दुर्गा न्यौपानेको ‘नदेखिएको घाउ’ पढ्दा…

दुर्गा न्यौपानेको ‘नदेखिएको घाउ’ पढ्दा…


साविकदेखि हालसम्म विभिन्न १२ संस्थाहरूमा संलग्न ‘गीता अध्ययन प्रतिष्ठान, नेपाल’की अध्यक्ष दुर्गा न्यौपाने आफैँमा सशक्त नारी हस्ताक्षर हुन् । ‘याद गर’ कविता सङ्ग्रह र ‘मनको आकाश’ गजल सङ्ग्रहकी काव्यकार न्यौपानेको परिचय महिला सशक्तीकरणकी जोधाहा पात्रका रूपमा उनले सम्हालेका जिम्मेवारी र समीचीन ढङ्गले सम्पादन गरेका कार्महरूले गरिरहेछन् । चारवटा विदेशी मुलुकहरूको भ्रमण गरेकी पोखरा महानगरपालिकाकी अधिकृत न्यौपानेले आफ्नै प्रतिकूल तरल परिवेशलाई धैर्यताको बाँधले बँध्याएर सामाजिक वातावरणलाई अनुकूल बनाउने सङ्घर्षका व्यहोराहरूलाई सुललित पारामा पस्किएको संवेदनशील आत्मकथा हो- नदेखिएको घाउ !

जोसुकैले जेसुकै लेखेपनि प्रकृतिले प्रदानेका, आफैँले देखे-भोगेका, अरूले भनेका र लेखेका सामाजिकादि विषयवस्तुबाटै टिपेर आफ्नो लेखन-शिल्प बमोजिम आफ्नो बनाएर लेख्ने न हो ! दुर्गा न्यौपानेले पनि आफूले बेहोरेका तिक्त-मृदु परेवेशका आरोह-अवरोहलाई आफ्नै मौलिकपनको लेखन सिपका बाँकाले कुँदेर तयार पारेको दारको ठेकीरूपी उपमेय कृति हो- नदेखिएको घाउ !

ई. दीक्षा शर्माद्वारा तयार पारिएको कथाकारकै अर्धचेहरा अङ्कित मुखपृष्ठमा पीडाको घाउले चट्याङ पारेको जस्तो आकृतिमा सजिएको प्रस्तुत पुस्तकलाई मानव अधिकारको लागि महिला, एकल महिला समूह, बुढानिलकण्ण, काठमाडौँले प्रकाशन गरेको रहेछ । निरञ्जन बजिमयको डिजाइन र रूपिन्द्र प्रभावीको भाषा सम्पादन रहेको पुस्तकमा २६० पेज रहेका भएपनि एकै बसाइमा सकौँ-सकौँ लाग्ने हिसाबको लेखनी आफैँमा मौलिक छ । प्रस्तुती नै पृथक् छ, संक्षिप्त वाक्यहरूले विस्तृत व्याख्या गरिरहेका छन्; बिचमा छाड्दा प्रसङ्ग नै अधुरो/अपूरो झैँ हुँदा निश्चित अनुच्छेद दोहोर्याउन पर्ने हुन्छ । मैले पनि पुस्तक हात परेपछि पढ्न सुरु गर्दा कुनै टिपोट गर्ने सोचेको नभएपनि अन्ततः टिप्न मन गयो । मलाई मनपरेका व्यहोराहरूलाई टिपेर दार्शनिक चेत; महिला संवेदनशील चेत; सङ्घर्ष र जीवनानुकूल चेत; राजनीति र कर्मचारी चेत; माया, प्रेम र यौन चेत जस्ता समूहमा समूहीकरण गर्दा ‘संक्षिप्तमा नदेखिएको घाउ’ भन्न मिल्ने जस्तो बन्यो र निम्नानुसार प्रस्तुत गरेको छु । सादा गातामा शुभम् प्रिन्टर्सले मुद्रण गरी व्यक्तिगत मूल्य रु. ४५०/- र संस्थागत मूल्य रु. ७००/- रहेको प्रस्तुत किताब ‘नदेखिएको घाउ’ पठनीय, मननीय एवम् सङ्ग्रहणीय छ ।

दार्शनिक चेत :

स्वानुभवको सटिक प्रस्तुती आफैँमा त्यस्तै परिवेशीहरूका लागि स्वयंमा दर्शन हुन् । प्रज्ञा नेपाली बृहत् शब्दकोशलाई ग्रन्थत्व सुम्पँदा प्रकृति, ईश्वर, ज्ञान, विज्ञान, वस्तु, जीवन र चेतनाबारेको विवेचन र विश्लेषण गरिने विद्याका विषयमा यथार्थको खोजी गर्ने शास्त्र दर्शन हो भनिएको छ । यो मानेमा नदेखिएको घाउ नियाल्दा पर्याप्त दार्शनिक चेतहरू पाउन सकिन्छ । उदाहरणका लागि-

