भक्तपुरमा सरसफाइका लागि ‘दुई घण्टा’ अभियान

भक्तपुरमा सरसफाइका लागि ‘दुई घण्टा’ अभियान


  • सुरेन्द्र सुवेदी, काठमाडौं

भक्तपुरका युवाहरुले भक्तपुर सरसफाइ गर्दै सुन्दर नगर बनाउने ‘राष्ट्रका लागि दुई घण्टा’ अभियान सञ्चालन गरेका छन् । वातावरणीय स्वच्छता कायम गर्ने मुख्य उदेश्यले २०७९ फागुनदेखि यो अभियान सुरु भएको हो । यसले सरसफाइ, सचेतना र हरियाली प्रवर्द्धन गर्ने तीन उदेश्य लिएर काम गरिरहेको अभियानका अध्यक्ष मधु ढुंगेलले घटना र विचारलाई बताए ।

हरियाली प्रवर्द्धन गर्न जयराज पौडेल, सरसफाइमा नरेश रञ्जित र सचेतना अभियानमा उत्तरा नेपाललाई संयोजक तोएिको छ । यो अभियानमा सुरुमा ५१ जना जोडिएका थिए भने , सचेतना, हरियाली प्रवर्द्धन र सरसफाइ गर्न प्रत्येक शनिबार सयबढी जुट्ने गरेको अध्यक्ष ढुंगेलको भनाइ छ ।

अरनिको राजमार्ग लोकन्थलीदेखि सूर्यविनायकसम्म भक्तपुरको यो क्षेत्रमा अभियान सक्रिय छ । यसले फोहोर नफाल्न बसहरुमा स्टिकर टाँस्ने, यात्रीहरुलाई बाहिर फोहोर नफाल्न अनुरोध गर्ने, हरियाली प्रवर्द्धनका लागि गत असारदेखि साउनसम्म अरनिको राजमार्गको दायाँ र बायाँ२ हजार कल्की, कपुर, असारे फुल र जयकाण्डासमेत रोपण गरिएको उपाध्यक्ष नरेश रञ्जितले जानकारी दिए । यस्तै चाँगुनारायणको दुवाकोटमा २ सयवटा विरुवा पनि रोपण भइसकेको छ । ‘अहिलेसम्म अरनिको राजमार्गमा केन्द्रीत छौं, सूर्यविनायकका घट्टेखोला सरसफाइ, दक्षिणबराही मन्दिर सरसफाइ र सूर्यविनायक मन्दिर सरसफाइ पनि गरिएको छ ।

सडकमा सबैभन्दा धेरै मधु र करेण्ट गुट्खाका खोल पाइन्छन् । ती हटाउन समस्या भइरहेको बताइन्छ । सानो आकारको भएर टिप्न पनि समस्या हुने गरेको हो । चाउचाउका खोल, पानीका बोतल र प्लास्टिक अधिकमात्रामा सडकमा फालिने गरेको छ । केही केही परिवारले घरको फोहोर प्लास्टिकमा राखेर सडकमै फाल्ने पनि गरेको अध्यक्ष ढुंगेलले बताए ।

अभियानले रोपिएका विरुवाको संरक्षण गर्ने, बस स्टेण्डहरुमा डसविन राख्ने र बजारलाई सौन्दर्यीकरण गर्ने घोषणा पनि गरेको छ । २० वटा डसविन बस स्टेण्डमा राखिएको छ भने अब तत्काल २० वटा राख्ने काम भइरहेको छ । आकाशेपुलका दुवै साइडमा उपत्यकाको संस्कृति झल्कने पेण्टिङ पनि बनाउन थालिको छ । गठ्ठाघर र कौशलटारमा यस्ता पेण्टिङ लेखिसकिएको छ ।

अभियानले अहिलेसम्म कसैबाट आर्थिक सहयोग लिएको छैन । अभियानमा आवद्ध भएका युवाहरुले गोजीकै रकम खर्चेर अभियान चलाइरहेका छन् । यस काममा नेप्सेम्याक, नेपाल फुलबारी, स्वच्छ वातावरण सिर्जना केन्द्र, दिब्येश्वरी सहयोगी हातहरुले सरसफाइका लागि सामान नि:शुल्क उपलब्ध गराउँदै आएका छन् ।

वन कार्यालय र उपत्यका विकास प्राधिकरणले विरुवा उपलब्ध गराएका हुन् भने नेपाल प्रहरी, सशस्त्र प्रहरी र संघ संस्थाका प्रतिनिधिले विरुवा रोपणमा सहयोग गरेका छन् । ग्रीन भिलेज प्रालिका प्रविन कुसुमाले डस्विन सहयोग गरेका हुने । पञ्जा र माक्स सविन कार्कीले दिएका छन् । ‘अब भने फण्ड तयार गर्ने र संस्था दर्तापछि संस्थाको खातामा फण्ड जम्मा गरेर काम गर्ने उदेश्य छ’- अध्यक्ष ढुंगेलले भने ।