देवी प्रतिभा : धर्मनिरपेक्षता र उपेक्षा

देवी प्रतिभा : धर्मनिरपेक्षता र उपेक्षा


कहाँ होला बैकुण्ठ भन्ने ठाउँ
बैकुण्ठ भन्ने ठाउँ
हरि हरि भनेर मर्न पाउँ
इन्द्रकमल फूल
यो पापी संसारमा परेँ रनभूल !

मित्रराष्ट्र भारतमा प्रसिद्धि कमाएकी देवी प्रतिभा नेपालमा एकाएक विवादित बनिन् । देवी प्रतिभा कथावाचिका हुन् या धर्मप्रचारक ? यसको स्पष्ट नबुझ्नु या बुझपचाइनु नै विवादको चुरो हो ।

मानिसहरूलाई धर्ममा आकर्षित गरेर धार्मिक शिक्षामा दीक्षित गराइ धार्मिक मूल्य, नैतिकता र आचरणमा सुधार ल्याउने प्रयासस्वरुप कुनै विशेष धर्मको प्रचार गर्ने व्यक्ति धर्मप्रचारक हुन् भने विभिन्न शैली, धुन र अभिव्यक्तिको माध्यमबाट श्रोताहरूलाई धार्मिक कथामार्फत मनोरञ्जन र शिक्षा प्रदान गर्न, कथाहरूको माध्यमबाट नैतिक शिक्षा दिन र श्रोताहरूलाई धार्मिक इतिहास र परम्परासँग परिचित गराउन धार्मिक कथा, पुराण, महाकाव्य र अन्य धार्मिक साहित्यहरू सुनाउने व्यक्ति कथावाचक हुन् । देवी प्रतिभा विवादित बन्नुको कारण बुझ्न नेपालको राजनीतिक पृष्ठभूमि बुझ्नुपर्ने हुन्छ ।

पृष्ठभूमि :

२००७ सालसहित नेपालमा चार महत्वपूर्ण राजनीतिक परिवर्तनहरू भए । १०४ वर्ष लामो जहानिया शासनको अन्त्यका निम्ति २००७ सालको परिवर्तन अपरिहार्य थियो । २०१७ सालमा भएको परिवर्तन राजाको नेतृत्वमा सम्पन्न भयो, तर प्रजातान्त्रिक दृष्टिकोणले उक्त परिवर्तनलाई समर्थन गर्ने आधार भेटिँदैन । यद्यपि राष्ट्रियताको दृष्टिले २०१७ सालपछिको परिवर्तनलाई इतिहासले बिर्सन सक्दैन ।

२०४६ सालको परिवर्तन शान्तिपूर्ण आन्दोलनको पृष्ठभूमिमा भएकोले नकारात्मक परिणामको आशा थिएन, तर प्रजातान्त्रिक संविधान लागू भएको पाँच वर्ष नपुग्दै २०५२ सालमा शुरु भएको हिंसात्मक सङ्घर्षले २०४६ सालको परिवर्तनलाई पूर्ण रूपमा ध्वस्त पारिदियो र यसलाई परिणामहीन बनाइदियो । प्रजातान्त्रिक पद्धतिले उपलब्ध गराउने सन्तुष्टि प्राप्त नहुँदै देश द्वन्द्वको भुमरीमा फस्यो । अन्ततः प्रचलित संसदीय प्रजातान्त्रिक प्रणाली असफल साबित भयो र २०६३ सालमा हिंसात्मक सङ्घर्ष र जनआन्दोलनको आधारमा अर्को राजनीतिक परिवर्तनको रूपरेखा कोरियो ।

२०६२ साल मङ्सिरको बाह्रबुँदे सम्झौतादेखि कैयौँ सम्झौता भए, तर ती कुनै पनि बुँदामा धर्मनिरपेक्षता शब्द उल्लेख गरिएको थिएन । १९ दिने शान्तिपूर्ण आन्दोलनमा कतै पनि धर्मनिरपेक्षताको माग सडकमा सुनिएन । यसरी न यो नेपाली जनताको न त दलहरूको एजेन्डा थियो । तर, अचानक ०६३ जेष्ठ ४ को प्रतिनिधिसभा घोषणाको प्रस्ताव मन्त्रिपरिषद्ले पास गर्दासमेत उल्लेख नभएको धर्मनिरपेक्षताको शब्दावली घोषणा जारी हुन केही अघिमात्र प्रतिनिधिसभा भवनमा बेइमानीपूर्वक थप गरियो । जब नेपाल हिन्दु राष्ट्र थियो, त्यहाँ हिन्दु, बौद्ध, इसाई र मुस्लिम सबै स्वतन्त्रतापूर्वक आफ्ना धार्मिक गतिविधिहरू सञ्चालन गरिरहेका थिए । बुद्धको जन्मस्थल र हिन्दुहरूको सयौँ ऋषिमहर्षिहरूको जन्मभूमि, साधनाभूमि, तपोभूमि र ज्ञानभूमिका धार्मिक पक्षहरूलाई ध्यानमा राख्दै मक्का मदिना र चर्चहरूको विकास भइरहेको थियो । नेपाल स्वतन्त्र धार्मिक पर्यटन केन्द्रको रूपमा विश्वभर प्रसिद्ध हुँदै गइरहेको थियो । हिन्दु धर्मले कहिल्यै पनि आफ्नो प्रचार प्रसार र धर्म प्रवेशमा पहल गरेन । बरु उल्टै, बौद्ध, किराँत, सिख, बोन, जैन, इस्लाम लगायत इसाई धर्मको समेत संरक्षण वैदिक सनातन हिन्दुले गर्दै आइरहेको थियो । हिन्दु सनातनीहरूले सधैं अन्य धर्मका मानिसलाई आश्रय दिएर, अपनाएर, समाहित गरेर सहिष्णुताको मात्र होइन, मानवताको उच्च उदाहरण बनाइरहेका थिए ।

