अष्ट्रेलियन आरोहीद्वारा बिना अक्सिजन अन्नपूर्ण हिमालको आरोहण

अष्ट्रेलियन आरोहीद्वारा बिना अक्सिजन अन्नपूर्ण हिमालको आरोहण


अष्ट्रेलियन पर्वतारोही एली पेपरले बिना अक्सिजन अन्नपूर्ण-१ हिमालको सफल आरोहण गरेकी छन् । वसन्त ऋतुको जारी आरोहणमा आरोही पेपरले विश्वको १०औं अग्लो हिमाल अन्नपूर्णको सफल आरोहण गरेकी हुन् ।

सेभेन समिट ट्रेक्स कम्पनीका अध्यक्ष मिङ्मा शेर्पाका अनुसार ४७ वर्षीया महिला पेपर शेर्पा पथप्रदर्शक मिकेल शेर्पा र निमा शेर्पाका साथमा आइतबार मध्याह्न १२ बजेर ७ मिनेटमा अन्नपूर्णको चुचुरो पुग्न सफल भएकी हुन् । आफ्नो कम्पनीबाट गएका लगभग सबैले यो सिजनमा अन्नपूर्ण आरोहण गरेको अध्यक्ष शेर्पाको भनाइ छ ।

दुई वर्षभित्र विश्वका आठ हजार मिटर अग्ला १४ वटा हिमाल आरोहण गर्ने लक्ष्य लिएकी अष्ट्रेलियन आरोही पेपरले अन्नपूर्ण आरोहणसँगै तीन वटा आठ हजार मिटर अग्ला हिमाल सफलतापूर्वक आरोहण गर्न सफल भएकी छन् । उनले यसपछि कञ्चनजङ्घा र मकालु हिमालको आरोहण गर्ने लक्ष्य राखेकी छन् ।

उनले सन् २००७ मा माउन्ट चोयु हिमाल तिब्बत तर्फबाट बिना अक्सिजन हिमाल आरोहणको आरोहण गर्न थालेकी थिइन् । उनले सन् २०२३ को जुलाई १५ तारिखका दिन विश्वको १२औँ अग्लो हिमाल ब्रोडपिक (८,०५२ मिटर) र विश्वको पाँचौं अग्लो हिमाल मनास्लु (८,१६३ मिटर) को सन् २०२३ को सेप्टेम्बर २८ तारिखका अक्सिजनको प्रयोग नगरी सफल आरोहण गरेको जनाइएको छ ।

सिड्नी निवासी पर्वतारोही पेपरले सन् २०२३ को जुलाई १५ तारिखका दिन विश्वको १२औँ अग्लो हिमाल ब्रोडपिक (८,०५२ मिटर) को बिना अक्सिजन सफल आरोहण गरेर पहिलो अष्ट्रेलियाली महिलाको श्रेय प्राप्त गरेकी थिइन् ।