एउटै हो नेपालका सबै जातिको वंश

एउटै हो नेपालका सबै जातिको वंश


—ईश्वरीप्रसाद तिवारी
नेपालको संस्कृति अर्बौं वर्ष पुरानो छ । बसुधैव कुटुम्बकम् भन्ने मान्यतामा विश्वास गर्ने हामी सबै ईश्वरका सन्तान हौँ । पूरै पृथ्वी हाम्रो परिवार हो । पौराणिक शास्त्रअनुसार कैलाशमा महादेव बसेदेखि उनका भक्तहरू युरोप, इराकदेखि घुम्दै भारतसम्म पुगेका देखिन्छन् । जो नेपालमै बसे ती ऋषि–महर्षिका रूपमा चिनिए । जस्तो कि, म्याग्दीमा पुलत्स्य ऋषिको आश्रम छ । पुलत्स्य संसारलाई नै हाँक्ने सनातन धर्मको थितिबिति बसाल्ने महर्षि हुन् । प्राणी मात्रलाई नभएर ढुङ्गा–माटोलाई समेत, अर्थात् चलअचल सबैलाई समान भावले हेर्नुपर्छ भन्ने उनको चिन्तन थियो । उनै पुलत्स्य ऋषिको नातिका रूपमा त्यहाँ त्रेतायुगमा रावण जन्मेका हुन् । अहिले पनि त्यहाँ रावणको नाभी गाडेका स्थान, रावणले खेलेको थलो आदि देख्न सकिन्छ । जसको नामबाट ‘भारत’ राज्य बन्यो ती भरत सम्राट पनि पुलत्स्य आश्रममा सारा राजपाट छोडेर आई तीन जन्मसम्म तपस्या गरेर मोक्ष प्राप्त गरेका कुरा पुराणमा वर्णन गरिएको छ । त्यस्ता महर्षिका नाति रावणचाहिँ राजशी भावनामा ढल्केको देखेर पुलत्स्य र पुलत्स्यपुत्र (रावणका बाबु)ले पनि ‘तिमी घर छाड’ भनेकोले रावण श्रीलङ्का गई त्यसैलाई राजधानी बनाएर संसारका धेरै स्थानमा राज्य गरेका थिए ।
कलियुगको कुरा गर्ने हो भने, महाराजा विक्रमादित्य पनि काठमाडौंमा जन्मेका हुन् भन्ने पौराणिक ग्रन्थले प्रमाणित गरेको छ । तर, मध्यप्रदेश (भारत)को उज्जैनमा उनले आफ्नो राजधानी स्थापित गरेका थिए । अहिलेसम्म संसारमा जति पनि राजाहरू भए तीमध्ये बत्तिस लक्षणले युक्त (सर्वोत्कृष्ट)चाहिँ विक्रमादित्य नै हुन् । आफ्को शासनकालमा १२ वर्षसम्म निरन्तर पानी नपरेपछि विक्रमादित्यले आफ्नो गर्धन नै कटाएर बलि दिए । त्यसपछि पानी पर्‍यो र जनताको हित भयो । जनताका लागि त्यसरी जीवन नै आहुती गर्न सक्ने राजा भएकोले नै उनको नाम ठूलो छ । यसरी आफ्नो बलि दिँदा उनको टाउको उछिट्टिएर उडेर गई साँखुको बज्रयोगिनीमा पुगेछ । बज्रयोगिनी राजा विक्रमादित्यकै कुलदेवी हुन् । अहिले पनि उक्त शिरलाई तथागत बुद्धका रूपमा मानिएको छ । उनको मृत्यु भइसकेपछि उनको सिंहासनका ‘बत्तीस लक्षण’ पुत्लीहरूले ‘तपाईंको मृत्युपछि हामी पनि मुक्त भएर जान्छौँ’ भनीकन पाशुपत क्षेत्रको निकटमा आएर समाहित भए, जुन स्थानलाई आज हामी बत्तीसपुतली भन्छौँ । उनको जन्म हालको नारायणहिटी दरबारनजिकको नारायणधारा परिसरमा भएको हो भन्ने ऐतिहासिक ग्रन्थहरूले बोलेको देखिन्छ । नेत्रायुगका राम पनि