संसारका १९५ मुलुकमध्ये १४५ देश धर्मसापेक्ष छन् । पचास प्रतिशतभन्दा केही बढी इस्लाम धर्म मान्ने जनसङ्ख्या भएको देश मलेसियाले आफूलाई इस्लामिक देश घोषणा गरेको छ भने विश्वमा आज पनि ७१ देश क्रिश्चियन, ५४ देश इस्लाम, ९ देश बौद्धिष्ट र एक यहूदी धर्मलाई राष्ट्रिय परिचयको रूपमा वा राष्ट्रिय धर्मको रूपमा स्वीकार गरेका देशहरू छन् । आफ्नो जनसङ्ख्याको ७५ प्रतिशत जनता यहूदी भएको इजरायलले आफूलाई यहूदीराष्ट्र घोषणा गरेको छ । विश्वमा प्रजातन्त्रको जननी मानिएको देश बेलायतको २०११ को जनगणनाअनुसार त्यहाँ क्रिस्चियनहरूको जनसङ्ख्या ५९ प्रतिशत मात्र भए पनि हरेक हिसाबले त्यो देशलाई क्रिस्चियन राष्ट्र मानिन्छ र, त्यहाँका प्रमुख दलका नेता र प्रधानमन्त्रीले बेलायत इसाई राष्ट्र हो भन्ने कुरालाई सगौरव प्रस्तुत गर्दछन् ।

नेपालको पछिल्लो २०७८ को जनगणना अनुसार हिन्दु ८१. १९ प्रतिशत, बौद्धिष्ट ८.२१ प्रतिशत, इस्लाम ५.०९ प्रतिशत, किरात ३ .१७ प्रतिशत, क्रिस्चियन १.७६ प्रतिशत, प्रकृति ०.३५ प्रतिशत, बोन ०.२३ प्रतिशत, जैन ०.०१ प्रतिशत र शिख ०.०१ प्रतिशत बसोबास गर्छन् । यसरी हेर्दा ९० प्रतिशत भन्दा बढी ॐकार परिवारभित्रको जनसङ्ख्या रहँदारहँदै पनि नेपाललाई हिन्दुराष्ट्रको पहिचानबाट बञ्चित गराइ धर्मनिरपेक्ष घोषणा गरिएको छ ।

विश्वको सबैभन्दा शक्तिशाली, प्रजातान्त्रिक र विकसित देश अमेरिकाको डलरमा ‘हामी भगवानमा विश्वास गर्छौं’ लेखिएको छ । त्यहाँका सबै राष्ट्रपति र उपराष्ट्रपतिले बाइबलमा हात राखेर ईश्वरको नाममा सपथ लिन्छन् । विश्वका पाँच उत्कृष्ट देशमध्ये पर्ने क्यानडाको १९८२ मा लागू भएको पछिल्लो संविधानको प्रस्तावनामा भनिएको छ, ‘क्यानडा भगवान र कानुनको शासनको सर्वोच्चता स्वीकार गर्ने सिद्धान्तमा स्थापना भएको छ ।’ अमेरिकामा इसाई धर्म नमान्ने र बाइबलमा हात राखेर शपथ नखाने व्यक्तिले राजनीतिको उच्च तहमा पुग्ने कल्पना गर्न सक्दैन भने बेलायतको परम्पराअनुसार राजगद्दीमा बस्ने व्यक्ति चर्च अफ इङ्ग्ल्याण्डको सदस्य हुनैपर्छ, यो अस्वीकार गर्नेले गद्दीमा बस्न पाउँदैन । तर नेपालमा के भइरहेको छ ? यहाँका राजनीतिज्ञहरू किन ईश्वरको नाममा सपथ खान डराउँछन् ? यसको उत्तर स्पष्ट छ- धर्मनिरपेक्षताको चर्को नारा लगाएर पाश्चात्य धर्मको व्यापार गर्न आएकाहरूले हाम्रा पुर्खा र सन्ततिप्रति ठूलो अन्याय गरेका छन् । नेपाल र नेपालीका अधिकांश पहिचान मानिने सामाजिक र सांस्कृतिक रीतिरिवाज र कला-संस्कृतिको सीधा सम्बन्ध हिन्दु धर्मसँग जोडिएको छ ।

