‘गर्जिएको बालेनसँग झर्किएको सरकार !’

‘गर्जिएको बालेनसँग झर्किएको सरकार !’


मेघ गर्जिएपछि पानी त पर्छ नै चाहे थोरै होस् या धेरै । यो समाजमा मानिस दुईथरिका हुने रहेछन् । कोही धेरै बोल्ने कामै नगर्ने, कोही बोल्दै नबोल्ने धेरै काम गर्ने । आजको समय हिजोको भन्दा धेरै अगाडि छ । हिजो एउटा गाउँसँग प्रतिष्पर्धा गरे पुग्थ्यो तर आज समय फराकिलो भएको छ । हिजोको सानो घेराभित्रको प्रतिष्पर्धाले आज पुग्ने अवस्था छैन । संसार साँघुरो घेरामा जोडिइसकेको छ, अब प्रतिष्पर्धाको रुप ठूलो भएको छ।

यो शताब्दीको प्रतिष्पर्धा आफैसँगमात्र होइन संसारसँग प्रतिष्पर्धा गर्ने समय आएको छ । आफूमात्रै शक्तिशाली र सम्पन्न भएर होइन हामीले सँगै हिँडेकाहरुलाई पनि शक्तिशालीरुपमा समाजमा उभ्याउन सक्नुपर्छ । आफ्नो सीमित घेराभित्रै मात्र नभइ संसारभरि नै दर्बिलो र गर्विलो रुपमा उभ्याउनुपर्नेछ । यो समय आफूमात्रै बनेर समाज बन्छ भन्ने छोटो सोंच बदलेर उदारिकरणतर्फ लाग्नुपर्ने समय हो ।

एउटा समाजमा तपाईंमात्र सम्पन्न र शक्तिशाली हुनुभयो भने तपाईंलाई हरदम खतरा हुन सक्छ, तपाईंविरुद्ध आवाज उठ्न सक्छ। तपाईंको न सम्पत्तिको पूर्ण सुरक्षा हुन्छ न त तपाईंको शक्तिको कदर नै हुन्छ । पृथ्वीमा बसेर चन्द्रमाको यान टाल्ने यो युगमा आइसक्दा पनि हामी भने पेटकै लागि संघर्ष गरिरहेका छौँ ।आमाबाबाको सपना पूरा गर्न र उनीहरुकै खुशीका लागि समय खर्चिरहेछौँ, परिवार र सन्तानको लागि सबै जीवन सकाइरहेछौँ । यो कस्तो विडम्बना… आमाबाबाले हाम्रा लागि जीवन सके, हामीहरुले छोराछोरीको लागि जीवन सक्नुपर्नेछ । अनि कहिलेसम्म हामी यसरी ढुंगेयुगमा नै बाँचिरहने होला ? कमजोरले गर्नै सक्दैन, सक्नेले अवसर पाउँदैन । एउटा क्षमतावान या गर्न सक्ने कोही समाजमा निस्कियो भने उसलाई अवरोध खडा गरी गर्नैनदिने प्रवृत्ति देशभित्र झाँगिरहेको छ, यो एउटा कुप्रथाले जेलिएको छ समाज । एउटा ब्यक्ति जो यो समाज र देशको लागि केही गरिरहेछ उसैको खुट्टा तानिरहेछन् ।

कानूनमा टेकेर समाज रुपान्तरण गर्दै गरेको एउटा विलक्षण यूवालाई अवरोध गरिरहन्छन् बारम्बार । यो देशमा धेरै नेतृत्वहरु परिवर्तन भए, स्थानीय निकायका प्रमुखहरु पनि अनगिन्ती फेरिए होलान्, तर यो देशको विकाशले खासै काँचुली फेरेन । स्थानीय निकायमा बिनियोजन हुने करोडौँ बजेटका खासै रहरलाग्दा कार्यहरु अघिल्ला कार्यकालमा खासै देख्न सकिएन या, नागरिकहरुलाई अघिल्ला कार्यहरुले मन छुन सकेन या यतिसम्म गर्न सक्ने रहेछ एउटा स्थानीय प्रमुखले भन्ने अत्तोपत्तो थियन जब नागरिकलाई बाचा गर्दै बहुमतले विजयी हुँदै बालेन शाह यो शहरमा उदाए सबैको निन्द्रा खल्बल्याइदिए।

