ॐ हस्पिटललाई नेपालको पहिलो रोजाइको सेवाप्रदायक बनाउने प्रण

ॐ हस्पिटललाई नेपालको पहिलो रोजाइको सेवाप्रदायक बनाउने प्रण


काठमाडौंको चावहिलस्थित ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि.को २७औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभाले नवनिर्वाचित सञ्चालकहरु मध्येवाट वरिष्ठ रेडियोलोजिष्ट डा. आनन्दप्रसाद श्रेष्ठलाई सञ्चालक समितिको अध्यक्षमा सर्वसम्मतरुपमा चयन गरेको छ ।

हस्पिटलका सञ्चालकहरुमा सरला रिजाल, डा. हरिकिशोर श्रेष्ठ, डा. गिसुपनिख प्रसिको, डा. राजेशकिशोर श्रेष्ठ, डा. रिता सिंह हमाल, शरदकान्त अधिकारी, हरिप्रसाद पाठक, विजय मल्ल, बाबुकाजी कार्की, प्राडा जागेश्वर शर्मा गौतम निर्वाचित भएका छन् ।

भारतको ख्यातिप्राप्त अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेजबाट रेडियोलोजीमा विशेषज्ञता हासिल गरेका तथा चिकित्सा क्षेत्रमा पाँच दशक भन्दा बढीको अनुभव संगालेका डा. श्रेष्ठ नेपाली चिकित्सा क्षेत्रमा रेडियोलोजी विधालाई स्थापित गराउने अग्रणी चिकित्सक मानिन्छन् ।

हाल पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रतिष्ठान सभा सदस्य (सिनेटर) रहेका डा. श्रेष्ठ नेपाल मेडिकल कलेज शिक्षण अस्पतालका संस्थापक संचालक शेयरधनी तथा नेपाल रेडियोलोजी सोसाइटिका सल्लाहाकार समेत हुन् ।

नवनियुक्त अध्यक्ष श्रेष्ठले निर्वाचन समितिलाई धन्यवाद ज्ञापन गर्दै साधारणसभामा उपस्थित अस्पतालका संचालक तथा शेयरधनीरुलाई धन्यवाद तथा कृतज्ञता ज्ञापन गरे । सम्बोधनका क्रममा अध्यक्ष डा. श्रेष्ठले आफुले पाएको जिम्मेवारीलाई ध्यानमा राखेर अपतालमा संस्थागत सुशासन कायम गर्न सबैको साथ सहयोग अपरिहार्य रहेको जिकिर गरे । उनले विशेषज्ञ चिकित्सक, नर्सिङ स्टाफ लगायत सम्पूर्ण प्राविधिक तथा प्रशासनिक कर्मचारीहरुको साथ लिएर आगामी दिनमा अस्पताललाई नयाँ ढङ्गबाट अगाडि लैजाने र पूर्ववत नेपालको पहिलो रोजाइको सेवाप्रदायक बनाउने प्रण पनि गरे ।

नेपालको निजीस्तरमा संचालित अग्रणी स्वास्थ्य सेवा प्रदायक संस्था ॐ हस्पिटलले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत दुर दराजका बिरामीकालागि समय समयमा दुर्गम जिल्लाहरुमा विशेषज्ञ र औषधि सहितको निःशुल्क स्वास्थ्य परिक्षण तथा औषधि वितरण शिविर लगायतका अन्य चेतनामूलक विभिन्न कार्यक्रमहरु समेत संचालन गर्दै आएको छ ।

पछिल्लो समयमा नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय तथा स्वास्थ्य सेवा विभागसँगको सहकार्यमा मृगौला रोग लागि मृगौला कमजोर भएका विरामीहरुको निःशुल्क डायलाईसिस सेवा तथा क्यान्सरका विरामीहरुका लागि नेपाल सरकारले उपलब्ध गराएको एकलाख सहुलियत सहितको विशेष उपचार सेवा समेत प्रदान गरिरहेको छ ।

७० बर्षभन्दा माथिका जेष्ठ नागरिकहरुको सम्मानमा अस्पतालले उपचार शुल्कमा १० प्रतिशत छुटसमेत प्रदान गर्दै आइरहेको छ ।