किन आत्तिए बाबुराम ?

किन आत्तिए बाबुराम ?


विभिन्न तह र तप्काबाट सर्वत्र आफ्नो राजीनामाको माग भइरहेका बेला कुनै कार्यक्रममा गएर के बोल्ने, के गर्ने, ‘म राजीनामा दिन्नँ’ पनि कति भन्ने ? बडो अप्ठ्यारो अवस्थामा पुगेका प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई पूर्वराजाको पश्चिमाञ्चल भ्रमणले बोल्नलाई केही कुरा दिएको छ । प्रधानमन्त्रीका रूपमा बैंक उद्घाटन गर्न बोलाइएका उनले पूर्वराजालाई राज्यले दिँदै आएको सुविधा खोस्ने चेतावनीसहितको गाली गरेर आफ्नो अलोकप्रियता छोप्ने कोसिस गरेका छन् । हामी नेपालीको गजबको बानी छ, आफू अग्लिनका लागि अरूलाई होचो देखाउनुपर्ने । जनमानसमा पूर्वराजाको बढ्दै गएको लोकप्रियताले प्रधानमन्त्री भट्टराई र कृष्ण सिटौलालाई कति धेरै पीडा भएको रहेछ भन्ने कुरा यी दुईले एकै दिन दिएका अभिव्यक्तिले पुष्टि गरेको छ । एउटै केन्द्रबाट सञ्चालित भनेर परिचित यी दुई फरक दलका नेताहरूको यो छटपटी आफंैमा हास्यास्पद मात्र होइन लज्जास्पद पनि छ । प्रधानमन्त्रीजस्तो गरिमामय पदमा बसेर कसैको लोकप्रियताप्रति यसरी आक्रोश ब्यक्त गर्नु आफूले केही गर्न नसक्नुको हीनताबोधबाहेक केही पनि होइन । यता नेपाली काङ्ग्रेसमा रहेर गिरिजाप्रसाद कोइरालालाई राष्ट्रपतिको सपना देखाई राजसंस्था फाल्न सफल भएका कृष्ण सिटौलाका भनाइहरू त झनै हास्यास्पदभन्दा अलि बढी नै केही छन् । जसलाई जे कुराको लोभ, चाह र मोह छ त्यसले त्यही कुरा भन्ने हो । उनलाई राज्यबाट प्राप्त सुविधाको मोह कति रहेछ भन्ने कुरा उनका अभिव्यक्तिले प्रस्ट पारेका छन् । सिटौलाले प्रधानमन्त्रीलाई आग्रह गर्दै भनेका छन्, ‘हिम्मत भए पूर्वराजाको हैसियतमा पाएका सबै सुविधा खोस ।’ पूर्वगृहमन्त्रीका रूपमा आफूले राज्यको सुविधा उपभोग गरिरहेका कारण सिटौलालाई राज्यको सुविधाको स्वाद थाहा छ, त्यसैले खोस्न आग्रह गरे । प्रधानमन्त्री बाबुराम भट्टराईले पनि सोही कुरामा अल्झिएर अभिव्यक्ति दिएका छन् । तर, बुझ्नुपर्ने कुरा त के हो भने सुविधा र लोकप्रियता फरक कुरा हुन् । कुनै पनि व्यक्तिको लोकप्रियताको मापन उसले पाएको सुविधासँग गर्न मिल्दैन । कुनै व्यक्ति साँच्चिकै लोकप्रिय बनिरहेको छ भने उसलाई राज्यले दिने सुविधाबाट वञ्चित गर्नु र नगर्नुले फरक पार्दैन । त्यस्तो गरियो भने त जनस्तरमा उसको लोकप्रियता झनै बढ्छ । हिजो जेल हाल्दैमा या एउटा नागरिकले प्राप्त गर्नुपर्ने सुविधाबाट वञ्चित गर्दैमा बीपी कोइरालाहरूको लोकप्रियता घटेको थिएन, झन् व्यापक बनेको थियो ।
