किन खोसियो ती डीआईजीहरूका तक्मा ?

किन खोसियो ती डीआईजीहरूका तक्मा ?


-वसन्तराज कुँवर
सर्वप्रथम म ती सहिद परिवारप्रति सम्मान प्रकट गर्छु जसले आफ्ना परिवारका सदस्यहरू प्रजातन्त्र र गणतन्त्र ल्याउने कार्यमा बलिदान दिए । तिनै परिवारले दिएका बलिदानका कारण हिजोको शक्तिकेन्द्र राजदरबार र गिरिजा कोइरालाले टाउकोको मूल्य तोकेकादेखि घर र जेलमा बन्दी बनाएकाहरू आज कोही प्रधानमन्त्री, कोही मन्त्री, कोही सांसद र कोही नेता भएर भत्ता, गाडी, गार्ड लिएर राज्य चलाउने मौका पाएका छन् । ती सहिदहरूको जीवनको मूल्य यो देशले र यहाँका शासक तथा जनताले चुकाउन सक्दैनन् । सम्मान प्रटक नै सहिदहरूप्रतिको उच्च सम्मान हो । म पनि उहाँहरूप्रति उच्च सम्मान गर्छु । तर, केही दिनअघि सहिद परिवारले कुनै दुई प्रहरी अधिकृतहरूलाई तक्मा दिएको कुरालाई लिएर जुन प्रकारले विरोध जनाए मलाई त्यो घटनाले भने व्यक्तिगत रूपमा सहिदप्रति नै अपमान गरेझैं महसुस भयो ।
हजारौँ सङ्ख्याका प्रहरीहरूमध्ये कुनै दुई प्रहरीलाई जनआन्दोलनको दोषी मानेर तिनीहरूमाथि खनिनु भनेको या त खनिने व्यक्तिले नबुझेको मान्नुपर्छ वा शासकहरूले सस्तो लोकप्रियताका लागि कुर्सी र पद जोगाउन पीपलपाते निर्णय गर्दै गोहीको आँसु देखाएर तक्मा फिर्ता गरेको नै मान्नुपर्छ । ती प्रहरी अधिकृतले यो तक्मा हिजो जनआन्दोलनताका ड्युटी गरेको कारणले नभई आज जनआन्दोलनपछि बनेको सरकारको नीतिअनुसार काम गरेबापत पाएका हुन् ।
कुवेर राना भन्नेले कतै दमन गरे भनिएको होला वा दर्ुजकुमार राई भन्नेले कतै पेस्तोल देखाएका थिए होलान् तर त्यसको मतलब के यी दुई अधिकृतले पेस्तोल र दमनको भरमा आफूहरूले राज्यसत्ता कब्जा गर्न लागेका थिए र – के तिनले प्रजातन्त्र मासेर आफू प्रधानमन्त्री हुन यसो गरेका थिए र – तिनले त केवल त्यसबेलाको सरकारको आदेश मात्र मानेका थिए । त्यसबेलाको सरकारले पेस्तोल देखाउनु भनेको ठाउँमा नदेखाएको भए पो त तिनीहरूमाथि कारबाही हुनुपथ्र्यो त – दमन गर भन्ने सरकार, पेस्तोल देखा भन्ने सरकार, पेस्तोल किन्ने सरकार, पेस्तोल चलाऊ भनी कानुन बनाएर दिने सरकार, अनि दोषी कसरी कुवेर राना र दर्ुजकुमार राई भए त – जसले यो सब गरायो ती व्यक्तिहरूमाथि पो कारबाही हुनुपर्ने होइन र –
मलाई के लाग्छ भने यो मुलुकमा सबैभन्दा बढी अन्याय कर्मचारीहरूमाथि नै भएको छ र त्यसमाथि पनि प्रहरीहरूमाथि भएको छ । हरेकले आफ्नो स्वार्थका लागि प्रहरीलाई या त दुरुपयोग गरेका छन् या त शोषण गरेका छन् । जतिबेला २०४६ को आन्दोलन भयो दरबारले आफूले गरेको गल्तीबाट उब्जेको जनआन्दोलन दबाउन यही प्रहरीको दुरुपयोग गर्‍यो । २०४६ सालको परिवर्तनपछि प्रजातान्त्रिक भनिने सरकारले यो प्रहरीलाई चुनाव जिताउनदेखि संसद् लुकाउनसम्म र रक्तचन्दन तस्करीदेखि सुन तस्करीसम्ममा संलग्न गरायो । राजनीतिज्ञहरूको बेकुफाइले गर्दा यो देशमा माओवादीको जन्म भयो । तिनकै हावादारी कामले गर्दा यो