शुक्लाफाँटामा खरमजुरको गणना र अनुगमन

शुक्लाफाँटामा खरमजुरको गणना र अनुगमन


कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा खरमजुरको गणना तथा अनुगमन गरिएको छ । नेपाली पन्छी संरक्षण सङ्घको सहयोगमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले एक साता अघिदेखि खरमजुरको गणना र अनुगमन गरेको हो ।

खरमजुर गणना तथा अनुगमन हरेक वर्ष हुँदै आएको उल्लेख गर्दै शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत चन्द्रशेखर चौधरीले खरमजुर गणनाका लागि पन्छी संरक्षण सङ्घ र निकुञ्ज प्रशासनबाट २० जनाको सङ्ख्यामा प्राविधिकसहितको टोली खटिएको जानकारी दिए । विश्वमै अतिसङ्कटापन्न अवस्थामा रहेको खरमजुर अनुगमन स्थलगत रुपमा सकिएको उनको भनाइ छ ।

‘फिल्डमा अनुगमनको काम सकेर अहिले प्राविधिक टोलीले सम्भाव्यता अध्ययन गरिरहेको छ, यहाँ खरमजुर शुक्लाफाँटाको घाँसेमैदानलगायत विभिन्न क्षेत्रमा देख्न पाइन्छ’- चौधरीले जानकारी दिए ।

यहाँ खरमजुरको अनुगमन आवश्यकताअनुसार हात्तीलगायत विभिन्न विधिबाट अनुगमन हुने गरेको छ । यसअघि गरिएको अनुगमनमा शुक्लाफाँटामा सात वटा खरमजुर भेटिएका थिए । शुक्लाफाँटा चार सय ५० भन्दाबढी प्रजातिका चराचुरुङ्गीको बासस्थान पनि हो ।