भारी वर्षाका कारण सिड्नी एयरपोर्टमा एक सयभन्दा बढी उडान रद्द

भारी वर्षाका कारण सिड्नी एयरपोर्टमा एक सयभन्दा बढी उडान रद्द


अष्ट्रेलियाको न्यु साउथ वेल्समा भारी वर्षाका कारण सिड्नी एयरपोर्टमा सयभन्दा बढी उडान रद्द भएका छन् ।

वर्षाका कारण पाँच वटा अन्तर्राष्ट्रिय उडान तथा १०९ वटा घरेलु उडान रद्द भएका हुन् । वर्षा र बाढीको प्रकोप बढ्दै गएकाले आगामी केही घन्टाहरूमा रद्द भएका उडानको सङ्ख्या बढ्ने देखिएको जनाइएको छ ।

न्यु साउथ वेल्स क्षेत्रमा रातारात तीव्र र व्यापक वर्षा भएपछि सिड्नीमा सबैभन्दा बढी क्षति भएको छ ।

स्थानीय मौसम सेवाप्रदायक ‘वेदरजोन’को तथ्याङ्कले सिड्नीमा शुक्रबार बिहानसम्म २४ घण्टामा १११ मिलिमिटरको वर्षाभएको छ भने यसले पूर्ण डुबानको अवस्था निम्त्याइदिएको छ । गम्भीर मौसमी प्रभावले ११ वटा रेल लाइनहरू जोड्ने यातायात केन्द्र ‘रेडफर्न स्टेसन’मा उपकरणमा क्षति पुग्दा रेल सेवासमेत प्रवावित भएको छ ।

रेडफर्नमा मौसमले उपकरणलाई क्षति पुगी विमानको उडानमा ढिलो भएका कारण रेलहरू समेत निर्धारित समयमा सेवा दिन सकेका छैनन् । मौसम प्रतिकुल नहुँदासम्म हवाई तथा रेल सेवामा ढिलाइ र अवरोध जारी रहने सूचना गरिएको न्यु साउथ वेल्सको सरकारी सडक तथा यातायात कार्यालयले सामाजिक सञ्जालमार्फत उल्लेख गरेको छ ।

अस्ट्रेलियाको मौसम विभाग (बिओएम)को पूर्वानुमान अनुसार अझै थप वर्षा हुने सम्भावना बाँकी छ । इलावारा एस्कार्पमेन्ट र ग्रेटर सिड्नी क्षेत्रका भित्री भागहरूमा पनि भारीमात्रामा वर्षा हुने सम्भावना छ । उक्त क्षेत्रमा तीन सय मिलिमिटरसम्म वर्षा भएको आँकलन गरिएको छ ।

गम्भीर आँधीबेहरीको सम्भावना देखिएकाले शक्तिशाली आँधी र तीव्र हावाका साथ स्थानीय आकस्मिक बाढी र पानीको छेउमा धेरै खतरनाक अवस्था निम्त्याउन सक्ने भन्दै मौसमविदहरुले कडा मौसमी चेतावनी जारी गरेका छन् ।