आन्दोलन बढ्दै गयो र हजारौँ मानिसको ज्यान मात्र गएन वल्की पूरै देशको विकास निर्माण ठप्प हुने स्थिति आयो । उनीहरूकै कारणले हजारौं प्रहरीहरू आफ्नै मुलुकभित्र ज्यान गुमाउन र अङ्गभङ्ग हुन विवश भए । कहिले काङ्ग्रेसविरुद्ध एमालेको आन्दोलन दबाउन सडकमा यी प्रहरीहरूलाई बिनाकारण टियरग्यास हान्दै निस्कनुपर्ने र दमन गरेको आरोप खेप्नुपर्ने । कहिले काङ्ग्रेस र एमाले भएर माओवादीविरुद्ध चलाएको अभियानलाई जागिर जाला भन्ने डरमा दबाउनुपर्ने र त्यसको दमनको अपजस पनि प्रहरीले नै बोक्नुपर्ने । कहिले माओवादीले गरेको अपहरण वा ध्वसांत्मक कार्यको प्रतिकार गर्दा प्रहरीका प्रमुखहरू नै जागिरबाट निकालिनुपर्ने अवस्था आउने । हरेक दमनको स्रोत राजनीतिक स्वार्थ हुने, कुर्सीको स्वार्थ हुने र त्यसको अपजस भने बिचरा दर्ुजकुमार राई वा कुनै कुवेर राना भन्ने साधारण सिपाहीहरूले लिनुपर्ने, कति दुःखलाग्दो कुरा छ यो । वास्तवमै नबुझ्नेहरूका लागि यो कुरा के-के न लाग्ला वा कुवेर राना र दर्ुजकुमार राई नै देशमा गणतन्त्र ल्याउन नदिने साँच्चिकै महान् खलपात्रा हुन् कि – भनेझैं पनि लाग्ला तर बुझ्नेहरूलाई थाहा छ कि ती त केवल आदेशको पालना गर्ने एक साधारण कर्मचारी मात्र हुन् । माओवादी सरकारमा हुँदा तिनका कार्यकर्ता तराईमा मारिँदा तिनले पनि यिनै प्रहरीहरूलाई दोषी खोजी कारबाही गर्न आदेश दिएकै हुन् । हालै माओवादीले चलाएको आन्दोलन दमन गर्न अहिलेको सरकारले प्रहरीलाई आदेश दिएकै हो । यो आन्दोलनमा पनि मानिसहरू सहिद भए । यसको मतलब के त – भोलि जसको हातबाट गोली चल्यो तिनलाई गणतन्त्रविरोधी मान्दै तक्मा रोक्ने – यदि आजको दमनका लागि भोलि कसैको तक्मा रोकिनुपर्छ भने माधवकुमार नेपाल, भीम रावल र प्रहरी महानिरीक्षकहरूको तक्मा रोकिनुपर्छ । ती सडकमा खटिने कर्मचारीको होइन । हिजो जनआन्दोलन दबायो भन्ने जुन सडकमा खटिने प्रहरीहरूमाथि आरोप लगाइएको छ यदि त्यसको सजाय कसैले पाउनुपर्छ भने तत्कालीन राजा ज्ञानेन्द्र, गृहमन्त्री कमल थापा र तुलसी गिरी र आईजीपी श्यामभक्त थापाले पाउनुपर्छ । बिचरा कुवेर राना र दर्ुजकुमार राई त केवल राज्यका हतियार मात्र हुन् । राज्यले तिनलाई जसरी चलायो तिनीहरू त्यसरी नै चल्छन् र त्यो नै अनुशासित प्रहरीको कर्तव्य पनि हो ।
राजा ज्ञानेन्द्रले शासन लिए तर त्यो शासन लिन मन्त्रिपरिषद्बाट संसद् भङ्ग गर्ने अवस्था सिर्जना गर्ने दर्ुजकुमार राई र कुवेर राना त थिएनन् नि । राजालाई शासन दिने त ‘फेरि प्रधानमन्त्री हुन्छु’ भन्ने शेरबहादुर देउवा नै त थिए नि । राजाले शासन लिएपछि हनुमानढोकामा दाम राख्न जाने त गिरिजा कोइराला र माधव नेपाल नै थिए नि । तत्कालीन अवस्थामा राजाको शासन संवैधानिक भएकोले नै त आजका नेताहरूले त्यो व्यवहार गरेका थिए होलान् नि । जसको शासन थियो त्यसको आदेश मान्नु दर्ुज र कुवेरजस्ता कर्मचारीको धर्म नै थियो । आदेश नमानेका भए पो कारवाहीका भागिदार हुन्थे त !
