धर्मशाला-यात्रा, दलाई लामा र दुष्प्रचार

धर्मशाला-यात्रा, दलाई लामा र दुष्प्रचार


केही महिनाअघि तिब्बती धर्मगुरु दलाई लामासँग अमेरिकी राष्ट्रपति ओबामाले भेट गर्न लाग्दा चीनले आपत्ति जनाएको प्रसङ्ग विश्वव्यापी चर्चाको विषय बन्यो । तिब्बतलाई चीनले आफ्नै मुलुकको हिस्सा दाबी गर्दै आएको त सुनिँदै-बुझिँदै आएको कुरा थियो । तिब्बतीहरूले भगवान्जत्तिकै मान्ने तथा तिब्बतको स्वायत्तता आन्दोलनको शान्तिपूर्ण आन्दोलन र विश्वशान्तिका लागि पुर्‍याएको योगदानका लागि नोबेल शान्ति पुरस्कारबाट समेत सम्मानित दलाई लामालाई चीन पटक्कै रुचाउँदैन भन्ने कुरा पनि सर्वव्यापी नै छ । तथापि, दलाई लामालाई अमेरिकी राष्ट्रपतिले भेट्नै नमिल्ने या सो भेटघाटको त्यसरी आपत्ति जनाउनुपर्ने कारण के पर्‍यो भन्नेचाहिँ पङ्क्तिकारले गहिरिएर बुझ्न नसकेकै विषय रह्यो । अर्थात्, आफूलाई मन नपरेको कुनै व्यक्तिलाई अरू कसैले पनि भेट्नै नहुने/नमिल्ने भनी विचार लाद्न खोज्नु आजको लोकतान्त्रिक युगमा कहाँसम्म उचित हो, बुझ्न सकिएन । आफ्नो शत्रु जतिसुकै असल भए पनि सबैले घृणा नै गर्नुपर्छ भन्ने आशय पो हो कि ? यदि यस्तै हो भने यो कति जायज या स्वीकार्य हुनसक्ला, छलफलकै विषय हो ।
दलाई-ओबामा भेटको हप्तौँ पुरानो प्रसङ्ग यतिखेर कोट्याउनुपर्ने सन्दर्भ यसरी पैदा भयो । ‘विश्वले जानेमानेका दलाई लामासँग साक्षात्कार गर्ने अवसर हासिल भए तयार हुने हो ?’ भनी एक मित्रले एक दिन अचानक सवाल गरे । दलाई लामाको अन्तर्राष्ट्रिय व्यक्तित्व र उहाँको खुला जीवनीलाई पनि एउटा रहस्यजस्तो रङ्ग दिएर एकथरीले प्रचार गरिरहेको यथार्थका कारण, एक सञ्चारकर्मी हुनुको नाताले पङ्क्तिकारले सो प्रस्ताव अस्वीकार गर्नै सकेन । जसको कसैसँगको एक सङ्क्षिप्त भेट पनि विश्वका महाशक्ति राष्ट्रहरूको सम्बन्ध-सन्तुलनको सवाल बन्न सक्छ, त्यस्ता व्यक्तित्व वा उनको कामलाई नजिकबाट किञ्चित मात्रामै सही, बुझ्न पाइने अवसरलाई इन्कार गर्ने कुरा पनि भएन । यही सोचबाट प्रेरित हुँदै निश्चित तिथिमा दलाई लामाले निर्वासित जीवन बिताइरहनुभएको स्थान छिमेकी मुलुक भारतको हिमाचल प्रदेशस्थित धर्मशाला प्रस्थान गरियो । निर्धारित कार्यक्रमअनुसार भेटघाट गरी दलाई लामासमक्ष आफ्ना केही जिज्ञासा राख्ने तथा उहाँका अभिव्यक्ति सुनेर सन्तुष्टि हासिल गर्ने कार्य सम्पन्न भयो । सन्दर्भ यत्ति मात्रै थियो, तर एक अन्तर्राष्ट्रिय सार्वजनिक व्यक्तित्व र सञ्चारकर्मीहरूबीचको कुनै दुउद्देश्यबिनाको सामान्य साक्षात्कार कार्यक्रमलाई केही नेपाली मिडियाले ‘भयानक गल्ती’ र ‘सरकारी षड्यन्त्र’का रूपमा प्रचार गर्ने दुष्कर्म गरेकाले धर्मशाला-भ्रमण सन्दर्भमा दुई पङ्क्ति कोर्नु आवश्यक ठानिएको हो ।
तिब्बती एवम् तिनका शुभचिन्तकहरूबाट ‘परमपुज्य’ सम्बोधन गरिने दलाई लामाले वातचितको सुरुमै प्रश्न गर्नुभयो, ‘नेपालमा नयाँ संविधान निर्माण गर्ने म्याद त थपियो होइन ? अब एक वर्षभित्र लेखिएला त संविधान ?’ उहाँको यस्तो अनपेक्षित जिज्ञासाले सुखदाश्चर्य नतुल्याउने सवालै रहेन । नेपालको संविधानलेखनबारेको उहाँको यस चासोले दलाई लामा र समस्त तिब्बतीजनको नेपालप्रतिको आत्मीय भाव दर्शाइरहेको अनुभूति भयो । नेपालमा जारी शान्ति स्थापना तथा लोकतन्त्र संस्थागत गर्ने प्रक्रियाले चाँडो मूर्तरूप हासिल गरोस् भन्ने दलाई लामाको हारि्दक कामनासँगै सुरु भएको कुराकानीका क्रममा उहाँले जन्मभूमिको सम्झना गर्दै भन्नुभयो, ‘कुनै पनि व्यक्तिलाई आफू जन्मेको ठाउँको प्रगाढ माया लाग्छ, मलाई पनि लाग्छ ।’ सन् १९५९ मा देश छोड्न बाध्य भएयता हिमाचलस्थित धर्मशालामा निर्वासित जीवन बिताइरहनुभएका उहाँ तिब्बती जनताको नाजुक अवस्थाका बारेमा विश्वव्यापी चेतना जगाउनका लागि मात्र नभई मैत्री, करुणा र क्षमाको सन्देश फैलाउन पनि विश्वभ्रमण गरिरहनुभएको छ । ‘अहिले नै बिब्बत पुगौँ र त्यहाँको माटो छोइहालौँ भन्ने लाग्छ, तर मेरो त्यो मार्ग अवरुद्ध तुल्याइएको छ’ भन्नुहुने दलाई लामा ५० वर्षभन्दा बढी समयको धर्मशाला बसाइले आफूलाई ‘भारतको छोरो’ भने पनि हुने अवस्थामा पुर्‍याएको स्वीकार गर्नुहुन्छ । ‘मैले पाँच दशक अवधि भारतको नुन-रोटी खाएको छु, यति लामो समय यहाँको अन्नपानी खानुको अर्थ शारीरिक रूपले यहीँको हुनुसरह हो,’ उहाँले थप्नुभयो, ‘यहाँ रहँदा मैले तिब्बतबाट छुटि्टनुपरेको अनुभूति गर्नुपरेको छैन, किनकि यहाँ स्वतन्त्रता छ, मलाई आफ्ना कुरा उठाउन सजिलो भएको छ जो तिब्बतमा रहेर म गर्न सक्दिनथेँ ।’ बुद्धको जन्मस्थल नेपालको लुम्बिनी हुनुको नाताले नेपाल र नेपालीसँग आफ्नो हृदय जोडिएको उहाँको कथन थियो भने तिब्बती र नेपाली जनतालाई उहाँले जुम्ल्याहा दाजुभाइको संज्ञा दिनुभयो ।
तिब्बतका बौद्धमार्गीहरू करुणाका देवता अवलिकितेश्वरको अवतारका रूपमा दलाई लामालाई श्रद्धाभक्ति गर्छन् भने विश्वले शान्त, सहनशील र ज्ञानी व्यक्तिका रूपमा उहाँलाई स्वीकार गरेको छ । तर, स्वतन्त्रता प्राप्तिको अभियन्ता बनेपश्चात् चीनले आफूलाई ‘राक्षस’का रूपमा चित्रित गर्न थालेको दलाई लामाको अभिव्यक्ति थियो । कुराकानीका बेलामा हाँसो-ठट्टा गर्ने उहाँको स्वभाव रहेछ । चीनले ‘राक्षस’ ठानेको प्रसङ्ग कोट्याउँदा दलाई लामाले ठट्यौलीमिश्रति लवजमा भन्नुभयो, ‘मजस्तो राक्षसलाई पनि भारतले स्वीकार गरेको छ, किनकि यहाँ स्वतन्त्रता र मानवताको आवाजको सम्मान छ ।’
तिब्बत तथा चीन दुवैको हित हुनेगरी शान्तिपूर्ण एवम् चिरस्थायी समाधानको उपाय पत्ता लगाउनेमा उहाँको चासो र चिन्ता रहेको बुझिन्थ्यो । यससम्बन्धी जिज्ञासामा उहाँले ‘मैले कुनै तिब्बत स्वाधीनताको कुरा गरिरहेको छैन, स्वतन्त्रताको मात्र कुरा गरेको हुँ, मेरो आवाज कुनै गैरसंवैधानिक पनि नभएकोले विश्वसमुदायबाट समर्थन मिलेको छ’ भन्नुभयो । यसरी ‘फि्र तिब्बत’को मतलब राज्य टुक्र्याउनु होइन बरु स्वायत्तता हो भनी बुझाउने क्रममा उहाँले चीनले स्वतन्त्रताको कुरा गर्दै उपनिवेशको व्यवहार गरेको सङ्केत गर्नुभयो । ‘तिब्बतको आफ्नै संस्कृति, भाषा, भेष र सम्पदा छ, यसको आफ्नै समृद्ध इतिहास छ, तर यो सब मेटाउने कसरत भएकोमा आफूलाई पीडा पुगेको छ’ भन्दै दलाई लामाले चीनमा परिवर्तनको लहर चलेको, मानवाधिकार र प्रजातन्त्रको आवाज उठेको जानकारी गराउनुभयो । वार्ताद्वारा समस्या समाधानको प्रयासलाई नै आफूहरूले प्राथमिकता दिने स्पष्ट पार्दै कसैको जय-पराजय होइन सबैको ‘विजय’ आफूले चाहेको उहाँले उल्लेख गर्नुभयो ।
‘अहिंसा नै प्रमुख शक्ति हो,’ दलाई लामाको दृढ आवाज थियो, ‘तिब्बत स्वतन्त्रताको मामलामा कदापि सशस्त्र विद्रोह हुँदैन, आन्दोलन अहिंसात्मक नै हुन्छ र हुनुपर्छ ।’ उहाँले भन्नुभयो, ‘यथास्थिति कहीँ पनि टिक्दैन, तिब्बती जनता परिवर्तन र स्वतन्त्रता चाहन्छन् जो पूरा भएरै छोड्छ । आध्यात्मिक भविष्यवाणी यही छ कि तिब्बतमा चाँडै सुधार हुन्छ र यसले मुक्ति पाउँछ ।’
राम्रो कुराको अनुशरण गर्न र नराम्रोलाई आलोचना गरी त्याग्न हिच्किचाउन नहुने उपदेश दिँदै एक सन्दर्भमा उहाँले भन्नुभयो, ‘सुरुमा माओको विचार राम्रो थियो, त्यसैले क्रान्ति सफल भयो, तर पावरमा पुगेपछि माओ पनि तानाशाही बने । नेपालका माओवादीले पनि माओको अन्ध समर्थन गरी हिंसात्मक व्यवहार नगरी राम्रो पक्षको मात्र अनुशरण गर्नु हितकर हुन्छ ।’
शान्ति र अहिंसाप्रतिको कटिबद्धताकै कारण विश्वभर प्रशंसा र सम्मान पाउनुभएका दलाई लामासँगको साक्षात्कारपछि पङ्क्तिकारले अनुभूति गर्‍यो- वास्तवमा दलाई लामा एवम् उहाँका अनुयायीहरू शान्ति, सत्य र विजयको अभियानमा प्रतिबद्ध छन् जो उनीहरू अहिंसाबाटै त्यो उपलब्धि हासिल गर्न चाहन्छन् । कहीँ-कतैबाट औंल्याइएझैँ उनीहरू कुनै त्यस्तो बाटोमा हिँडिरहेका छैनन् जसका निम्ति विरोध र आलोचनामा औंला उठाउनु परोस् ।
– जयप्रकाश त्रिपाठी

