भारतीय राजदूतावासले यसरी मनायो विश्व वातावरण दिवस

भारतीय राजदूतावासले यसरी मनायो विश्व वातावरण दिवस


विश्व वातावरण दिवसको अवसरमा नेपालस्थित भारतीय राजदूतावासले ललितपुर महानगरपालिकासँगको सहकार्यमा बुधबार (२३ जेठ) वृक्षारोपण गरेको छ ।

ललितपुरको वार्ड नं १ स्थित सङ्कटापुल, चारधाम मन्दिर परिसरनजिकै आयोजना गरिएको विशेष वृक्षारोपण कार्यक्रममा वन तथा वातावरण मन्त्री नवलकिशोर साह सुडी, ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव सहभागी भए । कार्यक्रममा राजनीतिक प्रतिनिधिहरू, सरकारी अधिकारी, समाजसेवी र वातावरणप्रेमीको सहभागिता रहेको थियो ।

वृक्षारोपण कार्यक्रममा वातावरणको संरक्षण र जर्गेना हेतु साझा प्रतिवद्धतामा विशेष जोड दिइएको थियो ।

सो अवसरमा सम्बोधन गर्दै नेपालका लागि भारतीय राजदूत श्रीवास्तवले वातावरण संरक्षणको महत्वबारे जनचेतना फैलाउन र आउँदो पुस्ताका लागि वातावरणको रक्षा गर्नेबारे व्यक्तिगत तथा सामूहिक प्रयासलाई प्रोत्साहित गर्न विश्व वातावरण दिवसको अवसरमा यो विशेष कार्यक्रमको आयोजना गरिएको प्रष्ट्याए ।

वन तथा वातावरण मन्त्री र ललितपुर महानगरपालिकाका मेयरले पनि भावी पुस्ताका लागि पृथ्वीको संरक्षणमा सहकार्य र साझेदारीको महत्वमाथि जोड दिए । उक्त कार्यक्रममा सहभागीहरुले १५० वटा वृक्ष रोपेका थिए ।