भारतीय अस्पतालमा भएको बलात्कार र हत्या घटनामा रोय दोषी ठहर

भारतीय अस्पतालमा भएको बलात्कार र हत्या घटनामा रोय दोषी ठहर


भारतको एक अदालतले शनिबार एक ३३ वर्षीय पुरुषलाई चिकित्सकमाथि बलात्कार र हत्याको दोषी ठहर गरेको छ । गत अगस्टमा भारतको पूर्वी शहर कलकत्ताको एक सरकारी अस्पतालको सेमिनार कक्षमा प्रशिक्षार्थी चिकित्सकको बलात्कारपछि हत्या भएको थियो । पीडितको रगताम्य शव फेला परेको थियो ।

घटनापछि सरकारी अस्पतालका चिकित्सकहरूले थप सुरक्षाको माग गर्दै कलकत्ता र भारतका अन्य ठाउँका हजारौँ नागरिकहरू ऐक्यबद्धता जनाउँदै डाक्टरहरूको विरोध प्रदर्शनमा सामेल भएका थिए ।

प्रतिवादी सञ्जय रोयको मुद्दा द्रूत गतिमा सुनुवाई अघि बढाइएको थियो र यस मुद्दामा एक हप्ता अघि मात्र बहस सकिएको थियो।

अस्पतालका नागरिक स्वयंसेवक रहेका रोयलाई बलात्कार र हत्याको दोषी ठहर गरेपछि न्यायाधीश अनिर्बान दासले सोमबार सजाय सुनाइने बताएका छन् । रोयले भने लगातार आफू निर्दोष रहेको बताउँदै आएका छन् ।

रोयलाई जेलको भ्यानले अदालतमा ल्याएको थियो । अदालतमा ल्याउँदै गर्दा प्रदर्शनकारीको भीडले उनीविरूद्ध नाराबाजी गर्दै आक्रमण प्रयास गरेपछि प्रहरी अधिकारीहरूले रोकेका थिए । रोयप्रति आक्रोश व्यक्त गर्न भेला भएका प्रदर्शनकारीले उनलाई मृत्युदण्ड दिनुपर्ने माग गरेका थिए।

उनीहरूले नारा लगाउँदै भने, ‘बलात्कारीलाई फाँसी देऊ, फाँसी देऊ।’

यौन हिंसाका घटनाहरूको रिपोर्टिङको सन्दर्भमा भारतीय कानूनअनुसार पहिचान नगरिएका पीडितका परिवारले पनि यो भावनालाई प्रतिबिम्बित गरेका थिए।

रोयबाट केही मिटरको दूरीमा बसेकी पीडितकी आमालाई उद्धृत गर्दै एएफपीले भनेको छ, ‘यदि उसलाई मृत्युदण्ड दिइएन भने आम मानिसले न्यायपालिकामाथिको विश्वास गुमाउनेछन् ।’ यसैमा मृतक युवतीका बुबाले थपे, ‘उसले हाम्रो छोरीको जीवनलाई क्रूरतापूर्वक अन्त्य गरेको छ । उ पनि त्यस्तै नियतिको हकदार हुन्छ।’

एक चिकित्सकमाथिको अपराधले देशव्यापी आक्रोश निम्त्यायो र राज्यभरिका डाक्टरहरूले पीडितलाई न्याय दिन र सरकारी अस्पतालहरूमा कडा सुरक्षा उपायहरूको माग गर्दै लामो समयसम्म विरोध प्रदर्शन गरेका थिए । मृतकको शव फेला परेको एक दिनपछि रोयलाई पक्राउ गरिएको थियो ।