नेपालमा रहेका १९-२० हजार तिब्बती शरणार्थीमध्ये चार हजारजतिको शरणार्थी प्रमाणित हुने कुनै कागजात छैन । अब बन्ने संविधानले उनीहरूको पहिचान दिलाउने व्यवस्था गरोस् भन्ने कामना गरेका छौँ ।
राजा ज्ञानेन्द्रको शासनकालमा ‘राजा र दलाई लामाबीच गोप्य भेटघाट भएको’ समाचार प्रकाशित हुँदा दु:ख लाग्यो । त्यसको खण्डन पठाउँदा प्रकाशित गरिएन । कसको डरले खण्डन प्रकाशित गरिएन होला भन्ने जिज्ञासा लागिरहेको छ ।
परम्पावन दलाई लामा जीवित रहँदासम्म तिब्बत स्वतन्त्रताको मामलामा आलटाल गरी टार्ने चीनको चाल रहेको आठ चरणसम्मको वार्ताबाट बुझिन्छ, यो रवैया ठीक होइन ।
– प्रो. सामदोङ रेम्पोछे
(निर्वासित तिब्बती सरकारका प्रधानमन्त्री)

नेपालले जुनसुकै देशसँग पनि राम्रो सम्बन्ध राख्न खोज्नु स्वाभाविक छ । तर, नेपाली मिडियाले चीनको तरफदारी आवश्यकताभन्दा बढी पो गरिरहेको हो कि जस्तो यदाकदा अनुभूति हुन्छ । हाम्रो मामलामा सकारात्मक सोच बनाइदिए हुन्थ्यो भन्ने अभिलाषा छ । नेपालमा रहेका शरणार्थीको सुरक्षा गर्ने जिम्मा मानवअधिकारको पक्षमा बुलन्द आवाज उठाउँदै आएका नेपाली मिडियाको पनि हो भन्ने लाग्छ ।
– डोल्मा ग्यारी
(निर्वासनमा रहेको तिब्बती संसद्की उपसभामुख)

तिब्बतको मामला केवल तिब्बत र तिब्बतीको होइन, यसलाई विश्वव्यापी मानवाधिकारको आँखाबाट हेरिनुपर्छ । विश्वशान्ति स्थापनाका लागि तिब्बत मामलाको शान्तिपूर्ण समाधान हुनुपर्छ । तर, चिनियाँ सरकार अझै यसका निम्ति तयार नरहेझैँ देखिन्छ । तिब्बती शरणार्थी मामलामा नेपाली जनता र नेपाल सरकारले दर्शाएको सद्भावका लागि हामी कृतज्ञ छौँ ।
– डोल्कर ल्हामो कीर्ति
(तिब्बती महिला सङ्घकी अध्यक्ष एवम् संसद् सदस्य)