दुःख मिल्दा पनि मान्छे नजिकिन पुग्दो र’छ । जे पछ्याइन्छ, त्यो टाढिन्छ । छालाका आँखाले मात्र सबै कहाँ देखिन्छ र ! कसैलाई पनि सयका सय विश्वास गर्नु हुँदैन । अल्पज्ञान खतरनाक हुन्छ । दबिएको मानसिकता र त्रसित विचारले सफल गराउँदैन । भ्रम त विपनाले पो टुटाउँछ । सपनापछिको विपना र फगत विपना फरक कुरा हो । बरु गोली चुक्न सक्छ । शब्द चुक्दैन/लक्ष्यभेदी हुन्छ । शब्दभन्दा कैयौँ गुना बढी व्यवहार बोल्छ/देखिन्छ/सुनिन्छ पनि । उत्प्रेरणाको बोध नै आत्मसम्मान हो । स्वयम् को विश्वास गर्नु हो । मान्छे पछि पर्ने आफ्नै विश्वास नहुनाले हो । दुनियामा आफ्नो लागि सिर्फ आफैँ हो । स्वयंलाई चिन्नु नै सबभन्दा ठुलो विद्वतता हो । ब्रह्माण्डको अस्तित्वलाई बुझ्नु हो ।

लाज साझा शब्द हो । गल्ती कसैको पनि राम्रो हैन । समय न सुखमा रोकिन्छ न दुःखमा ! कुनैपनि अतिले खती गर्छ । रुन नसक्नेको सहने शक्ति पनि हुँदैन ।

जानेको कुरा मान्छेले कहाँ सम्झिराख्छ र !? जति पढेपनि घरभित्रै बसेपछि नपढे सरह नै हो । पढेर कक्षा चढेको भरमा मात्रै पनि चेतना, साहस र हिम्मत आउँदो रहेनछ । शरीर दुब्लो होस् वा मोटो, आत्मबल नभएको मान्छे कमजोर हुन्छ । घर रमाइलो नभएपछि कहीँ रमाइलो हुन्न र’छ । भित्र रोएर बाहिर हँसाउन सजिलो थिएन, हाँस्ने मान्छेले व्यथा लुकाउन सक्छ । नदीले खियाएको ढुङ्गा नै कडा हुन्छन् ।

दुईपटक मर्दैन मान्छे । मर्ने त एकै पटक हो । सयौँ वर्ष बाँचेर एकदिन पनि नबाँच्नुभन्दा केही दिन बाँचेर सयौँ वर्ष बाँच्नु धेरै उत्तम हुन्छ भनेको सम्झेँ- मदन भण्डारीको मृत्यु स्मरण गर्दा । मृत्यु सामान्य हुँदैहुन्न । मृत्यु सामान्य लाग्न असामान्य ज्ञान चाहिन्छ ।

सुखमा मान्छे सिर्जनात्मक हुँदैन । बिना चुनौती मान्छेले प्रगति गर्दैन । सुखबाट ज्ञान र सिपको ज्योति बल्दैन । सिप र जाँगरले कामको खोजी गर्छ । थकित हुँदैमा विश्राम लिन हुँदैन । काम सकिएपछि मात्र हो- बिसाउने त !

हरेक मान्छे एउटा महाकाव्य हो÷ग्रन्थ हो÷उपन्यास हो । मान्छे पढ्न सजिलो छैन । हरेक व्यक्ति थाहा नपाइकनै अरूको सुखभन्दा दुःख देख्न चाहिरहेको हुन्छ । आर्थिक भन्दा कयौँ गुणा राम्रो मानसिक अवस्था हो । रिसाउने व्यक्ति मानसिक रूपमा स्वस्थ हुनै सक्दैन । कसैका लागि केही बन्न नसक्नु सबैभन्दा ठुलो रोग हो । आफैँ बाँधिनु पर्छ मान्छे । अरूले बाँध्ने त पशुलाई हो । जसले अरूको भलो गर्छ, उसको भलो स्वतः हुन्छ । कसैको आँसु र मासु मिसिएको धन होस् वा खाना सुपाच्य हुँदैन । हास्दा संसार तिमीसँग हाँस्छ, रुँदा तिमी एक्लै रुने छौ ।

राम्रो लत लाग्न गाह्रो, कुलतलाई छोड्न गाह्रो । रक्सी खाने मान्छेका वाचा पानीमा लेखिएका अक्षर हुन् । सम्झाउने कुरा हैन रहेछ, भनेर मानिँदो रहेनछ । दुःखको तुलना हुँदैन । दुःख त सुख अनुभूति गर्ने माध्यम हो । दुःख परेपछि भौँतारिनु अस्वभाविक थिएन । आवश्यक जति पनि बोल्न नसक्नु अन्याय सहनु जत्तिकै हो । सहनु पनि पाप भन्छन् । सबैभन्दा सुखी हो त्यो, जो सुतेको दुई मिनेटमा निदाउन सक्छ । ज्ञानी र महात्मालाई न दुःखले छुन सक्छ न त सुखले नै ! भोगाइ असत्य हुनै सक्दैन । बुझाइ सत्य नहुन पनि सक्छ ।