देवी प्रतिभामाथि लगाइएका आक्षेपहरू :

देवी प्रतिभा एक कथावाचिका हुन्, जेन्डर अध्ययनकी प्राध्यापक वा महिला अधिकारवादी अभियन्ता होइनन् । हिन्दु धर्मशास्त्रमा ‘सम्बन्ध विच्छेद’को उल्लेख नभएको सत्यलाई स्वीकार्दै, उनले परम्परागत कथाहरूमा महिलाहरूले पतिलाई परमेश्वर मान्दै अघि बढेको उल्लेख गरेकी छिन् । यसै क्रममा उनले सम्बन्ध विच्छेदको इतिहास र नेपालको वर्तमान अवस्थाको चर्चा गर्दै, समाजमा यसले पार्ने प्रभावको विश्लेषण गरेकी छन् ।

देवी प्रतिभालाई आलोचना गरिएका प्रमुख कारणहरू यसप्रकार छन्-

१. धर्मशास्त्रमा ‘सम्बन्ध बिच्छेद’ को उल्लेख :

देवी प्रतिभालाई आलोचना गरिएको एक प्रमुख कारण उनको हिन्दु धर्मशास्त्रमा ‘सम्बन्ध बिच्छेद’को उल्लेख नभएको टिप्पणी हो । हिन्दु धर्मशास्त्रमा विभिन्न व्याख्याहरू र शास्त्रहरूको विविधता रहेको हुँदा, ‘सम्बन्ध बिच्छेद’ को उल्लेख नगर्नु सम्पूर्ण धर्मशास्त्रको प्रतिनिधित्व नहुन सक्छ । धेरैले यो टिप्पणीलाई अपूर्ण र अधुरो ठाने । यसले हिन्दु धर्मशास्त्रको ऐतिहासिक र सामाजिक परिवेशमा ‘सम्बन्ध बिच्छेद’को परिकल्पना छैन भन्नु पुरातनपन्थी सोचको प्रतीक मानियो, जसले समाजको परिवर्तनशील वास्तविकता र कानूनी परिपाटीसँग मेल खाँदैन ।

समकालीन समाजमा व्यक्तिगत स्वतन्त्रता र सम्बन्ध बिच्छेदलाई मान्यता दिइएको अवस्थामा, देवी प्रतिभाको टिप्पणीले पुरानो सोचलाई बल दिएको भन्दै आलोचना भयो । इस्लामिक र पश्चिमी कानूनी व्यवस्थामा सम्बन्ध बिच्छेदको स्पष्ट उल्लेख र प्रक्रिया रहेको हुँदा, हिन्दु धर्मशास्त्रको व्याख्या नगर्नु अन्य धर्मसँगको तुलनामा असङ्गत ठहरियो । व्यक्तिको स्वतन्त्रता र अधिकारको दृष्टिकोणले पनि सम्बन्ध बिच्छेदलाई मान्यता दिनुपर्नेमा, देवी प्रतिभाको टिप्पणीले व्यक्तिगत अधिकारलाई कम आँक्ने आरोप लाग्यो ।

नेपाल लगायतका आधुनिक समाजमा सम्बन्ध बिच्छेदको कानूनी व्यवस्था रहेको अवस्थामा, धर्मशास्त्रको व्याख्यालाई वर्तमान कानूनी व्यवस्थासँग जोडेर हेर्दा उनको टिप्पणीलाई अव्यावहारिक ठहर गरियो । उनका विचारले समाजमा महिलाहरूलाई परम्परागत भूमिकामा बाँधेर राख्न प्रेरित गर्न सक्छ भन्ने डरले आलोचना भयो । यी कारणहरूले हिन्दु धर्मशास्त्रमा ‘सम्बन्ध बिच्छेद’को उल्लेख नभएको टिप्पणीले किन र कसरी विवाद उत्पन्न गऱ्यो भन्ने कुरा स्पष्ट पार्छ । देवी प्रतिभाको भनाइलाई समाजमा पितृसत्तात्मक सोचको प्रतिनिधित्व गरेको ठहर गर्दै धेरैले उनको आलोचना गरेका छन् ।

२. पितृसत्तात्मक धारणा :

देवी प्रतिभाको टिप्पणी, जसमा उनले ‘महिलाले पतिले जे भन्यो त्यही सहेर बस्नुपर्छ’ भनेकी थिइन्, समकालीन समाजमा पितृसत्तात्मक सोचलाई बढावा दिएको भन्दै आलोचना भयो । उनको यो धारणा प्राचीन र परम्परागत सोचलाई बलियो बनाउन सक्छ भन्ने ठहर गर्दै धेरैले यसलाई समाजमा लैङ्गिक असमानता कायम राख्ने एक कड़ीको रूपमा हेरे । महिलाको स्वतन्त्रता र आत्मसम्मानलाई अवमूल्यन गर्ने र उनीहरूको अधिकारलाई सीमित गर्ने यस्तो दृष्टिकोणले पितृसत्तात्मक संरचनालाई सुदृढ पार्न सक्छ भन्ने चिन्ता व्यक्त गरे ।

