कसरी गर्ने काङ्गे्रसको सङ्क्रमणकालीन व्यवस्थापन ?

कसरी गर्ने काङ्गे्रसको सङ्क्रमणकालीन व्यवस्थापन ?


–गमप्रसाद गुरुङ
वर्तमान अवस्था ः
नेपाल सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरिए तापनि उचित व्यवस्थापनको कमीले मुलुक अहिले सङ्क्रमणकालीन अवस्थामा गुज्रिरहेको छ । देशमा शान्तिसुरक्षा कायम राखी जनताको न्यूनतम आवश्यकता मागसमेत पूरा गर्न नसकिरहेको अवस्था छ । जनताको ६१ वर्षको संविधानसभाद्वारा संविधान बनाउने चाहना हालैको संविधानसभाको अवसानले अन्योल र निराश बनाएको छ । वर्तमानमा कामचलाउ सरकारको भरमा मुलुक अनिश्चित यात्राामा निस्किएको आभास भएको छ । मुलुक अहिले जिम्मेवार राजनीतिक दलको अनिर्णयको बन्दी भएको महसुस भएको छ । एकातिर मुलुक यसरी अनिर्णयको बन्दी भएर बाँचेको अवस्था छ भने राजनीतिक दलहरू पनि आन्तरिक खिचातानीमा रुमल्लिएको देखिन्छ । मुलुक अनिर्णयको बन्दी हुनुका पछाडि दलभित्रको आन्तरिक कलह पनि एक कारण हो, जसको कारण नेतृत्वपङ्क्तिले समयमा उचित निर्णय दिन सकेको छैन ।
राजनीतिक अस्थिरताले आर्थिक टाट पल्टने सम्भावना बढ्दै गएको देखिन्छ । देशको जहाज डुब्दाको क्षण को डुब्ने को नडुब्ने प्रश्न सान्दर्भिक नहोला । पहिलो समय जातीय सवाल उठेपछि सामाजिक सद्भाव खलबलिने अवस्था सिर्जना भएको छ । राजनीतिक दलहरूले आफ्ना कार्यकर्तालाई राजनीतिक मुद्दा दिन नसक्ने र कार्यकर्तालाई काम दिन नसक्दा गलत विषयले प्रवेश पाएको छ । राजनीतिक अस्थिरताको फाइदा उठाउँदै घाटमा पुगिसकेको राजतन्त्र र धर्मसापेक्षको मुद्दा बौरिन खोजिरहेको छ । घर झगडा भएपछि छिमेकी सल्बलाउनु स्वाभाविक हो । अहिले छिमेकीहरूले आफ्नो भूमिकाको खोजी गरिरहेका छन् । आमसञ्चारमाध्यममा नकारात्मक समाचारले स्थान ओगटेको छ । पटकपटकको लोकतान्त्रिक आन्दोलनका योद्धाहरू देश र आफ्नो भविष्यको खोजीमा अल्मलिएको छ भने आन्दोलनबाट फ्याँकिएका तत्वहरू फेरि बौरिने तर्खरमा देखिन्छ । यतिखेर देशको भविष्यका लागि नेताहरूले महामानव बीपीले भन्नुभएजस्तो देशको माटो लिएर सोच्नुपर्ने बेला आएको छ । राजनीतिक निकास दिनुपर्ने अवस्था आएको छ । जसको नेतृत्व नेपाली काङ्गे्रसले मात्र गर्न सक्छ ।
व्यवस्थापनको पाटो
यतिखेर काङ्गे्रस र देशलाई कार्यकर्ता र जनताको फेरि एकपटक बलिदान चाहिएको छ । अब सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकासका लागि लोकतान्त्रिक अभ्यासको खाँचो छ । लोकतन्त्र त हरेक दलको सुगारटाइ भएको छ तर जनताले लोकतन्त्रको अनुभूति गर्न पाएको छैन । राजनीतिक संस्कारसहितको लोकतान्त्रिक पद्धति र आधारभूत आवश्यकतासँग गाँसिएको समाजवाद देश र जनतालाई चाहिएको छ । यतिखेर राजनीतिक अन्योलबीच एउटै मात्र निकास भन्नु नै राष्ट्रियता, लोकतन्त्र र समाजवाद नै हो । तर, यी तीन शब्द अहिलेसम्म लेख र भाषणमा मात्र सीमित पार्ने काम भएको छ । सर्वसाधारणले पनि छोएर, हेरेर बुझ्ने र अनुभूति हुने खालको राष्ट्रियता, लोकतन्त्र र समाजवाद चाहिएको छ । हरेक कार्यकर्ता काङ्गे्रसको आदर्शलाई व्यवहारमा उतार्न र गाउँघरको लोकतान्त्रिक समाजवादको माध्यमबाट राजनीतिक, सामाजिक र आर्थिक रूपान्तरण गर्न आह्वान गर्ने र उनीहरूको कार्य