भिजिट भिसा : एउटा यस्तो अनुभव

भिजिट भिसा : एउटा यस्तो अनुभव


मुलुकमा अहिले भिजिट भिसाको चर्चा उत्कर्षमा छ । भिजिट भिसा प्रायः कुनैपनि मुलुकमा घुमघाममा जाने पर्यटक, साथीभाइ, आफन्त भेट्न जानेहरू, बिरामीको उपचारका लागि सम्बन्धित मुलुक जाँदै गरेकाहरू लगायतलाई दिइन्छ । विभिन्न कार्यक्रम, सभा, सेमिनारमा जानेहरू पनि भिजिट भिसामै जाने गर्छन्, जो छोटो अवधिको लागि हुने गर्छ । वर्षौंदेखि भिजिट भिसामा धेरै मुलुकहरू गइयो तर यसपटक त्रिभुवन अन्तर्राष्ट्रिय विमानास्थल अध्यागमनको अनुभव भने विगतमा भन्दा फरक रह्यो ।

यही सन् २०२५ को अप्रिल २१ तारिखका दिन पत्रकारितासम्बन्धी अवार्ड वितरण कार्यक्रम (फेतिसोभ जर्नलिजम अवार्ड) भाग लिन दुबई जाँदै थिएँ । त्रिभुवन अन्तर्राष्ट्रिय एयरपोर्टमा चेक इन भएर माथि इमिग्रेशनमा पुगेपछि त्यहाँकी कर्मचारीलाई पासपोर्ट कागजपत्र दिएँ । प्रायः हामी यात्रा गर्दा जसरी ट्राभल डकुमेन्टहरू दिन्छौँ त्यसैगरी दिएँ । उनले पासपोर्ट हेरेपछि आफैले केही खोजे झैँ गरिन् र मलाई हेरिन् । मैले मेरो भिसा यहाँ छ, होटेलको बुकिङ्ग कन्फर्मेसन यहाँ छ, रिर्टन टिकट यो हो, आयोजकको निमन्त्रणा… भन्दै एक एक डकुमेन्ट दिएँ । दुबईको सेराटन ग्राण्ड होटेलमा कार्यक्रम र बस्ने एकै ठाउँ थियो । उनले समय लगाएको देखेर होटेलका कारण कन्फ्युज भयो कि भनेर ठुलो कार्यक्रम भएकाले यहाँ राखेको हो पनि भने । तर उनले मैले भनेको कुरालाई खासै ध्यान दिएजस्तो लागेन । सबै डकुमेन्ट हेरेपछि ‘तपाईं पत्रकार हो र ?’ भनेर सोधिन्, मैले ‘हो’ भनेँ । म यो अवार्डको एक्सपर्ट काउन्सिलमा छु पनि भनेँ, जुन भनिरहनु आवश्यक थिएन ।

त्यसपछि उनले प्रेस परिचयपत्र मागिन्, मैले यो ठाउँ मैले प्रेस कार्ड देखाउने ठाउँ होइन तर म तपाईंलाई देखाउँछु भन्दै परिचयपत्र दिएँ । त्यसअघि कुनै पनि यात्रामा अध्यागमनमा प्रेस पास देखाएको सम्झना छैन । अन्तर्राष्ट्रिय यात्रामा पासपोर्ट भइहाल्छ, आन्तरिक यात्रामा परिचयपत्र देखाउँदा प्रायः पान कार्ड देखाउने गरेकी छु । तर उनले परिचयको लगि आइडी कार्ड नभइ प्रेस पास मागिरहेकी थिइन् । यात्रामा त्यसमा पनि इमिग्रेशनमा धेरै कुरा गर्ने न वातावरण हुन्छ न त चाहना नै । मैले यति भनेँ- ‘मसँग सबै डकुमेन्ट हुँदाहुँदै यहाँले किन प्रेस कार्ड माग्नुभयो मैले बुझिनँ, यसअघि कसैले मागेको थाहा छैन ।’ अनुमतिको छाप लागेपछि इमिग्रेसनबाट अगाडि बढ्दै गर्दा केही युवाहरूले एकछिन त कस्तो डर लागेको, जेमा पनि पैसा खर्च गर्नुपर्ने भनेको सुनेँ । पछि दुबई र अबुधावीमा त्यस्ता युवाहरू भेटेँ जसले आफन्त भेट्न दुबइ, अबुधावी जाँदा एयरपोर्टमा पैसा बुझाएका थिए । उनीहरूसँग आवश्यक सबै कागज पत्र हुँदाहुँदै पनि पैसा मागिएको थियो । ३० हजार, ३६ हजार बुझाउनु पऱ्यो भनेको सुन्दा अचम्म लाग्यो ।

