लस एन्जलस आगलागी : विस्थापितलाई घर फर्काउन कम्तिमा बिहीबारसम्म लाग्ने

लस एन्जलस आगलागी : विस्थापितलाई घर फर्काउन कम्तिमा बिहीबारसम्म लाग्ने


लस एन्जलसमा लागेको भीषण डढेलो र आगलागीका कारण आफ्नो घरबाट विस्थापित भएका दशौँ हजार मानिस कम्तीमा चार दिनसम्म घर फर्कन नसक्ने अधिकारीहरूले बताएका छन् ।

आगलागीमा परी मृत्यु हुनेको सङ्ख्या आइतबार रातिसम्म २४ पुगेको छ भने विस्तथापितको सङ्ख्या करिब एक लाखको हाराहारीमा रहेको छ । यस पहिले करिब एक लाख ८० हजारभन्दा बढी व्यक्ति विस्थापित भएकोमा कम जोखिम रहेका क्षेत्रमा मानिसहरू फर्किसकेका छन् ।

पलिसेड्स फायर र इटन फायरको बीचमा बन्द गरिएको खतरा क्षेत्रमा प्रवेश गर्ने आशामा निराश विस्थापितहरूले चेकप्वाइन्टहरूमा लाइनहरू बनाएका छन् ।

धेरै जना घर फर्कन आतुर छन् किनकि उनीहरूले केही क्षणको सूचना पाएर औषधि वा लुगाफाटा मात्रै लिएर घर छोडेका थिए ।

कतिपय घरमा छुटेका वृद्ध तथा अशक्त परिवारका सदस्यको अवस्थाबारे जानकारी पाउन उत्सुक छन् ।

लस एन्जलस काउन्टीका अग्नि नियन्त्रक एन्थोनी मारोनले भनेका छन्, ‘यस हप्ता हावाहुरीको पूर्वानुमानले आगलागीको आपतकालीन अवस्था अझै सकिएको छैन । उनीहरु घर जान सक्दैनन्, किनभने अझै बस्तीहरू सुरक्षित छैनन् । जतिसक्दो चाँडो बासिन्दाहरूलाई उनीहरूको घरमा फिर्ता ल्याउनु हाम्रो सामूहिक प्राथमिकता हो।’

बुधबारसम्म चल्ने तीव्र बतासलाई सङ्केत गर्दै उनले भने, ‘यो कुराकानी अनुमानित रेड फ्ल्याग इभेन्टको अन्त्यसम्म हुने छैन । कृपया निश्चिन्त हुनुहोस् । बिहीबार हामी पुनरुत्थानको बारेमा कुरा सुरु गर्नेछौँ ।’

आफ्नो नाम जेनेल बताउने एउटी महिलाले आफ्नो घर आगोले जलेको थाहा पाएको तर प्रत्यक्ष नदेखेको बताउँदै आफ्नो दुःख ले आर्जन गरेको सम्पत्तिको प्रत्यक्ष जानकारी लिन चाहेको बताए ।

उनले भने, ‘म फोटोहरू देखेको छु । भिडियोहरू पनि देखेको छु तर म यसलाई प्रत्यक्ष घटनास्थलमा पुगेर हेर्न र यसबारे मनमा रहेको आशालाई निर्मूल पार्न चाहन्छु।’