क्यानद्वारा सोलुखुम्बुको महाकुलुङमा प्याराग्लाइडिङको परीक्षणको अनुमति

क्यानद्वारा सोलुखुम्बुको महाकुलुङमा प्याराग्लाइडिङको परीक्षणको अनुमति


नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले द बाबा एडभेञ्चर इन्टरनेशनल स्कुललाई सोलुखुम्बुको महाकुलुङमा प्याराग्लाइडिङको परीक्षण उडानका लागि अनुमति प्रदान गरेको छ । क्यानले सो कम्पनीलाई महाकुलुङ-५ मा यही वैशाख ११ गतेदेखि १५ गतेसम्म परीक्षण उडानका लागि अनुमति प्रदान गरेको जनाएको छ ।

क्यानका अनुसार कम्पनीले सो क्षेत्रमा बिहान ८ बजेदेखि अपराह्न्न ४ बजेसम्म प्याराग्लाइडिङको परीक्षण उडान गर्न पाउनेछ । तर त्यसका लागि लुक्लास्थित तेञ्जिङ हिलारी विमानस्थल नागरिक उड्डयन कार्यालयको सम्पर्कमा रही उडान सञ्चालन गर्नुपर्नेछ । साथै हवाई उडान हुने समयमा भने परीक्षण गर्न पाइने छैन ।

‘स्थानीय प्रशासनको प्रत्यक्ष समन्वयमा रही सुरक्षाको पूर्ण प्रत्याभूति भएपश्चात मात्र सर्र्तको अधिनमा रही प्याराग्लाइडिङ प्रशिक्षण पटके उडान अनुमति प्रदान गरिएको छ’, क्यानले दिएको अनुमति पत्रमा भनिएको छ ।

कम्पनीका सञ्चालक नविनबाबु गुरुङले अबको केही दिनमा सो क्षेत्र आसपासबाट ५-६ वटा परीक्षण उडान गरिने र परीक्षण उडान सफल भयो भने व्यवसायिक उडानको तयारी गरिने जानकारी दिए । परीक्षण उडानमा त्यहाँको हावाको बहाव, मौसम अनुकुलताबारे जानकारी लिइनेछ, परीक्षण उडान सफल भए स्थानीय तहसँगको सहकार्यमा व्यावसायिक उडानका लागि प्रयास गरिने उनको भनाइ छ ।

symbolic image