फर्किएको दुई हप्तापछि २०८२ जेठ ७ गते ‘उनीहरू काममा ब्यस्त छन्, हामी कुरामा’ शीर्षकको लेखको अन्तिममा लेखेकी थिएँ- ‘‘भिसा र आवश्यक सबै डकुमेन्ट हुँदाहुँदै पनि एयरपोर्टको अध्यागमनमा मानिसहरू रोकेको देखियो । अचम्म त के भने केही समय रोकिएपछि कर्मचारीलाई पैसा दिएर उड्न पाएको पनि भेटियो । सेटिङमा मानिसहरू पठाउने, सेटिङमा नाम नपर्ने, अलि सोझा जस्ता मानिसलाई अनेक बाहानामा रोक्ने र अन्तिममा पैसा तिरेर उडाउने घटनाहरू बढिरहेका छन् । सम्बन्धित पक्षले यसमा निगरानी नगर्ने हो भने आ… भइहाल्यो… भनेर यात्रा गर्ने अहिलेको पुस्ता चुपचाप बस्ला जस्तो लाग्दैन, बस्न हुँदैन । भिसाको दुःख एकातिर भिसा भइसकेकाले पनि एयरपोर्टमा झेल्नुपर्ने दुःख अर्कोतिर ! सबै डकुमेन्ट साथमा हुँदाहुँदै पनि इमिग्रेसनमा ‘यहाँ बस्दै गर्नु’ भनेपछि यात्रा गर्ने मान्छे त्यसै आत्तिने रहेछ, परिणामतः बरु अलिअलि पैसा दिएरै भएपनि जान्छु, प्लेन त छुटाउनु भएन भन्ने अवस्थामा पुग्ने रहेछ । यस्तो अवस्था भोग्नेहरू उता गएपछि यस्तोसम्म भयो भनेर अहिले कुरामा सीमित छन् तर यस्तै अवस्था कायम रहे कुरामा मात्रै सीमित रहन्छन् भन्ने लाग्दैन, रहनु पनि हुँदैन । एयरपोर्ट अधिकारीहरूले यो विषयलाई गम्भीर रूपमा लिउन् ।’ संयोग, जेठ ९ गते भिजिट भिसामा सेटिङ मिलाउने कर्मचारी पक्राउको समाचार आयो ।

