चुरे संरक्षण पदयात्रा टोलीद्वारा राजधानीमा र्‍याली

चुरे संरक्षण पदयात्रा टोलीद्वारा राजधानीमा र्‍याली


चुरे तथा वन जोगाउन अभियानमा जुटेको चुरे संरक्षण पदयात्रा समूहले शनिबार (१९ जेठ) राजधानीमा र्‍याली निकालेको छ ।

सप्तरीबाट २५ दिनको पैदलयात्रा पूरा राजधानी आइपुगेको पदयात्रा समूहले समग्र देश र मधेसलाई मरुभूमि हुनबाट जोगाउन चुरो दोहनलाई तत्काल रोक्न माग गर्दै आएको छ ।

तराई-मधेसको मुख्य पानीको स्रोतका रूपमा रहेको चुरेबाट रोडा, ढुङ्गा र गिट्टी निकाल्ने नाममा भइरहेको दोहनका कारण तराई मरुभूमिमा परिणत हुने सम्भावना बढेकाले त्यस क्षेत्रका किसान टोली राज्यलाई दबाब दिन पदयात्रा गर्दै केही दिनअघि काठमाडौं आइपुगको हो ।

उनीहरुले चुरे वनजंगल संरक्षण-संवर्द्धन, दलित भूमिहीन तथा सुकुम्बासीको भूमि अधिकारको माग तथा चुरेको अवैध उत्खनन, सिर्सियालगायका नदी प्रदूषण एवं अतिक्रमण रोक्न दबाब सिर्जना गर्ने हेतुले सप्तरीको भारदहबाट बाराको पतथलैया हुँदै काठमाडौंसम्मको पदयात्रा गरेका थिए ।

विगत केही वर्ष चुरे क्षेत्रबाट नदीजन्य पदार्थ गिट्टी, रोडा, ढुङ्गा उत्खनन र निकासीमा रोक लगाएकामा पछिल्लो समय त्यसमा फुकुवा गरेपछि आसपासका जनता अवैध उत्खननलाई रोक्न दबाबमूलक कार्यक्रम गर्दै आएका छन् । पछिल्लो समय तराईमा पानीको सतह घटेकाले कतिपय ठाउँमा खानेपानीकै समस्या विकराल रूपमा देखिएको छ ।

पदयात्राका टोलीका राष्ट्रिय संयोजक सुनिल यादव १० दिनदेखि माइतीघर मण्डलामा चुरे संरक्षणका मुद्दा लिएर धर्नामा बस्दासमेत सरकारले बेवास्ता गरेको गुनासो गरे ।

तस्बिर : रासस