ऊर्जामन्त्री र भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिवबीच शिष्टाचार भेट

ऊर्जामन्त्री र भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिवबीच शिष्टाचार भेट


ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कासँग भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरले शिष्टाचार भेट गरेका छन् ।

सिंहदरबारस्थित ऊर्जा मन्त्रालयमा मंगलबार (१५ माघ) भएको भेटमा नेपाल-भारत ऊर्जा सहकार्यका विविध विषयमा छलफल भएको थियो । भेटमा ऊर्जामन्त्री खड्काले नेपालले सुक्खा महिनामा भारतबाट प्राप्त विद्युत्ले यहाँको विद्युत् अभावलाई कम गर्न सघाउ पुऱ्याएको भन्दै भारत सरकारलाई धन्यवाद दिए । उनले वर्षाको समयमा नेपालमा विद्युत् बढी हुँदा भारत निर्यात भइरहेकाले यसले दुई देशबीचको सहकार्यलाई थप उचाइमा पुऱ्याएको धारणा राखे ।

ऊर्जामन्त्री खड्काले भारतले नेपालबाट १० वर्षमा १० हजार मेगावाट बिजुली निर्यात गर्ने सम्झौता गरिसकेकाले यसलाई सफल कार्यान्वयन गर्न मन्त्रालयले नीतिगत पहल गरिसकेको र नेपाल सरकारले लिएको ऊर्जा विकासको लक्ष्य हासिल गर्न दुई देशबीच आपसी सहयोग, समन्वय आवश्यक रहेको धारणा राखे ।

ऊर्जामन्त्री खड्काले गत अक्टोबर ३ मा नेपाल, भारत र बङ्गलादेशबीच भएको त्रिपक्षीय विद्युत् बिक्री सम्झौता नेपालको ऊर्जा क्षेत्रको विकासका लागि मात्र नभइ दक्षिण एसियाकै लागि एक ऐतिहासिक उपलब्धि भएको बताए । भर्खरै नयाँदिल्लीमा सम्पन्न नेपाल–भारत सह–सचिवस्तरीय बैठकले दुईवटा उच्च भोल्टेजका अन्तरदेशीय प्रसारण लाइनको निर्माण प्रारूपमा सहमति गरेकामा खुसी व्यक्त गर्दै मन्त्री खड्काले महाकाली सिँचाइका लागि टनकपुर मुख्य नहरबाट १० क्युमेक पानी छाड्न भारतले छिटो पहल गरिदिने विश्वास व्यक्त गरे ।

भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिव महावरले नेपालको जलविद्युत् क्षेत्रमा भारतले लगानी गर्न चाहेको भन्दै लगानीको उचित वातावरण निर्माण गर्न आग्रहका साथ अपर कर्णाली, पञ्चेश्वरलगायतका जलविद्युत् आयोजनाको चाँडो विस्तृत परियोजना प्रतिवेदन टुङ्ग्याउन अनुरोध गरे । भेटमा सहभागी मन्त्री खड्काका निजी सचिव मनोज पन्थका अनुसार भारतले निर्माण गरिरहेको अपर अरुण आयोजनाको कामलाई सहजीकरण गर्नसमेत महावरले आग्रह गरेका थिए ।

सो भेटमा मन्त्रालयकी सचिव सरिता दवाडी, वरिष्ठ ऊर्जाविज्ञ प्रवल अधिकारीलगायत नेपालस्थित भारतीय राजदूतावासका अधिकारीहरूको सहभागिता रहेको थियो ।

photo: rss