पत्रकारिता : कस्तो बन्दै छ छवि ?

पत्रकारिता : कस्तो बन्दै छ छवि ?


गत हप्ता नेपालगञ्ज जानका लागि एयरपोर्टमा बसिरहेका बेला एकजना महानुभावले नजिकै आएर किताबसँगको मेरो ध्यान तोड्दै सोधे, ‘टाढै ?’ जवाफ पूरा नहुँदै तपाईंले त मलाई चिन्नुहुन्न भन्दै कुरा सुरु गरे । मार्टिन चौतारीद्वारा प्रकाशित ‘मिडिया अध्ययन ६’ हातमा थियो । ग्रामीण सूचना प्रविधिको विषयमा अलिकति जानकारी राख्नुपर्ने भएकोले उक्त पुस्तकमा समावेश सफल घिमिरेको लेख पढिरहेकी थिएँ । मेरो हातमा रहेको किताब हेर्दै उनले भने, ‘बिचरा मिडिया हगि…हुनत तपाईं मिडियामै हुनुहुन्छ…दु:ख लाग्छ ।’ ‘किन र ?’ जवाफमा उनले भने मिडियामा त नाम मात्रै रहेछ, पैसै नहुने, कोट, पाइन्ट, टाई लगाएर के गर्नु साथमा पाँच पैसा नभए पछि… कसैले मिडियामा छु भन्यो भने मलाई त हिजोआज असाध्यै टीठ लाग्छ । विराटनगरतर्फ यात्रा गर्दै गरेका उनी राजधानीकै एउटा कलेजमा पढाउँदारहेछन् । बिहान–दिउँसो गरी दुई–तीनवटा कलेज भ्याउँदारहेछन् । कहिलेकाहीँ यात्रामा अनावश्यक झन्झट आइलाग्छन्, फ्लाइट अलिकति ढिलो भएकाले सोच्दै नसोचेको विषयमा बहस गर्नुपर्ने भो । सोधेँ, ‘तपाईंले कुन मिडियाका पत्रकारको कुरा गर्नुभएको ? कसले तलब पाएन ? या कोसँग पैसा भएन ?’ यी प्रश्न गर्नुको एक मात्र कारण पत्रकार या मिडियाकर्मीप्रतिको उनको दृष्टिकोण र प्रस्तुति नै थियो । उनी यसरी बोलिरहेका थिए मानौँ नेपालका पत्रकारहरू असाध्यै अभावमा जीवन गुजारिरहेका छन्, तिनका खल्तीमा अलिकति पनि पैसा हुँदैन, ती सबै टीठलाग्दा ‘बिचरा’ हुन् र तिनबारे जहाँसुकै टिप्पणी गर्न जोकोही स्वतन्त्र छन् । सामान्यतया म कसैले आफू, आफूसम्बद्ध पेसा या आफूवरिपरिका मानिसको कुरा कसैले गर्दा ए हो… तपाईंलाई त्यस्तो लाग्छ…? म तपाईंको दृष्टिकोणलाई सम्मान गर्छु तर…भन्दै बोल्ने मान्छे हुँ । तर अलि बढी नै भएजस्तो लागेपछि मैले भने, ‘हो… तर के गर्नु तपाईंले आफ्नो परिचय दिन तपाईं के गर्नुहुन्छ भनेर, कुन विषय पढाउनुहुन्छ भनेर मलाई बताउनुपर्‍यो, त्यो पनि मैले सम्झिरहन्छु भन्ने छैन । तर कुन पत्रकारले कस्तो रिपोर्टिङ गर्छ, के लेख्छ, कुन बिट हेर्छ भनेर उसले बताउँदै हिँड्नुपर्दैन… यस्ता फरकहरू धेरै छन् अन्य पेसा र पत्रकारितामा । तपाईंले सोचेजस्तो पत्रकारहरूले पैसाको मुखै नदेख्ने पनि होइनन्, अलिकति तलमाथि या ढिलोछिटो त हरेक ठाउँमा हुन्छ नि… के गर्नु मुलुकको अवस्था नै यस्तो छ ।’ यति सुनेपछि तपाईंलाई भेटेर खुसी लाग्यो भन्दै उनी अन्त कतै लागे, मलाई पनि तपाईं यहाँबाट जान लाग्नुभएकोमा खुसी लाग्यो नभनीकन म चुपचाप फेरि किताबतिर लागेँ ।
केही समययता मिडयाकर्मीप्रति सहानुभूति राख्ने र ‘बिचरा’ भन्ने प्रवृत्ति बढ्दै गएको छ । विभिन्न मिडिया हाउसहरूले पत्रकार तथा कर्मचारीलाई समयमा तलब दिन नसकेको कुरा बाहिर आएपछि पत्रकारहरू यसरी जोकोहीको सहानुभूतिको पात्र बन्नुपरेको हो । पत्रकारको पारिश्रमिक र आर्थिक अवस्थालाई लिएर केही हास्यशृङ्खलाहरूले व्यङ्ग्यात्मक रूपमा प्रस्तुति गरे, गरिरहेका छन् । यी शृङ्खलाहरूलाई हेर्ने दर्शकहरूले तिनले प्रस्तुत गर्ने पात्रलाई नै समग्र पत्रकारको चरित्र र अवस्थासँग जोडेर हेर्न थालेका छन् भन्ने बुझ्न गाह्रो पर्दैन । एयरपोर्टमा भेटिएका ती ‘सर’ ले त्यसो भन्नुको प्रमुख आधार पनि तिनै हास्य टेलिकार्यक्रमहरू नै थिए भन्न सकिन्छ । नत्र उनले भनेजस्तो पत्रकारहरू प्राय: त्यसरी