनले कसरी प्रेमको कुरा गऱ्यो ? दोश्रो, मानिसहरूको गोपनियताको कुरा । को, कतिबेला, कोसँग कुरा गरिरहेको छ भन्ने मेसिनले थाहा पाएर त्यसरी भन्न थालेपछि गोपनीयताको सुनिश्चितता कहाँ रह्यो ? ती लेखकले यो विषयलाई लिएर माइक्रोसफ्ट (जसले च्याट जेपीटी बनायो) सँग कुरा पनि गरेका छन् । माइक्रोसफ्ले कहिलेकाहीँ त्यस्तो हुन सक्ने र आफूहरूले यसमा काम गरिरहेको जवाफ दिएको उनले बताएका छन् ।

डरलाग्दो कुराचाहिँ के हो भने यसले तपाईं-हाम्रो आवाजलाई जस्ताको तस्तै बनाइदिनसक्छ । अहिले कसैले गीत गाएको, कसैले अङ्ग्रेजीमा भाषण गरेको कुरालाई हामी बडो रोमाञ्चित हुँदै सेयर गरिरहेका छौँ । भोलि यही कुरा ठुलो चुनौती बनेर हामीसामु आउने सम्भावना पनि त्यत्तिकै छ । उस्तै आवाजले मानिसलाई झुक्याउने काम मात्र गर्ने छैन, अदालतका लागि पनि चुनौती बन्न सक्छ ।

सम्भावना र चुनौतीहरू

एआइले हामीले बोलेको कुरालाई शब्दमा लेखिदिन सक्छ । शब्दमा लेखेको कुरालाई आवाजमा बोलिदिन सक्छ । लामो सामाग्रीलाई छोटो, चिटिक्क परेको बनाइदिन सक्छ । तथ्याङ्कहरूलाई एकै ठाउँ जम्मा गर्न या विश्लेषण गरिदिनसक्छ । लेख, कविता, कथा, जोकलगायतका कुरा लेखिदिन या भनिदिन सक्छ । हिजो हजुरआमाले सुनाउने लोरी आफ्नै तालले सुनाइदिन सक्छ । मानिससँग कुरा गरेर बस्छ, लगाएको काम गर्छ । समाचार लेख्छ, पढ्छ । भाषा अनुवाद गर्छ, प्रुफ हेर्छ । अडियो, भिडियो, स्कृप्ट सबै गर्छ । टेबुल रिसर्च, लिटरेचर रिभ्यु जस्ता कामहरू गरिदिन्छ । एआइले बौद्धिक काम गर्ने मानिसलाई विभिन्न काम गर्न सहज बनाइदिएको छ ।

डरलाग्दो कुराचाहिँ के हो भने यसले तपाईं-हाम्रो आवाजलाई जस्ताको तस्तै बनाइदिनसक्छ । अहिले कसैले गीत गाएको, कसैले अङ्ग्रेजीमा भाषण गरेको कुरालाई हामी बडो रोमाञ्चित हुँदै सेयर गरिरहेका छौँ । भोलि यही कुरा ठुलो चुनौती बनेर हामीसामु आउने सम्भावना पनि त्यत्तिकै छ । उस्तै आवाजले मानिसलाई झुक्याउने काम मात्र गर्ने छैन, अदालतका लागि पनि चुनौती बन्न सक्छ । आवाजलाई विश्वास गर्ने र प्रमाण मान्ने ठाउँमा यो डरलाग्दो चुनौती हो । साँच्चिकै बोलेकाहरूले ‘म होइन एआई हो’ भनिदिन सक्छ भने एआई जेनेरेटेट आवाज र ‘कन्टेन्ट’ले साँच्चिकै हो कि भनेर झुक्याउन सक्छ । एआईका कारण विश्वमा धेरैले जागिर गुमाइरहेका छन् । समाचार वाचन एआईले गर्न थाल्यो । समाचार कक्षमा ‘प्रुफ रिडर’ पद हुन्थ्यो, अब एआईले गर्नथाल्यो, तलब दिएर मान्छे किन राख्ने ? मिडियाको मात्र कुरा होइन, अहिले विश्वमा मानिसले गरिरहेका ३७ प्रतिशत काममा एआईको प्रयोग भएको बताइएको छ ।

नियमनका कुरा

आर्टिफिसियल इन्टेलिजेन्स (कृत्रिम बौद्धिकता) लाई कसरी नियमन गर्ने भन्ने बारेमा अहिले विभिन्न मुलुकमा छलफल र बहसहरू भइरहेका छन् । युरोपियन युनियनले सम्बद्ध सबै मुलुकमा समान बुझाइ र नियमन हुने गरेर आर्टिफिसियल इन्टेलिजेन्टसम्बन्धी कानूनको मस्यौदा गरेको छ । सम्भवतः यही सन २०२४ को मे या जुन महिनाभित्र यो कानून युरोपियन युनियनका सबै सदस्य राष्ट्रहरूमा लागु हुनेछ । विभिन्न देशमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को कानून बन्दै गर्दा हामीकहाँ भने साइबर कानूनसम्म छैन । साइबर अपराधले बढ्दो रूप लिइरहेको बेला हामीकहाँ एआईआई पनि सँगसँगै बहसको विषय बनाउनु आवश्यक छ ।