ब्रह्माण्ड, पृथ्वी र मानवसृष्टिको लयबारे

ब्रह्माण्ड, पृथ्वी र मानवसृष्टिको लयबारे


मानिसले आफ्नो सोच, अवलोकन र प्रयोगबाट जति ब्रह्माण्डलाई जान्न सकेको छ, वास्तवमा उसको लागि त्यति नै ब्रह्माण्ड हो । अब भविष्यमा उसले आफ्नो चेतना र विज्ञानको सहयोगले ब्रह्माण्डको बारेमा जे-जति जान्दछ, त्यो नै मानिसको लागि भविष्यमा थाहा हुने ब्रह्माण्ड हुनेछ । त्यसैले ब्रह्माण्डलाई जसले जति र जसरी बुझ्दै जान्छ, तथ्यहरूले जसरी बताउँदै जानेछन्, त्यसले नै ब्रह्माण्डको सीमालाई बदल्दै जानेछ ।

ब्रह्माण्ड विज्ञान खगोल विज्ञानको एक शाखा हो, जसमा ब्रह्माण्डसँग सम्बन्धित सबै कुराको अध्ययन गरिन्छ । यसले ब्रह्माण्डको निर्माण प्रक्रियाको बारेमा पनि थाहा भएजति जानकारी दिन्छ । बीसौं शताब्दीमा भएका वैज्ञानिक परिवर्तनहरूले ब्रह्माण्डको बारेमा वैज्ञानिकहरूको चासो बढायो । वैज्ञानिकहरूले यससँग सम्बन्धित सबै रहस्यहरू खोज्न थाले । यसका रहस्यहरूको खोजबिन प्रक्रिया निरन्तर चलिरहने छ ।

स्टीफन हकिङले आफ्नो पुस्तक ‘ब्रिफ आन्सर्स टु द बिग क्वेश्चन’को समापनमा लेखेका छन्, ‘यो ब्रह्माण्ड कसैले बनाएको हैन र कसैले हाम्रो भाग्यलाई निर्देशित पनि गर्दैन । यदि ब्रह्माण्ड आफ्नै लयको निरन्तरतामा छ भने, तपाईंलाई यो सृष्टि गर्नको लागि भगवानको आवश्यकता पर्दैन । ‘यदि स्टीफन हकिङ साँच्चै सही छन् भने, ब्रह्माण्ड कसरी अस्तित्वमा आयो र किन ? भन्ने दुई प्रश्न मानव इतिहासमा बारम्बार सोधिएको छ । यसका केही रोचक जवाफ छन्, तर समय अन्तिम र निश्चित जवाफको प्रतीक्षामा छ ।

पौराणिक जवाफहरूले ब्रह्माण्डको सृष्टिको भार कुनै न कुनै रूपमा एक वा धेरै सर्वशक्तिमान ईश्वरहरूमा राख्छन्, र यो कदमले धेरै धर्महरूको जन्मसमेत गरेको छ । तर इश्वरवादको विरुद्ध बुद्ध दर्शनले ‘कुनै पनि वस्तुको अस्तित्व स्थिर छैन, वस्तुको स्वरूप अर्थात् निरन्तर परिवर्तन भइरहन्छ । निरन्तर बहिरहने पानीको प्रवाह, बलिरहने दीपको प्रवाह जसरी स्थिर रहँदैन, त्यसरी नै संसारका हरेक वस्तु अनित्य छ’ भनेर मान्दछ । जसलाई बुद्धदर्शनमा प्रतीत्य-समुत्पादको नियम भनेर जानिन्छ । यस दर्शनले सापेक्ष कारणतावाद अर्थात् कुनै एक वस्तुको उपस्थितिमा अर्को वस्तुको उत्पत्ति हुनुलाई मान्दछ । शून्यता र भविता अर्थात् केही नहुनुको भावार्थमा केही हुनु भन्ने आयामको गहनतालाई प्रतीत्य-समुत्पादले बुझाइरहेको हुन्छ । यसर्थ बुद्धको यो दर्शनभावले विज्ञानसम्मत विचारलाई मान्दै इश्वरवादलाई खण्डन गरेको छ ।

