नयाँ वर्षको बढाइँ मृत्यु-उत्सव जस्तो लाग्छ !

नयाँ वर्षको बढाइँ मृत्यु-उत्सव जस्तो लाग्छ !


बिहानी उषा । म जब फेरि उही घुर्मैलो आकाशमुन्तिर अलार्मले बिउँझन्छु, मलाई त्यही क्षण नै नयाँ वर्षझैँ लाग्छ । बिदाको दिन कामबाट मुक्त भएर एउटा किताब बोकी पार्कतिर जान्छु । त्यहाँ मैले मेरा धेरै नयाँ साथीहरू भेट्छु । खरायो, चराचुरूङ्गी, शितला रुखहरू सबै मेरा साथी हुन् । अझ माल्बेरीको झुप्पामा देखिने रङ्गीन जीव । उडेर मेरो औँलामा बस्न रुचाउने कान्छीकिरा अति प्रिय साथी ! म कहिल्यै/कहीँ पनि एक्लो महसूस गर्दिनँ । मलाई प्रकृतिले अनगिन्ती साथीहरूको लाइन लगाइदिएको छ । मैले आफैं बनाएका मान्छे साथीहरू भन्दा कति हो कति निःस्वार्थी प्रकृतिले मिलाई दिएका साथीहरू । ती साथीहरूको बीचमा मेरा विपनाका सबै सुस्केरा खुशीमा बदलिन्छन् । त्यो बेला म निस्फिक्री हुँदै स्वतन्त्रताको महजस्तै मिठो स्वाद लिन पुग्छु । मेरो लागि त्यो क्षण नै एक प्रकारको प्रिय नयाँ वर्ष हो ।

यिनै कारणहरूले म ‘कृत्रिम काल गणित’लाई तिरस्कार गर्छु, किनकि कालहरू जीवनलाई सक्ने समय जस्ता लाग्छन् । यिनीहरूको अधिक अङ्कले जीवन कुटुकुटु खाइरहेको हुन्छ । त्यो सम्झँदा मलाई दिक्क लाग्छ । खाँदाखाँदै गरेको ठुटो चुरोट जस्तो ‘काल’ जसलाई राम्रो देखाउन हामी समय (युग, सताब्दी र वर्ष) भन्छौँ । अझ त्यही कालको आहारा बन्दै गइरहेका अङ्कहरू फेरेर अट्टाहास गर्दै स्याम्पियन फोर्दछौँ । पटका फोरेर नाम फेर्दै बनेको नयाँ वर्षको शुभकामना दिन उद्यत् र उल्लसित हुन्छौँ । आफ्नो प्राणको रेखा बित्ता-बित्तामा घट्दै गएको हेक्का नराखी जन्मदिवस मनाउँछौँ । आफ्नै जीवनको नापतौल गर्न छोडेर ब्यापारीले जस्तै जीवनको मृत्युउन्मुख कुदाइलाई आर्थिक नाफाघाटामा तौलिन्छौँ । हाय मानव र उसको चेतना !

अङ्कगणितमा जोखिने तौलले बाँकी जीवनको निष्कर्षलाई बदल्न सक्दैन । अङ्कले हामी खुशी हुने गरेर मृत्यु वा कालको समिप पुग्दै गरेको बाटो बदल्न सक्दैन । तर हामी मात्तिँदै भन्छौँ- नयाँ सालले सफलता चुमोस् । जीवनको बाटो बदल्न नसक्ने नयाँ वर्षको लागि के छ र त्यस्तो उत्सव गर्नुपर्ने कुरा ? जीवतत्वका लागि दीर्घायुको कामनाले कालको बाटो छोटिने हो र ? समयको विश्राम हुन्छ र वर्षहरूको बीचमा ? तर हामी बुझेर पनि भ्रमित छौँ र, जीवनको कायामा फरक बाटो भेटिँदै छ भन्ने ठान्छौँ । त्यही कृत्रिम बिसौनीमा हामी चेतनाको ज्योति नजलाइ नयाँ आशा हुर्काउन खोज्छौँ । पुराना बर्बादीहरूमा पश्चाताप गर्छौं । यस्ता अरु धेरै कुरा गर्छौं मृत्युको पर्खाइको लागि ।