समाजमा पितृसत्तात्मक सोचको जरा गहिरो रहेको अवस्थामा, देवी प्रतिभाको यस्तो विचारले महिलाहरूलाई परम्परागत भूमिकामा सीमित गर्न थप प्रोत्साहन मिल्ने डर रहेको छ । यसले महिलाहरूलाई स्वतन्त्र निर्णय लिन र आत्मनिर्भर बन्नबाट पनि रोक्न सक्छ । यस्तो धारणा प्रचलनमा आएपछि महिलाहरूले सधैं पतिका हुकुम मान्नुपर्ने दबाब महसूस गर्न सक्छन्, जुन समाजको समृद्धि र प्रगतिका लागि अवरोधक हुन सक्छ । यस प्रकारको पितृसत्तात्मक सोचलाई चुनौती दिन र समाजमा लैङ्गिक समानता स्थापित गर्नका लागि देवी प्रतिभाका विचारहरू आलोचनाका शिकार भए ।

३. वर्तमान वास्तविकतासँग असङ्गत :

समकालीन समाजमा सम्बन्ध बिच्छेदको बढ्दो दरले पारिवारिक संरचनामा गहिरो परिवर्तन ल्याएको छ । आजको युगमा महिलाहरूले शिक्षा, रोजगारी र व्यक्तिगत स्वतन्त्रतामा उल्लेखनीय प्रगति गरेका छन् । यस परिवर्तनले गर्दा महिलाहरू अब केवल पतिका इच्छाहरू मान्नुपर्ने बाध्यतामा छैनन् । देवी प्रतिभाले भनेझैँ, महिलाले पतिले जे भन्यो त्यही सहेर बस्नुपर्छ भन्ने धारणा पुरातन सोचलाई प्रतिनिधित्व गर्दछ । यो सोचले महिलाहरूको स्वतन्त्रता र अधिकारलाई अवमूल्यन गरेको ठहरिन्छ ।

समाजमा सम्बन्ध बिच्छेदको दर बढ्नुको मुख्य कारण व्यक्तिगत स्वतन्त्रताको पहिचान हो । महिलाहरू, आफ्नो जीवनमा असन्तुष्टि या हिंसा सहनुभन्दा, सम्बन्ध बिच्छेद गरेर नयाँ जीवन सुरु गर्न चाहन्छन् । यस परिस्थितिमा, देवी प्रतिभाले सम्बन्ध बिच्छेदको विषयमा कम बोल्दा, उनलाई वर्तमान समाजको वास्तविकतासँग असङ्गत मानिएको छ । समाजका विभिन्न तहमा, विशेषगरी महिला अधिकारवादी समूहहरूले, उनको भनाइलाई व्यक्तिगत स्वतन्त्रता र अधिकारको उल्लङ्घन भएको भन्दै आलोचना गरेका छन् ।

यसरी, देवी प्रतिभाको धारणा र समकालीन समाजको वास्तविकता बीचको दूरीले उनको विचारलाई असङ्गत ठहराइएको छ । सम्बन्ध बिच्छेदको बढ्दो दर, व्यक्तिगत स्वतन्त्रताको पक्षमा भएको संघर्ष र आधुनिक समाजको मूल्यहरूको सन्दर्भमा, देवी प्रतिभाको पुरातनपन्थी विचारहरूलाई अस्वीकार गरिएको छ । यस असङ्गतताको कारणले नै उनी व्यापक आलोचना र विरोधको शिकार बनेकी छिन् ।

४. विवाह र महिलाको भूमिका :

देवी प्रतिभामाथि विवाहमा महिलाको भूमिकालाई पुरानो सोचबाट हेर्ने दृष्टिकोणलाई बढावा दिएको आरोप लागेको छ, जसले समकालीन समाजमा महिलाको सशक्तिकरणको सवाललाई पछाडि धकेल्न सक्छ । उनका कथाहरूमा परम्परागत पितृसत्तात्मक संरचनालाई बलियो बनाउने धारणा व्यक्त गरिएको देखिन्छ, जहाँ महिलाहरूलाई पतिका आदेश पालन गर्नुपर्ने भूमिका प्रदान गरिएको छ । यस्तो दृष्टिकोणले महिला अधिकारवादी र प्रगतिशील समूहहरूलाई निराश पारेको छ, जो महिलाहरूको स्वतन्त्रता, समानता र सशक्तिकरणको पक्षमा लडिरहेका छन् ।

विवाहमा महिलाको भूमिका पुरातन धारणामा आधारित हुनु, उनीहरूलाई पुरुषहरूको छायामा सीमित राख्न र आफ्नो स्वतन्त्रता, इच्छाशक्ति र व्यक्तित्वलाई दबाउने काम गर्न सक्छ । देवी प्रतिभाको कथावाचनले यो सोचलाई पुनः स्थापित गर्न सक्छ, जहाँ महिलाहरूलाई पतिका सान्निध्य रहनुपर्छ भन्ने धारणा बलियो हुन्छ । यो धारणा विशेष गरी समकालीन समाजमा अस्वीकार्य ठहरिन्छ, जहाँ महिलाहरू आफ्नो व्यक्तित्व, करियर र व्यक्तिगत जीवनलाई स्वतन्त्र रूपमा अगाडि बढाउन चाहन्छन् ।