बेल्जियम क्याथोलिक पादरी जर्ज लामात्रे सन् १९२७ र पछि हबलले ब्रह्माण्ड निरन्तर फैलिँदै गएको कुरा पत्ता लगाए । उनीहरूका अनुसार आदिम एक आयामी एटम वा ब्रह्माण्डीय अण्डाको विस्फोटबाट ब्रह्माण्डको जन्म भएको थियो र जसको कारणले आकाशगंगा र ताराहरूको उदय हुने थियो । यही सोचपछि मात्रै लामात्रे ब्रह्माण्डको शुरुवातको निष्कर्षमा पुगेको उनले बताए, जसलाई आज हामी बिग ब्याङ थ्योरी भनेर चिन्छौँ । बिग ब्याङ नाम पहिलोपटक बेलायती भौतिकशास्त्री फ्रेड होइलले प्रयोग गरेका थिए ।

यो बीसौं शताब्दीका यिनै वैज्ञानिकहरूले ब्रह्माण्डको उत्पत्तिसँग सम्बन्धित बिग ब्याङ सिद्धान्त दिए । उनीहरूका अनुशार ब्रह्माण्डको प्रारम्भिक बिस्तारपछि, ब्रह्माण्डको युग शुरु भएको हो । महाविष्फोटका कारण उप-परमाणु कणहरू सिर्जना भएका थिए । यी सब-एटोमिक कणहरू इलेक्ट्रोन, प्रोटोन र न्यूट्रोनहरू मिलेर बनेका थिए । कणहरूको प्रचुरताका कारणपछि हाइड्रोजन बन्यो र पछि हिलियम तथा लिथियमको निर्माण पनि सम्भव भयो । यी कणहरूको पछिल्ला जुडावको कारण, तारा र ग्रहहरूको गठन सम्भव भयो । ती ताराहरू वा सुपरनोभाभित्र रहेका भारी पदार्थहरूको विश्लेषण हुन गयो र यी प्रक्रियाहरूले ग्यालेक्सी निर्माणमा ठूलो भूमिका खेलेको थियो । त्यसकारण, बिग ब्याङ सिद्धान्तले ब्रह्माण्डको जन्मिने कारण र अवस्थाको ब्याख्या गर्दैन, तर यसले ब्रह्माण्डको सामान्य विकासको वर्णन गर्छ । एक हिसाबले ब्रह्माण्ड विज्ञानको सुरुवात आइन्स्टाइनको सापेक्षताको सामान्य सिद्धान्तपछि भएको मानिन्छ । त्यसअघि ब्रह्माण्डको सुरुवात र अन्त्यको बारेमा कुनै निश्चित धारणा थिएन । धर्मअनुसार फरक-फरक धारणा मात्र थिए ।

पछिल्ला खोज :

फ्रिडम्यानले ब्रह्माण्डको उत्पत्ति र विकाससम्बन्धी आफ्नो सिद्धान्त दिए जसमा उनले ब्रह्माण्ड बिस्तार भइरहेको समेत बताए । सन् १९२७ मा, जर्ज लेमाइट्रेले बिग ब्याङ थ्योरी दिएर फ्रिडम्यानको सिद्धान्तको पुष्टि गरे । यसपछि, एडविन हब्बलको ब्रह्माण्ड विज्ञान सिद्धान्तले बिग ब्याङ सिद्धान्त र फ्रेडको ग्यालेक्सीको निर्माण प्रक्रियाका लागि आधार प्रदान गऱ्यो । सन् १९६५ मा माइक्रोवेभको खोज र ब्रह्माण्डको उत्पत्तिको नियमपछि यो विस्तार हुँदै गएको प्रमाणित भयो । माइक्रोवेभको खोजले ब्रह्माण्डको २५ प्रतिशत डार्क पदार्थले बनेको तथ्य बाहिर ल्यायो ।