मितिका अङ्कहरूमा मलाई वर्ष फेरिएको भान हुने केही नयाँ-पुराना अङ्कहरू छन् । वास्तवमा कृत्रिम नै भएपनि ती उत्सव मनाउने खालका हुन सक्छन् । ती कहिल्यै भुल्न नसकिने आदिम मितिहरूमा खासगरी पृथ्वीमा जीवको उत्पत्ति काल, सरीसृपयुग (२०१.४ मिलियन वर्ष पहिले) मानिसको विकासक्रम हुन सक्ला, जुरासिक कालखण्डहरूको अध्ययन गर्दा । ट्रायसिक अवधिको अन्त्यबाट क्रेटासियस अवधिको शुरुवातसम्म जुरासिक काल फैलिएको मानिन्छ । सरीसृपयुगको शुरुवातमा सुपरमहाद्वीप पाङ्गिया दुई भू-भागमा विभाजित हुन थालेको थियो- उत्तरमा लौरासिया र दक्षिणमा गोन्डवाना । त्यो पनि भौगर्भिक हिसाबले सम्झिनुपर्ने समय हो । त्यसपछि जुरासिक युगको अन्त्य ! पृथ्वीमा महादेशहरूको विभाजनको मिति कसैले बिर्सनै सक्दैन ।

मानिसले आफ्नै रुपान्तरणका विभिन्न कालखण्डहरूलाई झन् कसरी बिर्सेला ? यापबाट अस्ट्रेलो पिथेकस (३३ लाख २० लाख वर्ष अगाडीसम्म) । होमो ह्याबिलिस (२४ लाख वर्षदेखि १५ लाख वर्षसम्म) । होमो इरेक्टस (१९ लाख वर्षदेखि १ लाख ८० हजार वर्षसम्म) । होमो इर्गाष्टर (१६ लाख वर्षदेखि ६ लाख वर्षसम्म) । होमो एण्टेसेसर (१२ लाख वर्षदेखि ८ लाख वर्षसम्म) । होमो हेडेल बर्गेंसिस (७ लाख वर्ष अगाडिदेखि २ लाख वर्षअघिसम्म) । अर्ली होमो सेपियन्स (३ लाख वर्ष अगाडीदेखि ४५ हजार वर्ष अगाडिसम्म) । आधुनिक मानव (१ लाख ३० हजार वर्षदेखि हालसम्म)को यो रुपान्तरण अवधि मेरो लागि सम्झनयोग्य मिति हुन् ।

आधुनिक कालमा मैले सम्झनलायक भनेर दिमागमा टिपेका केही मितिहरू छन् । मानवको आफ्नै विकास र बसाइँसराइका युगान्तकारी समयावधि मेरालागि निर्णायक मिति हुन् । अनि भाषा र लिपिको विकास अवधि, विचार र दर्शनको क्षेत्रमा मारेको फड्कोका अवधिहरू मानव इतिहासका नयाँ वर्षहरू हुन् ।

इशापूर्व ६०० वर्षवरपरका अवधिहरूमा एथेन्सदेखि भारत हुँदै चीन तथा जापानमा भएको तर्कवादको विकास तथा दार्शनिक क्रान्ति । जसले अहिलेसम्म संसारलाई प्रभाव पारिरहेको छ । त्यो समयलाई मानिसले भुल्न चाहेर पनि भुल्न नसक्ला झैँ लाग्छ । कर्मकाण्ड, जातिय विभेद र बलीप्रथा लगायत सनातनी बर्ण व्यवस्थाका विरुद्ध चार्वाक र बुद्धको विद्रोहकाल पूर्वीय सभ्यतामा सम्झनलायक मिति हो । त्यसपछि इशाको पहिलो दिन जतिबेला यहुदी जडवादको बीच एक तार्किक जिसस क्राइष्टको जन्म भयो । त्यो समय पश्चिमाहरूको आकाशमा मिति फेरिएको अवधि हो ।

