बालेन खनिए केपी ओलीविरुद्ध

बालेन खनिए केपी ओलीविरुद्ध


काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध खनिएका छन् । राजधानीको न्युरोड क्षेत्रमा फुटपाथ बनाउन महानगरले भत्काएको सडक विभागले टाल्न थालेपछि बालेन ओलीविरुद्ध खनिएका हुन् ।

मेयर बालेनले फेसबुकमा लेखेका छन्- ‘१० हजार करोडको काण्ड लुकाउन अर्को काण्ड गरेर जनता नझुक्काउनु होला माननीय केपी ओलीज्यू ।’

शाहले झापाको गिरीबन्धु टी स्टेटको विषय उठाउँदै अगाडि लेख्छन्, ‘झापा गिरिबन्धुमा बैना लिनेहरूलाई ‘दुई वर्षभित्र गिरीबन्धुकै जग्गा दिलाउँछौं’ भनेर थम्थमाउनु भएछ । गिरीबन्धु चिया बगानको जग्गामा गर्न खोजेको नीतिगत घोटलामा तपाईंको सहभागिताको इतिहास हेर्दा त्यहाँ तपाईंलाई नभनी पात पनि हल्लन्छ भन्ने लाग्दैन ।’

बालेनले लेखेका छन्, ‘यही १० हजार करोडको काण्ड लुकाउन र जनतालाई भुलाउन राज्यको सम्पूर्ण शक्ति लगाएर न्युरोडमा हामीले बनाउन लागेको फूटपाथ फेरि सडक बनाउनु थाल्नुभएछ ।’

‘अब बल्ल देश बन्ने भएछ । आफ्ना कर्तुत लुकाउन र विषयान्तर गरे पनि काम हुनु राम्रो हो । तपाईंको शक्तिले अब रिङरोड बनाउनु, बुटवल चितवन बाटो बनाउनु, यस्ता धेरै आयोजनामा लगाउनुहोला । हामी साथमा छौँ ।’

‘अनि समयमै गिरिबन्धुमा पीडितको बैना फिर्ता गर्नु होला । नत्र कोही साँच्चैको नयाँ आउला र फाइल पल्टाउला । हुन त, पहिले पनि जेल बस्नु भएको हो, धन्यवाद ।’

बालेनको यो कडा टिप्पणीपछि एमाले अध्यक्ष केपी ओलीको भने प्रतिकृया आइसकेको छैन ।