पचहत्तरवर्षे नेकपाभित्रका केही रहस्य

पचहत्तरवर्षे नेकपाभित्रका केही रहस्य


नेपालमा कम्युनिष्ट पार्टी स्थापना भएको गत सोमबार (१० वैशाख) ७५ वर्ष पूरा भइ ७६ वर्षमा लागेको छ । त्यसक्रममा कामाडौंलगायत देशका विभिन्न स्थानमा विभिन्न कार्यक्रमहरूको आयोजना भए । नेकपाको स्थापना दिवसका साथसाथै लेनिनको १५५औं जन्मशताब्दीसमेत नेकपाका विभिन्न घटकहरूले एकसाथ मनाउन सकेनन् ।

उक्त दिनको कार्यक्रमकै मुख्यतः तीन धार देखिएका थिए । एमालेले त्यसदिन नेकपाको ७५ वर्ष पुगेको उपलक्ष्यमा हीरक जयन्ती मनायो, तर लेनिन जन्म दिवस भने मनाएन । एमालेद्वारा आयोजित हीरक महोत्सवमा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एकीकृत समाजवादीका नेता झलनाथ खनाल, माओवादीका पूर्वनेता डा. बाबुराम भट्टराई, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी, मालेका महासचिव सिपी मैनालीलगायतका मुख्यतः संसदवादी विभिन्न राजनीतिक दलका नेता, मन्त्री र सांसदहरू सहभागी भएका थिए । समारोहमा निम्ता गरेपनि एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल भने उपस्थित हुनुभएन । एमालेको उक्त कार्यक्रमको निचोड तत्काल कम्युनिष्ट पार्टीहरूका बीचमा एकता असम्भव रहेको भन्ने थियो ।

त्यसैगरी, मोहन बैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी, नेपालले नेकपाको पार्टी स्थापना र १५५औँ लेनिन जयन्तीको सन्दर्भमा पार्टी कार्यालय कुपण्डोलमा एक कार्यक्रमको आयोजना गरेको थियो, जहाँ ‘साम्राज्यवादी युगमा लेनिनवादको महत्व’ विषयक अन्तरक्रियासमेत गरियो । सो कार्यक्रमको निचोड एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी र कांग्रेसका बीचमा कुनै तात्विक र मौलिक भिन्नता नरहेको भन्ने थियो । त्यहाँ बोल्नेहरूले सत्ताधारी कम्युनिष्टहरूले वामपन्थी जनमतलाई भ्रममा पार्नका लागि नाममात्रै कम्युनिष्ट राखेको आरोप लगाएका थिए । सो कार्यक्रममा क्रान्तिकारी कम्युनिष्ट पार्टी, नेपालका अध्यक्ष मोहन बैद्यका अतिरिक्त नेकपाका अध्यक्ष ऋषि कट्टेल, नेकपा (मशाल)का प्रवक्ता रामबहादुर बुढा, नेकपा (मसाल)का प्रवक्ता रामप्रकाश पुरी र वामपन्थी लेखक गोपीरणम उपाध्याय लगायतको उपस्थिति रहेको थियो ।

त्यसैगरी नेकपा (मसाल) ले पनि आफ्नो पार्टीको मात्र अलग्गै कार्यक्रमको आयोजना गरेको थिया, जहाँ सो पार्टीका महामन्त्री मोहनविक्रम सिंहले क्रान्तिकारी रुपान्तरण गर्नु भनेको पार्टीका नेता तथा कार्यकर्ताहरूको दृष्टिकोण र कार्यशैलीमा पनि रुपान्तरण हुनु हो भन्ने धारणा राख्नुभएको थियो । उहाँले दर्शनको अध्ययन नगरिकन कोही पनि कम्युनिष्ट बन्न नसक्ने बताउँदै त्यसबारे सबैलाई जागरुक हुन आग्रह गर्नुभएको थियो ।

यस्तै, नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले पनि आफ्नै पार्टी कार्यालय शिवगढी कपिलबस्तुमा नेकपाको पार्टी स्थापना र लेनिन दिवसको आयोजना गरेको थियो । जसमा बोल्दै पार्टीका महासचिव चन्दले नेपालका सम्पूर्ण कम्युनिष्ट पार्टीहरू एक हुनुपर्ने बताउनुभएको थियो । उहाँले पुष्पलालको इतिहास २०८१ सालमा आएर जोडिएको भन्दै नेकपालाई यसले गहन जिम्मेवारी सुम्पिएको बताउनुभएको थियो ।