जितको आकाङ्क्षाका कारण हारले तर्साउँछ । सोच रहेछ हार्ने र जित्ने ! मान्छेले हैन । मान्छे निभेको आगो बालेर ताप्दैन । अस्ताउँदो सूर्यलाई प्रायः नमस्कार गर्दैन । मन बुढो भए पच्चीस वर्षमै बुढ्यौली लाग्छ । भविष्य नै नभएको भविष्य देखेँ- अन्धकार र अनिश्चित मात्र । ग्याँसले पेट दुखेको मान्छेलाई क्यान्सरको व्यथा के थाहा ?

कर्तव्य र अधिकार एउटै सिक्काका दुई पाटा हुन्, तर कैयौँ मान्छे छन्- अधिकार खोज्छन्, कर्तव्य बिर्सन्छन् । पुस्तकको सङ्गत एउटा विद्वान्को भन्दा कम हुँदैन । केही पनि जान्दिन भन्ने थाहा पाउनु ज्ञानको सुरुवात हो । शून्य भनेको केही नजान्नु र नौ भनेको सबै जान्नु । फेरि केही नजान्नु भनेको सबै जान्नु र सबै जान्नु केही नजान्नु नै हो ।

प्रविधिको विकास त गर्यो मान्छेले, तर खुसीको विकास गरेन । लाग्थ्यो मुटु र आँखाको सम्बन्ध छ । त्यो दिनले भ्रम तोड्यो (कोरोना पीडित हुँदा) । प्रकृतिको अर्को नाम परिवर्तन हो । प्रकृतिको वरदान हो- नेपाल ! स्वर्गको टुक्रा ! गीता – कर्मण्यवाधिकारस्ते माफलेषु कदाचन … तिम्रो अधिकार कर्म गर्नुमा नै छ, त्यसको फलमा कहिल्यै छैन ।

महिला संवेदनशील चेत :

महिला स्वयंमा आमा, दिदी, बैनी, छोरी, श्रीमती, भाउजू, माइजू आदि हुन् । धर्तीको आधाभन्दा बढी मानवीय आकाश ढाकेको महिलाप्रति सामाजिक संवेदना समीचीन नहुँदा लैङ्गिक तौलो असन्तुलित देखिन्छ । यो सत्यतालाई नदेखिएको घाउमा निम्नानुसार समेटिएको पाइन्छ ।

सन्तानको चिन्ता सबै आमालाई हुन्छ । हरेक आमा, छोरा पाउन चाहन्छन् । बच्चा पेटमा हुँदा सबैभन्दा खुसी आमा हुनुपर्दो र’छ । आमाले जित्नु भनेको सत्यको जित हो । सत्य सधैँ अटल हुन्छ र रहिरहनेछ । आमाको सेवा गर्न पाउनु पनि धर्म हो । घर व्यवस्थापन र बालबच्चा हुर्काउनु गहन काम हो ।

आफूलाई दुखेपछि मात्र ऐया भन्छ मान्छे तर अरूको दुखाइले छुँदैन । महिलाले महिलाप्रति गरेको अन्याय ! समाजले बरु आइमाई मरेको पचाउँछ तर विद्रोह गरेको हेर्न सक्दैन । ढोल, गवाँर, पशु, शुद्र, नारी; यी सब हुन् ताडनाका अधिकारी – मनुस्मृति । पुरुष, महिलाबिना सास फेर्न पनि सक्दैन, यद्यपि उ स्वतन्त्र छ । टुथपेष्ट जस्तो केटीको इज्जत ! जुन निस्केपछि भित्र जाँदैन । हतारमा बिहे गरेर फुर्सदमा पछुताउनु होस् – सरस्वती क्याम्पसको बोर्डमा लेखिएको ।

श्रीमान् र परिवारका यातनाले छोरी बाटैमा फाल्दिन्छन् । घाँटी थिचेर मार्दिन्छन् । गर्भ पतन गर्छन् । महिला अर्काको भाग्य खाने जात ÷ कमाइ खाने जात । महिलाको भाग्य बिहे पश्चात् निश्वित हुन्छ । महिला हारे प्रकृति हार्छ । ईश्वरले हार्छ । ईश्वरले हारेको सृष्टि शाश्वत् हुँदैन । महिलाले सबै सहन सक्छे । अस्मितामा प्रहार सह्य हुँदैन । आफ्नै घरभित्र असुरक्षित चेलीहरू अन्त कसरी सुरक्षित हुन सक्लान् !? पुरुष मात्र हैन, समाज जोगाउने जिम्मा नै महिलाको हो । महिलाहरूको पनि जन आन्दोलनमा अर्थपूर्ण र सक्रिय सहभागिता भएकोले उपलब्धिमा पनि उत्तिकै हक हुनेछ । महिला अधिकार मानव अधिकार हो । पुरुषहरूसँगको लडाइँ हुँदै हैन ।

