समयको आवाज

समयको आवाज


बगरेले काट्नैपर्ने
पशुले काटिनैपर्ने
दुनियाँको नियति
या भनौँ
नीति-नियम यस्तै नै रहेपछि..
पशुको प्राणको भिखमगाइ
या भनौँ आँशुको मूल्य
कहाँनेर भेटिएला र ?
आर्तनाद र शंखध्वनिहरुले
यहाँनेर केही काम गर्न सक्लान् र ?

इतिहासदेखि वर्तमानसम्मको
विधिको विधान या भनौँ स्रष्टाको खेल
यस्तै-यस्तै नै रहेपछि
‘मरेँ आमा’ भन्ने ठाउँ
कुन प्राणीले कहाँनेर पाउने होला ?

ठग्नेहरु ठगिरहेछन्,
ठगिनेहरु ठगिइरहेछन्,
लुट्नेहरु लुटिरहेछन्,
लुटिनेहरुको हालत त्यही छ,
तैपनि न्याय र समानताको
अधिकार या भिख
माग्नेहरु मागिरहेछन्
तर दिनेहरु दिन तयार छैनन्,
समय मौन छ धृतराष्ट्रहरुझैँ,
युधिष्ठिरहरु
‘नरो वा कुञ्जरोका’
द्वैअर्थक बोली बोलिरहेको
यस घडीमा
बगरेहरु हातमा तरवार लिएर
निम्छराहरुको खुन पिइरहेछन्,
निम्छराहरुको प्राणरक्षाको भिख मगाइ
निरर्थक रहेको आजको यस घडीमा
इतिहाससँग फेरि सोध्नुपर्ने भएको छ-
एक्काइशौँ शताब्दी अर्थात्
विज्ञान, प्रविधि, चेतना र
मानव सभ्यताको युग भनेको यही हो ?

  • दिङ्गला, भोजपुर