बत्तीस लक्षणले युक्त थिएनन् । रामलाई ‘पुरुषोत्तम्’ या ‘आदर्शवान्’ राजाका रूपमा लिइए पनि बत्तीसै लक्षणले युक्त राजाचाहिँ अहिलेसम्म फेला परेका प्रमाणअनुसार विक्रमादित्य मात्रै हुन् । यिनै विक्रमादित्यले उज्जैन राजधानी बनाएर राज गर्दा आरम्भ गरेको सम्वत् हो ‘विक्रम सम्वत्’ । भारतमा त पछि सक सम्वत् तथा अन्य सम्वत्हरू प्रचलनमा रहे पनि विक्रमादित्यको जन्मभूमि नेपालमा भने अहिलेसम्म पनि विक्रम सम्वत् टिकिरहेको छ, अन्य अनेकौँ सम्वत्हरूको बीचमा पनि ।
अब नेपालमा जातिहरूको विकास कसरी भएको छ भन्नेबारे हेरौँ । तेत्रायुगसम्म फर्केर हेर्दा ब्राह्मणहरूलाई कुनै प्रकारको सम्पत्ति राख्ने अधिकार थिएन । उसले हलो जोत्न नपाउने, सम्पत्ति राख्न नपाउने, दिएको दानबाट आफ्नो गुजारा चलाएर संसारको कल्याणका लागि कर्म गर्नुपर्ने व्यवस्था थियो । संसार नै उसको परिवार भएकोले र सबैको कल्याण गर्नुपर्ने दायित्व रहेकोले उसलाई सङ्कुचित हुन नदिनका लागि सम्पत्ति राख्ने अधिकार नदिएको बुझिन्छ । पछि आएर मात्र अलिअलि गरेर बन्देज हट्दै स्वतन्त्रता फुक्दै गएको हो ब्राह्मणका हकमा । जब बन्देज तोड्दै बिहेवारी गर्ने, सम्पत्ति जोहो गर्ने क्रम बढ्यो, त्यसो गर्नेहरूलाई छुट्टै ‘जात’ दिने व्यवस्था गरियो । यसरी जातहरू बढे । तर, नेपालका गुरुङ, मगर या जुनै जात पनि लिएर हेर्ने हो भने सबैका वंश एउटै हो । एउटै वंशबाट भिन्न–भिन्न भएर आएका हुन् सबै । आफ्नो प्रवृत्तिअनुसार कसैले रक्सी खान पाए, कसैले सुङ्गुर–बङ्गुर खाए, त्यो आफूले भोग्न थालेको स्वतन्त्रताअनुसार हुँदै गएको मात्र हो । आपसमा क्लेस नगरी यत्तिका वर्षसम्म सबै जातजाति नेपालमा मिलिजुली बसेको एउटै वंशबाट फैलिएको हुनाले नै हो । एउटै वंशमा थरीथरीका बाहुन छन्, एउटै वंशमा ठकुरीहरू छन्, गुरुङ छन्, मगर छन् एउटै–एउटै वंशमा थरी–थरी । कसरी यिनलाई छुट्याइयो त भन्दा एउटै परिवारमा पनि क्षमता र प्रवृत्तिअनुसार कसैको खरिदारमा पोस्टिङ भयो, कोही अधिकृत भए, कोही तिनलाई समेत लिड गर्ने नेतृत्व तहमा पुगे, कोही आफ्नो रुचिले डकर्मी भए त कोही सिकर्मी भनेजस्तै पछि विभक्त भएका मात्र हुन् । पेसा गर्ने स्वतन्त्रता पाएपछि पेसाअनुसार छुट्टिँदै गएका हुन्, वंश त यहाँ सबैको एउटै हो ।