सम्पादन मूल्याङ्कनको आधारमा पद र जिम्मेवारी दिने पद्धतिको विकास गरिनुपर्छ । त्यसपछि पार्टीभित्र गणेश प्रवृत्तिको अन्त्य र कुमार प्रवृत्तिले स्थान पाउनेछ । हरेक जिल्लालाई कम्तीमा एक गाउँलाई प्रजातान्त्रिक समाजवादको नमुना गाउँको रूपमा घोषणा गरी रूपान्तरणका लागि जिल्लाको जनशक्ति, स्रोत–साधन र सोचलाई परिचालन गर्न प्रजातान्त्रिक समाजवाद नमुना गाउँ अभियान सञ्चालन गरिनुपर्छ । नमुना गाउँलाई एकपछि अर्को गर्दै थप्दै जाने र जिल्ला–जिल्लाबीच प्रतिस्पर्धा गराउनुपर्दछ । यसो गर्न सकियो भने कार्यकर्ता रचनात्मक कार्यमा व्यस्त हुनेछन् र जनताले प्रजातान्त्रिक समाजवादको प्रत्यक्ष अनुभूति गर्नेछन्, जसले गर्दा लामो पट्यारलाग्दो भाषण सुन्नुपर्ने छैन । यसले लोकतान्त्रिक पद्धति मजबुत भई काङ्गे्रसले चुनाव प्रचारमा कम समय दिए पुग्ने, चाँडो विश्वास गर्ने र अनावश्यक मुद्दामा अल्मलिन नपर्ने हुन्छ । नेपाली काङ्गे्रस प्रजातान्त्रिक पार्टी भएकोले नमुना प्रदर्शन गरेर अरू राजनीतिक दललाई प्रशिक्षण गर्ने, लोकतन्त्रको स्वाद चखाउने र पल्काएर लोकतन्त्रको संस्थागत विकास गरिनुपर्छ, अन्यथा संस्थागत विकास नारामा मात्र सीमित हुन सक्छ । नेपाली काङ्गे्रसले लोकतान्त्रिक अभ्यासद्वारा अरू दलको नेतृत्व गर्ने र अरू छिमेकी मुलुकका प्रजातान्त्रिक दलहरू र सरकारसँग प्रतिस्पर्धा गर्नुपर्दछ । मैले यहाँ यसो गर्नुपर्छ उसो गर्नुपर्छ भनेर कसैलाई अर्ती र उपदेश दिन खोजेको होइन केवल सानो कार्यकर्ताको हैसियतले सुझाव पेस गर्न खोजेको हुँ । अन्यथा हुन गए क्षमा चाहन्छु । म आफू सामाजिक कार्यकर्ता पनि भएको नाताले हरेक व्यवहारलाई लोकतान्त्रिक अभ्यास र रोजीरोटीलाई समाजवादसँग तुलना गरेर हेर्न रुचाउँछु । हालसम्मको कार्यानुभवले नमुना गाउँ अभियान सम्भव छ जस्तो लाग्छ र मलाई पार्टीले दिएको काम गर्न देशको कुनै पनि गाउँमा गएर काम गर्न म आफू तत्पर रहेको कुरा अनुरोध गर्न चाहन्छु । काम मुखले होइन दिलले गर्नुपर्छ तब मात्र म काङ्गे्रसको कार्यकर्ता हुन लायक हुन्छ जस्तो लाग्छ ।
निष्कर्ष
अब नेपाली काङ्गे्रस के भन्छ भन्नुभन्दा के गर्छ भने सवालसँग सिङ्गो लोकतन्त्रको अस्तित्व गाँसिएको छ । पार्टीको कार्यकर्तालाई सही काम दिन सकिएन भने उसले फाल्टु समय दुरुपयोग गर्नेछ अनि एकले अर्कालाई दोष थुपार्ने र गाली–गलोजमा उत्रिनेछ । दिशाहीन भएपछि गलत आचरणको कारण धनदौलतको पछि दौडिने र भ्रष्टाचारमा लिप्त हुनेछ । त्यसकारण कार्यकर्ताको आचरण शुद्धीकरण अभियान पनि सञ्चालन गरिनुपर्छ । यो कार्य वर्तमान नेतृत्वले मात्र गर्न सक्छ । नेपाली काङ्गे्रसको वर्तमान नेतृत्वको आचरणमा कसैको शङ्का छैन । नमुना गाउँ अभियानले सङ्क्रमणकालीन व्यवस्थापन गर्नुको साथै नेपाली काङ्गे्रस लोकतन्त्रको पर्याय हो भन्ने लोकोक्ति सत्य सावित हुनेछ । यो अवधारणामा नेपाली काङ्गे्रसको संस्थागत विकासका लागि समर्पित छ । लोकतान्त्रिक पार्टीमा गाउँस्तरको कार्यकर्ताको पनि सुझाव–सल्लाहको उचित सम्मान हुन्छ भन्ने मान्यताका साथ यो अवधारणा पेस गरेको छु । निवेदनका साथ रचनात्मक सुझाव–सल्लाहका लागि अनुरोध गर्दछु । जय नेपाल ।
(लेखक नेका महासमिति सदस्य हुन्)