गर्मी बढ्यो…, औलो लाग्ला है !

गर्मी बढ्यो…, औलो लाग्ला है !


आज अप्रिल २५ तारिख, अर्थात् विश्व मलेरिया दिवस । औलो एक प्रमुख विश्वव्यापी स्वास्थ्य समस्या भएका कारण विश्व स्वास्थ्य संगठनद्वारा यसको रोकथाम, र यस रोगसँग लड्न निरन्तर लगानी अनि राजनीतिक प्रतिबद्धताको आवश्यकताबारे चेतना जगाउन हेतु यो दिवस मनाउन थालिएकोे हो । अफ्रिकाको मलेरिया दिवसबाट प्रेरित भइ सन् २००७ मा विश्व स्वास्थ्य संगठनद्वारा विश्व स्वास्थ्यसभाको ६०औँ सत्रमा हरेक वर्षको अप्रिल २५ तारिखलाई विश्व मलेरिया दिवसको रूपमा घोषण गर्ने प्रस्ताव पेश गरि सन् २००८ मा पहिलो पटक यो दिवसको सुरुवात भएको हो ।

मलेरिया दिवसको प्राथमिक लक्ष्य :

‘समानतापूर्ण संसारको लागि मलेरियाविरुद्धको लडाइँलाई तीब्र पारौं’ भन्ने नाराका साथ सरकार, अन्तर्राष्ट्रिय संस्थाहरू र निजी क्षेत्रबाट राजनीतिक इच्छाशक्ति तथा स्रोतहरू परिचालन गर्ने यो दिवसको उद्देश्य हो । यो दिनले मलेरिया नियन्त्रण गर्न विश्वव्यापी प्रयासहरू, स्वास्थ्य र विकासमा यसको प्रभाव, रोकथाम र उपचारको महत्वबारे समुदाय र व्यक्तिहरूलाई शिक्षित गर्ने, जागरुक बनाउने अवसरको रूपमा कार्य गर्दछ । भेक्टर नियन्त्रण, शीघ्र निदान र उपचार, अनुसन्धान र नयाँ उपकरणहरूको लागि विकास, र स्वास्थ्य प्रणाली सुदृढ गर्दै लैजाने यसको अर्को उद्देश्य हो ।

विश्व मलेरिया दिवसको विषयवस्तु प्रत्येक वर्ष फरक हुन सक्छ तर यो निरन्तर रूपमा मलेरियाविरुद्धको लडाइँमा प्रगति र चुनौतीहरूमा केन्द्रित छ । यस दिनका गतिविधिहरूमा मलेरियाविरुद्धको विश्वव्यापी लडाइँमा नीतिनिर्माताहरू, स्वास्थ्यकर्मीहरू, अनुसन्धानकर्ताहरू र जनतालाई संलग्न गराउन जनचेतना अभियान, सामुदायिक कार्यक्रमहरू, शैक्षिक कार्यक्रमहरू, र त्यस सम्बन्धमा वकालतको पहल गर्ने रहेका छन् ।

नेपालले सन् २०२५ सम्ममा नेपाललाई औलोमुक्त राष्ट्रको रुपमा पुऱ्याउने लक्ष्य निर्धारण गरेको छ । सन् १९५४ देखि नेपालमा औलो निवारणका कार्यक्रमहरु सञ्चालन हुँदै आएका छन् । त्यसअघि औलोको उपचार नभएका कारण यसको जटिलताले बर्सेनी सयौं नेपालीको ज्यान जान्थ्यो । तत्कालिन श्री ५ को सरकारले औलो नियन्त्रणको प्रयास थालेदेखि क्रमशः बर्सेनी यो रोगको प्रकोप र मृत्युदरमा कमी हुँदै आइरहेको छ ।

औलो रोग के हो ?

गर्मीयामको सुरुवातसँगै विभिन्न संक्रामक र सरुवा रोगहरुको तीव्रतर वृद्धि हुने क्रम सुरु भएको छ । विशेषगरी तराईलगायत मुलुकका अन्य भेगहरूमा औलोरोग, स्क्रब-टाइफस, डेंगी, कालाजार जस्ता समस्याहरुको बढोत्तरी हुँदैछ । आज हामी औलोरोग, यसका कारण अनि निवारणका बारेमा चर्चा गर्दैछौं ।

मलेरिया अर्थात् औलो संक्रमित पोथी एनोफिलिस प्रजातिको लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने रोग हो । नेपालका प्रमुख जनस्वास्थ्य समस्याहरूमध्येको एक औलोको निवारणका लागि नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विभिन्न नीति, रणनीति तथा कार्यक्रमहरु संचालन गर्दै आएको छ ।

प्लाजमोडिम प्रजातिका विभिन्न परजीवीहरूले मानिसमा मलेरिया गराउन सक्छन्, यीमध्ये दुई प्रजातिहरू (प्लाज्मोडियम फाल्सीपेरम र प्लाज्मोडियम भाइभेक्स) खतरनाक हुन्छन् । जलवायु परिवर्तन तथा विश्वब्यापी तापमान बढ्दै जाँदा त्यसको असरस्वरुप पहाडी तथा हिमाली भेगमा समेत लामखुट्टेहरू देखिन थालेका छन्, जसले गर्दा ती क्षेत्रमा पनि आजकल औलो जोखिम उत्तिकै छ ।

