माओवादी कर्णेल–जर्नेलहरूले खै सोचेको ?

माओवादी कर्णेल–जर्नेलहरूले खै सोचेको ?


माओवादीहरूले जर्नेल–कर्णेल पद मागेको चर्चा बाहिर आइरहेको छ । यो देख्दा लाग्छ जनयुद्धको मोलमोलाइ भइरहेछ । जनयुद्ध कर्णेल–जर्नेल हुनभन्दा पनि राजनीतिक परिवर्तनका लागि भएको थियो । तर, कर्णेल–जर्नेल मागेर माओवादीले आफ्नो महान् जनयुद्धको कतै अवमूल्यन गरेझैं भएको त छैन । यो युद्धले त त्यस दलका नेतालाई प्रधानमन्त्री नै बनाइसक्यो नि ?
नेपालमा सयौँ सङ्ख्यामा कर्णेल–जर्नेल सावहरू छन् । ती हुलहरूमा एक कर्णेल अब माओवादीबाट पनि थपिएलान् । जुन कर्णेल फुली भिरेर नेपाली सेनामा जानेहरू तिनलाई राजनीतिक भाषण गर्न खुब आउला, हतियार चलाउन पनि आउला, केही दिनभित्रै सेनाको पोसाक दुरुस्त प्रकारले लगाउन पनि आउला तर साँच्चिकै राष्ट्रिय सेनाभित्र समाहित हुन र स्वीकार्य हुन सजिलो भने सायदै होला । नेपाली सेनाहरूले ती कर्णेल जर्नेललाई केटाकेटीले सैनिक पोसाक लगाएर खेलौना बन्दुक बोकेको रूपमा त कतै लिने होइनन् ? जसरी नेपाली सेनाको कुनै अधिकृत माओवादी शिविरमा सरुवा भई कुनै पद प्राप्त गरेकै आधारमा त्यो क्याम्पमा स्वीकार्य हुन गाहै्र पर्ला, त्यसैगरी मलाई लाग्छ माओवादी कर्णेललाई पनि त्यहाँ स्वीकार्य हुन हुन गाह्रै पर्ला । संसारभरि नै विद्रोही फौजहरू छन् । उनीहरू सरकारी फौजमा आएका पनि छन् । नेपालमा पनि मुक्ति सेना प्रहरी भएर स्थापित भयो । तर, सयौँ वर्षको इतिहास, परम्परा, पद्धति र प्रक्रियाबाट सञ्चालन भएको नेपालको राष्ट्रिय सेनामा राजनीतिक सोचको युद्ध लडेर पुगेका माओवादीका कर्णेल–जर्नेल सा’वहरूलाई हटाउन स्वीकार्य हुन र त्यहाँभित्र सम्मानित हुन सजिलो होला र ?
यदि मैले सल्लाह प्रदान गरेर हुन्थ्यो भने म माओवादी नेतृत्वलाई राष्ट्रिय सेनामा भन्दा पनि अलग सुरक्षा एकाइमा नै समाहित गराउन सल्लाह प्रदान गर्दथेँ, अझ सके सकभर सरकारी कोटाबाट वैदेशिक रोजगारमा पढाउन वा अन्य सरकारी पदमा नियुक्ति गराउन सल्लाह दिन्थेँ । जुन सेनामा जानुभन्दा पहिल्यैदेखि पदमा, सङ्ख्या, मोडल यत्रो ठूलो विवाद भइसकेको छ त्यही सेनामा जुँगाको लडाइँ लड्दै कर्णेल–जर्नेल बनाएर पठाउँदैमा जानेहरू समाहित हुन सक्लान् त ? त्यो सङ्गठनमा स्वीकार्य हुन सक्लान् त ?