सङ्घर्ष र जीवनानुकूल चेत :

’सङ्घर्ष हो जीवन, जीवन सङ्घर्ष हो …’ भन्ने जनवादी गीतको व्यावहारिकता नदेखिएको घाउमा पनि लेखिकाबाट स्वयं वामपन्थी आस्थावान् रहेको स्पष्ट पार्दै जीवन अनुकूलका सङ्घर्षहरू, जिउनु र मर्नुका चेतहरू छिरलिएका छन् । मान्छे एउटा विस्फोटक पदार्थ हो – भवना भरिएको बेलुन ! मर्न गाह्रो रहेनछ (हुन्न होला) कठिन त बाँच्न पो छ ! मर्न मन थिएन । मर्न मन लागेको बेला बाँचियो । रहर सकिएको थिएन, बाँच्ने । सास जान सजिलो नरै’छ । चिताले मरेपछि जलाउँछ तर चिंताले जिउँदैमा – अन्तर सिर्फ विन्दु हो । मर्न गाह्रो रहेनछ र सास जान सजिलो नरै’छ जस्ता विरोधाभाषी व्यहोरा पनि प्रसङ्गवश उल्लेखिँदा रहेछन् भन्ने स्पष्ट देखिन्छ – नदेखिएको घाउमा ।

गास, वास र कपास मान्छेको आवश्यकता पढेकी थिएँ, तर सास पहिलो रहेछ । समयसँग जुध्नु, हार्नु, जित्नु, पछारिनु, फेरि उठ्नु, सामना गर्नु सायद जिन्दगीका पर्यावाची हुन् । मान्छे अन्जान बन्ने भुल गर्छ । सङ्घर्ष नगरी सुखै छैन । शत्रु र मित्रबाट थप्पड खाएपछि मात्र मान्छे भित्र चैतन्यको आविर्भाव हुन्छ । आफ्नो कमाइ तिख्खरिलो हुन्छ, भोग्नेलाई थाहा हुन्छ ।

दुःख सहेर मान्छे कठोर हुन्छ । सहयात्रीसँग मन नमिले यात्रा झन् कठिन हुन्छ । बरु एक्लै सजिलो हुन्छ, हिँड्न । जसले मुक्त हुन चाहन्छ, उसैले मुक्का हान्नु पर्छ । आफ्नो दुःखको अगाडि अरूको खुसी ठूलो ठान्दैन र बधाई दिन जान्दैन मान्छेले । जन्मँदै दुःख ल्याएपछि सुख कहाँ खोज्नु ? रगत भए सकिन्थ्यो होला तर आँसु नसकिँदो रै’छ ।

घरमुलीले बाटो बिराउनु भनेको परिवार सबैलाई यातना हुनु हो । घरेलु हिंसाको प्रमुख स्रोत रक्सी नै हो । समाजले जन्मजातै पुरुषलाई श्रीमती र छोराछोरी पाल्नुपर्ने दायित्व थोपरेको छ । आडम्बरले वास्तविकता स्वीकार्न दिँदैन । पाल्न नसक्नेले किन बिहे गरेको त ! ठुलो झड्काले आँसु रोक्दो रहेछ । सट्टामा तातो ज्वाला आउँदो रहेछ, आँखाबाट ।

जीवनमा कठिनाइ बरबाद गर्न मात्र हैन, शक्ति बढाउन पनि आउँछ । दुःख र कठिनाइले शक्ति पैदा हुन्छ, न कि सुखले ! भोक भन्दा शान्ति ठुलो लागेकै हो । आफ्नो जीवनको निर्णायक आफैँ हुनुपर्छ । जीवनको अर्को नाम चुनौती पनि हो । डराएर जिउनु त जीवनै हैन । डराएपछि आफ्नै छायाँ पनि भूत बन्दो र’छ । सम्झना छ र त जीवन छ ! जीवन छ र त सम्झना गर्न सकिन्छ अनि यिनै सम्झनाहरूले जिउन सघाउँछ । भ्रम र हल्ला ठुलो रोग हो । रुघाको ठुल्दाइ र’छ कोरोना । पोखिराख्यो भने सबै थोक सकिन्छ तर आँसु सकिन्न र’छ । धरापमा पर्नु सकिनु हैन । धराप सधैँ धराप बनिरहँदैन । मेरै हातले आगो लगाएँ । ढुङ्गो बनेर मायालाई डढाएँ । निःशब्द सुत्नु भयो आमा ! आँसुमा शब्द मिसिँदा असिना पानी जस्तै भयो । कालो बादलमा झैँ हरेक जीवनमा चाँदीको घेरा हुन्छ । अरूको ओठको हाँसो फर्काउनु ठूलो कुरा र’छ । आफ्ना आँखा आफैँले देख्न सकिँदैन तर अरूका आँखा देखियो, आँखाका भाका पढियो ।