बालेनले छोटो समयमा गरेका कामहरुले नागरिकहरुलाई अघिल्ला स्थानीय निकायका प्रतिनिधिहरुप्रति घृणाकै तहमा वितृष्णा जगाइदियो । बजेट उही थियो स्थान उही हो र राजनीतिक नेतृत्वहरु पनि तिनै अनुहार थिए, तर चाँदनी शाहको शब्द रचना र नारायण गोपालको आवाजमा रहेको ‘एउटा मान्छेको मायाले कति फरक पर्दछ जिन्दगीमा’ बोलको गीतले भनेझैँ यो देशलाई एउटा असल र सही नेतृत्वक्षमताले कति फरक पार्दोरहेछ, यो देशको विकाश संरचनाहरुमा बालेनले प्रमाणित गरिदिइरहेछन् । सबै मिलेर खेदिरहेछन्, अवरोध थापिरहेछन् तर उनी आफ्नो योजनाबमोजिम अघि बढिरहेछन् । कहिले मन्त्रीहरुसँग जुहारी चलाउँछन् कहिले को-कोसँग । पदमा रहेकाहरुले आफ्नो पदको सम्मानयोग्य कार्य गरुन् उनको मान्यता देखिन्छ । नेतृत्वहरुले नागरिकसामू गरेका बाचा पूरा गरुन् आफूहरु इमान्दारिताका साथ कार्य गरुन् र आफ्नो कार्यमा पनि अन्य कसैले अवरोध खडा नगरुन उनी चाहन्छन् ।

बिग्रिएको सिस्टममा बसेर सप्रिएको मानिसले काम गर्न त फलामको चिउरा चपाएबराबर भएको छ बालेनलाई हिजोआज । आफ्नो कर्तब्य पूरा गरिरहने कर्ममा कसैले अवरोध सृजना गर्न खोज्छ भने उनीहरुमाथि गर्जिरहन्छन् उनी, फेरि नेतृत्व भने झर्किरहन्छ तर्सिरहन्छ। उनी ब्यक्तिगत स्वार्थको लागि होइन बहुजन हिताय बहुजन सुखाएको लागि कर्म गरिरहन्छन् । पंक्तिकारले यसरी लेखिरहँदा कसैको भजन गाएको मानिएला यो समाजमा तर यो ब्यक्तिगत विज्ञापन नभएर सत्कर्मको पूजा हो । आजको युगमा कुनै ब्यक्तिविषेश, पार्टीविषेश, कसैको पक्षधरभन्दा पनि माथि उठेर सोच्न सकिएन भने यो देश, समाजप्रतिको नागरिकहरुको विडम्बना हुनेछ।

सत्कर्म गर्ने हात चुम्न यो समाजका अग्रजहरुले, सचेत र शिक्षित नागरिकहरुले कन्ज्यूस्याइँ गरे भने समाज भाँडिनेछ, बिथोलिनेछ । त्यसैले सबै मिलेर सत्कर्मको पूजा गरेर मात्र परिवर्तन संस्थागत हुनेछ । ब्यक्ति बालेनले लेख्ने हरेक स्टाटसहरु कुनै ब्यक्तिविशेषलाई गरिएका आक्षेप र गाली होइनन् सायद यो त सिस्टम या संस्थाको कमजोरीलाई दिइने खबरदारीका स्वरहरुहरु । सामान्य नागरिकका पीडाका स्वरहरु माथिल्लो निकायसम्म नसुनिएलान् तर नागरिकहरुका आवाजका प्रतिनिधिस्वरुप उनका स्टाटसहरुलाई बुझ्न सकिन्छ । यो त गल्ती गर्नेहरुलाई सानो स्वरले सम्झाउँदा पनि अत्तालिन्छ अरे ! सायद यही भएको हुन सक्छ हाम्रो समाजमा हिजोआज । सबैको जय होस !