एउटै वंश या गोत्रभित्र धेरै जाति समेटिएर पनि जातीय विद्वेष भड्किएको आफ्नै इतिहास नुबझेर नै हो । जस्तो कि एउटा आत्रेय गोत्रलाई लिऊँ, यस गोत्रभित्र खड्का पनि छन्, दुलाल पनि छन्, थापा, सिग्देल, पौडेल, दुवाडी, पोखरेल पनि छन् । यसैगरी घोताने गुरुङहरू पनि यसै गोत्रभित्र छन् । बिहेवारीका आधारमा यी छुट्टिएका हुन् । अलग खानपिन, अलग प्रवृत्ति, अलग प्रकृति र अलग्गै सङ्गतले हाउभाउ, व्यवहार र चेहरासम्म पनि छुट्टिँदै गएको हो । मंगोलियन र आर्य भनी छुट्याइएको पनि बाहिरी आवरणका रूपमा मात्र हो । त्यो अलग देखिन गएको माथि उल्लेख गरेझैं प्रवृत्ति, प्रकृति, आहारविहार फरक परेकाले कालान्तरमा गएर यस्तो भएको मात्रै हो । कसैको पुस्ता गएर २–४ पुस्ता अमेरिका बसिदियो भने उसको भाषा–भेष, रहनसहन, प्रवृत्ति, प्रकृति, रङ्ग–रूप स्वत: परिवर्तन हुन पुग्छ । खानपिन, रहनसहन बिहेवारीले बाहिरी रूपलाई अन्तर पारिहाल्छ ।
त्रेतायुगभन्दा पहिला त नेपालभूमि विभिन्न ऋषिहरू आउने, घुम्ने, तपस्या गर्ने थलो नै थियो । त्यस युगपछि मात्र यहाँ राज्य गठन गर्ने, राजा हुने, सम्पत्ति राख्ने आदि प्रवृत्ति देखापरेको हो । सबभन्दा पछि मात्र हो नेपालमा ‘राज्य’ स्थापना भएको, अन्यथा यहाँको संस्कृति नै हमेसा ‘बसुधैव कुटुम्बकम्’ नै हो ।
यतिबेला मानिसले आ–आफ्नो पहिचानको खोजी गर्न थालेको सवालमा म के भन्छु भने सबैभन्दा ठूलो पहिचान त आज ‘नागरिकता’ नै भइहाल्यो नि † संसारमा जहाँ पुगे पनि ‘म यो देशको, यो ठाउँको, यो गाउँको, यो टोलको निवासी हुँ, मेरो नाम यो हो’ भन्ने त्यही नागरिकताले खुलाइदिन्छ भनेपछि पहिचानका लागि नागरिकता छोडेर अरू के खोजिरहनुपर्‍यो ? मेरो भाषा यो, धर्म यो, क्षेत्र यो भनेर त्यसैका नाममा पहिचान खोज्नुलाई अन्यथा नै त भन्न नमिल्ला तर यो तर्कसङ्गत मान्न भने सकिन्न । सूक्ष्म रूपमा हेर्दा त प्रत्येक मान्छे अर्कोभन्दा भिन्न हुन्छ । एउटै दाजुभाइमा पनि कोही अग्लो, कोही पुड्को, कुनै गोरो, कुनै कालो हुन्छ । अब ‘म फलानाको छोरो हुँ’ भन्ने पहिचानलाई छोडेर म काले हुँ, म फुड्के हुँ भन्ने खालको पहिचान खोज्न किन पर्‍यो र ? तसर्थ वास्तविक पहिचान भनेको आजको समयमा व्यक्तिको नागरिकता नै हो । त्यसपछिका पहिचान त उसको योग्यता, पढाइलेखाइ, गुण–अवगुण, विचार–व्यवहार जे पनि हुनसक्छ ।
धर्म, संस्कृति, जातिका आधारमा पहिचान खोज्ने प्रवृत्तिका हकमा यति मात्र भन्न चाहन्छु कि धर्मको दशवटा लक्षण हुन्छ । संसारभर जे–जति धर्म छन् दशवटा लक्षणबाट अलग छैनन् । हिन्दूधर्म भनेको यस्तो अथाह सागरसरह हो कि यसबाट लिनेले जति पनि लिन सक्छन् । कति लिने भन्ने त लिने व्यक्तिको खुवी या उसको पात्र (भाँडो)मा भरपर्छ । धर्मका सबै लक्षण धारण गर्नसके राम्रो हो, तर जसले जति सक्छ त्यति धारण गर्ने हो । जातीय पहिचानका नाममा कोकोहोलो मच्चाउन खोज्नेहरूलाई यस्तो हावादारी तवरले नदौडन सुझाव दिन सकिन्छ । हुन त अङ्कज्योतिषमा नेपाल ‘२२’ अङ्कमा आउँछ । २२ अङ्कको मतलब हुन्छ– आँखा चिम्लिएर दौडनु । यस अर्थमा यहाँ त्यत्तिकै आँखा चिम्लिएर ‘हो–हो’मा दौडने प्रवृत्ति व्याप्त देखिएको होला । अब सबैले आँखा खोल्नुपर्‍यो, पुराना अर्थात् लाखौँ–करोडौँ वर्ष अघिदेखिको यथार्थ के छ भन्ने बुझ्नुपर्‍यो, आफूलाई चिन्नुपर्‍यो । जाति भनेको रहनसहन, खानपिन आदिका कारणबाट छुट्टिएको हो, मूलमा हामी एकै वंशका सन्तति हौँ भने यथार्थ भावना आफूमा समाहित गरी तद्अनुकूल व्यवहार गरौँ । वास्तवमा हामी नेपालीले त पृथ्वी नै एउटै घर हो, संसार नै परिवार हो र विश्वका सात अर्ब जनसङ्ख्या सबै आफ्ना दाजुभाइ–दिदीबहिनी हुन् भन्ने भावना राख्नुपर्छ । यस्तो भावनाबाट अघि बढ्नुपर्ने बेलामा आपसी एकत्व नै भुलेर पराया व्यवहार गर्न खोज्नु ठूलो अनर्थ र अव्यावहारिक हो । दुई लाख, चार लाखको अलग समुदाय बनाई आँखा चिम्लिएर अघि बढ्न खोज्नु गलत हो, आत्मघाती कदम हो । सबै नेपालीले आँखा खोल्नुपर्‍यो, संसारकै इतिहास बुझ्नुपर्‍यो र नेपालजस्तो संरक्षित राष्ट्रको विशेषता बुझेर व्यवहार गर्नुपर्‍यो । पाँच सयजति सङ्ख्या भएको राउटेदेखि लिएर लाखौँको सङ्ख्यामा रहेका जातिको समेत उत्तिकै महत्वका साथ संरक्षण गरिने राष्ट्र हो यो, यसको महिमा बुझ्नुपर्‍यो । संरक्षित देश भएकैले नेपालमा एक सय २० प्रकारका जाति, त्यसभन्दा बढी संस्कृति, त्यत्तिकै बढी भाषा यहाँ अटाएर प्रेमपूर्वक रहेको हो । पहिलेका पुस्ताले यो बुझेका थिए तर आजका पुस्तालाई यो यथार्थ ज्ञानबाट वञ्चित तुल्याउँदै लैजान खोजेको आभास हुन्छ । यस्तो नहोस् । सङ्कुचित होइन फैलने चेष्टा गरौँ । उदात्त भाव विकसित गरौँ । सङ्कुचित हुनु भनेको विनासतर्फ लाग्नु हो, अस्तित्व मेटिँदै जानु हो । तसर्थ सङ्कुचित बनेर विनासतिर नलागौँ । बढी सङ्कीर्णताले आपसमा वैमनस्य ल्याउँछ र विनास गराउँछ । यदुवंशले भोगेको नियतिबाट पाठ सिकौँ ।
(०१० सालमा पर्वतमा जन्मिनुभएका ईश्वरीप्रसाद तिवारी पाँच वर्षकै उमेरमा भारत जानुभयो । शासक राणाहरूको सङ्कुचित विचारका कारण उहाँका पुर्खा ७० वर्षअघि नै नेपाल छोडी भारत गएकाले त्यहाँ पनि तिवारी परिवारले जायजेथा जोडेको थियो, तथापि तिवारी परिवारको नेपाल आतेजाते भने कायम नै रह्यो । ईश्वरीप्रसादको पढाइलेखाइ भारतमै भयो । अलइन्डिया कम्पिटिसनबाट इन्जिनियरिङ विषयमा मास्टर्स गरेर पनि नेपालको मौलिक प्राचीन धर्म–संस्कृति तथा अध्यात्मका विषयमा गहिरो ज्ञान राख्नुहुने तिवारीसँग यहाँका जातजातिको उद्गमबारेमा केन्द्रित रही गरिएको कुराकानीका आधारमा तयार गरिएको आलेख समय–सान्दर्भिक ठानेर प्रस्तुत गरिएको हो ।)