कवाडीखानामा रुपान्तरित सिंहदरबार !

कवाडीखानामा रुपान्तरित सिंहदरबार !


  • सुरेन्द्र सुवेदी, काठमाडौं

सिंहदरबार भन्नेबित्तिकै हरेकले प्रधानमन्त्री, मन्त्रीलगायत उच्चपदस्थ कर्मचारीहरू बसेर मुलुक सञ्चालन गर्ने केन्द्रीय थलो भन्ने बुझ्दछन् । हुन पनि यो देशकै एक प्रमुख र महत्वपूर्ण स्थान हो । यस्तो महत्वपूर्ण स्थान सिंहदरबार अहिले थोत्रा गाडी थन्क्याउने कवाडीखानाको रूपमा परिवर्तन भएको छ ।

मन्त्रालय, विभाग, संसद् भवनदेखि सञ्चारगृह र विभिन्न महत्वपूर्ण कार्यालयहरूले भरिभराउ भएको सिंहदरबार कवाडीखानासँगै गाडी पार्क गर्ने स्थानको रूपमा परिवर्तन भएको अनुभूति हुन्छ, जहाँ सडकमा जताततै गाडीको लाम देख्न पाइन्छ ।

यहाँ रहेका ४२ वटा कार्यालयमा हजारौँको संख्यामा थोत्रा गाडी थन्किएका छन् । ती गाडीलाई लिलामी प्रक्रियामा लगेर हटाउने व्यवस्था नहुँदा गाडी पार्क गर्ने स्थान नै नभएर हैरानी ब्यहोर्नु परिरहेको ट्राफिक प्रहरीका एक हवल्दारले गुनासो गरे । उनका अनुसार संसदका समितिहरूका बैठक बसेको समयमा गाडी पार्क गर्ने स्थान नै हुन्न । यहाँ करिव २ हजार ५ सय जना कर्मचारी कार्यरत छन् । ती कर्मचारीका गाडी, संसद, मन्त्रीदेखि उनीहरूका सहयोगीसम्मका गाडीले सिंहदरबार भरिभराउ भइरहेको छ ।

यहाँ संसद् सचिवालय (दलको कार्यालय), उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, भूमि, व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालय, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, पूर्वसंसद मञ्च, उर्जा आयोगको सचिवालय, संघीय संसद् सचिवालय र प्रशासकीय अदालत छन् ।

यस्तै, कृषि तथा पशुपंछी विकास मन्त्रालय, वन तथा वातावरण मन्त्रलाय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, उर्जा, जलश्रोत तथा सिंचाइ मन्त्रालय, महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, खानेपानी मन्त्रालय, संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालय, राष्ट्रिय सतर्कता केन्द्र, राष्ट्रिय परिचयपत्र र राष्ट्रिय विपद् व्यवस्थापन केन्द्र पनि सिंहदरबारभित्र नै छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थमन्त्रालय, रक्षा मन्त्रालय, राष्ट्रिय योजना आयोग, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, नेपाल टेलिकम, मुद्रण विभाग, रेडियो नेपाल, परराष्ट्र मन्त्रालय, पुनःनिर्माण प्राधिकरण, एनआइटिसी, नेपाल विद्युत प्राधिकरण, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, शहरी विकास मन्त्रालय, सिंहदरबार कोलेनिका/कर्मचारी सञ्चय कोष, राष्ट्रिय प्रकृति स्रोत तथा वित्त आयोग, संस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्रालय, एभ्रेष्ट बैंक, सुरक्षित मुद्रण, राष्ट्रिय सुरक्षा परिषद्को कार्यालय, तराई मधेश समृद्धि र गृहमन्त्रालय छन् । यहाँ जम्मा ४२ वटा मन्त्रालयदेखि कार्यालयसम्म छन् ।

सिंहदरबारभित्र कुकुरको लर्काे देख्न पाइन्छ । अनामनगर, बबरमहल, माइतिघर, पुतलीसडकदेखिका भुस्याहा कुकुर सिंहदरबारमा आउने गरेको एक प्रहरीले बताए । त्यहाँका क्यान्टिनमा खान पाइने भएकोले कुकुरहरू सधैं सिंहदरबारभित्र नै बस्ने गरेको पाइन्छ ।

मन्त्रालय, संसद् र कार्यालयका सवारी चालकहरू हाकिमहरूलाई सिंहदरबारमा ल्याएपछि दिनभर काममा हुँदैनन् । अनि उनीहरूको काम भनेको कुनाकानी खोज्दै तास र लुडो खेल्ने हुने गरेको छ । सिंहदरबारभित्र भवनहरू धमाधम बनिरहेका छन् । ती भवनहरू बनाउन ल्याएका निर्माण सामाग्रीले सिंहदरबार थप कुरुप देखिन्छ ।