कोट, पाइन्टमा ठाँटिएर हिँड्दैनन् । हुन पनि हास्यव्यङ्ग्यका नाममा ती शृङखलाहरूले गेटमा गार्ड बसेको मान्छेलाई अन्तर्वार्ता लिन लगाएकोदेखि लिएर अनेक असान्दर्भिक र बेतुकका प्रसङ्गहरू देखाइरहेका छन् र हामी त्यसलाई हेरिरहेका छौँ । अनि सर्वसाधारणले त्यसलाई त्यसैगरी ग्रहण गरिरहेका छन् । केही दिनअघि मात्र एक मित्रले सुनाएका थिए, श्रीमती मिडियामा छिन् भन्दा ए…त्यसो भए तपाईंको त एक्लो कमाइले घर धान्नुपर्ने रहेछ भने रे । वास्तविकताचाहिँ के हो भने ती मित्रभन्दा मिडियामा भएकी उनकी पत्नीको कमाई धेरै र नियमित छ ।
हो, नेपाली पत्रकारिता क्षेत्रमा समस्या छन्, यो क्षेत्र आर्थिक रूपले सम्पन्न छैन । तर अहिले जुन अवस्थाबाट मुलुक गुज्रिरहेको छ, समस्या कुन क्षेत्रमा छैन ? विश्वको कुनै पनि मुलुकको मिडिया चल्ने भनेको विज्ञापनले हो । नियमित विज्ञापन प्राप्त गर्नका लागि उद्योग–व्यवसाय फस्टाउनुपर्छ, उद्योग फस्टाउनका लागि मुलुकको राजनीतिक माहौल ठीक हुनुपर्छ । जहाँ राजनीतिक डामाडोल छ, जुन देश वर्षौंदेखि सङ्क्रमणकालमा छ त्यो देशका सबै संयन्त्र मजबुद हुन सक्दैनन् । मुलुकमा छाएको बेथितिको असर मिडियामा पनि छाएको छ । आफूले पस्किएका सामग्री बेचेर मात्रै मिडियाले आफ्नो खर्च धान्न सक्दैन, खर्च धान्नका लागि आम्दानी गर्नुपर्छ र त्यो आम्दानी हुने ठाउँ नै सुक्खा छ । मुलुकमा छाएको आर्थिक मन्दीका कारण पारिश्रमिकमा अलिकति तलमाथि हुनुलाई अस्वाभाविक मान्न मिल्दैन, तर काम लगाएर पारिश्रमिक नै नदिनुचाहिँ गलत हो । पत्रिका, टेलिभिजन या रेडियो चलाउनका लागि पैसा हुने जसले काम गरिदिएका कारण ती हाउस चलेका छन् तिनलाई परिश्रमको मूल्य दिन पैसा नहुने भन्ने हुँदैन । फेरि सञ्चारमाध्यममा काम गर्ने कुरा कुनै फ्याक्ट्रीमा काम गरेजस्तो पनि होइन । पत्रकारिता काम गरेर आठ घन्टा बिताउँदैमा धर पाइने पेसा होइन, यसमा आफ्नै प्रकारका चुनौती र उत्तरदायित्वहरू छन् । आफूले पस्किएको सामग्रीले पार्ने प्रभाव एउटा पत्रकारका लागि सन्तुष्टिको मुख्य आधार हो । पेसा अँगालेपछि त्यो नै जीवन गुजाराको माध्यम हो, हुनुपर्छ त्यो अलग कुरा हो । तर, पत्रकारिता गर्नेले दिन प्रतिदिनको जीवन धान्ने मात्र नभएर अन्य दायित्वहरू पनि निर्वाह गर्नु परिरहेको हुन्छ । पाठक, श्रोता या दर्शकप्रतिको दायित्व निर्वाह गर्दागर्दै कहिलेकाहीँ त्यो समाज र राष्ट्रकै लागि महत्ववपूर्ण बन्न पुग्दछ । पत्रकारितामा चुनौती छन् तर चुनौतीसँगै अवसरहरू पनि छन् । एकैपल्ट हजारौँ पाठक, श्रोता या दर्शकसामु पुग्न सक्नु, सधैं नयाँ–नयाँ सूचनासँग खेल्न पाउनु आफैंमा एउटा अवसर हो । मुलुकको आर्थिक अवस्थाको दाँजोमा मिडियाको सङ्ख्या धेरै भयो कि भन्न सकिन्छ र मिडिया पटक्कै नबुझेको जो पायो त्यही व्यक्तिले मिडिया सञ्चालन गर्न मिल्ने कि नमिल्ने भनेर मिडिया सञ्चालनका मापदण्डका बारेमा बहस गर्नैपर्ने बेला भएको छ । साथै केही समययता मिडिया क्षेत्रमा काम गर्नेहरूलाई हेर्ने दृष्टिकोण जुन रूपमा विकास भइरहेको छ यसको अन्त्य हुनु आवश्यक छ । जसका लागि मिडिया हाउसले समयमा पारिश्रमिक दिने व्यवस्था गर्नुपर्दछ भने जो पायो त्यही ‘व्यक्ति’ले मिडिया सञ्चालन गर्ने काम अब बन्द गरिनुपर्छ । पत्रकारिता कसैको टीठलाग्दो साहनुभूतिको पात्र हुनुपर्ने पेसा नभएर आफ्नै नाम, पहिचानसहितको आत्मविश्वास र आत्मसम्मानका साथ शिर ठाडो गरेर हिँड्न सक्ने र हिँड्न मिल्ने पेसा हो ।