विगत केही समययता पूर्वराजाको भ्रमणमा जुन प्रकारले सर्वसाधारणको भीड देखिएको छ त्यसबाट आत्तिएर प्रधानमन्त्रीले विभिन्न अभिव्यक्ति दिँदै हिँडेको देखिन्छ । जे पायो त्यही बोल्नुभन्दा पनि प्रधानमन्त्रीको कुर्सीमा बसेका उनले गर्नुपर्ने दुईवटा कुरा हुन सक्थ्यो, एउटा राजाको लोकप्रियता किन बढ्यो या राजाको वरिपरिको भीडभाडको कारण के हुन सक्छ भनेर त्यसको सूक्ष्म विश्लेषण र अर्को थाहा पाएर पनि थाहा नपाएजस्तो अभिनय । सर्वसाधारणको भीडभाडका आधारमा लोकप्रियताको मापन गर्ने हो भने राजसंस्थाप्रति मानिसको अहिले पनि त्यत्तिकै चासो र माया छ भन्नुपर्ने हुन्छ । राजनीतिक दल र तिनका व्यवहारले वाक्क भएका जनताले पूर्वराष्ट्रप्रमुखलाई हेर्न, भेट्न र बोल्न चाहनु ठूलो कुरा पनि होइन । तर, यही कुरालाई लिएर साधारण नागरिकका रूपमा बसेका राजाले के–के नै गरिहाल्छन् भन्ने मानसिकताबाट नेताहरूले जुन प्रकारले अभिव्यक्ति दिँदै हिँडेका छन् त्यस्ता अभिव्यक्तिले नेताप्रति झनै घृणा फैलाउन मद्धत गर्ने देखिन्छ । फेरि आफूवरिपरि लागेको मानिसको भीडलाई लोकप्रियताको कसी मानिहाल्न पनि मिल्दैन । त्यसैलाई आधार मान्ने हो भने हिजो माओवादी नेताहरूका पछाडि पनि कम भीड हुँदैनथ्यो । आफू राजा हुँदै गरिएका भ्रमणहरूमा पनि राजाका वरिपरि त्यत्तिकै मान्छे देखिन्थे । भीडलाई लिएर विश्वचर्चित नेता चर्चिलको भनाइ सधैं मननयोग्य छ । एकपटक चर्चिलले सम्बोधन गर्ने कार्यक्रममा खचाखच मानिसको हुल देखेपछि उनका निजी सचिवले भनेछन्, ‘सर, हेर्नुस् त हजुरको लोकप्रियता…वाह…वाह…कति मानिसहरू… यी सब हजुरलाई एकपल्ट हेर्न र बोली सुन्न यहाँ जम्मा भएका हुन् ।’ आफ्ना सहयोगीको कुरा सुनेपछि चर्चिलले भीडतिर हेर्दै भनेछन्, ‘होइन, तिम्रो मूल्याङ्कन सही छैन । भोलि मलाई फाँसी दिइँदै छ भन्ने सुने भने पनि यी मानिस यही ठाउँमा यसैगरी जम्मा हुनेछन् ।’ चर्चिल दूरदर्शी थिए, उनमा परेका बेला मानिसले गर्ने व्यवहारबारे बुझ्न सक्ने क्षमता थियो । त्यसैले यति भन्न सके तर हामीकहाँ त्यसरी बुझ्ने गरिएको छैन । वरिपरि मानिसको भीड देख्नासाथ अनेक अर्थ लगाइन्छ, हामीकहाँ भीडलाई लोकप्रियताको मापदण्डकै रूपमा लिने गरिएको छ । अहिले पूर्वराजाका पछाडि अलिकति मानिस जम्मा हुनासाथ प्रधानमन्त्रीजस्तो मान्छे त्यसका पछाडि लागिहाल्नुको कारण पनि त्यही