विदेशबाट फर्किएर २५ बिगाहामा कृषि खेती : वर्षेनि खुद नाफा १५ लाख रुपैयाँ

विदेशबाट फर्किएर २५ बिगाहामा कृषि खेती : वर्षेनि खुद नाफा १५ लाख रुपैयाँ


– सुरेन्द्र सुवेदी, काठमाडौं

विदेश (मलेसिया) मा ९ वर्ष लेवर र सुरक्षा गार्डको रुपमा पसिना बगाएका एक युवाले देश फर्किएर व्यवसायिक कृषि पेशा अगालेपछि त्यसको चौतर्फी चर्चा भइरहेको छ । अर्थात ती युवाले नेपाल सरकारले दिने ‘उद्यमी राष्ट्रिय पुरस्कार २०८०/०८१’ प्राप्त गरेका छन् ।

उनी हुन्, बाराको निजगढ-९ का ४५ वर्षीय हिराबहादुर थापा मगर । उनले ९ वर्षअघि नेपाल फर्किएर २४ बिगाहा जग्गा भाडामा लिएर उखु, केरा, कागती, बयर, धान, मकै रोपेका हुन् । ६ बिगाहामा उखु, १६ बिगाहामा केरा मालभोग र जि९ रोपेका छन् भने १ बिगाहामा कागति र बयर तथा २ बिगाहामा धान र मकै रोप्दै आएका छन् ।

उनले अस्थायी रुपमा २० जना कामदार राखेका छन् भने स्थायी रुपमा ७ जनाले काम गरिरहेका छन् । एक बिगाहा जग्गाको प्रति वर्ष ६० हजार रुपैयाँ दरमा भाडामा लिएर व्यवसायिक खेती थालेका थापा मगरले वर्षमा खुद नाफा १५ लाख रुपैयाँ कमाउने गरेको घटना र विचारलाई बताए ।

‘मुलुक भित्र उत्पादन तथा रोजगारमूलक उद्यम व्यवस्थापनमा बिदेशमा सिकेको सीप र ज्ञान प्रयोग गरी अनुकरणीय कार्य गर्नु भएको हुँदा तपाईँलाई नगद ७५ हजार रुपैयाँसहित २०८०-०८१ को उद्यमी राष्ट्रिय पुरस्कार प्रदान गरिएको छ ।’ श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्याल र सचिव घनश्याम उपाद्यायले हस्ताक्षर गरेर थापालाई पुरस्कृत गरेको कदर-पत्रमा लेखिएको छ ।

मगरले निजगढमा रहेको व्यवसायिक तालिमका लागि चर्चित सरोज कोइरालाले सञ्चालन गर्दै आएको कुशल तालिम केन्द्र र मधेश प्रदेशको इलम हेल्पटास, नेपालबाट आवश्यक सीपका लागि थप तालिम लिएको बताए । उनले भने, ‘निजगढ केरा एग्रीकल्चर फार्म खोलेर मैले जस्तै आत्मनिर्भर बन्दै रोजगारी पनि दिएर मनग्गे आयआर्जन गर्न सकिन्छ, त्यसका लागि सरकारले बिदेशमा रहेका युवालाई स्वदेशमै कृषि पेशा गर्न उत्प्रेरित गर्नुपर्छ ।’

उनी नेपाली माटोलाई माया गर्ने मानिस कम हुँदै सब बिदेश पलायन भइरहेकोले युवा पलायन रोक्न सरकारले जग्गा भाडामा उपलब्ध गराइ दिने र उद्यमी बन्न प्रोत्साहन गर्ने हो भने १० वर्षमा देशले आर्थिक क्षेत्रमा कायापलट गर्ने दावी गर्छन् ।

हाल कृषि ऋण तिर्ने समयसीमा ५ वर्षको छ । त्यसलाई १० देखि १५ वर्ष बनाउन सकेको खण्डमा कृषि पेशामा युवाको थप आकर्षण बढ्ने उनको भनाइ छ । उनी कृषिमा सहुलियत ऋण दिन सक्ने हो भने कृषिका छोटो समयमा फड्को मार्न समस्या नहुने धारणा सुनाउँछन् ।

मगरले केराको रेसाबाट धागो र कपडा, कागज, कम्पोष्ट मल, पानी उत्पादन र रंङ उत्पादन गर्न २० लाख रुपैयाँ खर्च गरेर मेसिन खरिद गरिसकेका छन् । उनको आफ्नो स्वामित्वमा रहेको १२ कठ्ठा जग्गामा जडान गरिएको यो मेसिनबाट एक महिनाभित्र उत्पादन सुरु हुने जानकारी दिन्छन् ।