वडाअध्यक्ष नै पीडक : विकासका नाममा पीडा दिँदै बनेपा-७ वडा कार्यालय

वडाअध्यक्ष नै पीडक : विकासका नाममा पीडा दिँदै बनेपा-७ वडा कार्यालय


काभ्रेको बनेपा नगरपालिका वडा-७ ले विकासका नाममा स्थानीयले निर्माण गरेको पूर्वाधार भत्काएर पीडा दिन थालेको छ । वडाबासीकै स्वामित्वमा रहेको जग्गामा सडक स्तरोन्नती गर्ने भन्दै पहिलाको निर्माण भत्काएर स्थानीयलाई पीडा दिइरहेको पीडितको आरोप छ ।

बनेपा नगरपालिका वडा नम्वर ७ मा घरहरु समेत धेरै नभएको, पक्कि संरचना रहेको, नागरिकहरुको आवश्यकता भन्दा पहुँचका आधारमा रकम विनियोजन गरी भएको निर्माणलाई भत्काउँदै नयाँ बनाउने भन्दै स्थानीय श्रोत र साधनको दुरुपयोग गरिएको स्थानीयको आरोप छ ।

उपभोक्ता समिति गठनमा पनि नक्कली ब्यक्तिहरुको नामावली राखिएको छ । झिंद्यो टोल सडक स्तरोन्नती आयोजनामा भएको मनलाग्दी विरुद्ध केही स्थानीयले वडा कार्यालय, नगरपालिकामा ध्यानाकर्षण गराउँदासमेत स्थानीय सरकारले चासो दिएन, बरु उल्टै नगरप्रमुख र वडाअध्यक्षको आदेश भन्दै भकाभक संरचना भत्काइएको छ ।

उपभोक्ता समितिमा अध्यक्ष विज्ञान श्रेष्ठ छन् । आयोजनाको कुल लागत ६ लाख ३ हजार ५ सय रहेको छ । नगरपालिकाले ५ लाख रकम दिएको छ । स्थानीय स्तरबाट १ लाख ३ हजार ५ सय ब्यहोर्ने गरी प्रति ब्यक्ति २५ हजार रकम लिएको छ । चार घरका लागि ५ लाख रकम विनियोजन गरेको नगरपालिकाले ५० जना लाभान्वित हुने भन्दै आयोजना स्विकृत गरेको छ ।

पैसा उठाउँदा कुनै सामुहिक निर्णय नगरी अध्यक्षको मनमानीले उठाएको र आफूले चाहिँ पैसा नराखेको खुल्न आएको छ । रामप्यारी बज्राचार्यबाट ३६ हजार, राजन कायस्थबाट ५६ हजार, हुबेन्द्र चौलागाईंबाट ५६ हजार र रामप्रसाद दाहालबाट उठेको २५ हजार गरी एक लाख ७३ हजार हुनुपर्नेमा जम्मा एक लाख तीन हजार पाँच सय मात्र देखाइएको छ ।

उपभोक्ता समिति बनाउँदा पनि एउटै घरका दुई जना राखेको र अनियमित तवरले अर्कै वडाको समेत दुई जना संलग्न गराइनुका साथै कोषाध्यक्ष पदमा पनि टोलबासीले नचिनेको आफ्नै मान्छे राखेर वडाध्यक्षले अनियमित कार्य गरेको भनी सरोकारवालाले गुनासो गरेका छन् ।

२०८० पौष १७ गते आयोजनाको शुरु मिति राखेर २०८१ बैशाख दोश्रो साता कार्य शुरु गरेको उपभोक्ता समितिले २०८१ जेठ १५ गते कार्य सम्पन्नको मिति राखेको भए पनि सम्पन्न हुने मितिमा मात्रै कार्य प्रारम्भ गरेको छ । उपभोक्ता समितिमा भएका ब्यक्तिहरु, आयोजनाको पारदर्शिता, आवश्यकता र शक्तिको दम्भका बारेमा स्थानीयहरुले प्रश्न उठाएका छन् ।

यो प्रकरणमा पीडित रामप्यारी बस्नेत बज्राचार्य न्याका लागि नगरपालिका र त्यसमाथिका निकायमा जाने बताउँछिन् ।