बागमती मोडेर ललितपुरको बस्तिमा बाढी पसाउने सरकारी योजना !

बागमती मोडेर ललितपुरको बस्तिमा बाढी पसाउने सरकारी योजना !


जनताको सुरक्षा गर्नु सरकारको मूल दायित्व हुन्छ, तर सरकार आफै खोला फर्काएर शहरमा बाढी पसाउन नियोजितरूपमै लागिपर्छ भने त्यसलाई के भन्ने !?

काठमाडौं र ललितपुरको सीमानाबाट बग्ने बागमती नदीमा काठमाडौंतर्फको किनारामा मापदण्डविपरीत अग्लो पर्खाल खडा गरी धोविखोला दोभानमा पर्खाल घुमाएर नदीलाई ललितपुरतर्फ ठेलिने संरचना निर्माण गरेकोले अब वर्षातमा बाढी आउँदा ललितपुर वडा नम्बर १० कोपुण्डोल ज्वागल क्षेत्रमा सिङ्गै बागमतीको भेल पस्ने निश्चित भएको छ ।

बागमती सभ्यता विकाश आयोजनाले नदीको किनारालाई सुधार गरि सुन्दर र सफा बनाउन अर्बौंको परियोजना सञ्चालन गरिरहेको छ । यसक्रममा बागमतीको काठमाडौंतर्फको किनारामा भूमाफिया र सुकुम्बासीले कब्जा गरेको जमिन तथा तिनले खडा गरेको संरचनाको संरक्षणमा बागमती आयोजनाले ‘विशेष ध्यान दिएको’ पाइएको छ । किनारामा पर्खाल लगाउँदा परापूर्वकालदेखि बागमती बगिरहेको भाग मिचेर खोलालाई ललितपुरतर्फ ठेलिएको छ भने गुरुयोजनाले निर्धारण गरेको मापदण्डविपरीत जमिनभन्दा माथि ६ फिट अग्लो पर्खाल लगाइदिएको छ ।

ज्ञातब्य छ, गुरुयोजनामा नदीले प्राकृतिक रूपमा दायाँबायाँ बनाएको जमिनको उचाइभन्दा अग्लो बनाएर पर्खाल लगाउन नपाइने ब्यवस्था भएको छ । तर, आयोजना आफैले आफ्नो मापदण्डविपरीत काठमाडौंतर्फ कम्तिमा ६ फिट अग्लो पर्खाल लगाइदिएको छ ।

स्मरणीय छ, बागमती नदीको काठमाडौंपट्टि किनारामा जहाँ धार्मिक सांस्कृतिक सम्पदा छन् तीमध्ये अधिकाङ्श संरक्षित भएपनि केही सम्पदाहरू अतिक्रमणको चपेटामा परेका छन् । जहाँ बागमतीले छोडेको खाली जमिन (बगर) छ, त्यस्तो जमिन काठमाडौंपट्टि कहिँ सुकुमबासी त कहिँ भूमाफियाको कब्जामा परेको छ । जबकि ललितपुरपट्टीको किनाराका खाली जमिन सुकुम्बासी र भूमाफियाबाट जोगिएको छ । बालकुमारी र च्यासलको तल्लो भागमा बागमती र मनोहरा नदीको सङ्गम छ र, उक्त सङ्गमस्थलदेखि चोभार- चाल्नाखेलको तल्लो तटसम्मको किनारा हेरियो भने ललितपुरपट्टि खुला क्षेत्र देखिन्छ, तर काठमाडौपट्टीको किनारा सबै कब्जामा परेको देखिन्छ ।

बल्खुपुलदेखि माथितिर बागमतीको किनार काठमाडौंतर्फ सुकुम्बासीको कब्जामा छ, तर ललितपुरपट्टि खुला जमिनमा पार्क बनेको छ । काठमाडौंको शङ्खमूल क्षेत्रदेखि थापाथली पुलसम्मको क्षेत्रमा अधिकाङ्श भाग सुकुम्बासीको नाममा कब्जामा परेको छ भने धोविखोला दोभानदेखि तलदेखि माथि झोलुङ्गेपुलसम्म भूमाफियाले अतिक्रमण गरेकोमा अहिले उक्त जमिनमा भब्य ब्यापारिक भवनहरू बनेका छन् ।