लोकनारायण सुवेदी नेतृत्वको नेकपाले बैशाख १० गतेलाई पार्टी स्थापना दिवस नै मान्दैन । उसको भनाईमा अप्रिल २२ मा नेकपाको नामाकरणमात्र गरिएको र सेप्टेम्बर १५ मा घोषणा गरिएको भन्ने रहेको छ । नेकपाको २०१९ सालमा भएको तेश्रो महाधिवेशनसम्म सेप्टेम्बर १५ मै पार्टी स्थापना दिवश मनाइने गरेको थियो भने तेश्रो महाधिवेशनको फुटपछिमात्र दुईवटा धार देखिएका थिए ।

सबै कम्युनिष्ट पार्टीहरूले आफूलाई वि.सं. २००६ मा स्थापना भएको नेकपाको विरासत मान्ने गरेपनि खास स्थापनामै विवाद रहेकाले समाजमा विभिन्न किसिमका अन्योलहरू रहेका छन् । नेकपाको स्थापना २००६ सालको बैशाख १० गते लेनिनको जन्मदिवस पारेर कलकत्ताको श्यामबजारस्थित एक बंगालीको घरमा भएको थियो । नेकपा स्थापना गर्दा संस्थापक सदस्यमा निरञ्जनगोविन्द बैद्य, नरबहादुर कर्माचार्य र नारायणविलास जोशी रहेको भनिए पनि कतिपय ब्यक्ति सशरीर पार्टी स्थापना कार्यक्रममा उपस्थित नै थिएनन् । उनीहरूले समेत पछिमात्र थाहा पाएका थिए । संस्थापक भनिएकामध्ये भक्तपुरका नारायणविलास जोशी सरकारी जागिरे हुनुहुन्थ्यो । भनिन्छ, सन् १९४९ को सेप्टेम्बर १५ मा मात्र संस्थापक सदस्यहरूको सूचीमा मोतिदेवीको नाम थप्न प्रस्ताव गरिएको थियो । २००६ सालको बैशाख १० मा पार्टी खोलिए पनि यसलाई झण्डै पाँच महिनासम्म गोप्य नै राखिनुको कुनै रहस्य खुलेको छैन । नेकपाको स्थापनाको औपचारिक जानकारी सोही सालको भदौ ३० अर्थात सेप्टेम्बर १५ मा मात्र बाहिर ल्याइएको थियो । भदौ ३० गते नेकपाको स्थापनाको औपचारिक जानकारी दिँदा यसअघिका पाँच संस्थापकमध्ये पुष्पलालबाहेक अरु कोही पनि उपस्थित थिएनन् । त्यसदिन घोषणा गरिएको केन्द्रिय समितिमा मनमोहन अधिकारी, तुलसीलाल अमात्य, शैलेन्द्रकुमार उपाध्याय, डीपी अधिकारी र भाइसाहेब भनिने भाकपाका नेता अयोध्या सिंह रहनुभएको थियो । तर, महासचिव भने पुष्पलाल नै हुनुहुन्थ्यो ।

नेकपाका संस्थापक पुष्पलाल शुरुमा नेपाली काङ्ग्रेसनिकट हुनुहुन्थ्यो । पछि उहाँको भारतीय कम्युनिष्ट नेता नृपेन्द्र चक्रवर्तीसँग सम्बन्ध रहेको र उहाँबाटै मार्क्सवादी शिक्षा लिएर पुष्पलालले पार्टी स्थापना गरेको भनिन्छ । त्यसैले नेपालको कम्युनिष्ट आन्दोलनमा पछिसम्म नै भारतीय कम्युनिष्टहरूको प्रभाव देखिएको थियो । दोश्रोे समितिमा पनि केशरजंग रायमाझी छुटेको पाइन्छ । पुष्पलालले नै आफ्नो पुस्तकमा नेकपा स्थापनापछि गौरिभक्त प्रधानमार्फत तुलसीलाल अमात्य पार्टी सम्पर्कमा आएको उल्लेख गर्नुभएको छ । तर, तुलसीलाल दोश्रोे केन्द्रिय समितिमा सदस्य हुँदा गौरिभक्तको नाम उल्लेख गरिएको पाइँदैन ।

