नेपाल-अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा ११ देशका ३५ चलचित्र

नेपाल-अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा ११ देशका ३५ चलचित्र


अमेरिकाको मेरिल्याण्डमा हुन लागेको ‘नेपाल-अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ मा सहभागी चलचित्रको सूची सार्वजनिक गरिएको छ । आगामी असार ६ देखि ९ गतेसम्म आयोजना हुने महोत्सवमा नेपाल, अमेरिका, इरान, जर्मनी, पाकिस्तानलगायत ११ देशका कथानक, वृत्तचित्र, छोटा र सजीवता (एनिमेसन) विधाका गरी ३५ चलचित्र प्रदर्शन हुने महोत्सव निर्देशक पूर्णसिंह बराइलीले जानकारी दिएका छन् ।

महोत्सवको सुरुआतमा नवीन सुब्बाले निर्देशन गरेको ‘गाउँ आएको बाटो’ र समापनमा ‘द रेड सुटकेस’ प्रदर्शन गरिने निर्देशक बराइलीको भनाइ छ । ‘नेपाल र अमेरिकाको कला, संस्कृति, परम्परा, ज्ञानलाई चलचित्रमार्फत जोड्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागेका हौँ । नेपालको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा अब्बल सावित भइसकेका चलचित्रमार्फत महोत्सवको सुरुआत गर्दैछौँ । यसपटक नेपालको आम जनजीवन र प्रवास नियतिलाई यी दुई चलचित्रले प्रष्ट्याउने हाम्रो आशा छ’, उनले भनेका छन् ।

चार दिनसम्म चल्ने महोत्सवमा छनोट भएका चलचित्र एएफआइ सिल्भर थिएटर र ग्रीनबेल्ट थिएटरमा प्रदर्शन हुनेछन् । प्रदर्शन गरिएका मध्येबाट उत्कृष्ट चलचित्रलाई विभिन्न अवार्डबाट पुरस्कृत गरिने छ ।

महोत्सवमा ‘ग्लोबल पिस फिल्म फेस्टिभल’ विधाअन्तर्गत ‘इन सर्च अफ रिजोलुसन (डकुमेन्ट्री, नेपाल)’, ‘द स्ट्रेट गाइज (डकुमेन्ट्री, जर्मनी)’ प्रदर्शन गरिनेछ । यस्तै ‘स्पटलाइट’ विधातर्फ ‘वखरी (फिचर ड्रामा, पाकिस्तान–अमेरिका)’, ‘फिचर’ विधामा ‘अलि भर्सेस अलि (डकुमेन्ट्री, इरान)’, ‘डाइभर्सिटी प्लाजा (डकुमेन्ट्री नेपाल–अमेरिका)’, ‘मम (डकुमेन्ट्री, मेक्सिको)’, ‘नोर्चा ः द अर्थक्वेक (डकुमेन्ट्री, इटाली)’, ‘ढोरपाटन–नोट विन्टर होलिडेज (डकुमेन्ट्री, नेपाल)’ र ‘प्रवीण (कथानक, इरान)’ प्रदर्शन गरिने आयोजकले जनाएको छ ।

‘डिएमभी, क्लोजअप’ विधामा ‘लेट हर सिङ्ग (अमेरिका)’,‘मेरा दादु (कथानक, अमेरिका-भारत)’,‘टेन डेज इन सेप्टेम्बर १९५६ (डकुमेन्ट्री, अमेरिका)’ प्रदर्शन गरिनेछ । ‘सर्ट’ विधामा ‘असुरा : द डेमोन विदिन (हरर, सस्पेन्स-अमेरिका),‘वनकरिया (डकुमेन्ट्री, अमेरिका)’,‘बिअरर अफ ग्लास बिड्स (डकुमेन्ट्री, नेपाल)’, ‘ब्रेक (ड्रामा, नेपाल),‘छाउपडी (डकुमेन्ट्री, नेपाल)’,‘डान्सिङ इन फायर (डकुमेन्ट्री, नेपाल)’,‘धेय ड्रिम्स (डकुमेन्ट्री, नेपाल)’ र ‘म्याचुअर (ड्रामा, जर्मनी)’ प्रदर्शन गरिनेछन् ।

यस्तै ‘नो मोनास्ट्री नो भिलेज (डकुमेन्ट्री, जर्मनी)’, ‘न्याङ्गा (डकुमेन्ट्री, मेक्सिको)’,‘पाल एलन द वल्र्ड (ड्रामा, बेलारुस)’,‘रेमिङ्टन (डकुमेन्ट्री, मेक्सिको)’,‘रेमन्यान्ट्स (नेपाल, स्पेन)’,‘रोशी (नेपाल)’,‘सनई (नेपाल)’,‘स्कुल बेञ्चेज (इरान)’,‘स्ट्रिट फोटोग्राफर (भेनेजुएला)’,‘सुवास (द एक्रोपाइलट)’,‘अनकम्पिलटेड (नेपाल, अमेरिका)’,‘हु (द कल्प्रिट)’, र ‘वाइन्डहर्स (नेपाल)’ ‘सर्ट’ विधाअन्तर्गत नै प्रदर्शन तय गरिएको महोत्सव निर्देशक बराइलीले बताए ।

महोत्सव अवधिभर चलचित्र र संस्कृतिबारे छलफल गरिने जनाइएको छ । चलचित्र निर्माणबारे ‘मास्टरक्लास’ पनि सञ्चालन हुने आयोजकको भनाइ छ ।