समाजमा महिलाको भूमिकालाई पुरानो सोचबाट हेर्ने दृष्टिकोणले महिलाहरूलाई द्वन्द्वमा पार्न सक्छ, जहाँ उनीहरू आफ्नो अधिकार र परम्परागत भूमिकाबीचको तालमेल मिलाउन बाध्य हुन्छन् । यसले महिलाहरूको सशक्तिकरणको सवाललाई पछाडि धकेल्न सक्छ, जसले गर्दा उनीहरू आर्थिक, सामाजिक र राजनैतिक रूपमा पूर्ण रूपमा सक्षम हुन सक्दैनन् । देवी प्रतिभाले प्रस्तुत गरेको दृष्टिकोणले समाजमा महिलाहरूको भूमिका पुनः परिभाषित गर्न र सशक्तिकरणको दिशामा कदम चाल्नुपर्ने आवश्यकतालाई थप बलियो बनाएको छ ।

५. सुरक्षा फौजको नकारात्मक असर :

देवी प्रतिभालाई सुरक्षा दिन नियुक्त गरिएका बडी गार्डहरूको उपस्थिति र व्यवहारलाई लिएर व्यापक आलोचना भएको थियो । सामान्यतः कथावाचिकाहरूलाई यस्तो सुरक्षा आवश्यक नपर्ने भए पनि देवी प्रतिभाको ख्याति र उनलाई सुन्न आउने भीडलाई ध्यानमा राखेर सुरक्षा व्यवस्थापन गरिएको थियो । तथापि, बडी गार्डहरूको अत्यधिक सुरक्षा व्यवस्थाले उनको व्यक्तिगत जीवनमा हस्तक्षेप गरेको र दर्शकसँगको सम्बन्धमा दूरी ल्याएको भन्दै आलोचना भयो ।

धार्मिक प्रवचनहरूको आकर्षणले ठूलो भीड तान्ने भएकाले सुरक्षा आवश्यकता पनि बढ्ने गर्छ । विशेषगरी धार्मिक अनुष्ठानहरूमा भागदौड र भीड व्यवस्थापन चुनौतीपूर्ण हुने भएकाले सुरक्षा फौजको उपस्थिति आवश्यक ठानिएको हो । यसरी सुरक्षा व्यवस्था नगर्दा नकारात्मक परिणामहरू देखा पर्न सक्छन्, जसरी भारतमा एक धार्मिक कार्यक्रममा भागदौड मच्चिएर १२० भक्तजनको ज्यान गुमेको थियो । नेपालमा पनि देवी प्रतिभालाई सुन्न आउने भीडको सुरक्षा व्यवस्थापन नगरेको खण्डमा यस्तै दुर्घटनाहरू हुन सक्थे ।

यस्तो सुरक्षा व्यवस्थाले समाजमा नकारात्मक सन्देश प्रवाह गऱ्यो । देवी प्रतिभाको अगाडि–पछाडि ‘बडी गार्ड’हरू हिँडेको देखेर कतिपय मानिसमा जलन र असन्तुष्टि उत्पन्न भयो । उनमाथि धार्मिक र सांस्कृतिक व्यक्तित्व भएका व्यक्तिले ‘बडी गार्ड’ किन राख्ने भन्ने प्रश्न उठ्यो । यसले गर्दा उनको छवि विवादित बन्यो र, सामाजिक रूपमा आलोचना पनि भयो । तथापि, उनको ख्याति र भीड व्यवस्थापनको चुनौतीलाई ध्यानमा राखेर सुरक्षा व्यवस्थामा गरिएको यो कदम अपरिहार्य थियो ।

६. चन्दाको विवाद :

देवी प्रतिभाले कोटीहोममा उठाएको चन्दाको विषयले पनि उनलाई विवादमा ल्यायो । धार्मिक अनुष्ठान र प्रवचनमा उठाइने चन्दाको उपयोगिता र पारदर्शितालाई लिएर प्रश्न उठे । चन्दाको रकमलाई सही तरिकाले व्यवस्थापन नगरेको र व्यक्तिगत लाभका लागि उपयोग गरेको आरोप लाग्यो ।

धार्मिक अनुष्ठानहरूमा उठाइने चन्दाको रकमको सही हिसाबकिताब राख्न नसक्दा धार्मिक विश्वासमा कमी आउन सक्छ । यस विवादले धार्मिक अनुष्ठान र चन्दाको पारदर्शिताको महत्त्वलाई पनि उजागर गऱ्यो । चन्दाको रकमलाई सही तरिकाले व्यवस्थापन गर्ने र पारदर्शिता कायम गर्ने विषयमा धार्मिक नेताहरूको उत्तरदायित्व महत्वपूर्ण हुन्छ । देवी प्रतिभाको यस विषयले धार्मिक अनुष्ठानप्रतिको विश्वासमा चुनौती खडा गऱ्यो ।