वैज्ञानिकहरूका अनुसार विस्फोट हुनुअघि ब्रह्माण्ड संकुचित भएको थियो । अहिलेसम्मका वैज्ञानिक तथ्यका आधारमा करिव १३.५ अर्ब वर्षअघि एउटा सानो बिन्दुबाट ब्रह्माण्डको उत्पत्ति भएको यस एक आयामिबिन्दु त्रिज्या प्रोटोनको त्रिज्याभन्दा सानो थियो भन्न सकिन्छ ।

अनन्त घनत्व र स्पेस-टाइम बक्रता भएको बिन्दु जहाँबाट समय सुरु भयो । ब्रह्माण्ड विज्ञानको मानक सिद्धान्तअनुसार ब्रह्माण्डलाई विभिन्न कालखण्डमा विभाजन गर्न सकिन्छ । यी कालखण्डहरूलाई ‘एपोस’ भनिन्छ । व्यापकरूपमा भन्नुपर्दा, भौतिक ब्रह्माण्ड विज्ञानमार्फत हामीले ब्रह्माण्डका ठूला वस्तुहरू जस्तै आकाशगंगाहरू, क्लस्टरहरू र सुपरक्लस्टरहरूबारे जानकारी पायौँ । ब्रह्माण्ड विज्ञानको सहायताले ब्ल्याक होलको बारेमा जान्न मद्दत गऱ्यो । भौतिकशास्त्रका नियमहरू ब्रह्माण्डमा सबै ठाउँमा समान छन् वा छैनन् भन्ने कुरा पनि तिनै खोझारुले प्रकाशमा ल्याइरहेका छन् ।

अप्रिल २०१९ मा, एडम रिस र संयुक्त राज्य अमेरिकाको जोन्स हप्किन्स विश्वविद्यालयका उनका सहकर्मीहरूले ब्रह्माण्ड पहिले थाहा भएको भन्दा धेरै छिटो विस्तार हुँदैछ भनेर चौंकाउने परिणाम रिपोर्ट गरे । उनीहरूका अनुसार, एक सेकेण्डभन्दा कम समयमा ब्रह्माण्डको तीव्र विस्तार भएको थियो, जसका कारण आकाशको कुनै पनि दिशामा पदार्थ र ऊर्जाको घनत्व समानरूपले बिस्तार भयो । ब्रह्माण्डको विस्तार दर 73.4 किलोमिटर प्रतिसेकेन्ड प्रतिमेगा पार्सेक (km.sec.Mpc) हो, जबकि ब्रह्माण्ड माइक्रोवेव पृष्ठभूमि (Cosmic microwave background, CMB) मा आधारित ब्रह्माण्डको विस्तार दर ६७. ४ (km.sec.Mpc) मानिन्छ । रीस भन्छन् कि ब्रह्माण्डको विस्तार सीएमबी मापनभन्दा १० प्रतिशत छिटो भइरहेको छ र ब्रह्माण्डको विस्तार दरमा एकरुपता छ ।

तर यसको प्रमाण के हो त ? पहिलो प्रमुख प्रमाण भनेको माइक्रोवेभ पृष्ठभूमि विकीरण हो जुन ब्रह्माण्डको हरेक बिन्दुमा पाइन्छ । जब तपाईं आफ्नो टेलिभिजन खोल्नुहुन्छ, स्क्रिनमा हुने झिलमिलाहट आवाज यो विकिरणको कारणले भएको हो ।

ब्रह्माण्डको जन्म हुँदा जतिसुकै विकिरण भएको भए पनि यसको तरङ्ग लम्बाइ यति धेरै फैलिनेछ कि अब माइक्रोवेभको रूपमा चारैतिर उही स्तरमा छरिएर जानेछ भनी वैज्ञानिकहरूले धेरै पहिले भविष्यवाणी गरेका थिए । केही समयपछि, पेन्जियास र विल्सनले एक रोचक प्रयोगको क्रममा यी तरंगहरू पत्ता लगाए जसको लागि उनीहरूले नोबेल पुरस्कार पनि प्राप्त गरे । यिनै तरंगहरूको मद्दतले हाम्रो ब्रह्माण्डको नक्सा तयार गरिएको छ जसलाई अहिले दृश्य ब्रह्माण्डको चित्र भनेर पढिन्छ वा बुझिन्छ ।

