साधारणीकरण सञ्चार-ढाँचाबारे अन्तर्राष्ट्रिय सङ्गोष्ठी सम्पन्न

साधारणीकरण सञ्चार-ढाँचाबारे अन्तर्राष्ट्रिय सङ्गोष्ठी सम्पन्न


काठमाडौं विश्वविद्यालय (केयू) को भाषा तथा आमसञ्चार विभागद्वारा आयोजित अन्तर्राष्ट्रिय सङ्गोष्ठी सम्पन्न भएको छ । भारतस्थित साउथ एशियन युनिभर्सिटी (दक्षिण एशियाली विश्वविद्यालय) का कुलपति प्राडा के.के. अग्रवालको प्रमुख आतिथ्यतामा ‘साधारणीकरण सञ्चार-ढाँचाको दुई दशक’ शीर्षकको अन्तर्राष्ट्रिय सङ्गोष्ठी हात्तीवन, ललितपुरस्थित स्कूल अफ आर्ट्स् परिसरमा आइतबार (१३ जेठ) सम्पन्न भएको हो ।

सङ्गोष्ठीमा अमेरिकाको हिलोस्थित हवाई युनिभर्सिटीका प्राध्यापक डा. योशिताका माइक मुख्य वक्ता (कीनोट स्पीकर) का रूपमा सहभागी हुनुभयो । भारतस्थित माखनलाल चतुर्वेदी विश्वविद्यालय (एमसीयू) का पूर्वउपकुलपति प्राध्यापक बी.के. कुठियाला र एमसीयूकै वर्तमान उपकुलपति प्रा.डा. के.जी. सुरेश वक्ताका रूपमा सहभागी हुनुभयो । चीनको युनिभर्सिटी अफ इलेक्ट्रोनिक साइन्स एण्ड टेक्नोलोजीअन्तर्गत स्कूल अफ पोलिटिक्स एण्ड पब्लिक एड्मिनिस्ट्रेसनका उपाध्यक्ष प्रा.डा. हान हङ र इण्डोनेसियाको बालीस्थित पोलिटेक्निक नेगेरी (विश्वविद्यालय) का प्रा. डा. इदा बागुस पुटु सुअम्बाले सञ्चार सिद्धान्तबारे धारणा राख्नुभयो । कार्यक्रममा भारतस्थित जवाहरलाल नेहरू विश्वविद्यालयको सेन्टर फर मिडिया स्टडिजकी विभागीय अध्यक्ष डा. शुची यादव लगायतले पनि कार्यक्रममा सम्बोधन गर्नुभयो ।

उद्घाटन सत्रपछि लगातार दुई प्लेनरी सत्र सम्पन्न भए, त्यसपछि तीन सभाकक्षमा समानान्तर तीनवटा कार्यक्रमबीच ३६ वटा कार्यपत्रहरू प्रस्तुत गरिए । अन्त्यमा समापन सत्र, प्रमाणपत्र वितरण र फोटोसेसनसहित सम्पन्न भएको सङ्गोष्ठी बिहान ९ बजे सुरु भई साँझ साढे ६ बजे सम्पन्न भयो । डि–वेस्टर्नाइजेसन, एसियासेन्ट्रिसिटी एण्ड रिओरियन्टेसन, नाट्यशास्त्र एण्ड वाक्यपदीय, बियोण्ड दि बाउन्डरिज, फ्रम एन्सियन्ट विज्डम टु डिजिटल डाइनामिक्स, पर्सुयट अफ सहृदयता र कम्युनिकेसन प्र्याक्सिस गरी ६ विधामा कार्यपत्र प्रस्तुत गरिए । यसअघि प्लेनरी सेसनमा टु डिकेड्स अफ दि साधारणीकरण मोडल अफ कम्युनिकेसन एण्ड फ्युचर प्रस्पेक्टस तथा साधारणीकरण मोडल अफ कम्युनिकेसन एण्ड मल्टिडिसिप्लिनरी डाइनामिक्स गरी दुई विषयमा वृहत् विमर्श गरियो ।

कार्यक्रमको उद्घाटन सत्रमा प्राध्यापक रामकृष्ण रेग्मीलाई अभिनन्दन समेत गरियो । केयूका उपकुलपति प्रा.डा. भोला थापाले अध्यक्षता गर्नुभएको उद्घाटन सत्रमा स्कूल अफ आर्टस्की डिन एकुमाया पुनले स्वागत मन्तव्य राख्नुभयो । समापन सत्रको अध्यक्षता गर्दै केयूका रेक्टर प्रा.डा. अच्युतप्रसाद वाग्लेले मन्तव्य राख्नुभयो । डा. चन्द्रभानु पट्टनायक, प्रा. त्रिशु शर्मा, डा. भानुभक्त आचार्य, डा. श्रद्धा पुरोहित, प्रा. प्रबलराज पोखरेल र डा. आदित्य शुक्लाले समानान्तर सत्रको अध्यक्षता गर्नुभयो । कार्यक्रममा डा. हेमराज काफ्ले, डा. काशिराज पाण्डेय, डा. दिनेश काफ्ले, आभाष राजोपाध्याय, चुनबहादुर गुरुङ, यमबहादुर दुरा, सुदर्शनप्रसाद दाहालले समानान्तर सत्रहरुको सहजीकरण गर्नुभयो ।

केयूका सहप्राध्यापक एवम् भाषा तथा आमसञ्चार विभागका प्रमुख डा. निर्मलमणि अधिकारीद्वारा सन् २००३ मा अभिनिर्मित ‘सञ्चारको साधारणीकरण ढाँचा’ ले दुई दशक पूरा गरेको अवसरमा अन्तर्राष्ट्रिय सङ्गोष्ठी आयोजना गरिएको हो । उक्त सञ्चार ढाँचा हाल विश्वका अनेकौँ विश्वविद्यालयहरूले पाठ्यक्रममा समावेश गरी पठनपाठन भराइरहेका छन् । यो सञ्चार ढाँचाबारे स्नातकोत्तर तथा पीएचडी तहका शोधार्थीहरूले समेत अनुसन्धान गरिरहेका छन् ।

गोष्ठीको आयोजना, सञ्चालन र व्यवस्थापनका लागि सहप्राध्यापक डा. सुधांशु दाहालको संयोजकत्वमा मूल समिति र त्यस मातहत १० वटा उपसमितिहरू गठन गरिएका थिए । कार्यक्रममा स्वदेश–विदेशका प्राध्यापक, शिक्षक, सञ्चार अनुसन्धाता, पीएचडी शोधार्थी लगायतका प्रस्तोताले साधारणीकरण–सञ्चार ढाँचाका विविध पक्ष र आयाम तथा सञ्चार सिद्धान्तका अनेकौं पक्षमा केन्द्रित कार्यपत्र प्रस्तुत गरेका हुन् । अन्तर्राष्ट्रिय सङ्गोष्ठी भौतिक उपस्थिति र भर्चुअल प्रविधि मिश्रित ‘हाइब्रिड मोड’मा सम्पन्न भएको हो ।