त्यसैले म भन्छु हरेक युगमा, हरेक समयमा, हरेक प्रधानमन्त्रीकालमा, हरेक गृहमन्त्रीका कार्यकालमा प्रहरीमाथि शोषण भएको छ । तिनलाई पीडित बनाउने काम पनि भएको छ । यदि दर्ुज र कुवेर साँच्चिकै गणतन्त्रविरोधी व्यक्ति थिए भने त्यसपछि पनि उनीहरूले आफू बसेको ठाउँमा अरूलाई दुःख दिने र सहिद बनाउने काम गर्नुपथ्र्यो नि त । खोइ त तिनले आज त्यस्तो गरेका छैनन् – उनीहरूले संविधान मानेकै छन् । जुन सरकार आए पनि त्यसको आदेश पालना गरेकै छन् । सडकमा आन्दोलन सिर्जना गर्ने कारकतत्व ती होइनन् । माओवादी जन्माउनेदेखि लिएर राजालाई सक्रिय पार्नेसम्मका काम दर्ुज वा कुवेरले नगरी यिनै काङ्ग्रेस-कम्युनिस्ट भन्ने पार्टीहरूले नै गरेका हुन् । जबजब आन्दोलन हुन्छ तबतब मान्छेको मृत्यु पनि हुन सक्छ । बन्दुक चलाउनुपर्छ भनेर नै सरकारले प्रहरीलाई बन्दुक दिन्छ, त्यसका लागि आवश्यक गोली किनिदिन्छ । यदि सरकार साँच्चिकै प्रजातान्त्रिक हो भने उसको विरुद्ध सडक आन्दोलन हुने स्थिति किन खडा गर्छ त – यदि आन्दोलन सिर्जना गर्छ भने त्यसलाई दमन गर्ने आदेश किन दिन्छ त – हो यदि दुई स्वार्थको बीचमा निरपराध प्रहरीहरू पर्छन् र ढुङ्गा खान्छन्, गाली खान्छन्, अपमान सहन बाध्य हुन्छन् । दुःख साथ भन्नुपर्छ त्यस्ता घटना घटेको धेरै पछि पनि त्यही घटनालाई लिएर ती प्रहरीहरू सजाय भोग्न विवश हुन्छन् । जो-जो राजनीतिक रूपले लडेका कारण त्यो मुठभेडको स्थिति आएको थियो उनीहरू भने एकआपसमा मिलेर पाँचतारे होटेलमा चिकेन खाँदै संयुक्त सरकार बनाउँदै राज्यको रस पिइरहेका हुन्छन् । कति दयालाग्दो कुरा देखिन्छ यो पुलिसहरूलाई सम्झँदा ।
मेरो व्यक्तिगत मान्यता के छ भने प्रहरी सरकारको हतियार मात्र हो । सरकारले चलाउन खोज्दा यो चल्नुपर्छ । नचलाउन खोज्दा यो चल्नुहुँदैन । जसरी दर्ुज र कुवेरलाई दोष नलगाई पेस्तोल र गोलीलाई दोष लगाउन मिल्दैन त्यसैगरी तत्कालीन राजा ज्ञानेन्द्र र कमल थापालाई दोष नलगाई हतियारका रूपमा रहेका कुवेर र दर्ुजलाई पनि दोष लगाउन मिल्दैन । म भन्छु कुनै पनि कर्मचारी राज्यका मेसिनरी मात्र हुन् । ती कुनै पनि आन्दोलन वा जनव्रि्रोहका कारकतत्व हुन सक्दैनन् । तिनीहरू दमनकर्ता पनि हुँदैनन् । जुन दिन सडकमा गएर लाठी हान् भनी सरकारले आदेश दिन्छ त्यो दिन ती सडकमा जान्छन् र जुन दिन र्फक भन्छ त्यो दिन र्फकन्छन् । यो काममा तिनको व्यक्तिगत स्वार्थ केही पनि हुँदैनन् । मलाई थाहा छ विगतको जनआन्दोलनमा ती कुवेर भन्ने र दर्ुज भन्नेको पनि व्यक्तिगत स्वार्थ केही थिएन ।
