राजा वीरेन्द्रको २३औँ स्मृतिसभा सम्पन्न

राजा वीरेन्द्रको २३औँ स्मृतिसभा सम्पन्न


स्वर्गीय राजा वीरेन्द्रको २३औं स्मृतिसभा सम्पन्न भएको छ । स्व. राजा वीरेन्द्र शान्ति प्रतिष्ठानले शनिबार (१९ जेठ) जावलाखेलस्थित राजा वीरेन्द्रको शालिकमा माल्र्यापणसहित विभिन्न कार्यक्रम गरी सभा सम्पन्न गरेको हो ।

राजा वीरेन्द्रको शान्ति अभियान र महत्वपूर्ण कार्यहरूलाई अगाडि बढाउने उद्देश्यका साथ स्थापित प्रतिष्ठानले २०७२ सालदेखि देशमा शान्ति र अमनचयनको लागि विभिन्न कार्यक्रम गर्दै आएको छ । प्रतिष्ठानले प्रत्येक स्मृति दिवस र जन्मजयन्तिमा विभिन्न कार्यक्रम गर्दै आएको छ ।

प्रतिष्ठानका अध्यक्ष शिवहरि खनालले राजा वीरेन्द्रको २३औं स्मृति दिवसका अवसरमा शालिकमा माल्र्यापण गर्दै वि.सं. २०५८ जेठ १९ गतेलाई नेपाली इतिहासको कालो दिनको रुपमा स्मरण गरे । उनले यसै दिन राति राजदरबार हत्याकाण्डमा राजा वीरेन्द्र, रानी ऐश्वर्यलगायत राजपरिवारका सदस्यहरुको एकै ठाउँमा हत्या भएको र त्यस घटना सम्झिँदा आज पनि सबैलाई पीडादायी हुने बताए । दरबार हत्याकाण्ड आज २३ वर्ष पूरा हुँदा पनि अझै गुपचुप र रहस्यमयी नै रहनु विडम्बना भएको बताए । उनले हत्यारा पत्तालगाई सत्य तथ्य यथार्थ नेपाली जनतासमक्ष ल्याउन पनि राज्यसँग माग गरे ।

यस्तै, प्रतिष्ठानका सचिव रञ्जित धमलाले शालिकमा माल्र्यापण गर्दै राष्ट्रप्रेमी राजा वीरेन्द्रको शान्ति अभियान र राष्ट्रप्रतिको योगदानलाई कहिल्यै भुल्न नहुने बताए । सम्मानित राजा वीरेन्द्र सबै नेपालीको हृदयमा रहेको उल्लेख गर्दै उनले यस्ता शान्तिप्रेमी राजा वीरेन्द्रको वंश नास गर्ने गरी गरिएको हत्याकाण्ड गम्भीर षडयन्त्रपूर्ण घटना भएको बताए । उनले राजा वीरेन्द्रको नाममा राज्यले राजमार्ग, अस्पताल बनाउनुपर्नेमा जोड दिए ।

प्रतिष्ठानको उपाध्यक्ष विनोदप्रसाद आचार्यले राजा वीरेन्द्रले नेपाली जनतालाई गरेको प्रेम, विश्वास, विश्वशान्तिको लागि गरेको योगदान, समृद्ध नेपाल निर्माणको लागि गरेको त्यागलाई राज्यले उच्च कदर गर्नुपर्ने तर्क राखे ।

कार्यक्रममा प्रतिष्ठानका कोषाध्यक्ष मधुकर शम्शेर जबरा, सल्लाहाकार भाइराजा पाण्डे, बलराम गौतम, पूर्वसांसद नानीमैया दाहाल, खेलाडी कृष्णभक्त न्यौपाने, समाजसेवी टपबहादुर थापा, लक्ष्मी अधिकारी लगायतको उपस्थिति रहेको थियो ।

स्मरणीय छ, वि.सं. २००२ साल पुस १४ गते जन्मिएका राजा वीरेन्द्रको २०५८ साल जेष्ठ १९ गते राजदरबार हत्याकाण्डमा राजा वीरेन्द्र, रानी ऐश्वर्यालगायत राजपरिवारका सदस्यहरुको हत्या भएको थियो ।