नेपाली कांग्रेसका नेता एवं १५औँ महाधिवेशनका लागि महामन्त्रीका उम्मेदवार नैनसिंह महरले मुलुकको वर्तमान संवैधानिक संकटको एकमात्र निकास फागुन २१ गतेको निर्वाचन नै भएको र यसै निर्वाचनमा डायस्पोराले मतदान गर्ने बन्दोबस्त मिलाउन आवश्यक भएको बताएका छन् ।
अन्तर्राष्ट्रिय आप्रवासी दिवसका अवसरमा आयोजित वेविनारमा बोल्दै नेता महरले डायस्पोराको ‘नोट चल्ने तर भोट नचल्ने’ विरोधाभासपूर्ण अवस्थाको अन्त्य गर्दै आगामी निर्वाचनमै मताधिकार सुनिश्चित गर्नुपर्ने माग गरेका हुन् ।
संसारभर रहेका आप्रवासी हकहित संरक्षणका अभियन्ता र गैरआवासीय नेपाली नेताहरूसँगको विमर्शका क्रममा महरले राजनीतिक अन्योलतातर्फ इङ्गित गर्दै भने, ‘अहिले मुलुकमा देखिएको संवैधानिक संकटको एकमात्रै समाधान फाल्गुन २१ गतेको निर्वाचन नै हो । तसर्थ, यो निर्वाचनको वातावरण निर्माण गर्न सरकार र सबै राजनीतिक दल इमान्दार भएर लाग्नुपर्छ।’
नेता महरले विदेशमा बस्ने नेपालीको पसिनाले देशको अर्थतन्त्र धानिएको यथार्थ सम्झाउँदै उनीहरूको राजनीतिक अधिकार कुण्ठित हुन नहुने बताए । ‘विदेशमा रहेका नेपालीको नोट चल्ने, तर भोट नचल्ने अवस्था अन्त्य गर्दै मताधिकार सुनिश्चित गरिनुपर्छ’, महरले भने- ‘सरकारले फाल्गुन २१ कै निर्वाचनमा यस्तो व्यवस्था गर्न इमान्दार प्रयत्न गरोस् ।’
नेपालको आप्रवासन अवस्थाबारे चर्चा गर्दै महरले गरिबी, बेरोजगारी, राजनीतिक अस्थिरता र जलवायु परिवर्तनका कारण नेपालीहरू विदेशिन बाध्य भएको बताए। उनले तथ्यांक प्रस्तुत गर्दै भने, ‘डिपार्टमेन्ट अफ फरेन एम्प्लोयमेन्टका अनुसार आर्थिक वर्ष २०८१/८२ मा मात्रै ८ लाख ३९ हजार २ सय ६६ जनाले श्रम अनुमति लिनुले आप्रवासनको व्यापकता देखाउँछ । यो तथ्यांक सामान्य होइन।’
महरले सन् १९९० मा संयुक्त राष्ट्र सङ्घले पारित गरेको आप्रवासी कामदारको अधिकारसम्बन्धी महासन्धिको स्मरण गर्दै नेपालजस्तो श्रम निर्यातमुखी देशका लागि यसको महत्त्व गहिरो रहेको बताए ।
‘श्रमिकका पीडा र राज्यको दायित्व’बिषयक वेविनार छलफलका क्रममा महरले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले भोगिरहेका समस्याहरूबारे पनि खुलस्त पारे। उनले भने, ‘धेरै नेपाली कामदार असुरक्षित कार्यस्थल, न्यून पारिश्रमिक र श्रम शोषणको शिकार भएका छन् । कानुनी अज्ञानता र भाषाको समस्याले उनीहरूको अवस्था जटिल छ।’
लाखौं नेपालीको पसिना र परिश्रमले देशको अर्थतन्त्र चलेको भन्दै महरले उनीहरूको अधिकार, सुरक्षा र सम्मान सुनिश्चित गर्नु नै अन्तर्राष्ट्रिय आप्रवासी दिवसको मूल मर्म हुनुपर्नेमा जोड दिए ।
प्रतिक्रिया