कुनै पनि सहिद मरेकै कारणले त सहिद हुन्छन् । सबै मर्नेहरू सहिद हुँदैनन् । अरूका लागि मर्ने सहिद हुन्छन् । त्यसैले सम्मानित हुन्छन् । त्यही दुर्ज र कुवेरले पनि ती सहिदको समाधिमा सलाम गर्छन् । किनकि उनीहरूलाई पनि कसैलाई मार्ने या दुःख दिने मन हुँदैन । उनीहरूलाई पनि ती सहिदहरूमाथि आत्मासम्मान हुन्छ । यो कुरा सही हो कि देशमा मुठभेठको स्थिति सिर्जना गर्ने राजनीतिक दलहरू नै हुन् । तिनीहरूले नै कुवेर वा दुर्जजस्तालाई सडकमा बन्दुक चलाउन बाध्य पार्छन् । नचलाए कारबाहीको धम्की दिन्छन् । जो सहिद भएका छन् तिनको मूल्य कुनै दुईवटा बाटामा देखिने प्रहरीहरूको तक्मा खोसेर चुकाउन सकिने कुरा होइन बरु यसो गर्दा सहिदहरूप्रति अपमान गरेझैं सावित हुन्छ । जतिबेला भगवान् जेसस क्राइष्टलाई किला ठोकेर मारिँदै थियो त्यतिबेला भगवान् क्राइष्टले भन्नुभएको थियो रे, ‘हे प्रभु, यी किला ठोक्नेहरूलाई माफी दिनुहोस् ।’ त्यसैले त तिनी भगवान् भए । सहिदहरू पनि भगवान्कै प्रतीक हुन् । इतिहासको कुनै मोडमा सरकारले खटाएका सिपाहीहरूमाथि दागा धरेर बस्नु न सहिद परिवारलाई सुहाउने कुरा हो न अन्य कसैलाई । सिपाहीले केवल आदेशको पालना गर्छ । जसरी न्यायाधीशको आदेशमा जल्लादले कसैलाई झुन्ड्याउँछ । यदि तिनीहरूबाट गल्ती हुन्छ भने त्यो गल्ती सरकारले लिनुपर्छ । मलाई लाग्छ त्यतिबेला दुर्ज र कुवेर मात्रले होइन पचास हजार प्रहरी र लाखौँ सेना, सशस्त्र र राष्ट्रिय अनुसन्धानका कर्मचारीहरूले पनि आदेशको पालना गरेका मात्र थिए । सहिद बनाउने तिनीहरू थिएनन् । सहिद बनाउने त अर्कै छन् । ती अर्कैका अपराधका सजाय यी दुई प्रहरीलाई दिनु अन्याय हुन पनि सक्छ । हो, सहिदहरू नमरेका भए राम्रो हुन्थ्यो तर मलाई लाग्छ अहिले दुर्ज र कुवेरमाथि पनि अन्याय भएको छ । म त यही भन्छु- नखोसिएको भए हुन्थ्यो ती डीआईजीहरूको तक्मा ।