गाँजा र क्रिप्टो करेन्सी अध्ययन प्रतिवेदश कानुन मन्त्रालयमा

गाँजा र क्रिप्टो करेन्सी अध्ययन प्रतिवेदश कानुन मन्त्रालयमा


  • सुरेन्द्र सुवेदी, काठमाडौं

देशमा गाँजा खुला गर्न र क्रिप्टो करेन्सी नियमनका लागि अध्ययन प्रतिवेदन तयार भएको छ । नेपाल कानुन आयोगले यी विषयमा अध्ययन गरेर प्रतिवेदश कानुन, न्याय तथा संसदीय मन्त्रालयमा पठाएको छ ।

आयोगका अध्यक्ष जागेश्वर सुवेदीका अनुसार गाँजा तथा गाँजाजन्य पदार्थ (नियमन) सम्बन्धी अध्ययन प्रतिवेदन र क्रिप्टो करेन्सी सम्बन्धी अध्ययन प्रतिवेदन तयार पारेर कानुन, न्याय तथा संसदीय मन्त्रालयमा पठाइएको हो । विज्ञ टोलीले अध्ययन प्रतिवेदन तयार पारेर पठाइसकेको छ अब मन्त्रालयले थप प्रकृया अघि बढाउने अध्यक्ष सुवेदीले जानकारी दिए ।

पछिल्लो समय गाँजालाई खुला गरेर निर्यातसम्म गर्न चौतर्फी माग भइरहेको छ । सरकारले आगामी वर्षको बजेटमा गाँजा खुला गर्न अद्ययन गरिने उल्लेख गरिसकेको छ । यस्तै क्रिप्टो करेन्सीको कारोबार भइरहेको र त्यसलाई नियमन गर्न आवश्यक देखिएको जानकारहरुले बताउँदै आएका छन् ।

आयोगले रासायनिक पदार्थको सुरक्षित प्रयोग (नियमन) तथा जोखिम व्यवस्थापन सम्बन्धमा विधेयक प्रतिवेदन, यौनजन्य हिंसा विरुद्धका केही ऐन संसोधन गर्न बनेको विधेयक, सूचनादाताको संरक्षण गर्नेसम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, स्वार्थको द्वन्द्व व्यवस्थापन सम्बन्धी विधेयकको मस्यौदा प्रतिवेदन तयार पारेर मन्त्रालयमा पठाएको जनाएको छ ।

यस्तै, भ्रष्टाचार निवारण पहिलो संशोधन ऐनको मस्यौदा, औषधिसम्बन्धी ऐनलाई संसोधन गर्ने विधेयक प्रतिवेदन तयार भइसकेका छन् भने जलवायु परिवर्तनसम्बन्धी ऐनको मस्यौदा प्रतिवेदन तयार भइरहेको अध्यक्ष सुवेदीले घटना र विचारलाई बताए ।

आयोगले कानुनी शब्दकोषको निर्माण गरिरहेको छ भने सार्वजनिक दुस्कृतिसम्बन्धी अध्ययन प्रतिवेदन र प्रचलित कानुनहरुमा रहेका दोहोरोपना सम्बन्धी अध्ययन प्रतिवेदन तयार भइसकेका छन् ।