शुभ रहोस् नयाँ वर्ष !

शुभ रहोस् नयाँ वर्ष !


पुरानो साल ओझेलिएर नयाँ साल वि.सं. २०८१ आरम्भ भएको छ । ‘नयाँ’ भन्ने शब्द त्यसै-त्यसै सुन्दर सुनिन्छ, नवीन कुरा सबैका लागि जिज्ञासा र पे्रमको विषय नै बन्दछ । त्यसैले होला, हरेक नयाँ वर्षलाई संसारभर नै यथाशक्य हर्षोल्लासका साथ मनाउने गरिन्छ । तर, ‘मान्नु’ र ‘मनाउनु’ दुई अलग कुरा रहेकोे हाम्रो परिवेशले सिद्ध गरिरहेको छ । कुनै पनि कुरा स्वतःस्फुर्त रूपले ‘मान्नु’मा प्राप्त हुने आनन्द आत्मीय प्रकृतिको हुन्छ भने ‘मनाउनु’चाहिँ देखावटी हो, जहाँ एउटाले गरेकोलाई अर्कोले देखासिकी मात्र गर्छ । यसरी देखावटीका खातिर मनाउने कार्यले आनन्द प्रदान गर्छ भन्न सकिन्न, बरु उल्टै पीडा दिन सक्छ । यतिबेला हामी यस्तै मानसिकताबाट गुज्रन विवश छौँ ।

आशावादी मानिसहरू भन्छन्- नव वर्ष एक सुन्दर फूल हो जसमा सुखद् भविष्यको बीज देख्न सकिन्छ । नव वर्षको ढोकाबाट प्रवेश गर्दैगर्दा व्यक्ति-व्यक्ति अनि सिङ्गै देश र विश्वकै भविष्य सुखद्-सुन्दर देख्नुपर्छ, सुख-समृद्धिको कामना गर्नुपर्छ । सुखद् कल्पनाले नै मानिसलाई वास्तविक सुखदावस्थामा पुग्न या पुऱ्याउन सघाउँछ । विपरीत सोच बोकेर सुखद् गन्तव्यमा पुग्न नसकिने हुँदा नवीन वर्षको आरम्भमा सुखद् र सुन्दर सोच बनाउनैपर्छ । तथापि, पुरानो वर्षलाई विदा गर्ने र नयाँ वर्षलाई स्वागत गर्ने घडी उल्लासपूर्ण हुनुपर्ने मान्यता रहेपनि त्यस्तो उमङ्ग प्रकट गर्न सकिरहेका छैनौँ हामी । मुलुकमा पन्पिएको दुषित र भाँडभैलोयुक्त राजनीतिक माहोलका कारण तमाम नेपालीजन निरासाको गर्तमा डुबिरहेका छौँ ।

वितेको वर्ष २०८० शुरुमा अनेक आशा बोकेर आएको थियो । तर, आशानुरूप नेपाल र नेपालीलाई खुसी दिन सकेन बितेको वर्षले । लामो समयदेखि देश उकुसमुकुसको अवस्थामा छ । अर्थात्, राजनीतिक रूपमा मुलुक निकै लुलो बन्न पुगेको छ । राजनीति कमजोर भएपछि सबै कुरामा तल परिने रहेछ भन्ने कुराको ज्वलन्त उदाहरण बन्न पुगेको छ यतिबेला नेपाल । नेताहरूले देश र जनतालाई अनेक बहानाबाजी गरी गोलचक्करमा घुमाइरहे । आज हुन्छ, भोलि हुन्छ, यति दिनमा त पक्कै हुन्छ भन्दै जनता झुक्याउने क्रम चलिरह्यो, भ्रमको राजनीति जारी नै छ । जनताले किचलोको अन्त्य खोजेका छन्, गरेर खान पाउने अवस्था सिर्जना होला कि भन्ने अपेक्षा गरेका छन् । तर, इमानदारीको खडेरीबाट ग्रसित राजनीतिक नेतृत्व असंवेदनशील, अकर्मण्य र गैरजिम्मेवार बनिदिँदा जनताको स्वाभाविक इच्छा पूरा हुने लक्षण देखिएको छैन । अस्वस्थ राजनीतिक खिचातानीबीच अनेक अभिसाप दिएर बितेको छ सिङ्गै वर्ष ।