७. भारतमा सम्मान र नेपालमा आलोचना

देवी प्रतिभाले भारतमा प्राप्त गरेको प्रशंसा र नेपालमा भोगेको आलोचनाले दुई देशका धारणा बीचको स्पष्ट भिन्नतालाई उजागर गरेको छ । भारतमा, उनले पुरातन पौराणिक कथाहरूलाई नयाँ ढङ्गले प्रस्तुत गर्दै दर्शकहरूलाई मन्त्रमुग्ध पारेकी छन् । भारतीय समाजले उनको प्रतिभा र परम्परागत कथाहरूमा उनको पकडलाई उच्च सम्मानका साथ स्वीकारेको देखिन्छ । भारतीय दर्शकहरूले उनलाई एक कुशल कथावाचिका मात्र नभइ परम्परा र संस्कृतिको वाहकका रूपमा पनि देखेका छन् । उनको कथावाचन शैली र धार्मिक विषयवस्तुहरूलाई समर्थन गर्दै भारतीय समाजले उनलाई एक प्रेरणादायी व्यक्तित्वको रूपमा ग्रहण गरेको छ ।

नेपालमा भने स्थिति बिल्कुलै भिन्न रहेको छ । यहाँ, देवी प्रतिभालाई परम्परागत कथाहरूलाई महिलाविरोधि दृष्टिकोणमा प्रस्तुत गरेको भन्दै आलोचना गरिएको छ । नेपाली समाजमा आधुनिकता र महिला अधिकारहरूको पक्षमा भएको चेतनाले उनलाई पुरातन सोचको प्रतीकको रूपमा चित्रित गरेको छ । उनले व्यक्त गरेका धारणा, विशेष गरी महिलाले पतिका आदेशहरू मान्नुपर्ने कुरा, नेपालका महिला अधिकारवादी र प्रगतिशील समूहहरूले तीव्र आलोचना गरेका छन् । नेपालमा, उनको विचारलाई पितृसत्तात्मक संरचनाको समर्थन र महिला स्वतन्त्रताको विरोधि ठहरिएको छ ।

यसप्रकार, भारतमा प्राप्त भएको सम्मान र नेपालमा भोगेको आलोचनाले दुई देशको सांस्कृतिक र सामाजिक धारणाको अन्तरलाई स्पष्ट रूपमा प्रकट गरेको छ । भारतले परम्परागत कथावाचनलाई संरक्षण र सम्मानका रूपमा लिएको छ भने, नेपालले ती कथाहरूलाई आधुनिक दृष्टिकोणबाट पुनर्विचार गर्न र समसामयिक समाजको मूल्यहरू अनुरूप परिमार्जन गर्नुपर्ने आवश्यकता महसूस गरेको छ । यस भिन्नताले देवी प्रतिभालाई दुई देशमा भिन्नभिन्न दृष्टिकोणले हेर्ने गरेको देखाउँछ, जसले गर्दा उनी भारतमा सम्मानित र नेपालमा आलोचित भएकी छन् ।

८. सोसल मिडिया ट्रोलिङ :

सोसल मिडियामा देवी प्रतिभाको वक्तव्यलाई लिएर व्यापक ट्रोलिङको लहर उठ्यो । उनका भनाइहरूलाई तोडमोड गरेर प्रस्तुत गरियो, जसले गर्दा मूल आशयलाई बाङ्गोटिङ्गो पारियो । उनका विचारहरूको गलत व्याख्या गर्दै उनलाई पुरातनपन्थी र पितृसत्तात्मक सोचको प्रतिनिधित्व गर्ने भनेर आरोप लगाइयो ।

सोसल मिडियामा ट्रोलिङको प्रकृति प्रायः आक्रामक र नकारात्मक हुन्छ, जसले व्यक्तिलाई मानसिक तनाव र भावनात्मक चोट पुऱ्याउन सक्छ । देवी प्रतिभाको अवस्थामा पनि त्यस्तै भयो, जहाँ उनले व्यक्त गरेका धारणा र विचारहरूलाई बिनापरिप्रेक्ष्यमा मूल्याङ्कन गरियो । उनका शब्दहरूको गलत अर्थ लगाएर समाजमा नकारात्मक सन्देश फैलाइयो, जसले गर्दा उनको प्रतिष्ठामा ठुलो आघात पुग्यो ।

यस्ता ट्रोलिङहरू सामाजिक सम्वादका लागि हानिकारक हुन्छन्, जसले स्वस्थ बहसको ठाउँमा घृणा र असहिष्णुताको वातावरण सिर्जना गर्छ । ट्रोलिङले एक व्यक्तिको विचारहरूलाई नसुनेर, बिना आधार र तथ्य प्रमाणहरूको आधारमा आलोचना गर्ने प्रवृत्ति बढाउँछ । देवी प्रतिभाको घटनामा पनि, उनको विचारहरूको गहिराइलाई बुझ्नुभन्दा पहिल्यै आलोचनाको शिकार बनाइयो, जसले उनको प्रतिष्ठा र भावनात्मक स्वास्थ्यमा गम्भीर असर पुऱ्यायो । यसले देखाउँछ कि सोसल मिडियाको प्रयोग गर्दा विचारशील र जिम्मेवार हुनुपर्छ, ताकि व्यक्तिहरूलाई अनावश्यक रूपमा चोट नपुगोस् ।