राजनीति र कर्मचारी चेत :

आत्मकथाकार न्यौपानेले अरिष्टोटलले ‘मानिस प्रकृतितः राजनैतिक प्राणी हो’ भनेको शाश्वतप्रायः बेहोराको आफू पनि अपवाद नभएको स्वीकार्दै स्वयं बहालवाला कर्मचारी भएपनि स्वानुभवलाई निःसङ्कोच स्पष्ट पारेकी छन् – नदेखिएको घाउमा ! कोरियालाई कोरिया बनाउनमा राजनेताहरूमा ‘अनुशासन, ठुलाको सम्मान, कामप्रतिको लगाव र प्रतिबद्धता, कर्तव्यको बोध, राष्ट्र र राष्ट्रियताको मोह र माया यी आदि कुराहरूले कोरियालाई कोरिया बनाएको रहेछ’ भन्ने मनन गर्दै ‘मन पनि एउटा देश हो’ भन्ने मान्यता प्रकट्छिन् । दुर्गा, यशोदा, देवी खड्का नामका माओवादी बैनीहरूसँग भेट हुँदाका सजीव तर्कहरूमा प्रभावित हुँदै ‘मान्छे आध्यात्मिक नबनी कम्युनिष्ट हुनै सक्दैन’ भन्ने आत्मिक अनुभूति ‘शेयर’ गरेकीछन् ।

कुर्चीमोह, राष्ट्रभन्दा दल माथि, दलभन्दा गुट, गुटभन्दा व्यक्ति हाम्रा विशेषता हुन् । बोल्न जति सरल हुन्छ त्यति नै जटिल छ गर्न । राजनीति सरल रेखामा हिँड्नै सक्दैन । जे बोलिन्छ, त्यो गरिँदैन । जे गरिन्छ, त्यो बोलिँदैन – राजनीतिमा । ठुला देशमा जे गरे पनि राम्रो हुने र’छ र ठुला मान्छेले जसो गरे पनि राम्रो देखिने ! विकास त सिद्धान्तले मात्र हैन रहेछ गर्ने ! गर्ने त राजनैतिक संस्कार र पद्धतिले रहेछ । गाईले हो पुच्छर हल्लाउनुपर्ने तर पुच्छरले गाई हल्लाउने चलन रोकिएन –गणतन्त्रपछि पनि) । तन्त्र त जुन भए पनि फरक पर्दैन र’छ । विकास हुँदो र’छ । मात्र खाँचो र’छ, इच्छाशक्तिको । आफू नबदलिनेले अरूलाई बदल्न खोज्छन्, यहाँ । राजा फालेर राजा नै बन्नका लागि गणतन्त्र नहुनु पर्ने हो । खुसी हुने मान्छे सुखी पनि हुन्छ तर सुखी हुने मान्छे खुसी नहुन सक्छ । राजनीतिलाई खुसीको पर्यावाची बनाउनु पर्छ । गास, वास, कपासको प्रभावकारी व्यवस्था नहुञ्जेल मान्छेको विवेक बन्धकमा हुन्छ । भोको पेटले आफ्नो माटो पनि नचिन्न सक्छ । राजनीतिमा जुन वाद वा सिद्धान्त व्यवहारको तराजुमा समान वजनको सावित हुन्छ, त्यही नै वास्तविक अर्थमा जनहितकारी वाद हो । युद्ध भन्नु नै मिठो कुरा हैन । कायर मान्छे सेना र पुलिस हुनै सक्दैन । समाज खाने धमिरा हो, विद्यमान विकृति ! राज्यका ठेकेदारहरू नै विकृतिका माता पिता हुन् । सुन्नेका कान नभएपछि न्याय अलपत्र छ । राजनीतिमा केही वर्ष मान्छे मूर्ख बन्लान्, सधैँ बनिरहँदैनन् । टिष्टासँग आत्मीयता जोडियो । बेचिएकी दिदी भेटे जस्तै भयो । जिब्रो र शरीर सत्ता र प्रतिपक्षको रूपमा छन् । जे जिब्रोलाई मन पर्छ शरीरलाई पर्दैन । शरीरलाई मनपर्ने जिब्रोलाई पर्दैन ।