आज सेनामा हाम्रो मान्छे पनि हुनुपर्छ भनेर मधेसका नेताहरू पनि निकै आक्रामकण भएको देखिन्छ । तर, इतिहास हेर्ने हो भने नेपालको एकीकरण गर्ने बेलामा, नेपालको सिमाना बेलायतसँग लडेर रक्षा गर्ने बेलामा, काँगडाको लडाइँमा साना–साना केटाकेटीदेखि आइमाईसम्मले खुकुरी लिएर तोपको सामना गर्ने बेलामा त तराई होइन पहाडकै मान्छे लडेका थिए । मधेस त चारकोसे झाडीले भरिएको थियो र ठाउँठाउँमा थारूलगायतका आदिवासीहरू मात्र बस्ने गर्दथे । यो मुलुकको सीमा निर्धारण पहाडियाहरूले नै लडेर गरेका हुन् तर यो मुलुकलाई प्राविधिक रूपमा सक्षम र दक्ष बनाउन भने मधेसवासीको ज्यादै ठूलो भूमिका रह्यो । आज पनि हेर्‍यो भने शिक्षक, इन्जिनियर, ओभरसियर, स्वास्थ्य सेवाहरूमा पहाडको भन्दा मधेसका नेपालीको पकड छ । मधेसनजिक भारत भएको र भारतमा पठनपाठन राम्रो भएको हुँदा पहाडका मानिसले भन्दा भारतमा गई उच्च शिक्षा हासिल गर्ने अवसर मधेसका नागरिकलाई बढी मिल्यो । भारतमा अङ्ग्रेजहरू फर्किएपछि राजनीतिक अभ्यास बढी भएको हुँदा, रामराजाप्रसाद सिंहदेखि गजेन्द्रनारायण सिंहसम्मले नेपालमा राजनीतिक सचेतना ल्याउन महत्वपूर्ण योगदान दिए । तर, यथार्थ त यथार्थ नै हो । झन्डै बाह्रचोटि सगरमाथा चढ्ने हिमालकै मानिस छन्, क्षेत्री, बाहुन वा पहाडमा बस्ने छैनन् । डाक्टर, इन्जिनियर, ओभरसियर हुनेहरू हिमालका भन्दा तराईका मानिस नै बढी छन् । बेलायती सेनामा जानेमा गुरुङ, मगर, राई नै बढी छन् । क्षेत्री, बाहुन र यादव छैनन् । गाईवस्तु, खेतीपाती यादवसँगै बढी छ, राई, लिम्बू, गुरुङसँगै छैन । नेपाल एकीकरणमा अङ्ग्रेजसँग लड्दा आफ्नो बहादुरी देखाउनेहरू बेलायती सेना वा भारतीय सेनामा जान पाए । नेपाल एकीकरणमा विदेशीसँग लड्ने क्षेत्री कमाण्डरहरूले सेनामा माथि जान पाए । त्यतिबेला गुप्ता, यादव, झालगायत मधेसका जातजातिले पनि अङ्ग्रेजसँग नेपालको सीमा रक्षा गर्न लडेका भए सायद उनीहरू पनि अहिले सेनामा उच्च तहमा नै हुन्थे होला ।
अत: मलाई के लाग्छ भने मुलुकमा सबैलाई सबै स्थानमा जागिर खाने, व्यवसाय गर्ने, हिँड्डुल गर्ने छुट हुनुपर्छ । तर, वर्षौंदेखि आ–आफ्नो भूगोल, वंश, परम्परा, पेसाका आधारमा हरेक मानिस जुन काम गर्दा, जुन व्यवसाय अंगाल्दा सजिलो र सुरक्षित महसुस गर्दछ उसलाई त्यही काम गर्न दिनुपर्छ । मानिसको रुचि–खुवी एक दिनमा बन्ने होइन । स्व. प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई भारत भ्रमणमा जानुहुँदा त्यहाँका पत्रकारहरूले सोधेका थिए, ‘तपाईंहरू मधिसे मूलका मानिसलाई किन सेनामा लिनुहुन्न ?’ त्यसमा प्रधानमन्त्री भट्टराईले उल्टो पत्रकारहरूलाई सोध्नुभएको थियो, ‘तपाईंकै भारत सरकारले चाहिँ किन उनीहरूलाई सेनामा भर्ना गर्दैन ?’ यहाँ प्रधानमन्त्रीले मुख्य रूपमा भन्न खोज्नुभएको कुरो के थियो भने जो जहाँका लागि योग्य छ त्यही व्यक्तिलाई त्यो पदमा लिनु ठीक हो । अत: पहाडियाहरू सेना भएर ब्रिटिसको पालादेखि नै लड्दै आएका हुँदा सैनिक पेसा अंगालेको पनि कैयौँ दशक बितिसकेको छ । यही क्रममा पहाडिया सेनामा देखिनु कुनै नौलो कुरो होइन । बिस्तारै–बिस्तारै जब हरेक स्थानमा रहने हरेक जात–जातिलाई पनि सेना हुने रहर जाग्दछ त्यस्तो बेलामा योग्य मानिसले त्यो पद पाउनुपर्छ । तर, त्यो रहर त्यसै आउँदैन । के अहिले पनि व्यापार गरिरहेका माडवारी समाजबाट कसैलाई सेनामा ल्याउन सकिन्छ ? गाह्रै पर्ला । के प्रधानमन्त्रीका छोराछोरीलाई राजनीति नगर भनी सरकारी जागिरमा ल्याउन सकिन्छ ? गाहै्र पर्ला । के राणाहरूलाई