भारतको औषधि कम्पनीमा विस्फोट हुँदा पाँच जनाको मृत्यु

भारतको औषधि कम्पनीमा विस्फोट हुँदा पाँच जनाको मृत्यु


दक्षिणी भारतीय राज्य तेलङ्गनाको एक औषधि कम्पनीमा बिस्फोट हुँदा कम्तीमा पाँच जनाको मृत्यु हुनुका साथै १६ जना घाइते भएका छन् ।

तेलङ्गना राज्यको सङ्गारेड्डी जिल्ला चन्दापुर गाउँस्थित कम्पनीभित्र बुधबार साँझ बिस्फोट भएको सिन्ह्वाले जनाएको छ ।

बुधबार साँझ चन्दापुर गाउँको औषधि कम्पनी एसबी अर्गानिक्स प्राइभेट लिमिटेडमा बिस्फोट भइ आगलागी हुँदा औषधि कम्पनीका सह–निर्देशक सहित पाँच जना कर्मचारीको मृत्यु भएको तथा अन्य १६ जना घाइते भएका छन् ।

घटनापछि आगलागी नियन्त्रणमा लिन अग्निनियन्त्रक र उद्धारकर्मीहरू घटनास्थलमा पुगेका थिए भने घाइतेहरूलाई अस्पताल पुऱ्याइएको थियो ।

प्रारम्भिक अनुसन्धानले कारखानाभित्रको केमिकल रिएक्टर बिस्फोट भइ आगलागी भएको अनुमान गरिएको छ । बिस्फोटको प्रभावले औद्योगिक परिसरको एउटा भवन ढलेको थियो ।

भारतमा औद्योगिक सुरक्षा मापदण्ड पालनामा बेवास्ता गर्नेक्रम बढेसँगै कारखानामा बिस्फोटका घटना बढ्न थालेको पाइएको छ ।