समग्रमा मिश्रको सभ्यता, मेसोपोटामियाको सभ्यता, सिन्धुघाटीको सभ्यता, युनानी सभ्यता, रोमको सभ्यता, प्राचीन चीनको सभ्यता, वैदिक सभ्यता, इसाई धर्मको उदय, इस्लाम धर्मको उदय, दास युगपछि सामन्तवादको उदय, म्याग्नाकार्टा, पुनर्जागरण, धर्मसुधार आन्दोलन, गौरवपूर्ण क्रान्ति, सन् १६८८ को अमेरिकी क्रान्ति, सन् १७६५-८३ फ्रान्सको राज्यक्रान्ति, औद्योगिक क्रान्ति, रूसको बोल्सेविक क्रान्ति, इटलीको एकीकरण, जर्मनीको एकीकरण, नेपालको एकीकरण, जापानी औपनिवेशिकताविरुद्ध भएको चीनको क्रान्ति, सन् १९११ भारतीय राष्ट्रिय आन्दोलन, पहिलो विश्वयुद्ध, राष्ट्रमण्डलको गठन, मुसोलिनी र फासिस्टवादको उदय, हिटलर र नाजीवादको उदय, दोस्रो विश्वयुद्ध, संयुक्त राष्ट्रसङ्घको गठन, सुगौली सन्धि, विक्रम सम्वत् १९०३ भदौ ३१ को रात भएको कोतपर्व, नेपालमा राणाहरूको उदयलगायतका मितिहरू बास्तवमा बिर्सन नसकिने मितिहरू हुन् ।

अनि चौधौँदेखि सत्रौँ शताब्दीसम्म यूरोपेली जातिहरूले कला, साहित्य, ज्ञान-विज्ञान, धर्म, दर्शन आदिमा जुन अभूतपूर्व प्रगति हासिल गरे त्यसैलाई पुनर्जागरणको युगारम्भको रूपमा लिइन्छ । इटालीको फ्लोरेन्स शहरबाट सुरू भएको पुनर्जागरणको सुरुवातले एउटा युगको क्रमभंग गऱ्यो । त्यो मितिलाई पनि म त कदापि बिर्सन सक्दिनँ ।

यी नयाँ साल र मितिहरू मेरा दिमागमा यति गढेर बसेका छन् कि ती मितिले वास्तवमै मानव सभ्यताको भौगोलिक, वैचारिक र समाज प्रणालीको क्षेत्रमा अकल्पनीय छाप छोडे । सभ्यताको क्षेत्रमा ती मितिहरू नयाँ वर्षको रुपमा लिन सकिन्छ । मानिसको कायाले नयाँ जीवन पाएको सुधारको युग, क्रान्तिको युग र विकासको युगको शुरुवाती मितिचाहिँ हिमालहरूजस्तै प्यारो लाग्छ मलाई ।

त्यसैले सम्झनुपर्ने मितिहरूलाई मैले चार चरणमा विभाजित गरेको छु- सृष्टि र पृथ्वीको उथलपुथलको लय, मानव विकासक्रम र सभ्यताको लय, विचार तथा राजनैतिक धारणा विकासको लय र, देशहरूको उत्थान तथा पतनको समय वा विनासक युद्धको प्रारम्भिक मिति । हामीसँग दुईखाले नयाँ वर्षहरू छन् । निर्माणका मितिहरू पनि हामीसँग छन् र ध्वंशका मितिहरू पनि हामीसँग छन् । सुकरातहरूलाई विष पिउन बाध्य पारिएका मितिहरू जसलाई मन नलागेपनि सम्झन बाध्य छु । नेपालको सन्दर्भमा राजा वीरेन्द्रको बंशनास भएको मिति । मदन आश्रितको हत्या भएको मितिले मेरा वर्षलाई हर्ष हैन निरास बनाइदिन्छ । मेरालागि ती दुःखका नयाँ वर्षजस्तै हुन् । सुगौली सन्धि भएको वर्ष अर्थात् सन् १८१६ (मार्च ४) पनि देश गुमेको पीडाको वर्ष हो । तर वि.स. १९१४ साल नेपालीको लागि अलिक खुशीको वर्ष हो । किनकि त्यो साल सुगौली सन्धिमा नेपालले गुमाएका पश्चीमी नेपालका चार जिल्लाहरू बाँके, बर्दिया, कैलाली र कञ्चनपुर नेपालले फिर्ता पाएको थियो ।