यसबाहेक, वैज्ञानिकहरूले रेडियो टेलिस्कोपको सहायताले हेर्दा हाम्रो ब्रह्माण्ड कुनै पनि दिशामा ठ्याक्कै उस्तै दृश्य देखिन्छ । यति मात्र होइन, पदार्थको वितरण र घनत्व पनि ठ्याक्कै उस्तै रहेको देखियो । यस्तो तबमात्र हुन सक्छ जब ब्रह्माण्ड आफ्नो जन्मपछि उही स्तरमा विस्तार हुँदै गएको छ र त्यसमा भएको पदार्थ पनि समान (उर्जा र पदार्थ) रूपमा फैलिएको छ ।

एउटा कुरा के भने हाम्रो ब्रह्माण्डको जन्मको कारण अझै स्पष्ट छैन । यो महाबिष्फोटअगाडि कस्तो थियो र के कारणले बिष्फोट भएर यति धेरै उर्जा बिसर्जन गर्न पुग्यो, यसका कारणहरू पनि रहस्यकै गर्भमा छन् । खगोल वैज्ञानिकहरू निरन्तर खोजमा लागिरहेकोले जन्मका कारणहरू निकट भविष्यमा थाहा हुँदै जानेछ ।

पृथ्वीमा जीवको उत्पत्ति र मानव :

आजभन्दा करिव १३८० करोड वर्षपहिले महाविस्फोटबाट प्रारम्भिक ब्रह्माण्डको उत्पत्ति भएसँगै अनुमानित ४५० करोड वर्ष पहिले पृथ्वी निर्माण भएको वैज्ञानिकहरूले बताएका छन् । यो ग्यालेक्सी र तारा निर्माण प्रक्रिया सँगसँगै शुरु भएको मानिन्छ ।

तेश्रो पिंढीको तारासँगै पृथ्वीको सृष्टि भएपछि समुद्र र पर्यावरण बने, तबसम्म पनि कुनै पनि प्रकारको जीव वा जीवन अस्तित्त्वमा आइसकेको थिएन तर पनि पानी र पर्यावरणले जीवनका लागि आवश्यक आधार र वातावरण तयार हुँदै गयो । प्राकृतिक रसायनको उचित संयोजनले विशेषगरी एककोषीय जीव लगभग तीन सय ५० करोड वर्षअघि उत्पन्न भए । यसबेला मानव जीवनको विकास भइसकेको थिएन तर यो चरणमा नै जीवनको प्रारम्भिक रूपको विकासले भावी जीव विकासको सम्भावना बढेर गयो ।

बहुकोषीय जीवको उत्पत्ति भएपछि विस्तारै वनस्पति तथा जनावरको पनि विकास भयो । त्यसक्रममा बहुकोषीय जीव, अन्य जनावरको पनि विकास प्रारम्भ भयो । समुद्रमा माछा, प्राणी र अन्य जीवको उदय भयो । आजभन्दा करिव ६.६ करोड वर्षपहिला एक उल्कापिण्डको ठक्करबाट डायनोसार लगायत झन्डै दुई तिहाई भन्दा बढी जीवको अस्तित्व संसारबाट विलुप्त भयो । जमिनमुनि बाँचेका जीवजन्तु र जनावरको जीवनका विभिन्न प्रकारले पृथ्वीमा जीवनको विविधता बढाउँदै लगे ।

यसैक्रममा स्तनधारी जीव विकास भइसकेको धेरै लामो कालखण्डपछि मात्र प्रारम्भिक मानवपूर्वज होमिनिडको विकास भयो । त्यसपछि आदिप्राइमेटस विकसित भए । यी प्राइमेटस दुई हागामा विभाजन भए । एक ग्रेट एप्स हुँदै गुरिल्ला ओराङओटाङ चिम्पान्जी भए । अर्को हाँगो अर्सट्यालोपिथेकस, नियान्डरथलको विकास हुँदै अन्ततः आजको मानव विकासको लागि आधार तयार भयो ।

