पाशुपत क्षेत्रको हराएको दुई हजार रोपनी जग्गा खोजेरै छोड्छु : सदस्यसचिव खत्री

पाशुपत क्षेत्रको हराएको दुई हजार रोपनी जग्गा खोजेरै छोड्छु : सदस्यसचिव खत्री


हिन्दुहरूका आराध्य देव पशुपतिनाथको समुचित विकास गर्न बनाइएको पशुपति क्षेत्र विकास कोषका हाल राजुकुमार खत्री सदस्य सचिव रहनुभएको छ । काठमाडौंको मूलपानीका स्थायी बासिन्दा खत्री २०७३ मा कोषको सदस्यमा मनोनयन हुनभएको थियो । गत असोजमा पुनः सदस्यमा मनोनयन हुनु भएका उहाँ हाल सदस्य सचिव हुनुहुन्छ । बालविनोद मावि पाटनबाट माद्यमिक तह र सरस्वती क्याम्पसबाट स्नातक अध्ययन गर्नु भएका खत्रीसित पशुपति क्षेत्रको समग्र विकासमा केन्द्रीत रहेर घटना र विचारका लागि प्रमुख संवाददाता सुरेन्द्र सुवेदीले गरेको कुराकानीको सम्पादित अंश ।

० पशुपतिनाथ क्षेत्रका मूल समस्या के के हुन् ?
– यहाँका मूल समस्या भनेका अतिक्रमण हुन् । अनेक गुठीका कारण, जग्गाजमिन हड्पने, खुला क्षेत्र भएका कारण बार नहुँदा जोसुकै पनि पशुपति क्षेत्रमा निर्वाध प्रवेश गर्न पाउने र सुरक्षा चुनौति यहाँका मुख्य समस्या हुन् ।

० कति जमिन अतिक्रमण भएको छ ?
– यहाँ ५ हजार २ सय ८० रोपनी जग्गा कोषको नाममा छ । हालै नापी विभागले गरेको नापजाँचमा ५ हजार ६ सय ६० रोपनी जमिन देखिएको छ । त्यो थप देखिएको जमिनको श्रेष्ता बन्ने चरणमा छ । यो मध्ये करिव २ हजार रोपनी जग्गा अतिक्रमित छ ।
पूर्व सचिव दामोदर रेग्मीको नेतृत्वमा अतिक्रमण भएको जग्गा खोज्ने काम भइरहेको छ । नापी विभागसित समन्वय गरेर काम भइरहेकोले त्यो जग्गा कोषको नाममा ल्याएरै छोडिनेछ ।

० पोखरीहरू हराएको भनिन्छ नि, त्यो के हो ?
– हो । यहाँ ९ वटा पोखरी हराएका छन् । एउटा ३ रोपनी ६ आना १ पैसा क्षेत्रफलको फेला परेको छ । हराएका पोखरी खोजेर पुनः पोखरीकै रुपमा विस्तार गर्ने योजना छ । बर्मा मन्दिर आसपासको जग्गा नापजाँच भइरहेको छ । यस्तै, गोठाटारमा रहेको जग्गा पनि नापी विभागसित समन्वय गरेर रेखाङ्कन गर्ने काम भइरहेको छ ।

० अहिलेसम्म के-के गर्नु भयो ?
बागमति सफाइ, पहिलेदेखिका फोहोर व्यवस्थापन, ३ हजार ट्रक बालुवा हटाएर बागमतिमै शिवरात्रीको बेला साधुहरूले नुहाउन पाए । शवदहनबाट निस्केको दाउरा, कोइलाहरू व्यवस्थित गरियो । पुराना फुल पसललाई हटाएर नयाँ र व्यवस्थित बनाउने काम भइरहेको छ । अस्थायी बत्ति हटाएर स्थायी २ सय वटा सोलार बत्ति जडान गरिएको छ । दैनिकको आरतीले गर्दा ब्रम्हनालमा लगिने शव र शवदहनमा पर्ने असरलाई ध्यान दिँदै साँझको समयमा मलामी तथा मृतकका आफन्तजनको सुविधाका लागि छिटो शवदहन गर्ने व्यवस्था मिलाइएको छ ।

आर्थिक वृद्धिका लागि शिवरात्रीको बाटोको रुटमा एक द्वार प्रणालीबाट दर्शनार्थी पठाउन थालिएको छ । विगतमा दैनिक २ लाख रुपैयाँ भेटी संकलन हुनेमा अहिले त्यो बढेर दैनिक ३ लाख रुपैयाँ पुग्न थालेको छ । दैनिक करिव १ सय वटा पूजा हुन थालेका छन् । घाट क्षेत्रलाई व्यवस्थित गर्न ५ सय वटा नयाँ कुर्सी राखिएको छ । पुराना कुर्सीलाई पनि मर्मत गरेर राख्ने व्यवस्था भइरहेको छ । पशुपति क्षेत्रमा रहेका तारहरूका १ सय ८५ वटा पोल हटाएर व्यवस्थित गरिएको छ । पछिल्ला सुधारका कामले गर्दा यस पटकको शिवरात्रीमा दर्शनार्थीले सहज र सुलभ रुपमा पशुपतिनाथको दर्शन गर्न पाएका थिए ।

० यो काममा स्थानीय बासिन्दा, जनप्रतिनिधिहरूको साथ पाइरहनुभएको छ ?
छ । स्थानीयसित सहकार्य गर्दै जात्रा, पर्वहरू मनाउने काममा स्थानीय तहका नेतृत्व पङ्ती, हिन्दुु धर्ममा आस्था राख्नेहरूले राम्रो साथ दिइरहनुभएको छ ।

० अबको योजना के छ ?
– हराएका सबै जग्गा खोज्ने पहिलो काम गरिरहेका छौं । पोखरी, डबली, धारा र वडा ८ भित्र रहेका सार्वजनिक अतिक्रमित जग्गाहरूको खोजविन गरेर तिनको संरक्षण गरिनेछ ।