वास्तवमा संस्थाहरू अभिभावक हुन् भने त्यसका कर्मचारीहरू बालबच्चा ! मननीय बेहोरा आत्मसात् गर्दै हरेक बच्चा हौसलाको भोको हुन्छ । प्रशंसा टनिक हो । हौसला बढाउने खुराक हो । गलत मूल्याङ्कनले सम्मानको उचाइ घट्छ । इमान्दारी जहाँ सम्मानित हुँदैन, त्यहाँ इमान पनि बेइमान हुन्छ भनी स्वानुभव ओकेल्छिन् । कर्मचारी नेता एक अर्काका परिपूरक भएका छन्, गल्ती छोप्नका लागि, यो प्रवृत्ति बहुदल आएदेखि नै मौलाएकोछ । परिणाममुखी कार्यशैलीले कामचोर प्रवृत्ति आफैँ हट्दो र’छ । स्थायित्वपछि कर्मचारीमा आउने निस्क्रियपन, सिर्जनशीलतामा कमी, अटेरीपनले कार्यकुशलता र उत्पादकत्वमा कमी देखिन्छ । स्थायी हुनु भनेको सिर्जनशीलता मर्नु पनि हो । प्रकृतिको विरुद्धमा जाँदा आफैँलाई घाटा हुन्छ भन्ने ज्ञान हामीमा कहिले पलाउला खै ?

माया, प्रेम र यौन चेत :

वास्तवमा खुसीलाई सबै व्याधिहरूको भैषज मानिन्छ; जुन माया, प्रेमको फसल हो । रजनीश भन्छन् – माया, प्रेमको बीजाङ्कुरण सुखद यौन क्रियाकलापसँग अनुक्रमानुपाती हुन्छ । यो बेहोरालाई पनि नदेखिएको घाउमा प्रष्ट्याइएको छ । निम्म प्रसङ्गहरूलाई हेरौँ-

पृथ्वीका हरेक प्राणीदेखि वनस्पतिसम्म मायाका भोका छन्, माया चाहन्छन् । सबैभन्दा ठुलो ‘इम्युनिटी पावर’ भनेको खुसी हो, माया हो । औषधि भनेको खुसी हो । मायाले खुसी दिन्छ । माया गरौँ । मुस्कानका लागि मूल्य पर्दैन । दिनेलाई खुसी राख्छ भने लिनेको केही जान्न । माया त लिनेलाई मन पर्नुपर्छ । पीडामा धड्किने मुटु मायामा पनि उस्तै हुँदो र’छ । हरेक व्यक्तिमा प्रेम तत्त्व हुन्छ । वातावरण पाउने बित्तिकै यो जागृत हुन्छ । कसैलाई आधिपत्य गर्न खोज्नु प्रेमको हत्या हुनु हो । सिन्दूर र प्रेम एउटै बाटोमा नहिँड्न सक्छन् । पिरिएर खाएको केही अर्थ हुन्न । खुसीमा पानी पनि अमृत हुन्छ ।

महिला र पुरुषबिचको प्रेम यौन सम्बन्धले उर्वर बनाउँछ । यौन बिनाको प्रेम र प्रेम बिनाको यौन अपूरो र अधुरो हुन्छ । यौन बिनाको प्रेम पूर्ण हुँदोहो त मान्छे विपरीत लिङ्गीसँग प्रेम गर्दैनथ्यो । उसको (पुरुषको) सबैभन्दा ठुलो पुरुषार्थ पत्नीलाई यौन सन्तुष्ट पार्न सक्नु हो । बलात्कारले पनि गर्भ रहन्छ । यन्त्रवत् संसर्ग फगत निरसता मात्र हो- मह नभएको चाका जस्तो ! बिना प्रेम यौन क्रियाकलाप हुन्छ भने ती प्रेमका गरीब र यौनका प्यासी मात्र हुन् । यौनमा धन र दरिद्रता मिसिनु हुँदैन ।

उखान टुक्का र उपमाहरूको उपयोग :

उखान टुक्का लोकजीवनमा प्रचलित अनुभवपूर्ण चुड्किलो हो, जसले अनुभवको पस्काइमा मिठास थपिदिन्छ । यसको सान्दर्भिक उपयोगले लेखनीमा निख्खरता टप्किएको महसुस हुन्छ । नदेखिएको घाउमा पनि उखान टुक्काका साथै समीचीन उपमाहरू प्रयुक्त छन् ।