सायद यसरी क्रमिक विकास हुँदै जाँदा यही कालखण्डमा मानिसले दुई खुट्टामा हिँड्न सुरु गऱ्यो । यो घटनालाई ‘बाइपेडलिजम’ (Bipedalism) भनिन्छ । जब मानिसले चार खुट्टाबाट दुई खुट्टामा हिँड्न थाल्यो, उनीहरूको शारीरिक संरचनामा केही महत्त्वपूर्ण परिवर्तन आए । जस्तो- दुई हात मुक्त भए । त्यसपछि ती चंचल हातले औजार बनाउने, खान बनाउने र विभिन्न सिर्जनशील कार्य गर्न थाले । दुई खुट्टामा हिँड्दा शरीरमा ऊर्जा कम लाग्ने हुँदा मस्तिष्कमा बढी ऊर्जा उपलब्ध भयो, जसले मानिसको मस्तिष्कले सोच्ने क्षमता र बुद्धिको विकासमा योगदान गऱ्यो । खुट्टामा उभिँदा मानिसको उचाइ बढ्यो, जसले टाढा-टाढासम्म देख्न हेर्न सिकार गर्न र सम्पूर्ण वातावरण अवलोकन गर्न सक्ने भयो । यसरी सिर्जनात्मक कार्य गर्न थालेपछि मानिसबीच काम बाँडफाँड गर्ने र अस्थायी रूपमा समूहमा बस्न थाल्यो, जसले समाज र संस्कृति निर्माणमा भूमिका खेल्यो । यसरी दुई खुट्टामा हिँड्न थालेपछि मानिसको शारीरिक र मानसिक विकासमा धेरै ठुला परिवर्तन आए ।

यसै सिलसिलामा होमोजिनसको उदय भयो । होमोजिनस (Homogenous) आधुनिक मानवसहित अन्य सबै मानव प्रजातिको महाप्रजाति हो, जसमा आधुनिक मानिससहित अन्य धेरै विलुप्त मानव सादृश्य प्रजाति समावेश छन् । यसमा विभिन्न प्रजातिलगायत ‘होमोसेपियन्स’सहित ‘होमोह्याबिलिस’, ‘होमोइरेक्टस’ जस्ता अन्य थुप्रै प्राचीन मानव प्रजाति पर्दछन् । होमोसेपियन्स (Homo Sapiens) भने होमोजिनसको एउटा प्रजाति हो, जसलाई हामी आधुनिक मानव भनेर चिन्छौँ । यो अहिले बाँचिरहेको एक मात्र होमो प्रजाति हो । अर्को शब्दमा ‘होमो’ भनेको एउटा ठुलो वर्ग हो र ‘होमोसेपियन्स’ यो वर्गको एउटा सदस्य हो ।

आधुनिक मानवको विकास लगभग तीन लाख वर्षअघिबाट सुरु भयो । होमोसेपियन्सको विकासले मानवको शारीरिक र मस्तिष्कको क्षमतामा ठुलो विकास ल्यायो । यस लामो र कठिन सङ्घर्षमा मानव-मस्तिष्कले कल्पना गर्ने क्षमता, आपसमा बोलीको माध्यमबाट विचार आदानप्रदान गर्न भाषाको विकास तथा अन्य उच्चस्तरीय जटिल कार्य गर्ने क्षमता विकास गऱ्यो, जसलाई कग्नेटिभ रिभोल्युसन भनिन्छ ।

मानव ज्ञानको युग :

