भारतको सहयोगमा निर्मित मङ्गलादेवी सिंह मेमोरियल छात्रावास भवनको उद्घाटन

भारतको सहयोगमा निर्मित मङ्गलादेवी सिंह मेमोरियल छात्रावास भवनको उद्घाटन


‘नेपाल-भारत विकास सहकार्य’अन्तर्गत भारत सरकारको आर्थिक सहयोगमा निर्माण गरिएको काठमाडौंको डिल्लीबजारस्थित पद्मकन्या माध्यमिक विद्यालयको मङ्गलादेवी सिंह मेमोरियल छात्रावास भवन उद्घाटन गरिएको छ ।

कूल रु. तीन करोड २३ लाख आर्थिक सहयोगमा निर्माण गरिएको भवनको सोमबार (१४ जेठ) जिल्ला समन्वय समिति, काठमाडौंका प्रमुख सन्तोष बुढाथोकी र भारतीय राजदूतावास, काठमाडौँका प्रथम सचिव अविनाशकुमार सिंहले संयुक्त रूपमा उद्घाटन गर्नुभएको हो ।

भारत सरकारको अनुदान सहयोगमा भान्सा कोठा, डाइनिङ हल, भण्डार, वार्डेन, गार्ड, अतिथि, कार्यालय कक्ष तथा पुस्तकालय, बहुउद्देश्यीय हल, प्रतीक्षालय, हरित कक्ष, कपडा धुने कक्ष, शौचालय, स्नानघर, सौर्य उर्जा प्रणालीलगायतको सुविधासहितको ३९ कोठा भएकोे चारतले छात्रावास भवनको निर्माण भएको थियो ।

भारत सरकार र नेपाल सरकारबीच भएको सम्झौताअन्तर्गत यस परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाका रूपमा अघि बढाइएको थियो । यस परियोजनाको कार्यान्वयन जिल्ला समन्वय समिति, काठमाडौंमार्फत गरिएको हो ।

उक्त कार्यक्रममा राजनीतिक प्रतिनिधि, सरकारी अधिकारी, समाजसेवी, विद्यालय व्यवस्थापनका प्रतिनिधि, शिक्षक/शिक्षिका, अभिभावक तथा विद्यार्थीहरूको उपस्थिति थियो ।

ज्ञातव्य छ, सन् २००३ देखि भारत सरकारले नेपालका विभिन्न क्षेत्रमा पाँच सय ५१ वटाभन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजना अघि बढाएको छ । चार सय ९० वटा परियोजना सम्पन्न गरिसकेको छ । यीमध्ये काठमाडौँ जिल्लाका ४१ परियोजनासहित वाग्मती प्रदेशमा एक सय ६ वटा परियोजना रहेका छन् ।