पुष्पलालले आफ्नो पुस्तकमा मनमोहन अधिकारीले नरबहादुर कर्माचार्यमार्फत पार्टीसँग सम्पर्क गरेको उल्लेख गर्नुभएको छ । तर, कर्माचार्यको नाम पनि दोश्रोे केन्द्रिय समितिबाट हटेको देखिन्छ भने मनमोहन समावेश रहेको पाइन्छ । यसरी नेकपाको स्थापनामै कतिपय अदृश्य गतिविधि देखिएका थिए र नेकपामा विवादको बीउ रोपिएको थियो । २०१७ सालमा पहिलोपटक कम्युनिष्ट पार्टीभित्रको विवाद बाहिर आउँदा पनि स्थापना दिवस तथा संस्थापक सदस्यहरूबारे नै किचलो भएको थियो ।

२०३५ सालमा स्थापित नेकपा (माले) को प्रथम राष्ट्रिय सम्मेलनको दस्तावेजमा पार्टीको स्थापना अन्तर्राष्ट्रिय संशोधनवादको षड्यन्त्रको उपज थियो भन्ने उल्लेख गरिएको थियो । अर्कातिर त्यसैताका तत्कालीन नेकपा (चौम)का नेता मोहनविक्रम सिंहले नेकपाका संस्थापक महासचिव पुष्पलाललाई गद्दार सावित गराउन ‘गद्दार पुष्पलाल’ नामक पुस्तक नै लेख्नुभएको थियो । नेकपाको स्थापनाकालमै पुष्पलालले काठमाडौंबाट कलकत्ता पुगेका नेवारहरूलाई मात्र समेटेर पार्टी खोलेको भन्ने आरोप लागेको थियो । तर पुष्पलालले भने आफूलाई जातीय आरोप नलागोस् भनेर नामको पछाडि आफ्नो थर ‘श्रेष्ठ’समेत लेख्नुभएको थिएन । पछिमात्र कतिपयले उहाँलाई पुष्पलाल श्रेष्ठ भनेर लेख्ने र सम्बोधन गर्नेगरेका हुन् ।

नेपालमा कम्युनिष्ट पार्टीको स्थापना गर्ने प्रेरणा रुसी क्रान्ति, भारतको तेलङ्गना विद्रोह र नेपालमा भइरहेको राणाशासन विरुद्धको संघर्षबाट प्राप्त भएको मानिन्छ । नेकपाको शुरुमा स्टालिनकालीन रुसी कम्युनिष्ट पार्टी र भारतीय कम्युनिष्ट पार्टीको प्रभावमा रहेको देखिएको छ । जतिबेला चिनियाँ जनवादी क्रान्ति सम्पन्न भएको थिएन । नेकपाको प्रथम सम्मेलन २००८ साल असोज (सन् १९५१ सेप्टेम्वर २२) मा कलकत्तामा भएको थियो । जसले मनमोहन अधिकारीलाई महासचिव चुनेको थियो । २००८ साल कार्तिक २० गते नेपाल भारत सन्धिको विरोध गर्दा चिनियाँकाजीको हत्या भएको थियो । २००९ साल माघ ९ गते डा. केआई सिंहले जेल विद्रोह गरेपछि त्यसैलाई निहुँ बनाएर २००९ सालको माघ ११ गते नेपाल कम्युनिष्ट पार्टीमाथि प्रतिबन्ध नै लगाइएको थियो ।

नेकपाको प्रथम महाधिवेशन २०१० साल माघ १७-२५ सम्म काठमाडौंमा भएको थियो । सो महाधिवेशनमा पुष्पलालले संविधानसभाको निर्वाचन र डा. केशरजंग रायमाझीले वैधानिक राजतन्त्रको समर्थन गरी दुई पृथक प्रस्ताव अगाडि आएका थिए । त्यतिबेला महाधिवेशनमा केवल ७८ जना प्रतिनिधि थिए भने पार्टीको सदस्य संख्या १६ हजारमात्र रहेको भनिएको थियो । २०१२ सालको कार्तिकमा दोश्रो राष्ट्रिय सम्मेलन भएको थियो । सम्मेलनमा केशरजंग रायमाझीले राजावादी धार समात्दा सम्मेलनले राजतन्त्रको समर्थन र वैधानिक राजतन्त्रको दिशा पारित गरेको थियो । टंकप्रसाद आचार्यको नेतृत्वमा रहेको तत्कालीन सरकारले २०१२ मा नेपाल कम्युनिष्ट पार्टीमाथिको प्रतिबन्ध फुकुवा गरेको थियो । नेकपाको दोश्रो महाधिवेशन २०१४ सालको जेठ १५-२५ मा काठमाडौंमा भएको थियो ।