कग्नेटिभ रिभोल्युसन (Cognitive Revolution) ले मानवीय सोच, बुझाइ र मानसिक क्षमताको तीव्र विकासलाई जनाउँछ । यो लगभग ७० हजार वर्षपहिले भएको मानिन्छ । यस अवधिमा मानव मस्तिष्कमा भाषा, साङ्केतिक चिह्न, कल्पना र समाजिक संरचना (Social Structures) जस्ता क्षमताको विकास भयो, जसले मानव सभ्यतालाई एकदमै नयाँ दिशामा अघि बढायो । यस चरणमा सबैभन्दा महत्त्वपूर्ण कुरा भाषाको विकास भयो, जसको विकासले गर्दा मानवले जटिल विचार र जानकारी अरूसँग सजिलै साझा गर्न थाले । सामाजिक संरचनाको निर्माणले मानिस समूहमा बस्न, सहयोग गर्न र ठुला सामाजिक समूह बनाउन थाल्यो । मुख्यतः कल्पना शक्तिको विकास भयो, जसले सिर्जनात्मक क्षमतामा वृद्धि भएर धर्म, संस्कृति तथा मिथकको विकास भयो । यसले गर्दा मानवले विभिन्न उपकरण र प्रविधिको आविष्कार गर्न थाले, जसले मानव जीवनलाई सहज बनायो ।

जब मानिसले कृषि र पशुपालनको सुरुवात गऱ्यो, तब पहिलोपटक व्यवस्थित स्थायी बसोबासको युग सुरुवात भयो । कृषि युग मानव सभ्यताको इतिहासमा एक अत्यन्तै महत्त्वपूर्ण चरण थियो । कृषि युग, जसलाई नवपाषाण युग पनि भनिन्छ, लगभग १० हजार वर्षपहिले सुरु भएको मानिन्छ ।

जब मानिसले सिकार सङ्कलन गर्न छोडेर व्यवस्थितरूपमा खेती र पशुपालन गर्न थाले, तब मानिसको जीवनशैलीमा धेरै परिवर्तन भयो, जसले मानव सभ्यताको विकासको लागि आधार तयार गऱ्यो । यस युगमा मानवजातिले व्यवस्थित कृषि प्रणालीको सुरुआत गऱ्यो । मानिसले व्यवस्थित बाली लगाउन र खेती गर्न थालेपछि खाद्यान्न उत्पादनमा वृद्धि भयो । यसले सिकारमा निर्भरता घटायो र खाना सुनिश्चित भयो । मानिसले माटोको उपयुक्तता, मौसमी परिवर्तन र बालीचक्रको बारेमा ज्ञान हासिल गऱ्यो ।

कृषिमा स्थायित्व आएसँगै मानिस एक स्थानमा स्थायीरूपमा बस्न थाले । यसले गाउँ, शहर र अन्य सामाजिक संरचनाको विकासलाई प्रोत्साहन गऱ्यो । बसोबासको स्थायित्वले मानिसलाई घर बनाउने, सुरक्षा गर्ने र सामाजिक सम्बन्धलाई अझ मजबुत बनाउने अवसर दियो ।

कृषिका साथै पशुपालन पनि कृषि युगको एउटा महत्त्वपूर्ण अंश बन्यो । मानिसले गाई, भैँसी, बाख्रा, भेडा, गधा र अन्य जनावरको पालनपोषण गर्न थाले, जसले दुध, मासु र ऊन जस्ता आवश्यक वस्तुको उत्पादन सुरु भयो । साथै, जनावरलाई खेतीका लागि प्रयोग गरिन थालियो, जसले उत्पादनमा सहयोग पुऱ्यायो । मानिसले पत्थर, हाड र काठ जस्ता साधन प्रयोग गरेर खेतीका लागि विभिन्न उपकरण बनाउन थाले । हालो, कोदालो र सिँचाइका साधनको विकासले खेतीलाई अझ सजिलो र प्रभावकारी बनायो ।

खेतिपातीको प्रभावकारिता बढाउन मानिसले सिँचाइ प्रणालीको विकास गरे । नदी, पोखरी र पानीका अन्य स्रोतको उपयोग गरेर खेतमा पानी पुऱ्याउन थालियो । यसले सुख्खा क्षेत्रमा पनि खेतीलाई सम्भव बनायो । कृषि उत्पादन बढेसँगै खाद्यान्नको भण्डारण प्रणाली पनि विकास भयो । मानिसले माटोका भाँडा तथा अन्य भण्डारण साधन बनाएर अनाज भण्डारण गर्न थाले । यसले खाद्यान्न सङ्कटको समयमा पनि खाद्यान्नको आपूर्ति सुनिश्चित गऱ्यो ।