शिशु तथा बालबालिका, गर्भवती महिला, जेष्ठनागरिक, रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका मानिसहरुमा औलो भएमा जटिलताको जोखिमका साथै र मृत्युदर पनि उच्च रहन्छ । सामान्यतया संक्रमित लामखुट्टेले टोकेको दुई हप्ताभित्र औलोको लक्षण तथा चिह्न देखापर्न थाल्छ ।

औलाको लक्षण :

– ज्वरो आउने, ज्वरोसँगै बिरामीले एक्कासी चिसो हुने, धेरै पसिना आउने, शरीर सिताङ्ग हुने, काँप्ने ।
– अति कडा टाउकोदुखाइ हुने, मांसपेशी तथा जोर्नीकोे दुखाइ, थकान र कमजोरी महसूस हुने ।
– वाकवाकी र बान्ता हुन्छ, पेट दुख्ने, फियो सुन्निने हुन्छ ।
– केही अवस्थामा लगातार खोकी लाग्न सक्छ, स्वास–प्रस्वासमा समस्या आउँछ
– रातारक्त कोषकोषको क्षय भइ रक्तअल्पता हुने ।

औलो रोगका जटिलताहरू :

यदि सही समयमा निदान (रोगको पहिचान) भइ तत्काल पर्याप्त उपचार नभए यस रोगले मानिसको ज्यानैसमेत लिने गर्दछ । त्यसर्थ, यसको सम्पूर्ण र प्रभावकारी उपचार नै जटिलताबाट बच्ने उपाय हो । रक्तअल्पता, फियो सुन्निने, मष्तिष्कमा क्षति गन, श्वास-प्रस्वासमा समस्या आउने तथा अंगहरू कोल्याप्स हुने तथा मृत्यु हुने यसका जटिलताहरु हुन् ।

औलो रोगको निदान :

लक्षण तथा चिन्हको आधारमा निदान (रोगको पहिचान) वा अवस्था निर्धारण गर्न सकिन्छ । साथै, संक्रमित मानिसको रगतको नमुना लिइ प्रयोगशालामा माइक्रोस्कोप तथा एण्टिजेन परीक्षणका आधारमा समेत निदान (पहिचान) गर्ने गरिन्छ ।

उपचार विधि :

समयमै पहिचान गरि एण्टीमलेरियल औषधिहरुको सेवनबाट औषधि सेवन गरे यो रोग निको हुन्छ । रोग लाग्नुभन्दा रोग लाग्न नदिनु नै बुद्धिमानी हुन्छ, त्यसर्थ यो रोग सर्ने विधिलाई रोकथाम गर्न सके यो रोग लाग्नबाट बच्न सकिन्छ । परजीवीको प्रकार अनुसार रोगको उपचार पनि छुट्टाछुट्टै हुने गर्छ भने यसको उपचारका लागि विभिन्न थरिका औषधि नेपालका सरकारी स्वास्थ्य संस्थाहरुमा निःशुल्क पाइन्छ ।

औलोबाट बच्ने उपाय :

औलोबाट बच्ने प्रमुख उपाय भनेकै लामखुट्टेको टोकाइबाट जोगिनु हो, त्यसैले लामखुट्टेको टोकाइबाट बच्न र लामखुट्टे नियन्त्रण गर्न निम्न उपायहरू अपनाउन सकिन्छ–

– सुत्दा अनिवार्य रुपमा झुलको प्रयोग गर्ने,
– लामखुट्टे भगाउने रसायनहरू, किटनाशक औषधि छर्कने,
– घरवरिपरि, कार्यालय, विद्यालयमा टायर खुला भाँडा आदिमा पानी जम्न नदिने, पानी जमेका खाल्टाखुल्टी पुर्ने,
– पानी जम्मा गर्ने भाँडालाई लामखुट्टे छिर्न नसक्ने गरी छोप्ने,
– कम्तीमा हप्ताको एक पटक गमलाको प्लेट फुलदानी कुलर आदिको पानी फेर्ने,
– झारपात, झाम-झाडी सफा गर्ने,
– घरको झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली हाल्ने,
– लामो बाहुला भएका पूरा जीऊ ढाक्ने कपडा लगाउने,
– शरीरका खुला अंगमा लामखुट्टेको टोकाइबाट बच्न सकिने मल्हम प्रयोग गर्ने तथा कडुको तेल दल्ने,
– स्प्रे, म्याट (धूप) बाल्ने तथा ब्याट प्रयोग गर्ने,
– जोखिम युक्त ठाउँहरुमा जानुपूर्व रोकथामका उपाय अपनाउने तथा तथा औषधिहरु प्रयोग गर्ने,
– जनसमुदायमा औलोसम्बन्धी जनचेतना फैलाउने,
– औलो रोगका लक्षणबारे जानकारी दिने,
– शंकास्पद बिरामीले तुरुन्त परीक्षण गर्ने
– विशेष गरी लामखुट्टे सक्रिय हुने समयमा बिहान र साँझपख सावधानी अपनाउने । लामखुट्टेबाट जोगियौं, औलोबाट आफु बचौं र अरुलाई पनि बचाऔँ ।