मेरो विचारमा जहिले देश वा विश्वमा मानवको लागि खुशीको आगमन हुन्छ, त्यो क्षणले हर्षको वर्षा गर्दछ । त्यसको मैले धुमधामसँग स्वागत गर्नैपर्छ । तर, निरास वर्षमा त्यस्तो के हुन्छ र स्वागत गर्नु पर्ने ? मलाई थाहा छैन । त्यसको सट्टा बरु बिदाइ महोत्सव राखेर युग बदल्नको लागि आह्वान गर्नु उपयुक्त होला । त्यसले मानवभित्र झ्याङ्गिएको निराशालाई अलिकति राहत प्रदान गर्छ ।

त्यसकारण म निरासाले भरिएका खोक्रा नयाँ सालहरूको उत्सव मनाउन चाहन्नँ । मलाई आशामा उज्यालिएको धर्ती हेर्ने मन छ । मेरा लागि प्रत्येक प्रकाशको झुल्को नयाँ साल बनोस् जस्तो लाग्छ । फिल्ममा देखाएजस्तो खाजा खाने र विश्राम हुँदैन समयमा, त्यो आफ्नै लयमको निरन्तरतामा छ । त्यसैले मैले आफ्नो जीवनलयमा समय-लयलाई समर्पित गर्न चाहन्छु । उथलपुथलका प्रत्येक मितिमा आफ्नो कर्मलाई जोडेर अटुट धुनमा बहकिन चाहन्छु । समीक्षा र नवीकरणमा तीव्रता दिन चाहन्छु । म तिथि-मितिले तोकेको फुर्सद । कसैले मिलाई दिएको छुट्टी भन्दा आफ्नै आत्माको आवाजमा बहकिन्छु । लेख्छु वा प्रकृति विचरण गरेर नयाँ सपना सजाउँछु । निर्जीव र नवीकरणबिनाका तिथिमितिले मलाई छुँदैनन् । मेरो जीवनमा मेरा सन्तानको समेत जन्ममिति याद नहुने म किन अरुको सेवामा हाजिर हुनु ? जरुरी छैन ।

सोचिरहन्छु, यी सबै फेरिएका वर्षहरूले हाम्रा गाउँलाई के दियो ? केवल पीडा र थप दुःख । थप कष्ट र थप अन्योलता । वैश्विक प्रणालीले थोपरेका उत्सवहरूले मेरा मान्छेहरूलाई के दियो ? झन् धेरै निरासा ! सृष्टिको सुन्दरताको सम्मानमा के दियो ? अर्को विध्वंश, नयाँ दासता र रूप फेरेको श्रृङ्खलावद्ध युद्ध । भर्खरै फेरिएको मिति नयाँ वर्ष हो जस्तो मलाई लाग्दैन । यो केवल मृत्युको नजिकतर्फ घिश्र्याइँ मात्र हो । यो काल हो, कालतर्फको आकर्षण-उत्सव मात्र हो । जसलाई व्याकरणमा मृत्युत्सव भनिन्छ ।

राज्यप्रणालीको अन्त्य र सामाजिक प्रणालीको शुरुवात मेरो उत्सव मनाउनलायक वर्ष हुनेछ । चेतनाको उत्कर्षमा प्रकृतिको सम्मान मेरो नयाँ वर्ष हुनेछ । ‘बसुधैव कुटुम्बकम्’को सामुदायिक प्रणाली । अझ वैश्विक प्रणाली मेरो प्रेमपूर्ण वर्ष हुनेछ । तार्किक युगको समाप्तिपछि निर्विकल्प ज्ञान र विवेकको सम्पन्न संसार मेरो कल्पनाको नयाँ वर्ष हुन सक्ला । मेरो जीवन छोटो छ तर मानव चेतनामा त्यो अझै फुल्न बाँकी भएकोले मैले सायद…, सायद देख्न पाउने छैन ।