हिजोका अनिष्टकारी छायाले आज पनि नेपाल र नेपालीलाई पछ्याइरहेको अनुभूति हुन्छ । अत्यन्त दीनहीन अवस्थाबाट नेपाल र नेपालीजन गुज्रनुपरेको छ । विश्वमञ्चमा हाम्रो पहिचान, इज्जत, मान्यता या अस्तित्व कसरी खस्किरहेको छ भन्ने हेक्का राख्ने चेष्टासम्म हामी गरिरहेका छैनौँ । उन्नतिको गफ दिँदै अवनतिको वेग मार्दैछौँ हामी ।

तथापि, नयाँ वर्ष एउटा उत्सव हो । यसलाई उमङ्गका साथ मनाउने संस्कार विश्वका अन्य मुलुकमा झैँ हामीकहाँ पनि वर्षेनी विकसित हुँदो छ । आगतका प्रत्येक क्षण उमङ्ग-उत्सव वा खुशीका साथ मनाउने कामना÷चाहनाका साथ नयाँ वर्षको पहिलो दिनलाई स्वागत गरिन्छ । पुरानो वर्षको विदाइसँगै नयाँ वर्षको स्वागत विशेष आशापेक्षाकै साथ गरिन्छ । बितेको वर्षभन्दा हरेक हिसाबले नयाँ वर्ष सुखदायी र उन्नत होस् भन्ने कामना गरिन्छ । पुरानो साल जसरी बिते पनि बितेर गएको वर्षलाई बिर्संदै फेरि सुखद कल्पना-कामनाका साथ नयाँ वर्षलाई स्वागत गरिन्छ । यही बिन्दुमा यतिबेला हामी उभिनपुगेका छौँ । अर्थात्, पुरानो वर्षलाई बिदाई गर्दै नयाँ वर्षको स्वागतका लागि हामी उल्लसित हुँदैछौँ ।

यसरी, निराशाजन्य परिवेशमा ‘नयाँ वर्ष’को आगमन भएको छ । बितेको वर्ष जे भयो भयो, नराम्रोले पनि राम्रोको निम्ति पाठ सिकाएर गयो भन्ने ठानौँ । चलिआएको चलनअनुसार फगत देखावटीका निम्ति पनि आशाका कुरा त गर्नैपर्छ, यसर्थ अबको वर्ष शुभ हुन्छ, सही हुन्छ अनि स्वस्थ र कल्याणकारी हुन्छ भन्ने कामना गरौँ, विश्वास राखौँ । बितेको वर्षभरिमा कति गल्ती गरियो ? त्याज्य काम/कुरा कति अपनाइयो ? खराब कुरा त्यागेर असल सोच-आचरण अवलम्बन गर्ने प्रयत्न गरियो-गरिएन ? नराम्रा बानी/ब्यहोरा हटाउने सोच कहिल्यै आयो-आएन ? यो मनन गर्दै नयाँवर्षको बिहानीसँगै आफूलाई निर्माण गर्ने अठोट गर्नु अपरिहार्य छ यदि नयाँ वर्षलाई सुखद् तुल्याउने हो भने ।

अन्त्यमा, नयाँ वर्षले सुख-समृद्धि ल्याओस्, प्रत्येक नेपाली घर-आँगनमा खुसी छाओस् । वि.सं. २०८१ ले सम्पूर्ण नेपालीजनका सारा असल आकाङ्क्षालाई सफलताको शिखरतर्फ डोऱ्याओस्, सुख-समृद्धिले सबैका कदम चुमोस् । यस्तै-यस्तै शब्दका साथ नयाँ साललाई स्वागत गरौँ । नयाँ वर्ष-२०८१ आगमनको अवसरमा सबैलाई कोटी-कोटी शुभकामना !