कृषि युगमा खाद्यान्न उत्पादनमा वृद्धि हुँदा श्रमविभाजनको थालनी भयो । केही मानिस खेतीमा संलग्न रहँदा अन्यले कुमाल, लोहार र बुनकर जस्ता व्यवसायमा संलग्न हुन थाले । यसले वस्तु विनिमय र व्यापारलाई पनि प्रोत्साहन दियो, जसबाट सामाजिक, आर्थिक र सांस्कृतिक आदानप्रदान बढ्यो । यसरी कृषि युगले मानिसको जीवनशैलीमा व्यापक परिवर्तन ल्याइदियो र मानव सभ्यताको आधार तयार गऱ्यो । कृषि र पशुपालनले मानिसको आर्थिक अवस्था र समाज संरचनामा ठुलो परिवर्तन ल्याइदियो, जसले आधुनिक समाज निर्माणको मार्गप्रशस्त गऱ्यो ।

एक पुस्ताबाट अर्को पुस्तामा, एक समूहबाट अर्को समूहमा जानकारीको आदानप्रदान भाषाले सजिलो बनाएसँगै इतिहास, संस्कृति र ज्ञानलाई पुस्तान्तरण गर्न सम्भव भयो, जसले दर्शन र समाजको विकासको आधार तयार गऱ्यो । यसरी कृषि युगसँगै सभ्यता र दर्शनको पनि प्रारम्भ भएको मानिन्छ । कृषि युगको व्यवस्थित प्रवेशसँगै मानिसलाई सामाजिक संरचना र सभ्यताको विकास गर्न सक्षम बनायो । अब मानिसहरू प्राकृतिक वातावरणमाथि नियन्त्रण गर्न र विचारको संरचना बनाउन सक्षम भए । यस चरणमा मानिसले दृष्टिकोण, दर्शन, विज्ञान र कला जस्ता ज्ञानका क्षेत्रमा खोज र अध्ययन-अनुसन्धानको प्रारम्भ गऱ्यो ।

तत्कालीन मानव मस्तिष्कले जीवन, जगत् र अस्तित्त्वको बारेमा गहिरो अध्ययन गर्न थाल्यो । प्राचीन युनान, बाल्कन प्रायद्वीप र त्यस वरपरका टापु तथा एजेयन, इओनियन, मेडेटेरिनियन समुद्रको छेउछाउ, मेसोपोटामियाको टाइग्रिस र युफ्रेटस नदीकिनार, प्राचीन इजिप्टको निल नदीको किनार आसपास, प्राचीन चीनको यल्लो रिभर, ह्वाङ हो, याङत्जे, छाङ्ज्याङ नदी आसपासका क्षेत्र, प्राचीन जापानको नाराक्योतो तथा माउन्ट फुजी जस्ता पर्वत तथा प्राचीन भारतमा सिन्धु नदी किनारलगायत यस हिमाली उपमहाद्वीपमा पनि अतिरिक्त अन्नको उत्पादनले फुर्सदिला भएका मानिसले स्वैच्छिक रूपमा विचारविमर्श गर्न थाले । त्यसको परिणामस्वरूप हालको भारत-पाकिस्तानमा पर्ने सिन्धुनदीको किनारमा वैदिक सभ्यताको विस्तारै-विस्तारै विकास हुन थाल्यो । यसले कालान्तरमा श्रुतिस्मृति/गुरुशिष्य परम्पराका रूपमा वैदिक सभ्यता र दर्शनको विकासको सुरु भयो । यो सभ्यताको चक्र मंगोलिया, जापान, चीन, युरोप, मायामी सबैतिर चल्यो । मानव सभ्यताको लागि कृषियुगको महत्व अद्वितीय छ । ज्ञानको युगको शुरुवात पनि त्यही युगमा भएको मानिन्छ ।

यो पनि हेर्नुहोस्-