पुष्पलालले संविधानसभा र संसदीय प्रजातन्त्रको लाइन, शम्भुराम श्रेष्ठले गणतन्त्रको लाइन, डा. रायमाझीले संवैधानिक राजतन्त्रको लाइन पेश गर्नुभएको थियो । महाधिवेशनमा पुष्पलालको विधानसभाको लागि संघर्षभन्ने लाइन पारित भएको थियो । तर, बहुमतले डा. रायमाझीलाई महासचिव बनाएको थियो । २०१७ पौष १ गते राजा महेन्द्रले पञ्चायती शासन घोषणा गर्दा रुसको मस्कोमा रहनुभएका डा. रायमाझीले राजाको कदमको स्वागत गर्नुभएको थियो । त्यसलगत्तै २०१७ पौष २२ मा राजा महेन्द्रले दलहरूमाथि प्रतिबन्ध लगाउनुभएको थियो । २०१७ साल फागुनमा भारतको दरभंगामा एक महिनासम्म दरभंगा प्लेनम भएको थियो । सो प्लेनममा २४ जिल्लाका ५४ प्रतिनिधि सहभागी थिए । जसमा मोहनविक्रम सिंहले संविधानसभाको निर्वाचन, डा. रायमाझीले संसदीय व्यवस्थाको स्थापना र पुष्पलालले विघटित संसदको पुनस्र्थापनाको प्रस्ताव अगाडि ल्याउनुभएको थियो । प्रस्तावमा मतदान हुँदा बहुमत पुष्पलालको पक्षमा आएको थियो । नेकपाको तेश्रो महाधिवेशन २०१९ सालको बैशाख ४-१५ सम्म भएको थियो । जसमा तुलसीलाल अमात्यको सार्वभौमसत्ता सम्पन्न संसद, पुष्पलालको विघटित संसदको पुनःस्थापना र मोहनविक्रम सिंहको संविधानसभाको निर्वाचनको प्रस्ताव आएको थियो । महाधिवेशनमा सिंहको लाइन बहुमतबाट पारित भएको थियो । तर, महामन्त्रीमा भने तुलसीलाल अमात्य निर्वाचित हुनुभएको थियो । त्यहीँबाट नेकपा अनेक समूहमा विभाजित भएका हुन्, जो आजपर्यन्त कायमै छ ।

त्यसैगरी २०२८ सालमा झापामा शुरुभएको ‘वर्गशत्रु खतम अभियान’ र ०५२ सालदेखि सञ्चालित माओवादीको ‘दीर्घकालीन जनयुद्ध’ दुवै भारतीय कम्युनिष्ट पार्टीबाट प्रभावित थिए । दुवै असफल भएर हाल त्यसको मूल नेतृत्व संसदवादी राजनीतिमा पुगेको छ । दुवै घटनाका कतिपय नायकहरूले कम्युनिष्ट पार्टी नै परित्याग गरिसकेको अवस्था छ । जनयुद्धकालीन माओवादीका अध्यक्ष पुष्पकमल दाहालले तीन पटक देशको प्रधानमन्त्री हुँदा पनि यतिबेला आफैले अगाडि सारेका ४० सूत्रीय मागसमेत पूरा गरिरहनुभएको छैन । बरु उक्त मागका विरुद्ध गतिविधि गरिरहेको देखिएको छ । हाल संसदवादी कम्युनिष्ट चर्चामा र क्रान्तिकारी कम्युनिष्ट ओझेलमा परेको अवस्था छ । यसरी नेपालको कम्युनिष्ट आन्दोलनभित्र अनेक रहस्य रहेका छन् । जसको छिनोफानो र चिरफार नगरेसम्म नेपालमा कम्युनिष्ट पार्टी नै अगाडि बढ्न नसक्ने अवस्था सिर्जना भएको छ । नेपालमा बढेको विदेशी हस्तक्षेप र नक्कली कम्युनिष्टहरूको भण्डाफोर शोषितपीडित जनताको मुख्य कार्यभार भएको छ ।