नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक मङ्गलबार पुनः बस्ने भएको छ । कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा सोमबार (२१ पुस) बसेको बैठकमा राष्ट्रियसभा सदस्य निर्वाचन २०८२ का सन्दर्भमा छलफल भएको थियो ।
मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएअनुसार पार्टी पदाधिकारी तथा सदस्यहरूले धारणा व्यक्त गर्ने क्रम बाँकी रहेकाले बैठक पुनः मङ्गलबार बिहान ११ः०० बजे बस्नेछ ।
सोमबारको बैठकमा सहमहामन्त्रीहरू फरमुल्लाह मन्सुर, महेन्द्र यादव, बद्री पाण्डे, जीवन परियार र कार्यसम्पादन समितिका सदस्यहरू गोपालमान श्रेष्ठ, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला, अर्जुननरसिंह केसी, प्रवक्ता डा. प्रकाशशरण महत, बलबहादुर केसी, डा. नारायण खड्का, जीपछिरिङ लामा, सुजाता कोइराला, एनपी साउँदले आ–आफ्नो धारणा व्यक्त गरेका थिए ।
यस्तै, बैठकमा आमन्त्रित केन्द्रीय सदस्यहरू डा. मीनेन्द्र रिजाल र मीन विश्वकर्मा, प्रदेश सभापतिहरू अमरसिंह पुन (लुम्बिनी प्रदेश) र वीरबहादुर बलायर (सुदूरपश्चिम प्रदेश)ले आफ्ना धारणा व्यक्त गरेका थिए ।
यसैगरी, नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले मङ्गलबार केन्द्रीय सचिवालयको बैठक बोलाएको छ । एमालेका सचिव भानुभक्त ढकालले समसामयिक राजनीतिक परिस्थिति, राष्ट्रियसभा र प्रतिनिधिसभाको निर्वाचन र पार्टीको दोस्रो केन्द्रीय कमिटीको बैठक तयारीबारे छलफल गर्न बैठक डाकिएको जानकारी दिएका छन्।
बैठक मङ्गलबार बिहान ९ः०० बजे ललितपुर, च्यासलस्थित पार्टी केन्द्रीय कार्यालय बस्नेछ । एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक यही पुस २७ देखि २९ गते काठमाडौंमा बस्ने भएको छ ।
photo: rss
प्रतिक्रिया