अर्काको बाच्छो चाट्यो, मुखभरि रौँ; रूपकी छोरी, हुपको छोरो; दुई सन्तान, ईश्वरका वरदान; नेपालको कानुन भगवान् (दैव)ले जानुन्; एक्लो बृहस्पति झुटो । ‘जोगीदेखि भैँसी डरा, भैँसीदेखि जोगी डरा’ मा भने ‘देखि’ विभक्तिका रूपमा अनि कर्तासँग छुट्याएर ‘देखी’ क्रियापदका रूपमा पनि लिन मिल्ने हिसाबले प्रयुक्त देखिन्छ । जोगीसँग भैँसी डराएको अथवा भैँसी देखेर जोगी डराएको भनेर बुझ्दा भाव फरक नपर्ने रहेछ । ‘नयाँ सिसीमा पुरानो घीउ’ मा पनि चलनचल्तीमा ‘रक्सी’ भनिने ठाउँमा ‘घीउ’ राखेर प्रस्तुतीलाई श्लील बनाउने चेष्टा गरेको प्रतीत हुन्छ । ‘भाइ फुटे गँवार लुटे’ दुई ठाउँमा प्रयोग भएको देखिन्छ भने कम्युनिष्टहरूको सन्दर्भमा बाम आन्दोलनमा धाँजा फटाएर अरूलाई सहजीकरण गरेकोप्रति इङ्गित गर्दै ‘गाई मारेर गधा पोस्छन्’ भनिएको बुझिन्छ ।

त्यसैगरी दुध दिने गाईको लात्ती सहनुपर्छ; काँचो पिँडालु खाए झैँ; जस्ता उपमाले प्रसङ्गलाई स्वानुभवी बनाउन पुगेको छ भने जागीरको खोजीलाई ‘झरीमा रुझेको चराले घामको प्रतिक्षा गरे झैँ’ भन्ने उपमाले मिठास प्रदानेको छ । ‘अगुल्टाले डामिएको कुकुर बिजुली चम्किँदा पनि तर्सिन्छ’ भनिने सनातनी उपमालाई ‘चोट खाएको मान्छे, (हतियार) ताके पनि डराउँदो र’छ’ भनेर उल्लेख गरिएको छ । “थकाइले चुर थिएँ“ लाई दिइएको उपमा ‘निचोरेको कागती जस्तै !’ भन्नुभन्दा ‘उकालेमा गह्रुङ्गो भारी बोकेर थाकेको गधा जस्तै’ भनेको भए अझै राम्रो हुने लाग्दछ । समाजमा पृथक भएर बाँच्नु भनेको ‘सागरसँग खोलाले बिद्रोह गरे जस्तै’ हो; आँधी चलेको बेला ‘दह्रोसँग उभिए’ ढलिँदैन; जे छ त्यसको महत्त्व कम हुन्छ । जे छैन, त्यही ठूलो हुन्छ । मूल्यवान् लाग्छ । ‘फुत्केको माछो ठुलो’ हुन्छ । भन्ने हिसाबमा उपमा हेर्दा वाक्यहरू सप्रासाङ्गिक बनाएको देखिन्छ । ‘सतिले सरापेको देश’ नेपाल त हाम्रो सन्दर्भमा शाश्वत उपमा हो नै ।

हुलिया लिइएका व्यक्तित्त्वहरू :

आफ्ना बेहोराहरूलाई सम्पुष्टिका लागि विभिन्न व्यक्तित्त्वहरूको हुलिया पनि लिएकी छन् दुर्गाले – नदेखिएको घाउमा । नारी हस्तीहरूमा तसलिमा नसरिन – जुन मान्छेको मनमा अहिलेसम्म कुनै किसिमको निजी इच्छा जागेको छैन भने उसलाई म वयस्क मान्छे मान्दिनजो अहिलेसम्म आफ्नो इच्छा अनुसार हिँडेको छैन या हिँड्न डराइरहेकोछ भने उसलाई म स्वस्थ मस्तिष्क भएको मान्छे मान्दिन र लीली दिदी – लोग्ने चाहिने हैन र’छ चाहिने त लोग्नेमान्छे पो र’छ का उल्लिखित प्रसङ्गहरू यथास्थानमा मिलाएर प्रस्तुत गरिएको छ ।

सँगै काम गरेका अग्रजहरूको पनि हुलियाहरूलाई प्रासाङ्गिक गरिएकामा सुमन कर्ण – जागिरमा सोर्स नलगाएको बारेमा; डा. रमेश बहादुर मुनङ्कमीका उत्साहवर्द्धक भनाइ; अमनसर – ठिक समयमा ठिक काम गरे साँझ–बिहान खट्नु पर्दैन छन् भने विश्वरमण न्यौपाने ‘प्रेरणादायी कथाहरू’ भ्यागुताको कथालाई पनि यथाप्रसङ्गमा समावेश गरिएको छ ।

