नेपालमा पहिलो विमान अवतरण गराउने पाइलटको निधन !

नेपालमा पहिलो विमान अवतरण गराउने पाइलटको निधन !


नेपालमा पहिलोपटक विमान अवतरण गराउने दिलिप सिंह मजिठियाको स्वर्गारोहण भएको छ । उहाँ एकसय चार वर्षका हुनुहुन्थ्यो ।

मजिठियाले विक्रम सम्वत् २००७ (सन १९४९) को बैशाख पहिलो सातामा नेपालका लागि भारतका राजदूतलाई लिएर काठमाडौंस्थित गौचरणमा विमान अवतरण गराउनुभएको थियो । त्यसपछि तत्कालीन राजा त्रिभुवनलाई भारतमा शरणागत गराउन र नेपालमा फिर्ता गराउन प्रयोग भएको विमानको पाइलट पनि मजिठिया नै हुनुहुन्थ्यो ।

लामो आयु बाचेर उहाँको निधन भएको भएपनि नेपाली आकाशसङ्ग जोडिएका एक ऐतिहासिक ब्यक्तिको निधनलाई जानकारहरूले दुःखद घटनाको रूपमा लिएका छन् ।

नेपालको यातायात सेवामा शिख समुदायको विशिष्ट योगदान रहेको छ । कुनै समय नेपालको सार्वजनिक यातायातका साधन सञ्चालन शिखहरूको साम्राज्य नै थियो । हवाइ र सडक यातायातमा विशेष योगदान पुर्‍याएका शिखहरू पछिल्लो समयमा नेपालबाट पलायन हुने क्रम बढ्दो छ । बीस वर्ष अघिसम्म काठमाडौमा २७० परिवार, वीरगन्जमा ३१० र नेपालगन्जमा करिब ४०० , बुटवलमा ३० विराटनगरमा ३० घरपरिवारको बसोबास रहेकोमा अब विराटनगरमा १, काठमाडौंमा २२, बुटवलमा २, वीरगन्जमा ३० र नेपालगन्जमा करिब दुई दर्जन घरमात्र बाँकी रहेको बुझिन्छ ।

नेपालमा बाँकी रहेका शिखहरू पनि देश छोड्ने समयको पर्खाइमा रहेको बताइन्छ । यसरी शिखहरूको सङ्ख्या घटेपछि शिख सम्प्रदायका महागुरु नानकको नाममा राज्यले उपलब्ध गराएको जमिन पनि अतिक्रमणको चपेटामा परेको छ । सन् १५१८ मा महागुरु नानक नेपाल आउनुभइ केही दिन सोर्‍हखुट्टेस्थित म्ह्यपि बिष्णुमती किनारमा बस्नुभएको थियो । उहाँले केही दिन बिताउनुभएको स्थानलाई उच्च सम्मान गर्दै तत्कालीन राजा जगतजङ्ग मल्लद्वारा गुरु नानक मठ स्थापना गरी ठूलो मात्रामा जमिन उपलब्ध गराउनुभएको थियो । उक्त स्थानमा शिखहरूद्वारा निर्मित संरचनामाथि बलात्कारको आरोपमा काराबासको सजाय भोगेका कृष्णदास नामक ब्यक्तिले कब्जा गरेका छन् ।

२०७२ सालको भूकम्पमा कतै बस्ने स्थान नपाएपछि निज कृष्ण दासले शिखहरूसङ्ग अनुनय गरि केही रात मठमा बास बस्न मागेको र उदारतापूर्वक निजलाई केही दिनका निम्ति मठ उपलब्ध गराइएको थियो । तर अहिलेसम्म कृष्णदासले मठ खाली नगरी बलात्कारकै शैलीमा कब्जा गरिराखेका छन् । कृष्णदासले मठ कब्जा गरेपछि शिखहरुले सो स्थानमा दुःखी गरीबका निम्ति हरेक शनिबार सन्चालन गर्दै आएको लङ्गर (भोजन गराउने) कार्यक्रम पनि प्रभावित भएको छ ।

यसरी मठ कब्जा गराउन पूर्वसचिव विश्वप्रकाश पण्डित र गुठीका केही कर्मचारीहरू नियोजित रूपमै लागिपरेको बुझिएको छ । गुठी संस्थान र कृष्णदासहरूको ब्यवहारका कारण नेपालमा बसोबास गरेका शिखहरूलाई असर परेको मात्र नभएर संसारभरिका शिखहरूबीच नराम्रो सन्देश गएको छ। नेपालसङ्ग सीमाना जोडिएका बिहारी र युपिवालाहरूको प्रकोप बढ्दै जाँदा शिख समुदाय नेपालबाट पलायन हुँदै जानु र सरकारले शिखहरूप्रति दायित्वबोध नगर्नुलाई जानकारहरूले दुःखद मानेका छन् ।