नाबालिकालाई वेश्यावृत्तिमा लगाउने दुई जना पक्राउ

नाबालिकालाई वेश्यावृत्तिमा लगाउने दुई जना पक्राउ


नेपाल प्रहरीले नाबालिकालाई वेश्यावृत्तिमा लगाउने दुईजनालाई पक्राउ गरेको छ ।

प्रहरीको मानव बेचविखन अनुसन्धान ब्यूरोले काठमाडौंको चावहिलमा रहेको फ्रेन्डशिप ब्युटी एन्ड स्पामा ललाइफकाइ विभिन्न किसिमको प्रलोभनमा पारेर यौन गतिविधिमा लगाउने दुई जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा झापाकी ३४ वर्षीया पूजा लोवा र चितवनकी ४३ वर्षीया ओमकुमारी पुन रहेका छन् ।

ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक गौतम मिश्रले आर्थिक अवस्था कमजोर भएकी नाबालिकालाई रेष्टुरेन्ट तथा स्पालगायत स्थानमा आकर्षक तलब सुविधा हुने काममा लगाइदिने प्रलोभनमा पारेर वेश्यावृत्तिमा लगाएकाले उनीहरूलाई पक्राउ गरिएको जानकारी दिँदै भनेका छन्- ‘सुरुमा नाबालिकालाई वेटरको काममा लगाई दिने भनी ओमकुमारी पुनले पूर्वी नवलपरासीको एक रेष्टुरेन्टमा पठाइ रेष्टुरेन्ट सञ्चालकले ललाइफकाइ तथा धाकधम्की दिएर वेश्यावृत्तिमा लगाएको अनुसन्धानमा खुलेको छ ।’

पक्राउ परेकामध्ये लोवाले नाबालिकालाई काठमाडौं ल्याएर विभिन्न प्रलोभनमा पारी जबर्जस्ती ग्राहकसँग सम्पर्क राख्न लगाइ वेश्यावृत्तिमा लगाएको प्रहरीले जनाएको छ । उनीहरूले पीडित नाबालिकालाई ग्राहकको अनुरोधमा विभिन्न होटल तथा गेष्ट हाउसमा ‘पठाओ’ प्रयोग गरी पठाइ वेश्यावृत्तिमा लगाउने गरेको अनुसन्धानमा खुलेको प्रवक्ता मिश्रले बताए ।

पक्राउ परेका दुवैजनालाई मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको ब्यूरोले जनाएको छ ।