मिठाइ पसल खोल्न लगाउन सकिन्छ ? गाहै्र पर्ला । के तराईवासीहरूलाई हिमाल चढ्ने अभ्यासमा सहभागी बनाई शेर्पाहरूलाई जस्तै दक्ष बनाउन सकिन्छ ? गाहै्र पर्ला । यदि गाह्रो पर्छ भने आखिर हामी जबर्जस्ती त्यो प्रयास किन गरिरहेका छौँ । जो–जसले जे गर्दा सजिलो ठान्छ, सुरक्षित महसुस गर्छ त्यसलाई त्यही काम गर्न किन नदिने ? किन कसैले कतै समूह–समूह मान्छेहरू छिराउने कुरा गर्ने ? जब तराईबाट हाम्रो यति सङ्ख्यामा सेनामा भर्ना हुनुपर्छ भन्ने माग आउँछ त्यसको पछाडिको कारण जागिर खुवाउने भन्दा पनि राजनीतिक उद्देश्यमा त्यो सेना प्रयोग गर्ने मनसाय हो कि भन्ने नै देखिन्छ । माओवादीले त्यति सङ्ख्यामा एउटै ठाउँमा त्यो पनि सेनामा नै चाहिन्छ, अझ यो–यो पद पनि चाहियो भन्नुको पछाडि पनि जागिर खुवाउनेभन्दा पनि राजनीतिक कारणले नै बढी भूमिका खेलेको देखिन्छ । त्यो राजनीतिक कारण के हुन सक्छ त ? भन्दा त्यो कारण देशको सीमा रक्षाभन्दा पनि आफ्नो पार्टीको रणनीति लागू गराउने उद्देश्यले पे्ररित छ कि भनेर सहजै अनुमान गर्न सकिन्छ ।
यस्तो नहोला तर आमनेपालीले यो पनि सोच्न सक्छन् कि तराईको सेना हात लिएर दक्षिणी छिमेकीको कुरामा लागी तराईलाई नेपालबाट छुट्याउने रणनीतिअनुसार तराईका नेताहरूले सामूहिक तराईवासीलाई सेनामा भर्ना गर्न खोज्दै छन् । यस्तो नहोला तर यसरी पनि सोच्न सकिन्छ कि माओवादी दर्शनमा दलहरू हुँदैनन् । एक दलले शासन गर्ने अहिले परिस्थिति छैन । त्यो परिस्थिति जनविद्रोह गरेर नै प्राप्त हुने सम्भावना हुन्छ । त्यो विद्रोह गर्दा अन्तिम रूपमा राज्यको राष्ट्रिय सेना बाधक भएर अगाडि आउनेछ । त्यसैले सेनामा आफ्नो मान्छे घुसाएर माओवादी सेनालाई आफ्नोअनुकूल बनाउन अहिल्यैदेखि प्रयास गर्दै छन् ।
मानौँ म यो देशकै सबैभन्दा ठूलो मूर्ख व्यक्ति भएका कारणले त्यस्तो गलत कुरा सोचिरहेछु भने पनि माओवादी र तराईका नेताहरूले यति त बुझ्नुपर्‍यो कि यो मुलुकमा मजस्ता लाखौँ मूर्ख अरू पनि छन् । मजस्ता मूर्खलाई सम्झाउन पनि त तपाईंहरूलाई गाहै्र हुन्छ । नसम्झेपछि तपाईंहरू मलाई मार्न, थुन्न थाल्नुहोला । त्यसो गर्दा पनि मेरो परिवार फेरि तपाईंका विरोधी भइहाल्नेछन् । ती अत: मेरो विचारमा अझै पनि सकिन्छ भने माओवादी लडाकुलाई पछिसम्म सम्मानपूर्वक स्वीकार्य हुने संस्था वा सङ्गठनमा समाहित गराउनुपर्छ । उनीहरूले इतिहासमा दिएको योगदान कर्णेल–जर्नेलभन्दा धेरै ठूलो छ । पुरस्कारस्वरूप दिइएको पद र स्थान उनीहरूका लागि पीडादायी र बस्नै नसक्ने वातावरणको हुनुहुँदैन । राष्ट्रिय सेनाको सबै नम्र्सहरू पूरा गरे पनि माओवादी सेनाको आइडोलोजी र राष्ट्रिय सेनाको आइडोलोजी फरक छ । एउटा देशको मुक्तिका लागि लडेकोमा गर्व गर्छ अर्को देशको सीमारक्षाका कुरा गर्छ । एउटा राजनीतिक दर्शनको कुरो गर्छ अर्को राजनीतिसँग अलग बस्न रुचाउँछ । एउटा मन्त्री र प्रधानमन्त्री मेरा हुन् भन्ने ठान्छ अर्को मेरो सबैभन्दा ठूलो हाकिम एक तहमाथिको कमाण्डर नै हो भन्छ । एउटा सोच्नुपर्छ भन्छ अर्को आदेशको पालना गर्नुपर्छ, सोच्न जरुरी होइन भन्छ । अत: पृथक विषेशता बोकेका फौजहरू राजनीतिक निर्णयले एक ठाउँमा आउलान् तर के माओवादीबाट राष्ट्रिय सेनामा जानेहरू त्यहाँ सम्मानित र खुसी होलान् त ? केही हप्ता दिनभित्रै उनीहरूले गलत निर्णय गरिएछ भन्ने त होइनन् ? यसतर्फ पनि माओवादीबाट राष्ट्रिय सेनामा जाने कर्णेल–जर्नेलसावहरूले सोच्न जरुरी छ । बरु सेनाभन्दा सम्मानित र सजिलो ठाउँ तपाईंहरूका लागि अन्तै पो हुन सक्छ कि ?