हो । प्रजातन्त्रसहितको गणतन्त्रमा कुनै एउटा मानिसका पछाडि मानिस किन लागे ? उनका पछाडि भीड किन बढ्यो ? या उसले के कुरा बोल्यो ? किन बोल्यो भनेर चर्चा गर्न त पाइन्छ तर बोल्नै हुँदैन थियो, हिँड्नै हुँदैनथ्यो भनेर उसको वाक् स्वतन्त्रता र स्वतन्त्र रूपमा हिँडडुल गर्न पाउने स्वतन्त्रतामाथि बन्देज लगाउन पाइँदैन । यदि लगाइयो भने त्यो प्रजातन्त्र होइन, निरङ्कुशता हुन्छ ।
महाभारतमा पटकपटक उल्लेख गरिएको शब्द हो समय । समय बलवान छ, जे गर्छ समयले गर्छ भनिन्छ । त्यही व्यक्ति कुनै समय महान् ठानिन्छ भने त्यही व्यक्तिको कुनै बेला कुनै पनि प्रकारले महत्व नरहन सक्छ । जिन्दगीमा सधैंभरि उस्तै वा एकनासको परिस्थिति रहन्छ भनेर ठान्नुचाहिँ ठूलै भूल हो । यो मुलुकमा कुनै बेला प्रचण्ड–बाबुरामको ‘चार्म’ यति धेरै थियो कि मानिस एकपल्ट उनीहरूसँग बोल्न पाउनु र फोटो खिचाउन पाउनुलाई जीवनमा आएको ठूलै अवसरझैं मान्थे । तर, अहिले उनीहरूको बोली, व्यवहार र काम गर्ने शैलीले विगतको त्यो ‘चार्म’लाई हुत्याएर धेरै पर पुर्‍याइदिएको छ । संविधान र सुशासनका विषयमा नेताहरूले बोल्दा हिजोआज सर्वसाधारणलाई ‘इरिटेसन’ हुन थालेको छ । माओवादीहरू सार्वजनिक भएर अन्तरिम संसद्सम्म पुग्दाका बेला यति चाँडै यस्तो समय आउला भनेर कल्पना पनि गरिएको थिएन । अहिले आ–आफ्नै व्यवहारका कारण नेताहरूप्रति जनताको वितृष्णा बढ्दो छ । सर्वसाधारणले आफूहरूलाई हेर्ने दृष्टिकोण बुझेका नेताहरूले पूर्वराजाले जे गरे पनि त्यसलाई नकारात्मक देख्नु स्वाभाविक नै हो । तर, सर्वसाधारण नागरिकका रूपमा पूर्वराजालाई आफ्ना कुराहरू राख्न र आफ्नो मुलुकमा निर्वाध हिँडडुल गर्न पाउने पूर्ण अधिकार छ । पूर्वराजाका अघिपछि दुई–चार हजारको भीड देख्दैमा या केही अभिव्यक्ति आउँदैमा मुलुकलाई विशाल घाटा हुनेवाला छैन । त्यस्तै कुरा गर्ने हो भने पूर्वप्रधानमन्त्रीहरूले अहिलेका प्रधानमन्त्रीलाई चित्त नबुझ्ने कुरा बोले भने के तिनको पनि सुविधा खोस्छु भन्दै हिँड्ने त ? फेरि यी भनाइहरू यसरी आइरहेका छन् कि मानौँ यो मुलुकमा कसैलाई कुनै सुविधा दिइन्छ भने त्यो वर्तमान प्रधानमन्त्रीको तजबिजमा दिइन्छ र त्यो उनको निजी सम्पत्तिबाट दिइन्छ । सरकारमा बस्नेहरूले आफूले केही गर्न नसकेपछि प्राप्त अलोकप्रियतालाई ढाकछोप गर्न यसप्रकारका हल्काफुल्का अभिव्यक्ति दिँदै हिँड्नुभन्दा पनि उत्तरदायी भएर नीतिगत कुरा गर्नु उपयुक्त हुन्छ ।