उपसंहार :

कथावाचकले काल्पनिक कथा उत्पन्न गर्ने होइन । शास्त्रमा भएका विभिन्न मिथक र प्रतीकात्मक कथाहरू जस्तै महाभारतको युद्धको मैदानमा कृष्ण र अर्जुनको संवाद, गीताका तीन प्रमुख मार्गहरू कर्मयोग, भक्तियोग र ज्ञानयोग, भगवान् कृष्णले अधर्मको विनाश र धर्मको स्थापना गर्न विभिन्न समयमा लिएका अवतार, माया र आत्मज्ञान, अर्जुनको युद्ध लड्ने कर्तव्य र आफ्ना आफन्तको वध गर्ने डरको बीचको दुविधा, भगवान् कृष्णले अर्जुनलाई देखाएको आफ्नो विश्व रूप आदि कथानक, अभिप्राय, परिवेश, संवाद, कथोपकथन, द्वन्द्व, उद्देश्यलगायतलाई लोक तत्व र धार्मिक तत्वसहितको सरल लयात्मक भाषाशैलीमा स्रोताहरूलाई मन्त्रमुग्ध पार्नु नै कथावाचकको धर्म हो । पौराणिक कथामा घटना घटाउने, कार्यव्यापार गर्ने पात्र चरित्र वा सहभागी, कथानक एवं अभिप्रायका बिचमा परिपूरक र घनिष्ट सबन्ध रहेको हुन्छ । विशेषतः कथामा मानवीय. र मानवेतर दुई प्रकारका पात्र हुन्छन् । मानवीय पात्रभित्र अर्धमानव, मानव, अतिमानव र दिव्य मानव गरी चार प्रकारका पात्र हुन्छन् भने अर्धदैवी र दैविक मानवेतर सजीव पात्र पनि कथामा रहेका हुन्छन् यस्ता पात्रहरूमा मानिस, मानवका विश्वासमा रहेका देवीदेवता, भूत, प्रेत, पिशाच, राक्षस, बोक्सी, डङ्किनी परी, अप्सरा, किचकन्नी, तान्त्रिक ऋषि महर्षि आदि पनि कथामा हुन सक्छन् । कथामा हुने सजीव मनवेत्तर पात्रमा पशुपंक्षी तथा सरीसृप वर्गका ऐरावत हात्ती, वायुपङ्खी घोडा, कामधेनु गाई, गरुड, सिमलचरी, सर्प, नाग, सुन हग्ने राखी आदि हुन सक्छन् । यी मानवीय. र मानवेतर पात्र चरित्र वा सहभागीको कलात्मक गाथात्मक प्रस्तुतिवाट लोक तत्व र धार्मिक तत्वसहितको सरल लयात्मक भाषाशैलीमा स्रोताहरूलाई मन्त्रमुग्ध पार्नु नै कथावाचकको धर्म हो ।

कथावाचकले कथावाचनमार्फत धार्मिक र सांस्कृतिक ज्ञानको प्रचारप्रसार गरेर समाजमा सकारात्मक प्रभाव पारेका हुन्छन्, पुरातन धर्मग्रन्थ र शिक्षाहरूलाई आधुनिक समाजसँग जोडेर बुझाउने काम गरेका हुन्छन् । देवी प्रतिभाले गरेको परोपकारी कार्यहरू, जस्तै- गरीब र आवश्यकता परेका व्यक्तिहरूलाई सहयोग पुऱ्याउने, शिक्षाको प्रवर्द्धन गर्ने, स्वास्थ्य सेवाहरूमा योगदान गर्ने लगायतका गतिविधिले उनलाई समाजमा सम्मानित र प्रिय व्यक्तित्व बनाएको छ । उनप्रति उत्पन्न हुनसक्ने सुरक्षा खतराहरूको कारणले उनीसँग बडी गार्डहरूको उपस्थिति स्वाभाविक हो । समाजमा रहेका अराजक तत्वहरू र धार्मिक हिंसात्मक घटनाहरूको जोखिमलाई ध्यानमा राखेर सुरक्षा व्यवस्थापनलाई आलोचना गर्न उचित छैन ।