खप्तड बाबाका – सबैभन्दा ठुलो विचार शक्ति हो; शिक्षित मानिस सरल हुन्छन् भन्ने सन्दर्भलाई मिलाउँदै अर्थमेटिकका रचयिता ईश्वरचन्द्र चक्रवर्तीको ‘जीवन सफल पार्न पनि समबाहु त्रिभुज जस्तै शारीरिक, स्वस्थता, आन्तरिक स्वस्थ विचार र बाह्य विषयवस्तुसँग तालमेल मिलाउन सक्नु पर्छ’ पनि हुलिया लिएर मानव जीवनलाई गणितीय तादात्म्यता दिइएको छ । त्यस्तै जगदीश घिमिरे – जीवनको अर्को मान दुःख रहेछदुःख वास्तविक र सुख भ्रम हो; आचार्य कृपालिनी – राजनीति मूर्खहरूको आखिरी आश्रय लिने थलो हो; द सेकेण्ड सेक्स – सीमोन द बोउवार; जर्ज स्याण्ड – संसारमा एक मात्र खुसी छ, माया गर्नु र माया पाउनुलाई पनि मिलाएर प्रस्तुत गरिएको छ ।

राजनीतिक प्रसङ्गमा पनि वि.पि. – राजनीति गर्ने व्यक्ति सरल, सजह र खुला किताब अर्थात् जोगी सरह जनतामा समर्पित हुनुपर्दछ; लेनिन : जसले जित्ने साहस गर्दैन, उसले कहिल्यै जित्दैन र सिक्किमका मुख्यमन्त्रि पवन चाम्लिङ् – ज्ञानको कुनै जेण्डर हुँदैन भन्ने भनाइहरूलाई सान्दर्भिक हिसाबले समाविष्ट गरिएको छ ।

स्वयंमा मीठा कविता, गजल, मुक्तकादिकी रचयिता दुर्गा न्यौपानेले दुर्गालाल श्रेष्ठ – फूलको आँखामा फूलै संसार त्यसै भनेका छैनन्; सुरेश अधिकारी – एक धर्को सिन्दूर के हो र ! … भन्ने गीतांशहरूलाई यथोचित स्थान दिएकी छन् । खाना नै औषधि भन्ने मूल मन्त्र – रजहरको सामुदायिक प्राकृतिक चिकित्सालय बाट मननीयको तथ्यलाई पनि समेटेर स्वास्थ्य संवेदनशीलता पस्किएको महसुस हुन्छ ।

हुँदा राम्रो लाग्ने प्रसङ्गहरू :

हुन त सुनमा सुगन्ध, उखुमा फल, चन्दनमा फूल, विद्वान् धनी हुँदैनन् रे ! नदेखिएको घाउमा पनि सबै पाटाहरू ठ्याक्क मिलेको नहुनु आफैँमा अनुपयुक्त लाग्दैन । यो हिसाबमा ढोल, शुद्र, गवाँर र नारी, यी हुन् ताडनाका अधिकारी – मनुस्मृतिलाई ढोल, गवाँर, पशु, शुद्र, नारी; यी सब हुन् ताडनाका अधिकारी । – मनुस्मृति लेखेको भए; ‘रूप’ अघिल्लै पानामा प्रयोग भएपनि पछिल्लो पानामा पूर्णरूप अङ्ग्रेजीमै लेखिएकोमा सुरुमै Rural Urban Partnership Program लेखेको भए; थकाइले चुर थिएँ – निचोरेको कागती जस्तै ! लाई उकालोमा गह्रुङ्गो भारी बोकेको गधा जस्तै ! भन्ने उपमा दिन पाएको भए; जवजको पूर्णरूप जनताको बहुदलीय जनवाद राखेको भए; अल्प बिराम (,), अर्ध बिराम (;), पूर्ण बिराम (।) र विकल्प चिन्ह (÷) को समिचीन प्रयोग गर्न सकेको भए; लैङ्गीय/लिङ्गीय/लैङ्गिकमा एकरूपता कायम गरेको भए; ज्ञानेन्द्र राजा भएको २०५९/२/१९ लाई २०५९/२/२२ राखेको भए; व्यवहारिक – व्यावहारिक, आफैं – आफैँ, वश – बस्, सजायँ – सजाय, लाक्षी – लाछी, संग – सँग, चामदानी – तामदान, ऊर्वर – उर्वर, गक्ष – गच्छे, प्रवाह – परवाह, हसरल्ल – असरल्ल, गवाँर – गँवार आदि शब्दहरूको प्रयोग गर्न पाएको भए अनि आत्मकथामा कृत्रिमताको जलप लगाउने कुरै भएन, नत्र ठाउँ–ठाउँका प्रसङ्गमा आदर्श पात्र उभिएर सुसन्देश दिएको आख्यान बनाइएको भए संवेदनामूलक मात्र नभै सन्देशमूलक पनि बन्नेमा सन्देह गर्नुपर्ने देखिँदैन । प्रस्तुत कृतिका लागि दुर्गाजीलाई हार्दिक बधाई अनि आगामी दिनहरूमा पनि यस्तै सटिक प्रस्तुती सन्देशमूलक बनेर झुल्किरहुन्– मङ्गलमय शुभकामना ! हामीले पनि आशा गरौँ…!

…सके सपारौँ, नसके नबिगारौँ…
(हामीसबैकोकल्याणहवोस्)