बाबुराम आएपछि कति बढ्यो ?

बाबुराम आएपछि कति बढ्यो ?


एकीकृत नेकपा माओवादीका उपाध्यक्ष डा. बाबुराम भट्टराई मुलुकको ३५औं प्रधानमन्त्री बन्दा आमनेपालीले सोचेका थिए– आकाश छुनेगरी बढेको दैनिक उपभोग्य वस्तुको मूल्यमा गिरावट आउनेछ । कालोबजारी रोकिनेछ, खाद्य तथा अखाद्य वस्तुहरू सजिलै छुट्याउन सकिनेछ । तर, भट्टराई प्रधानमन्त्री भएको दश महिनाको अवधिमा झण्डै दोब्बरले मूल्य वृद्धि भएको छ । कालोबजारी मौलाउँदै जानुका साथै खाद्य तथा अखाद्य वस्तुहरूको बजारमा चरम कृत्रिम अभाव सिर्जना गरिएको छ ।
भट्टराई प्रधानमन्त्री बनेकै दिन अर्थात् भदौ ११ गते राष्ट्र बैंकले आर्थिक वर्ष ०६७÷६८ मा मूल्यवृद्धि १ अङ्कमा सीमित भएको तथ्याङ्क सार्वजनिक गरेको थियो । उसले पेट्रोलियम पदार्थको मूल्यवृद्धि तथा कर्मचारीको तलब बढे पनि गत आर्थिक वर्षको भन्दा कम मूल्यवृद्धि भएको जानकारी गराउँदै ९ दशमलब ६ प्रतिशत मात्र मूल्यवृद्धि भएको बताएको थियो । उक्त तथ्याङ्कअनुसार खाद्य तथा पेय पदार्थहरूको १४ दशमलव ७ प्रतिशत, गैरखाद्य तथा सेवा समूहको मूल्यमा ५ दशमलव ४ प्रतिशतले मात्र बढेको उल्लेख थियो । त्यस्तै तरकारीमा ३५ प्रतिशत वृद्धि भएको उल्लेख गरेको थियो भने, मसला, चिनी तथा मिठाइ र फलफूलको मूल्यमा क्रमशः २३ दशमलव २ प्रतिशत, १९ दशमलव ५ र १९ दशमलव ४ प्रतिशतले बढेको उल्लेख थियो । तर, अहिले गत वर्षको भन्दा २० प्रतिशतभन्दा बढी मूल्यवृद्धि भएको छ ।
राष्ट्र बैंकको तथ्याङ्कअनुसार भट्टराई प्रधानमन्त्री भएयता तरकारीको मूल्य २७ प्रतिशतले वृद्धि भएको छ भने फलफूल, तरकारी, घिउ तथा तेल, चिनीलगायतका पदार्थमा पनि सोही अनुपातमा मूल्यवृद्धि भएको छ । त्यस्तै, पेट्रोलियम पदार्थको मूल्य अत्यधिक बढेको छ । पेट्रोलियम पदार्थमा पनि २५ प्रतिशतभन्दा बढी मूल्य वृद्धि भएको छ । ८५ रुपैयाँ प्रतिलिटरमा पाइने पेट्रोलको मूल्य अहिले एक सय २० पुगेको छ । डिजेल र मट्टीतेलको ९३ रुपैयाँ पुगेको छ । भट्टराई प्रधानमन्त्री हुँदा डिजेल र मट्टीतेलको मूल्य ६९ रुपैयॉ प्रतिलिटर थियो ।
नेपाल खुद्रा व्यापार सङ्घका अनुसार भट्टराई प्रधानमन्त्री बन्ने दिनसम्ममा एक सय पाँच रुपैयाँमा पाइने मुसुरोको दाल दश महिनाको अवधिमा एक सय तीस रुपैयाँ पर्छ । त्यस्तै, प्रतिकेजी एक सय दश पर्ने मासको दलमा दश, एक सय तीस पर्ने मुगुको दालमा बीस, सय पर्ने चनामा चालीस, असीमा पाइने हरियो÷सेतो केराउमा बीस, एक सय चालीसमा पाइने लसुनमा चालीस, ६५ मा पाइने अदुवामा तीस रुपैयाँका दरले बढेको छ । त्यस्तै घ्यूमा पन्ध्र, तोरीको तेलमा तीस र भटमासको तेलमा पच्चीस, चिउरामा दश रुपैयाँको दरले बढेको छ । लुगा धुने, भाँडा माझ्ने तथा नुहाउने साबुनमा दुईदेखि पाँच रुपैयाँ तथा आलुमा प्रतिधार्नी चालीस रुपैयाँ बढेको छ । सङ्घका अनुसार चामलमा नब्बे रुपैयाँदेखि साढे दुई सयसम्म बढेको छ ।
त्यसैगरी सुनमा पनि भारी मूल्यवृद्धि भएको छ । भट्टराई प्रधानमन्त्री हुँदा प्रतितोला ५० हजार नौ सयमा पाइने सुन ५७ हजारसम्म पुगेको थियो । तर, अहिले सुनको मूल्य साढे ५६ हजारभन्दा बढी छ । भट्टराई सरकारको पालामा नेप्सेमा पनि भारी गिरावट आएको छ । राष्ट्र बैंकका अधिकारीहरूका अनुसार स्थायी सरकार नहुनु र राज्यका नियामक निकायले राम्ररी काम गर्न नसक्ने अवस्था रहेकाले मूल्यवृद्धि नियन्त्रण हुन नसकेको हो । नेपाल आयल निगमका प्रवक्ता मुकुन्दप्रसाद ढुंगेल बढ्दो घाटा धान्न पेट्रोलियम पदार्थको मूल्य पटकपटक बढाउनुपरेको बताउँछन् । ‘अन्तर्राष्ट्रिय बजारमा कच्चा पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिका कारण निगमको घाटा धान्नै नसकिने गरी बढेकाले उक्त घाटा धान्न मूल्य बढाउनुपरेको हो,’ ढुङ्गेलले बताए । तर, पछिल्लोपटक अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियमको मूल्य भारी मात्रामा घट्दा पनि यहाँ भने मूल्य वृद्धि गरिएको थियो ।