त्यसको ठीक पारिपट्टि ललितपुरको खाली जमिनमा भब्य उद्यान बनेको छ, जसलाई युएन पार्कको रूपमा चिनिन्छ । हाल युएनपार्क रहेको जमिनमा स्थानीय किसानहरूले दशकौँदेखि खेती गर्दै आएका थिए । २०४६ सालमा राजनीतिक परिवर्तन हुनेबित्तिकै उक्त जमिनमा रातारात घरटहरा खडा गरि सुकुम्बासीको नाममा कब्जा हुन पुगेको थियो । तर, स्थानीय बासिन्दाको सङ्गठित प्रयासले सुकुम्बासी खेदिए । र, सोही जमिनमा स्थानीय बासिन्दाको अग्रसरतामा वृक्षारोपण सुरु भएको थियो ।

त्यसरी सुकुम्बासीबाट जोगाइएको जमिनलाई भूमाफियाले कब्जा गर्ने योजनाबद्ध प्रयास भएको थियो । एउटा सिफारिसका लागि तत्कालीन वडाध्यक्ष नरसिंह ब्यन्जनकारलाई सात रोपनी, टोल विकास संस्थाका अध्यक्ष कुलबहादुर आचार्यलाई तीन रोपनी र अर्का स्थानीय पत्रकारलाई मौन बसिदिने शर्तमा तीन रोपनी जमिन उपलब्ध गराइदिने प्रलोभन भूमाफियाहरूले दिएका थिए । उहाँहरूले माफियाको प्रस्ताव अस्वीकार गरेपछि उनीहरूको उक्त योजना असफल भएको थियो । वडाध्यक्षसहित स्थानीय बासिन्दाको पूर्ण असहमति र विरोध रहने स्पष्ट सङ्केत देखिएपछि सुकुम्बासी झैँ माफिया दस्ता पनि ललितपुरबाट फर्किएर काठमाडौंतपट्टि फर्किए । त्यहाँ रोजबड स्कूलले कम्पाउण्डवाल लगाउँदा पनि उसमाथि बागमती अतिक्रमण गरेको आरोप लागेको थियो । अहिले रोजबड स्कूलको पर्खालबाट बागमती किनाराको झण्डै पचहत्तर मिटर जमिन नदीतर्फ मिचिएको छ । त्यसका निम्ति सबैभन्दा पहिले धोविखोला दोभानमा बागमती नदी बगिरहेको स्थानमा करिब छब्बिस वर्षअघि एउटा मन्दिर खडा गरियो र, सो मन्दिरलाई घेरेर बीचैमा पर्खाल लगाइयो । हो, त्यही पर्खाललाई सोझ्याएर बागमती नदीको बीचैबीच माथिल्लो भाग (नयाँ पुल)सम्मको करिब चालीस रोपनी जमिनलाई भूमाफियाले नापी गराए र पर्खाल लगाए । अहिले त्यही कब्जा गरिएको जमिनमा विशाल ब्यापारिक घरहरू बनेका छन् ।

अहिले सो क्षेत्रमा पुग्ने धेरैलाई बागमती कब्जा गरेर बनाइएको जस्तो नलाग्न सक्छ । तर त्यसक्षेत्रको अध्ययन गर्दा शताब्दिऔँअघि बागमती किनाराका घाटमा बनेका ढुङ्गाका भकारीको अवस्थितिले पनि वास्तवमा बागमती कसरी र कति अतिक्रमित भएको भन्ने स्पष्ट गर्दछ । त्यसरी अतिक्रमित जमिनको रक्षाका लागि अहिले सरकारका तर्फबाट नयाँ पर्खाल बनाउने कार्य भइरहेको छ । यसरी पर्खाल लगाउँदा ललितपुरतर्फ बाढीको बागमती सोझै प्रवेश गर्नेगरी पर्खाल घुमाइएको र असामान्य रूपले अग्लो बनाइएको छ । धोविखोलाको सङ्गमक्षेत्रमा ललितपुरतर्फ बाढी पसाउन नियोजित प्रयास हुँदा पनि यसपटक ललितपुरबासीको मौनता भने आश्चर्यजनक देखिएको छ ।