भिजिट भिसासम्बन्धी समाचारहरूमा प्रायः भिसा नै सबैले मिलेमतोमा दिलाउने र सेटिङमा पठाउने मात्रै समस्या हो जस्तो गरेर आएका छन् । तर आफन्त भेट्न या कुनै कार्यक्रममा भाग लिन जानेहरूलाई पनि अध्यागमनमा कागजपत्र मात्र देखाएर सहज रुपमा यात्रा गर्न पाएका छैनन् । उनीहरूलाई एक यता बस भनेर राखेपछि पैसा लिने गरिएको थियो । मैले भेटेका ती ब्यक्तिहरूलाई पैसा किन दिएको त ? भन्दा प्लेन छुट्न लागिसक्यो, फर्किएर अनेक झन्झटमा पर्नुभन्दा त ३६ हजार दिएँ भन्ने जवाफ पाएकी थिएँ । सामाजिक संजालको यस्तो ब्यापकतामा पनि कति ठुलो दुस्सहास ? जस्तो लागेको थियो । आफूले लेख्ने त छँदैछ, एक पल्ट गृहमन्त्री रमेश लेखकसम्म यो कुराचाहिँ पुऱ्याउनु पर्छ भनेर उहाँका एक निकटवर्तीलाई भनेकी पनि थिएँ । मन्त्रीलाई जानकारी दिएर घटना भइरहेको भन्ने सोच्ने कुरा पनि आएन । पुष्टि नहुँदासम्म शंकाको ठाउँ रहेपनि वास्तविकता के हो अनुसन्धानले नै बताउला । तर डकुमेन्ट सही हुँदाहुँदै पनि यात्रुलाई दुःख भने दिने गरिएको छ । जुन मुलुक जाने हो सम्बन्धित मुलुकबाट अनुमति लिएर यात्रा गर्दा माग्नैनपर्ने डकुमेन्ट माग्ने, एउटै कुरा पटक-पटक सोध्ने, अलि सिधासाधा जस्तो देखियो भने पैसाको डिल गर्ने…, यस्तो अवस्था पहिला थियो जस्तो लाग्दैन ।

इमान्दार राजनीतिकर्मीका रुपमा परिचित नेता रमेश लेखक गृहमन्त्री भएको बेला एयरपेर्टमा यसप्रकारको चलखेल हुनु निश्चय नै दुःखलाग्दो कुरा हो । अध्यागमनमा सुधार गर्नुपर्ने कुरा धेरै छन्, त्यसमध्येको एउटा कर्मचारीको ब्यवहार हो । सधै रिसाइरहे जस्तो मुहार, कहाँ जान लाग्नु भा’को ? भनेर सोध्दा पनि हकारेझैँ गरेर सोध्ने, सबैको होइन तर धेरैको ब्यवहार राम्रो हुँदैन । कामदारहरूप्रतिको ब्यवहार त्यस्तै छ । उनीहरूले कमाएर देशमा पैसा पठाइदिएका कारण रेमिटेन्सले देश चलेको छ भन्ने कुरा इमिग्रेशन प्रमुख, गृहमन्त्री को को बसेर तालिम दिनुपर्ने हो कर्मचारीलाई तालिम दिँदा राम्रो हुन्छ । गृहमन्त्री त आउने-जाने भइरहन्छ, कर्मचारी त तिनै रहन्छन्, त्यसैले उनीहरूको ब्यवहारमा परिवर्तन आवश्यक छ ।

अन्त्यमा, भिजिट भिसाका बारेमा खोजबिन गर्दा यसको अनेक पाटाहरूलाई लिएर गर्नुपर्ने हुन्छ । भिसा दिलाउँदादेखि एयरपोर्ट कटाउँदासम्मको नेटवर्क धेरै दह्रो छ । तस्करीको मुद्दासँगै सही कागजपत्रवालालाई दिनेगरिएको सास्ती र उठाउनेगरिएको पैसा त्यसमध्येको एउटा पाटो हो । लोक सेवा पास गरेर राष्ट्रसेवकको संज्ञा पाएकाहरूले लिने तलब सुविधा तिनै यात्रा गर्ने र नगर्ने नागरिकले तिरेको करबाट प्राप्त हुने हो भनेर सुरुमै बुझाउन सके अनावश्यक सास्ती खप्नुपर्ने थिएन । विदेश जाँदा होस् या फर्किंदा यात्रुलाई गर्ने ब्यवहार सौहार्द्धपूर्ण होस् । भिजिट भिसाका कारण मुलुक अहिले अन्तर्राष्ट्रिय जगतमा धेरै नै बदनाम भएको छ । यस्तै अवस्था रहेमा नेपाली नागरिकले कामविशेषले विभिन्न देश जानका लागि भिसा नै नपाउने अवस्था आउन सक्छ । नेतृत्वमा रहनेले आफ्नो र देशको इज्जत राखुन् ।