हिन्दु धर्मशास्त्रमा ‘सम्बन्ध बिच्छेद’ को स्पष्ट उल्लेख नभए पनि, यसको विभिन्न व्याख्याहरू र शास्त्रहरूको विविधता रहेको कारणले सबै धर्मशास्त्रहरूको प्रतिनिधित्व एकै व्यक्तिको विचारमा सिमित गर्नु उपयुक्त होइन । देवी प्रतिभाले गरेको टिप्पणी एक निश्चित दृष्टिकोणबाट गरिएको व्याख्या मात्र हो, जुन सम्पूर्ण धर्मशास्त्रको प्रतिनिधित्व गर्दैन । यसले उनलाई व्यक्तिगत रूपमा दुत्कार्नु भन्दा, धर्मशास्त्रको विविधतामा विचार गर्नुपर्ने आवश्यकतालाई प्रस्ट पार्छ । देवी प्रतिभाले गरेको कथनले महिलाहरूलाई परम्परागत भूमिकामा बाँधेर राख्न सक्ने डर भए पनि, यसलाई पितृसत्तात्मक सोचको प्रत्यक्ष प्रतिनिधित्व ठहराउनु न्यायसंगत होइन । समाजमा महिलाहरूको सशक्तीकरण र अधिकारको लागि काम गरिरहेको अवस्थामा, उनको अन्य परोपकारी कार्यहरूलाई नजरअन्दाज गर्न सकिँदैन । उनको व्यक्तिगत विचारलाई लिएर उनलाई दुत्कार्नु भन्दा, उनीले समाजमा पुऱ्याएको योगदानलाई महत्त्व दिनुपर्छ ।

शास्त्रमा रहेका विभिन्न मिथक र प्रतीकात्मक कथाहरूको सत्यतथ्य प्रस्तुत गर्दै, श्रोताहरूलाई शिक्षित र मनोरञ्जन गर्दै समाजमा सकारात्मक परिवर्तन ल्याउने प्रयास गर्नु कथावाचकको धर्म हो । एउटा उत्साहका साथ आफ्नो देशमा कथा भन्न आएर सामाजिक, सांस्कृतिक, र नैतिक मूल्यहरू उजागर गर्दै, श्रोताहरूमा जागरुकता फैलाउदै समाजलाई सत्कर्ममा प्रेरित गर्ने कथावाचकको आलोचना गर्नु आफैँमा खेदजनक र आपत्तिजनक छ ।

नेपाल बुद्धको पनि देश हो र युद्धको पनि देश हो । नेपाल शान्तिप्रिय देश पनि हो र पण्डित नारायण पोखरेल मारिएको देश पनि हो । देश न त बुद्धको शान्ति पथमा रह्यो न त युद्धको नियममा चल्यो । नेपाल महिला राष्ट्रप्रमुख भइसकेको पनि देश हो र महिला बलात्कार हत्या हिंसाको पनि देश हो । देश न त महिला शशक्तिकरणतिर लम्कियो न त महिला हिंसाको समवेदनाको आवाज बुलन्द नै भयो । मेला महोत्सवहरू हाम्रो जीवनका अटुट अंशहरू हुन्, जसले संस्कृति, परम्परा र मानवीय सम्बन्धहरूको धरोहरलाई प्रगाढ बनाउँछन् । यस्ता जमघटहरूमा मानिसहरूको उपस्थिति मात्रले जीवन्तता र उल्लासको सञ्चार हुन्छ । त्यसको धुन, रंग, र उत्साहले आकाशको सीमासम्म पुगी मानव आत्माको अदृश्य डोरीलाई एकसाथ बाँध्छ ।

तर, यस उत्सवको उज्यालो पाटोको छायामा केही अन्धकार पाटाहरू पनि लुकेका छन् । भीडभाड र हुलदङ्गाका कारण हुने भागदौडले कतिपय बेला अराजकताको स्थितिलाई निम्त्याउँछ । धर्म र सुरक्षाको यो गहिरो सम्बन्धले प्रकट गर्दछ कि धार्मिक विश्वासहरूको र तिनका अनुयायीहरूको संरक्षण मात्र होइन, तिनको सम्मान पनि अत्यन्त महत्वपूर्ण छ । समाजमा शान्ति, सद्भाव, र एकताको मार्ग यही सजीव सम्मान र सुरक्षा प्रदान गरेर प्रशस्त हुन्छ । करोडौँ भक्तजनको मनमुटुमा बस्न सफल कथावाचिकाको सुरक्षाको प्रत्याभूति दिनुको सट्टा तिनलाई सुरक्षागणको ट्रोल बनाउनु अत्यन्त आपत्तिजनक र निन्दनीय कार्य हो । यो केवल व्यक्तिको मर्यादाको हनन मात्र होइन, समाजको नैतिक पतनको द्योतक पनि हो । धार्मिक आस्थाको मर्मलाई बुझ्न र त्यसको गरिमालाई कायम राख्न हामीले सम्पूर्ण समर्पण र संवेदनशीलता देखाउनुपर्छ । यही बाटोले मानवता, परस्पर सम्मान, र दिगो शान्तिको स्थापना हुन्छ ।

जय मातृभूमि !

(लेखक ‘मातृभूमिका लागि नेपाली’का केन्द्रीय परिषद् सदस्य एवम् उपाध्यक्ष हुन् ।)

नरोत्तम श्रेष्ठका अन्य लेखहरू-

नेपाली सेना : विचलित कि कर्तव्यपरायण ?

श्रमिक दिवसको दर्जन शुभकामना !

राजनीतिक वितृष्णा : न्यून मतदान

गोवध र धर्मनिरपेक्षता

‘कोरोना-कहर’का अवसरहरू